इस्लामाबाद डायरी
'ब्यालेन्स त गर्छ होला नि है?' उनले डराएको अनुहारले मतिर हेर्दै प्रश्न गरिन्।
'टर्बुलेन्स हो, डर मान्नुपर्दैन,' मसँग कुनै ठोस जवाफ थिएन।
उचाइसँग डर मान्ने म पनि कम डराएको भने थिइनँ।
त्यो साँझ काठमाडौंमा अलिअलि पानी पर्दै थियो। मौसम असामान्य लाग्दैनथ्यो। तर, त्रिभुवन विमानस्थलको भुइँ छाड्नासाथ हामी चढेको कतार एअरवेजको जहाज एकाएक काला बादलका पत्रभित्र पस्यो। तलमाथि र यताउता हल्लिन थाल्यो। बाक्लो, कालो बादलभित्र उचाइ लिन संघर्षरत जहाजका पखेटा जोडजोडले हल्लिएको झ्यालबाट प्रस्टै देखिन्थ्यो।
नेपालमाथिको आकास छिचोल्न ठूलो जहाजलाई यति कष्ट परेको मैले कहिल्यै अनुभव गरेको थिइनँ।
लगभग आधा घन्टापछि जहाजको सकस कम भएझैं भयो। इन्जिनको आवाज थोरै सुस्त भयो। हल्लिन कम भयो। सिटबेल्टको संकेत निभ्यो। परिचारक-परिचारिकाहरू सल्बलाए।
मैले लामो सास फेरेँ।
मेरो छेउको सिटमा बस्ने महिला सहयात्रीलाई न्यूयोर्क जानु थियो। मलाई इस्लामाबाद। यात्राको यो भागमा हामी दोहा उडिरहेका थियौँ। दोहाको हमाद विमानस्थलमा चार घन्टा उँघेर मलाई इस्लामाबाद जान फेरि अर्को जहाज चढ्नु थियो।
'नेपालबाट सोझै पाकिस्तान प्लेन चल्दैन?' उनले प्रश्न गरिन्।
काठमाडौंबाट पाकिस्तानको राजधानी इस्लामाबादसम्मको हवाइ दुरी चानचुन एक हजार चार सय किलोमिटर। मध्यम दुरीमा उडान भर्ने हवाइ जहाजलाई यो दुरी पार गर्न तीन घन्टाभन्दा बढी लाग्दैन। तर, इस्लामाबाद पुग्न पहिला पाँच घन्टा उडेर दोहा वा खाडीका कुनै देश पुग्नुपर्छ र फेरि त्यहाँबाट अर्को चानचुन साढे तीन घन्टा उडेर इस्लामाबाद। दुई उडानको बीचमा विमानस्थलमा बिताउनुपर्ने समय त अलग्गै।
कुनै बेला नेपालबाट पाकिस्तान हवाइजहाजमा सोझै जान सकिन्थ्यो। पाकिस्तान इन्टरनेसनल एअरलाइन्सको नियमित उडान थियो। पछि बन्द भयो। कहिले सुरु हुन्छ, कसैलाई थाहा छैन।
'नेपालीमा उखान छ नि- ल्हासा जानु कुतीको बाटो!' म थोरै हाँस्न खोजेँ।
'मिस्टर पोकरेल, मेरो नाम फलानो हो, तपाईंलाई यो उडानमा स्वागत छ, केही आवश्यक परे मलाई भन्नुहोला,' एकपछि अर्को गर्दै लगभग तीन परिचारक, परिचारिका मेरो सिट नजिक आए।
अति औपचारिकतामा लाज मान्ने मैले केही थान ‘थ्याङ्क यू’ र ‘स्योर’ भनेर हरेकलाई बिदा गरेँ।
लामो यात्रा गर्दा हवाइजहाजमा खान, पिउनभन्दा सुत्नमा बढी ध्यान हुन्छ मेरो।
म तेस्रोपटक पाकिस्तान जाँदै थिएँ। पाकिस्तान एउटा सामान्य देश। तर, यसका केही असामान्य विशेषता छन्।
अलग राष्ट्रका रूपमा स्थापना हुँदाको कष्टकर अनुभव छ। आन्तरिक राजनीतिक द्वन्द्वको दुखद् इतिहास छ। कहिलै सुल्झिन नसकेको सीमा विवाद छ। उसले देशभित्र र छिमेकका अतिवादी गतिविधिको निरन्तर सामना गरिरहनुपर्छ। त्यसमाथि पाकिस्तान आणविक शक्तिसम्पन्न उसको छिमेकीसँग सदाबहार द्वन्द्वको अवस्थामा छ, जसले यहाँको राजनीति र समाजका सबै पक्षलाई गहिरो प्रभाव पारेको छ।
