हरेक वृत्तान्तको आफ्नै लेखान्त हुन्छ।
मेरो पहिलो विदेश यात्राको वृत्तान्त पनि १६ वर्षपछि लेख्न जुरेको छ।
विदेश यात्रा गर्ने म परिवारकै पहिलो सदस्य। बोइङ चढ्ने पनि पहिलो मै।
बुबा तनहुँबाट काठमाडौं पढ्न आउँदा गोरखाको पालुङटारदेखि जहाज चढ्नुभएको थियो रे। पछिसम्मै सम्झिरहनु हुन्थ्यो। उहाँका छोराहरूले त्यो रेकर्ड तोड्न सकेका भए पो!
मलाई बुबाको रेकर्ड तोड्न २४ वर्ष लाग्यो।
२०५९ भदौ अन्तिम साता। म कान्तिपुर दैनिकमा थिएँ। पत्रकारिता थालेको चार वर्ष मात्र भएको थियो। त्यस दिन न्यूजरूम छिर्नासाथ आर्थिक ब्युरोका सहकर्मी साथीहरूले हात बढाउँदै भने, ‘बधाइ छ, तिमी अस्ट्रेलिया जाने भयौ।’
मनमा लड्डु फुट्यो। जिन्दगीमा विमानस्थलधरि नटेकेको। विदेशका नाममा रक्सौल र सुनौलीभन्दा पर पुगेको थिइनँ। साथीहरू सिधै अस्ट्रेलिया जाने भयौ भन्छन्। किन, कसरी, कहिले केही भनेनन्। थाहा पाएका साथीहरूले ‘सस्पेन्स’ राखिदिए।
तत्कालीन प्रधानसम्पादक युवराज घिमिरेले कोठामा बोलाउनुभयो। म छिरेँ।
‘तिमी भोलि ‘फस्ट आवर’ मै पासपोर्ट लिएर इन्भेष्टमेन्ट बैंकको पृथ्वीबहादुर पाँडेलाई भेट,’ उहाँले भन्नुभयो, ‘राष्ट्र बैंकको निम्तोमा तिमी अस्ट्रेलिया जाँदैछौ।'
नोट प्रिन्टिङ अस्ट्रेलियामा दस रुपैयाँ दरको प्लास्टिक (पोलिमर) नोट छापिँदै थियो। त्यो छपाइ हेर्न जाने कार्यक्रम रहेछ। पाँडे स्थानीय प्रतिनिधि थिए। भ्रमण व्यवस्थापन उनकै ‘एजेन्ट’ कम्पनीले मिलाएको थियो।
त्यतिबेला पोलिमर नोट कस्तो होला भन्ने उत्सुकता सबैमा थियो। प्रेसमै गएर अखबार छापेझैं नोट छापेको हेर्ने अवसरले म यसै दंग।
दिक्दारी पनि भयो। मसँग पासपोर्ट थिएन। बनाएकै थिइनँ। भोलिपल्ट बिहानै बुझाउनू भनेर प्रधानसम्पादकले भनिसक्नुभयो।
मैले कपाल कन्याउँदै भनेँ, ‘मेरो त पासपोर्ट छैन दाइ।’
उपाय जुर्यो। प्रमुख जिल्ला अधिकारीलाई निवेदन लेखेर एकै दिनमा बनाउन मिल्दो रहेछ। यस्तो हतपत बेला ‘हर मर्जका दवा’ थिए, मेरा अत्यन्त निकट मित्र सञ्जय न्यौपाने।
उनी आज हामीबीच छैनन्। असंख्य यादहरू छाडेर गइसके। ती यादमध्ये यो पनि एउटा हो।
उनले मलाई थपक्क आफ्नो बाइकपछाडि राखेर जिल्ला प्रशासन कार्यालय कुदाए। हामीले सिडियोलाई भेट्यौं। निवेदन लेख्यौं। सञ्जयले पासपोर्ट फारम भर्दाभर्दै मैले छेउको कुनै स्टुडियोमा ‘अर्जेन्ट’ फोटो खिचाएँ। त्यहीँ अगाडि खाद्य प्रविधि विभागका एक अधिकृतबाट फारममा सिफारिस गराएँ।
