विगत केही दशकदेखि देउडा हराएझैं भएको थियो। रेडियोबाट नयाँ शैलीका नेपाली र हिन्दी गीत सुन्ने चलन बढेपछि युवापुस्ताले देउडा गाउन छाडेका थिए। जनयुद्धकालमा गाउँघरतिर देउडा खेल्ने अवसर झनै संकुचित भयो।
मृतप्रायः देउडा गाउने र खेल्ने चलन कर्णालीका गाउँतिर अचेल फर्किएको छ। चाडपर्व र पूजाआजामा देउडासँगै रमाइलो गर्नेहरूमा महिला-पुरुष दुवैको सहभागिता र सक्रियता उत्तिकै देखिन्छ। बिहे, ब्रतवन्ध, पैठ, जात्रा, छैटीजस्ता विशेष उत्सवहरूमा त झन् रातभर देउडा दोहोरी चल्छ।
यो चलन यहाँको परम्परागत मौलिक संस्कृति हो।
देउडा कुनै बाजा बिनै गाउन र खेल्न मिल्ने गीत हो। दुई पंक्तिका देउडा गीतमा अघिल्लोले कलापक्ष समेटेको हुन्छ भने पछिल्लोले भावपक्ष समेट्छ।
यही दसैंका बेला मेरो गाउँ जुम्लामा रुद्री, ब्रतवन्ध र अन्नपास्नीको साइत परेको थियो। त्यो अवसरमा रातभर देउडा चल्यो। नजिकका छिमेकी गाउँहरूबाट समेत भेला भएका खेलाडीले अविराम रातभर देउडा खेले।
उनीहरूको देउडा दोहोरीमा मन्त्रमुग्ध दर्शकले काम्लो च्यापेर, कम्बल ओढेर आगो ताप्दै रातभर साथ दिए। राती खाना खाइवरी आँगनकै बारीमा भेला भएका देउड्याहरूले बिहानको सूर्योदयसम्मै अनवरत पाइलामा पाइला र भाकामा भाका मिलाइरहे।
यो प्रसंग त्यसैको वर्णन हो।
देउडा समूहमा खेलिन्छ। यसमा दुई पक्ष हुन्छन्। दुवै पक्षका नाइकेबीच सवाल जवाफ चल्छ। नाइकेले उठाएको भाका र लय टिप्दै समूहका सबै खेलाडी पाइला मिलाउँदै गोलाकार घुम्छन्।
रातभर लगातार पाइला चाल्दै, घुम्दै गाउने क्षमता चानचुने कुरा हैन। रहर भएर मात्र हुन्न। यसका लागि देउडाका विभिन्न भाका जान्नुपर्छ। समसामयिक विषयको ज्ञान राख्नुपर्छ। विशेष शब्द र प्रसंग बुझ्न सक्नुपर्छ।
आफूलाई खेलको लाइनमा उभ्याउन नचाहनेहरू दर्शक बनेर देउडाको आनन्द लिन्छन्। दर्शकमा भने गीतका प्रसंग बुझ्ने क्षमता अवश्य हुन्छ। उनीहरू दत्तचित्त भै हरेक सवाल जवाफलाई ध्यानपूर्वक सुन्छन्।
खस जुम्ली भाषिकाका शब्द, उखान, टुक्का र सन्दर्भको धेरै प्रयोग हुने देउडा मिलाएर गाउन सक्नु विशेष कला हो। झन् देउडामा दोहोरी खेल्नु त निकै चुनौतीपूर्ण। सामान्य देउडा गायकले आँट्न र टिक्न गाह्रो हुन्छ।