सन् २००३ मा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरेपछि सुरू भएको क्षेत्रीय द्वन्द्वमा उसँग सीमा जोडिएको पाकिस्तान पनि मुछिन पुग्यो। २००८ मा मेरिओट होटलमा हिंसात्मक आक्रमण भएपछि त पाकिस्तानको बाह्य छवि झनै बिग्रियो।
आतंकवाद र यसको प्रतिकारमा भएको द्वन्द्वले पाकिस्तानलाई अस्थिर र असफलतातर्फ धकेल्यो। यसको प्रभाव कस्तो बहुआयामिक भयो भने, पाकिस्तानमा संसारका विभिन्न ठाउँबाट चल्ने उडानसमेत बन्द भए। पाकिस्तानको आकास र धर्ती एकाएक साँघुरियो।
त्यसैले, मेरो पाकिस्तान आवतजावतबारे चर्चा चल्दा मानिसहरू थोरै झस्किन्छन् र मलाई सान्त्वना दिने भावमा प्रश्न गर्छन्, ‘इस्लामाबादमा त केही डर नहोला नि?’
हमाद विमानस्थल पुगेर इन्टरनेट खोल्दा नेपालका समाचारका शीर्षकहरूले झसंग बनाए– 'बारा, पर्सामा हावाहुरीले दुई दर्जनभन्दा बढी मानिसको मृत्यु, सेनाको हेलिकप्टर उद्दार र राहतका लागि तयार।'
काठमाडौंबाट हामी उडेको आधा घन्टा नबित्दै नेपालको तराईमा हावाहुरीले बितन्डा मच्चाएछ। हवाइजहाज आकासमा त्यति धेरै हल्लिनुको रहस्य बल्ल बुझियो।
पहिलो र दोस्रो भ्रमण बेला विभिन्न ठाउँमा धेरै मानिस भेट्नुपर्ने भएकाले पाकिस्तानबारे आधारभूत जानकारी लिएको थिएँ। त्यस क्रममा मलाई सामान्य शिष्टाचारका तरिका सिकाइएको थियो। अभिवादन कसरी गर्ने, महिला र पुरुषसँग कसरी व्यवहार गर्ने, सार्वजनिक स्थानमा कस्ता लुगा लगाउने लगायत विषयमा आफू काम गर्ने संस्थामार्फत् केही प्रशिक्षण पाएको थिएँ।
खानेकुरा लगभग उस्तै हुन् भन्ने थाहा थियो। लटरपटर भए पनि उर्दुमा कुरा गर्नसक्छु भन्ने विश्वास थियो।
'अस्लाम वालेकुम' भनेर अभिवादन गर्न, 'वालेकुम सलाम' भनेर अभिवादन फर्काउन, कुराकानी क्रममा ठाउँठाउँमा ‘इन्शाल्लाह!’ भन्न र छुट्टिने बेला 'अल्लाह आफिज' भन्न खासै गाह्रो भएन।
‘कैसे हो?' भनेर कसैले सोधे ‘ठीक हुँ, अल्लाह का शुकर हे’ भन्दा पाकिस्तानी मित्रहरू खुसी हुन्थे।
पहिलोपटक पाकिस्तान पुग्दा मानिसहरूसँग घुलमिल गर्नमा मलाई ठूलो चिन्ता थिएन। सुरक्षा व्यवस्था कस्तो होला भन्ने कौतूहल र चिन्ता भने थियो।
विश्वका सञ्चारमाध्यमले प्रस्तुत गर्ने पाकिस्तानको चित्र सरल र सहज छैन। धेरै मानिस पाकिस्तान भन्नासाथ धार्मिक कट्टरता, हिंसा, तनाव र अराजकताको स्थिति अनुमान गर्छन्। विगतको नेपालको सशस्त्र द्वन्द्व र संकटकालमा सुरक्षाकर्मीको परपीडक व्यवहार भोगेकाले होला, मलाई पनि पाकिस्तानमा कडा सुरक्षा व्यवस्थाका कारण झन्झट खेप्नुपर्छ कि भन्ने पिर थियो।