प्रक्रिया सकियो, प्रतीक्षा सुरु भयो।
हातमा पासपोर्ट छैन, साथीहरूले चिया माग गर्न थालिसके। उता घरमा खबर सुनेर सबै मख्ख।
त्यो रात मलाई राम्ररी निद्रै परेन।
सञ्जय बिहानै लिन आए। राति मैकहाँ बसे कि जस्तो पनि लाग्छ। खैर, हामी ‘फस्ट आवर’ मै सिडिओ कार्यालय पुग्यौं। पासपोर्ट बनेको थिएन। फेरि सिडिओलाई भेटेर ताकेता लगायौं।
मेरो जिन्दगीको पहिलो पासपोर्ट मेरै आँखाअगाडि लेखियो।
लगभग एक घन्टामा पासपोर्ट बनाइवरी हामी कुदेर इन्भेष्टमेन्ट बैंक, दरबारमार्ग पुग्यौं।
पृथ्वीबहादुरको अफिसबाहिर मैले उनको सेक्रेटरीलाई भिजिटिङ कार्ड थमाएँ। उनले खबर लैजान जसै ढोका उघारिन्, भित्रबाट पाँडेको स्वर सुनियो। उनी टेलिफोनमा भन्दै थिए, ‘खै तपाईंको रिपोर्टर अहिलेसम्म आएन। ढिला भइसक्यो। उसको नमिल्ने भए अर्को मान्छे पठाइदिनू।’
उनले फोनमा अर्को मान्छे माग गर्नु र हामी कोठाभित्र छिर्नु लगभग एकै समय थियो।
मैले आफ्नो विकल्प खोजिन लागेको झोँकमा गर्वसाथ पासपोर्ट बुझाएँ। र, लामो सास तान्दै फर्के।
आर्थिक पत्रकारितामै रहे पनि त्यसपछि आजसम्म पाँडेसँग कहिल्यै भेट भएको छैन।
पार्किङमा ओर्लेर बाइक स्टार्ट गर्दा सञ्जयले हाँस्दै भनेका थिए, ‘बाल बाल बच्यौ यार, नभए तिम्रो सट्टा मै गइदिन्थेँ।’
धन्न त्यस दिन मेरो पासपोर्ट बन्यो। नभए, १६ वर्षपछि यो यात्रा वृत्तान्त लेख्न तिमी यहाँ हुने थिएनौ, सञ्जय।
यात्रामा मसहित चार जना थियौं। एक जना बितिसक्नुभयो। म उहाँहरूको नाउँ लिन्न।
हाम्रो यात्रा २०५९ असोज ३ गते सुरु भयो। मसँग निलो रङको पुरानो सुट थियो। त्यसैलाई तानतुन पारेँ। विदेशमा हिँड्दावर्दा पासपोर्ट साथमै राख्नुपर्छ भनेर साथीहरूले सिकाएका थिए। अनुभवी सञ्जयले कम्मरमा बाँध्ने झोला लैजान सुझाए। हामी सँगै गएर बागबजारमा किन्यौं।
सुटेड–बुटेड भएर पहिलोचोटि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्दा मैले त्यही झोला कम्मरमा बाँधेको थिएँ। पासपोर्ट, टिकट र अरू कागजपत्र त्यसैमा।
सेक्युरिटी, बोर्डिङ पास र अध्यागमन छिचोल्दासम्म हडबडीले मेरो जिउमा काँडा उम्रेका थिए। म जेठको गर्मीमा जस्तो पसिनाले भिजेको थिएँ।
अध्यागमन नाघेपछि बाँकी साथीहरूसँग भेट भयो। सर्ट, जिन्स र टिसर्टमा आएका उनीहरूलाई देख्दा आफ्नो सुट आफैंलाई भारी लाग्यो। मलाई त्यतिबेलासम्म टिसर्ट र जिन्स लगाएर पनि विदेश जान्छन् भन्नेधरि थाहा थिएन। हडबडीले छुटेको पसिनासँग संकोच पनि बग्न थाल्यो। उनीहरूले त वास्ता गरेनन् होला, मैले भने विदेश यात्राको पहिलो पाठ त्यही बेला सिकेँ।