विशेष क्षमता हुने गायकहरू वर्षौंको अभ्यासपछि यो चुनौतीको मैदानमा उत्रन सक्छन्। त्यसैले यस्ता सीप भएका देउडा खेलाडीको गाउँभर नाम चलेको हुन्छ। यिनीहरू स्थानीय देउडा सेलेब्रेटी हुन्, जसलाई सुन्न दर्शक रातभर जाग्राम बस्न तयार हुन्छन्। चर्चित देउडा गायकहरूलाई महोत्सव, जात्रा, पैठहरूमा पैसा तिरेर निम्त्याउने चलन बढेको छ। महिला देउडा गायकको उपस्थिति पनि बढ्दो छ।
स्थानीयको अनुरोधमा मेरा भाइहरूले देउडा खेल्न कालिकोटको रास्कोटबाट एकजना गायिका ल्याउने तयारीमा थिए। गाउँतिर यसबारे चर्चा चलेको थियो। हरिगोपाल कालिकोटको जितेगडा पुगेर ती गायिकालाई लिन जाँदा उनी बाजुरा पुगेकी रैछिन्।
उनी नआए पनि यता हाम्रै गाउँपालिकाका चर्चित स्थानीय देउडा गायक तथा खेलाडीहरू आए। त्यो झन् रोमाञ्चक देउडा दोहोरी बन्यो।
केही युवायुवतीले आँगनमा मुढा बालेर देउडा अभ्यास गरिरहेका थिए। घरको काम सकेर रातको खाना खाइवरि गाउँले जम्मा हुन थाले। गाउँघरमा नाउँ चलेका, आफ्नो मिल्दो समूह हुने अनि सुहाउँदो प्रतिद्वन्द्वी बन्न सक्ने सिपालु खेलाडी निम्त्याइए। वरपरका गाउँबाट पनि स्थानीय आउने क्रम बढ्यो।
आँगनबारीमा मुढा जोतेर बालेको आगो दन्किन लाग्यो। दर्शक बनेका बुढाबुढी, महिला, पुरुष र बालबालिका आगो ताप्दै वरिपरि बस्न थाले। कति महिला ससाना केटाकेटीलाई न्यानो काम्लोमा बेरेर आँगनको डिलबाट बारीको दृश्य हेर्न बसे।
राति नौ बजेतिर सबैले प्रतीक्षा गरेको मुख्य खेल सुरू भयो। प्रचलन र अनुशासन कायम राख्दै खेलाडीले केही चरण गाएर सुरूआत गरिन्छ। अवसर अनुसारको चरण गाइन्छ। जस्तैः
काँचोफल रुखैमा रहला, पाको फल झडला ।
राम आयो सीतालाई लिन, खेल्नै त पडला ।।
राम गया सीतालाई ल्याया, खेल्नै त पडला ।।
जुम्ला ठूला चन्दभैरम् कालिकोटका पुग।
रामसीताको बिहा भयो, बाँच्या जुग जुग।।
दुवैतिरको समूहमा नेतृत्व गर्ने गायकले चरण उठाउँछन्। अरुले साथ दिन्छन्। अर्को पक्षले दोहोर्याउँछन्। भाका मिलाएर हरेक गीतका दुई अन्तरा गएपछि अर्को पक्षको उठाउने पालो आउँछ। सुरूआती चरणका यी गीतले ‘वार्मअप’ गराउँछन्। बिस्तारै खेलाडीको सवाल जवाफतिर खेल अघि बढ्छ र अझ रोचक बन्न थाल्छ।
आजको खेलमा पनि अब प्रश्न उत्तर, प्रश्न प्रतिप्रश्न सुरू भयो।
एकातिरको नाइके गिडिखोलाका धनकृष्ण पाण्डे र अर्कोतिर लिताकोटका मणिकृष्ण उपाध्याय। दुवै नाम चलेका हाजिरजवाफ खेलाडी। कसको देउडा राम्रो होला भनेर उत्सुक स्रोता ध्यान दिएर सुन्न थाले।