जानकारहरूका अनुसार विगत दस वर्षमा पाकिस्तान बदलिएको छ। निरन्तरको अथक प्रयत्नबाट पाकिस्तानले आफ्नो सन्तुलन फिर्ता पाएको छ। क्षेत्रीय द्वन्द्वका बाछिटाका रूपमा आकलझुकल हुने आतंकवादी गतिविधिबाहेक पाकिस्तानमा ठूला हिंसात्मक गतिविधि हुने क्रमको लगभग अन्त्य भएको छ।
एघार वर्षपछि लन्डन र इस्लामाबादबीच हालसालै सुरू ब्रिटिस एअरवेजको नियमित उडान यसको संकेत हुनसक्छ।
पाकिस्तान ‘ठीकठाक’ रहेको प्रत्यक्ष अनुभव मैले पनि गर्न पाएँ। दुईपटकका भ्रमण क्रममा इस्लामाबाद, लाहोर र पेशावर घुमेपछि सुरक्षा अवस्थाप्रति चिन्ता गर्नुपर्ने अवस्था कतै देखिएन। मैले स्थानीयसँग धक नमानी कुरा गरेको थिएँ। नेपाल र पाकिस्तानबीच फरक खुट्ट्याउन गाह्रो भएको थियो।
यसअघिको भ्रमण क्रममा एक साँझ म, जर्मनीबाट आएका मेरा दुई सहकर्मी र एक स्थानीय सहकर्मी इस्लामाबाद नजिकैको मार्गला पहाड घुम्न निस्क्यौं। फर्कंदा स्थानीय सहकर्मीले प्रस्ताव गरे, 'फैजल मस्जिद हेर्न जाने हो त?'
फैजल टाढा थिएन, तर साँझको सात बजिसकेको थियो। हामी विदेशी र गैरमुस्लिम भएको कुरा समूहका दुई जर्मन सहकर्मीबाट जो कसैले अनुमान गर्न सक्थे। मलाई हामीसँगै भएकी महिला सहकर्मीको पनि थोरै चिन्ता भयो। उनलाई लगभग रातको समय मस्जिदभित्र जान आनुमति होला, नहोला? त्यस बेला मस्जिद पस्ने हाम्रो प्रयासलाई अरूले कसरी हेर्लान्?
जब मूलढोका नजिकैको जुत्ता थन्क्याउने ठाउँमा आ-आफ्ना जुत्ता बुझाएर हामी भित्र पस्यौं, मेरो चिन्ता पूरै अनावश्यक प्रमाणित भयो।
त्यहाँ सयौंको संख्यामा रहेका स्थानीय कसैले पनि हामीमाथि ध्यान दिएन। फैजलको प्रार्थना गर्ने ठूलो हल नजिक पुग्दा कसैले रोकेन। हाम्री महिला सहकर्मीलाई मस्जिदका पालेले महिलाहरूले प्रार्थना गर्ने हल देखाइदिए, जहाँ उनले सहज र स्वाभाविक प्रवेश पाइन्।
हामी सबै बिनारोकतोक भव्य फैजल मस्जिदको केन्द्रसम्मै पुगेर फर्क्यौं।
हामी जुत्ता राख्ने ठाउँमा फर्किंदा स्थानीय मानिस धमाधम आफ्नो टोकन दिएर पैसा बुझाउँदै जुत्ता फिर्ता लिँदै थिए। हाम्रा स्थानीय सहकर्मीले पनि सय रुपैयाँको नोटसहित हाम्रो टोकन फर्काए। जुत्ता भण्डारेले भने हाम्रो पैसा लिन मानेनन्। उनले उर्दुमा भने, 'तिमीहरू पाहुना हौ, तिमीहरूसँग पैसा लिन मिल्दैन।'
‘इस्लामाबादमा त डर नहोला नि?’ भनेर मलाई ढाडस दिने सबैलाई आजभोलि भन्ने गर्छु- सुरक्षा चासो सबै ठाउँमा राख्नुपर्छ। पाकिस्तानमा थप डर मान्नुपर्ने केही छैन।
पाकिस्तान घुम्दा, मानिसहरूसँग कुरा गर्दा, रेस्टुरेन्टमा खानेकुरा खाँदा मेरो मनमा आइरहने प्रश्न के भने, भाषा, संस्कृति, आनीबानी यति मिल्दोजुल्दो भएर पनि पाकिस्तान यति फरक किन छ? यो फरकपनको आधार के हो? धर्म? राष्ट्रियता? इतिहास? संस्कृति? औपनिवेशिक अनुभव? या, सबै?