हामीलाई थाई एयरवेजको ‘लाउन्ज’ मा लगियो। त्यहाँ चिया, कफी, केक यसै खान पाइँदो रहेछ। यो ‘सर्भिस’ बिजनेस क्लासका यात्रुलाई मात्र हो भन्ने पनि मलाई थाहा थिएन। त्यसपछिका यात्रामा त्यही आतिथ्य नपाएपछि मैले विमानस्थलको वर्गीय विभाजन बल्ल बुझेँ।
जिन्दगीको पहिलो जहाज सफरमा मेरो सिट बीचको लहरमा थियो। हाम्रै समूहकी एक महिला पत्रकार साथी सँगै थिइन्। बाँकी दुई जना अर्को लहरमा। म सिटबेल्ट बाँध्न अलमलिएँ। उनैले सिकाइदिइन्। एयर होस्टेस खानेकुरा सोध्न आउँदा के अर्डर गर्ने, कसरी गर्ने मलाई पत्तो थिएन। उनी जे–जे गर्थिन्, म त्यही त्यही दोहोर्याउँथेँ।
खासमा अंग्रेजी बोल्न दकस लाग्थ्यो। राम्ररी बोल्न जान्दिन पनि थिएँ। फरक अर्डर गर्दा लामो बोल्नुपर्थ्यो। मलाई झिँझो लाग्थ्यो। जब उनको अर्डर लिएर एयर होस्टेस मतिर हेर्थिन्, म मुसुक्क हाँसेर ‘सेम’ भनिदिन्थेँ। हाइसन्चो!
जहाज अलि बाक्लो बादलभित्र छिर्दा जोल्टिङमा परेको बसझैं ढलपल गर्दो रहेछ। बस बरु एकछिन उफ्रिन्छ, शान्त भइहाल्छ। जहाजलाई त बादलको जोल्टिङले लामै समय उफारिरहने। यसरी उफार्दा ‘सिटबाट नउठ्नू’ भन्ने आवाज आउँथ्यो। म सिटबाट उठ्नु त परको कुरा, कम्मरमा कसिएको बेल्टधरि हातले च्यापेर बस्थेँ। आज पनि त्यस्तै गर्छु।
त्यो पहिलो यात्रादेखि आजसम्म जहाज चढ्दा मेरो मन स्थिर हुन्न। छाती ढक्क फुलिरहन्छ। पेट पोलेजस्तो, पिसाब च्यापेजस्तो हुन्छ। मनमा तर्कना खेलिरहन्छन्। यात्राभरि माथि सिटबेल्टको संकेतचिह्नतिर हेरिरहन्छु।
जहाज खुला आकाशमा सर्रर उड्दा संकेतचिह्न निभ्छ। बादलको जोल्टिङमा पर्नासाथ रातो बल्छ। आज पनि संकेतचिह्न रातो बल्दा मेरो अनुहार रातो भएर आउँछ। यस्तो बेला म घरिघरि एयर होस्टेसको अनुहार पढ्न खोज्छु। सोच्छु, आकाशमा उड्न जतिसुकै अभ्यस्त भए पनि आखिर हाडछालाका मान्छे हुन्, जोखिममा पर्दा यिनको अनुहारको रङ पनि उड्दो हो। उनीहरूलाई निश्चिन्त देखेपछि बल्ल मेरो सास फर्किन्छ।
काठमाडौंबाट उडेको हाम्रो पहिलो मुकाम थियो, थाइल्यान्डको बैंकक।
बैंककमा हामी घुम्नभन्दा अस्ट्रेलियाको भिसा लगाउन गएका थियौं। भोलिपल्ट त्यहीँको अस्ट्रेलियन दूतावासमा आवेदन गर्यौं। नोट प्रिन्टिङ अस्ट्रेलियाबाट हाम्रो नामको सूची आइसकेको थियो होला, भिसा पाउन २४ घन्टा पनि लागेन।