गीत सुन्दा आउने एकोहोरोपन हटाउन खेलाडीले बीचबीचमा गीतको भाका र शैली परिवर्तन गर्दै गाए। रात ढल्दै गर्दा केहीबेर नगरगाउँका रामबहादुर डाँगीले गीत उठाए। धनकृष्णको पक्षमा रहेका अर्का चर्चित युवा खेलाडी धीर जैशी अघि सरेपछि उनी र मणिकृष्ण बीचको घमासान दोहोरीमा बाँकी रात छर्लंग बित्यो।
देउडामा विपक्षी खेलाडीसँग सम्बन्धित असंगति र कमजोरीमाथि प्रहार गरिन्छ। खेलाडीले आफ्ना प्रतिद्वन्द्वीको व्यक्तिगत, पारिवारिक, सामाजिक हैसियत, राजनीतिक झुकाव आदिबारे यथेष्ठ जानकारी बटुलेका हुन्छन्। खेलाडीबीच जति मार्मिक र कडा सवाल जवाफ चल्यो, दर्शक त्यति रमाइलो मान्छन्।
देशको समसामयिक राजनीतिले सुदूरको गाउँलाई पनि छोड्दैन। आजको खेलमा खेलाडीको राजनीतिक झुकाव सतहमा आयो। निकैबेर कम्युनिस्ट र कांग्रेस पक्षधर जस्तो भई सवालजवाफ चल्यो। त्यसमा पनि महरा-रोशनी काण्डले खुब चर्चा पायो। हामीले आदर्श मान्ने गरेका नेताका द्वैध चरित्रबारे गायकले देउडा गाएरै टिप्पणी गरे।
करिब मध्यराततिर छेउको अर्को बारीमा गाउँका महिलाको देउडा सुरू भयो। उनीहरूले पनि उज्यालो हुन्जेल खेलिरहे। महिलाको देउडा भाका केही फरक हुन्छन्। तिनमा प्रायः अवसरको वर्णन, देवीदेवताको आह्वान र आरधाना, आशिष र स्नेह-प्रधान हुन्छन्।
कतिपय दर्शक आफूलाई मनपरेको समूहको देउडा लाइनमा मिसिन्थे र केहीबेर खेलेर फेरि आफ्नै ठाउँमा आएर बस्थे। निकै रहर बोकेर देउडा हेर्न आएका केही दर्शक निद्रा खप्न नसकेर घुर्दै, ब्युझँदै गरिरहेका देखिन्थे। कोही त सुत्न घरै फर्किए। अनि, कोहीकोही केहीबेर सुतेर बिहानीपख फेरि आएर रमाइरहेका देखिन्थे।
बिहानीपख चिसो बढ्यो। मुढा थपेर आगो दन्काउन थालियो। देउडामा सवालजवाफ गर्ने नाइके खेलाडीले यसबीच आफ्नै समूहमा दुईपटक पालो दिए। धेरे आकांक्षीले पाइला मिलाउन साथ त दिए तर आफैं गीत उठाउने पालै पाएनन्।
उज्यालो भयो। माथि भूरिचुला मालिका डाँडोमा घाम ओर्लियो। यता चम्किएको देउडालाई खेलाडीले बिस्तारै बिट मार्नतिर लागे। आक्रामक सवालजवाफमा भिडिरहेका खेलाडी पुनः खेलको प्रचलन र अनुशासन कायम राख्दै समापनका चरण गाउन थाले। जस्तैः
जावी बुन्याँ मैले जाबी, पिमौ जाबी जन्जाल
सब्का मान्यागुन्या भया, घुम्या सबै संसार ।।
जावी बुन्याँ मैलै जाबी, जबैलाका मेश
पढ्या लेख्या ठुलै भया, घुम्या सबै देश ।।
यसरी खेल चलिरहेको थलोमा खसी काटेर सम्मान दिइन्छ। सबै खेलाडी र दर्शकलाई टीका लगाई सगुन बाँडेर धन्यवाद दिँदै रातभर चलेको देउडा समापन गरिन्छ। यसपछि गाउँले मिलेर भोजभतेरको तयारी गर्छन्।