अब केही समय पाकिस्तानमा केन्द्रित रहेर काम गर्दा यी प्रश्नले मलाई निरन्तर घच्घच्याइरहने छन्।
मैले देखेको पाकिस्तान सहज र सरल छ। मानिस शान्त र विनम्र छन्। यहाँका मुख्य सहरहरू पनि नेपाल र दक्षिण एसियाका कतिपय नाम चलेका सहरका दाँजोमा व्यवस्थित छन्। कति सहरहरू भने दक्षिण एसियाका अन्य सहरजस्तै अव्यवस्थित र फोहोर छन्।
पाकिस्तानमा समस्या हुँदै नभएका होइनन्। यत्ति हो, यहाँका समस्या त्यति नै बढी र त्यति नै जटिल छन्, जति अन्य दक्षिण एसियाली मुलुकका छन्।
केही घन्टा हमाद विमानस्थलमा उँघेर बिहानको साढे दुई बजे इस्लामाबादका लागि अर्को जहाजमा बसेँ। हतारो फेरि पनि सुत्नकै थियो। मैले परिचारिकालाई भनेँ, 'आइ एम नट हङ्ग्री, जस्ट वान्ट टु स्लीप।'
मलाई हवाइजहाजप्रति विशेष आकर्षण छ। उड्ययन इतिहास, हवाइजहाजको बनावट, हवाइ यातायात आदिबारे चाख राखेर पढ्ने गर्छु। फुर्सद हुँदा हवाइजहाज 'लाइभ ट्रयाकिङ' गर्ने वेबसाइट र एअरपोर्टका वेबक्याम हेरेर पनि आनन्द लिन्छु।
आकासमा उडिरहेका लामो दुरीका हवाइजहाजलाई कम्प्युटर स्क्रिनमा हेरेर त्यसभित्रका मानिसले कस्तो अनुभव गरिरहेका होलान् भनेर कल्पना गर्छु। यात्रा क्रममा सानाठूला जहाजमा उड्दा तिनका विशिष्टताबारे जानकारी लिन्छु।
यो सबै अनुभवले के भन्नसक्छु भने, हवाइजहाजको रमाइलो त्यसलाई बाहिरबाट हेर्दा जति हुन्छ, भित्र बसेर यात्रा गर्दा त्यति हुँदैन।
ए३५० जहाज पर्सियन गल्फ पार गरेर इरान हुँदै पाकिस्तानको आकासमाथि उडिरहँदा म मस्तले निदाइरहेको थिएँ।
लगभग बिहानको आठ बजे इस्लामाबाद एअरपोर्टबाट बाहिर निस्कँदा मेरा सहकर्मी मलाई पर्खेर बसिरहेका थिए। हामीले अँगालो हालेर अभिवादन साटासाट गर्यौं, 'अस्लाम वालेकुम मिस्टर सञ्जीव', 'वालेकुम सलाम', 'कैसे हो आप', 'ठीक हुँ अल्लाह का शुकर हे!'
पाकिस्तानमा पहिलो (गिभन) नाम अगाडि मिस्टर वा मिस राखेर बोलाउने चलन छ। मैले सोचेँ, ‘मिस्टर पोकरेल’ भन्दा त ‘मिस्टर सञ्जीव’ नै राम्रो सुनिने रहेछ!
इस्लामाबादको मौसम र एकअर्काको परिवारबारे कुरा गरिरहँदा सम्भवत: मेरो टुटेफुटेको उर्दु सुनेर उनी नजानिँदो गरी मुस्काइरहेका थिए। बिहानको घाम राम्ररी छिप्पिन नपाउँदै हामी चढेको गाडी कश्मिर हाइवे छाडेर इस्लामाबाद सहर प्रवेश गरिसकेको थियो।
मोबाइलमा इन्टरनेटको सिग्नल आउनासाथ नेपालमा सन्देश पठाएँ– 'रिच्ड वेल। हेडिङ टू अफिस नाउ।'