पर्सिपल्ट क्याथे प्यासिफिकको जहाजमा हामी सिंगापुर हुँदै अस्ट्रेलियाको मेलबर्न उड्यौं।
अस्ट्रेलियन अध्यागमनले मेरो पासपोर्टमा लगाइदिएको छापअनुसार असोज ६ गते (सेप्टेम्बर २२) हामी मेलबर्न ओर्लेका थियौं।
बिल्कुलै नौलो दुनियाँमा पुगेको भान भयो। ‘पिके’ फिल्मको आमिर खानजस्तै, जो अर्कै गोलाबाट पृथ्वीमा झरेको छ। म पनि पृथ्वीको अर्कै गोलामा पुगेको थिएँ। अर्कै त भन्नुपर्यो, काठमाडौंको न्यानो र बैंककको तातोबाट मेलबर्न ओर्लिंदा बिहानको चिसोले मेरा दाँत किट्किटाएका थिए। पहिलो उडानमै लाजको भारी बोकाएको सुट बैंककमै सुटकेसमा थन्क्याइसकेको थिएँ। ज्यानमा पातलो लुगा थियो। चिसो हावाले मुटुसम्मै काम्यो।
एयरपोर्टबाट निस्कनेबित्तिकै सुटकेस खोलेर ज्याकेट झिकेँ। घाँटीसम्म टम्म चेन कसेँ।
विमानस्थलबाट बाहिर निस्कँदा हाम्रो पाइलाको चालसँगै ढोका आफैं सर्रर खुल्यो। छक्क परेँ। त्यस किसिमको स्वचालित ढोका मैले पहिलोचोटि त्यहीँ देखेको थिएँ।
हामीलाई विमानस्थल लिन आएका नोट प्रिन्टिङ अस्ट्रेलियाका सहयोगीले बहुतले अपार्टमेन्टमा लगेर छाडिदिए। रातभरि निद्रा कचमचिएको थियो। ज्यान थाकेको थियो। यात्राको थकान होइन, मनको तनाव।
मलाई आज पनि जहाज चढेर ओर्लंदा थाकेको अनुभव हुन्छ। चाहे त्यो आधा घन्टाकै किन नहोस्!
अपार्टमेन्ट पुगेपछि सबै साथीहरू आ–आफ्नो कोठामा गए। एकाध घन्टा सुतेर दिउँसो ‘लबी’ मा भेट्ने कुरा भयो। पहिलोचोटि विदेशी भूमिमा टेकेको मेरो मन भने अडिन मानेन। जहाजको तनाव ओर्लिसकेको थियो। निद्राले आँखा पोले पनि ज्यान चंगा। मैले रिसेप्सनबाट मेलबर्न सहरको नक्सा लिएँ। र, एक्लै निस्केँ।
खुब हौसिएर बाहिर त निस्केँ, तर एक्लै टाढा जान कहाँ सक्थेँ र!
फर्रर अंग्रेजी बोल्ने गोरागोरीका बीच मलाई त्यसै कहाली लागेर आयो। नौलो सहरमा हराइएला कि भन्ने चिन्ता पनि। म आफू बस्ने अपार्टमेन्टलाई केन्द्रमा राखेर चार–पाँच ब्लक दायाँ जान्थेँ। फर्केर आउँथेँ। चार–पाँच ब्लक बायाँ जान्थेँ। फेरि फर्केर आउँथेँ। यसैगरी पन्ध्र–बीस मिनेटका दरले वरिपरि टहलिएरै आधा दिन बित्यो।
मेरा लागि सबथोक नौलो थियो। चिल्ला सडक, अग्ला घर, हरिया पार्क र मान्छेको हतारो। बाटो काट्न स्विच दबाएर गाडी रोक्न पाउँदा छक्कै परेँ। ती सबै देखेर म मुसुमुसु हाँस्थेँ। आफैं दंग पर्थें। जहाँ जे देखे पनि खिचिक्क फोटो खिचिहाल्थेँ। उत्सुकताको अगाडि क्यामराको रिल खर्च होला भन्ने सुर्ता नहुने रहेछ!