उहिले-उहिले देउडा गीत क्यासेटमा खुबै सुनिन्थे। पहिलोपल्ट जुम्लाका गायकले रेडियोमा गीत रेकर्ड गराउने रेकर्ड राखेका भए पनि देउडालाई जनमानसमा क्यासेट मार्फत पुगेर चर्चित पार्ने काम भने सुदूरपश्चिमका गायक-गायिकाले गरे।
परदेशी फर्किँदा उसको झोलामा प्लेयर हुन्थ्यो र देउडाका क्यासेट हुन्थे। देउडा गाउँगाउँमा घन्किन्थ्यो। तिनै लय टिपेर विभिन्न अवसरमा देउडा खेलिन्थ्यो। मध्य तथा सुदूरपश्चिमका स-साना सहरोन्मुख ठाउँमा महोत्सव हुँदा देउडा गायकले स्थान पाउँथे।
विशेषगरी जनयुद्धकालमा ती गतिविधि सुस्ताए र हराए। चर्चित गायक पनि गायकीबाट जीविका नचल्ने ठानी अर्कै व्यवसायतिर मोडिए। नयाँ लोकप्रिय गीत आउन सकेनन्।
यही अवधिमा क्यासेटको जुग हराएर भिसिडी हुँदै डिभिडी आएर पनि हराइसक्यो। एफएमले भने आफ्नो निश्चित प्रभाव क्षेत्रभित्र गीत सुनाइरहे। तर नयाँ गीतका सिर्जना बढ्न सकेन। अब युट्युबको जमाना छ। अचेल त सुन्ने गीत मात्र नभै हेर्ने गीतको चलन छ। नयाँ पुस्ताका केही गायक गायिका देखापरे पनि सहरतिर गायकीमा जम्ने कलाकारको संख्या धेरै छैन।
अचेल देउडा संस्कृतिको प्रभाव भएको क्षेत्रमा हुने महोत्सव, कर्णाली, भेरी, सेती क्षेत्रका परदेशी भेटिने विदेशका केही कार्यक्रममा देउडा गायक बोलाइए पनि पर्याप्त समय दिन्नन्। युवामाझ यसमा रूचि बढाउन केही प्रयोग भइरहेका छन्। भाषा, लवज, शैली र भाकाको विविधता खोज्दै कतिपयले देउडाको फ्यूजन पनि बजारमा ल्याएका छन्। नेपाली फिल्ममा पनि देउडा आगमन भएको छ।
सामाजिक सचेतनाका लागि जनचेतनामूलक कार्यक्रममा देउडा गाइन्छ। महिला दिवस र तीजमा अनिवार्यझैं चल्न थालेको छ। स्थानीय सरकारहरूले देउडा संस्कृति जगेर्नाका लागि पहल थालेको पाइन्छ।
गैरसरकारी तवरमा पनि केही संगठित प्रयास सुरू भएका छन्। यस्तै प्रयासबाट जुम्लामा महिनाको पहिलो दिन र सुर्खेतको घन्टाघर अघिल्तिर चौरमा हरेक महिना १ गते र १५ गते देउडा खेल चल्छ। स्थानीय बुढाबुढी, देउडाप्रेमी महिला र पुरुषका लागि यस्ता कार्यक्रम मनोरञ्जन लिने, फुर्सदको सदुपयोग र भेटघाट हुने ठाउँ बनेका छन्।
पश्चिम नेपालको देउडा संस्कृति आफ्नो मौलिकपन बोकेर चलेकै छ। तर यसलाई संरक्षण, सम्वर्द्धन र प्रचार गर्ने ठोस कदम सरकारी प्रयासबाट नै हुनुपर्छ।
(लेखक चौलागाईं कर्णाली प्रदेश, तातोपानी गाउँपालिका, वडा नं. ५ लाम्रागाउँका बासिन्दा हुन्।)