त्यसै रात नोट प्रिन्टिङ अस्ट्रेलियाका जनसम्पर्क अधिकारीहरूले हामीलाई मेलबर्नकै भव्य रेस्टुरेन्टमा डिनर खुवाए। भोलिपल्टको कार्यक्रमबारे बताए। पोलिमर नोटको छपाइ कुन चरणमा छ भनेर मसिनो जानकारी दिए। विस्तृत बुझ्न खोज्दा भन्थे, ‘भोलि प्रेसमै जाँदै हुनुहुन्छ, सबै त्यहीँ थाहा हुन्छ। छापेको हेर्न पनि पाउनुहुन्छ।’
मनमा अनगिन्ती सवाल भए पनि अंग्रेजीले धोका दिन्थ्यो। आफ्नो जिज्ञासालाई मनमनै अंग्रेजीमा उल्था गरेर मुखमा ल्याउँदासम्म कति शब्द घाँटीमै बिलाइसक्थे। बचेका शब्दमा उनीहरूलाई मेरो आसय बुझ्न कठिन हुन्थ्यो। त्यही प्रश्न दोहोर्याउनुपर्दा म लाजले भुतुक्क हुन्थेँ। आत्मबल त्यसै गल्थ्यो।
आजभोलि अलिअलि अभ्यास भएको छ, तर बोल्ने तरिका उस्तै हो। नेपालीमा सोच्यो, कम्प्युटरमा ‘फन्ट’ फेरेझैं अंग्रेजीमा उल्था गर्यो, अनि तौलीतौली बोल्यो। त्यही भएर लामो समय अंग्रेजी बोल्नुपर्दा मेरा हड्डी पनि थाकेर लूला हुन थाल्छन्।
भोलिपल्ट ‘फस्ट आवर’ मै हाम्रो समूहलाई नोट प्रिन्टिङ अस्ट्रेलियाको हेडक्वार्टर लगियो। स्वचालित सुरक्षाद्वार नाघेर रिसेप्सन पुगेपछि मलाई अर्को झट्का लाग्यो। उनीहरूले हाम्रो क्यामरा र झोला त्यहीँ छाड्न लगाए। महिला सेक्युरिटी गार्डले आग्रह र आदेश दुवै भाव एकैचोटि अनुहारमा ल्याउँदै भनिन्, ‘सुरक्षाका कारण क्यामरा लैजान निषेध छ।’
त्यो हलुका क्यामरा रिसेप्सनमा छाड्दा मेरो छाती भारी भएको थियो। महँगो जिनिस भएर होइन।
काठमाडौंबाट उड्दा मसँग क्यामरा थिएन। मोबाइल हुने कुरै भएन। बैंकक पुगेपछि अचानक लाग्यो, नेपालमा नोट चलनचल्तीमा आएको ६० वर्षे इतिहासमा पहिलोचोटि प्लास्टिकका नोट छापिदै छन्। म त्यही नोट छापिएको ऐतिहासिक घडीको प्रत्यक्षदर्शी हुन गइरहेको छु। भोलि आफूले लेख्ने समाचारमा बाइलाइनसँगै तस्बिरमा पनि नाम छापिएको हेर्ने हुटहुटीले मलाई छपक्कै छोप्यो।
सँगै गएका अग्रज दाइहरूलाई मैले आफ्नो हुटहुटी सुनाएँ। उहाँहरूले त ‘भो पर्दैन, हाम्रो क्यामरा छँदैछ, तिमीलाई चाहिने फोटो हामी दिउँला, बरु आफ्नै नाम राख’ भन्नुभएकै थियो। तै मेरो पत्रकार मन मानेन। उहाँहरूलाई निकै कचकच गरेर बैंककको डिपार्टमेन्ट स्टोरमा लगेँ। घन्टौं दोकान चहार्दै आफ्नो ल्याकतले भ्याउने सस्तो क्यामरा किनेँ।
त्यही क्यामरा पनि रिसेप्सनमै छाड्नुपरेपछि मलाई आफ्नै मुटु छाडेजस्तै भयो।
क्यामरा नकिन्न सुझाएका दुवै जना मतिर हेरेर मुसुक्क हाँसे। आफैंलाई जिस्क्याएझैं लाग्यो।
केही बेरमा हामी छापाखानाको माथिल्लो तल्लामा पुग्यौं। दरबारको भव्य बैठकजस्तो देखिने कोठाका भित्तामा सोह्रवटा सिसाका फ्रेम थिए। त्यसमा दायाँदेखि बायाँसम्म पन्ध्रवटा मुलुक (अस्ट्रेलिया, सिंगापुर, पश्चिमी समोआ, पपुआ न्यूगिनी, कुवेत, इन्डोनेसिया, ब्रुनाई, थाइल्यान्ड, श्रीलंका, मलेसिया, न्यूजिल्यान्ड, रोमानिया, बंगलादेश, सोलोमन आइल्यान्ड र मेक्सिको) का प्लास्टिक नोट लस्करै टाँसिएका। प्रत्येक फ्रेममाथि ती देशका राष्ट्रिय झन्डा फरफराइरहेका।
अन्तिमको एउटा फ्रेम भने खाली थियो।
‘यो फ्रेम नेपालको लागि,’ नोट प्रिन्टिङ अस्ट्रेलियाका तत्कालीन व्यापार प्रबन्धक ब्यारी ब्राडीले भनेका थिए, ‘नेपालमा सेप्टेम्बर ३० (असोज १४ गते) देखि पोलिमर नोट आउँदैछ। त्यसपछि यो फ्रेममा नोटको नमूना र माथि नेपालको राष्ट्रिय झन्डा राखिनेछ।’
त्यहाँबाट हामीलाई सानो बैठक कक्षमा छिराइयो। प्लास्टिक नोटका विशेषता बुझाइयो। अनि, छाप्दाछाप्दैको तात्तातो नोट देखाउन लगियो।
राष्ट्र बैंकले पाँच करोड मूल्यका दस रुपैयाँ नोट छाप्न दिएको थियो। पहिलो खेपमा दसैंका लागि एक करोड मूल्यका नोट ‘डेलिभरी’ गर्ने तयारी हुँदै थियो।
अस्पतालमा रगत जाँच्ने प्रयोगशाला छिरेजस्तै सिसाको सुरक्षाघेराभित्र ठूलो प्रिन्टिङ प्रेसमा नेपाली नोट घर्रर छापिँदै गरेको देख्दा मलाई साँच्चिकै गर्व लागेको थियो। चिनेजानेका कसैले यस्तो दृश्य देखेका छैनन् भन्ने अनुभूतिले मनमा जस्तो हलचल ल्याउँछ नि, त्यस्तै। मान्छेले जिन्दगीमा अरू जेसुकै देख्न सक्लान्, तर प्रेसमा नोट छापेको त कसैगरी देख्न सक्दैनन् भन्ने सोच उर्लिएर मन त्यसै मखलेल।
प्रेसका छपाइ कर्मचारीले हामीलाई कागजी र पोलिमर नोटका भिन्नताको ‘डेमो’ पनि देखाए।
‘तपाईंमध्ये कसैसँग आफ्नो देशको नोट छ?’ उनीहरूले सोधे।
मैले खल्ती छापेँ।
संयोगले मेरो पर्समा दस रुपैयाँकै नोट रहेछ। दिएँ।
उनीहरूले त्यसलाई ‘क्रम्बलिङ मेसिन’ (कच्याककुचुक पार्ने उपकरण) मा राखे। दुईपटकमै पुरानो नोट च्यात्तिने नौबतमा पुग्यो। त्यही मेसिनमा पोलिमर नोट राखे। चारपटक कच्याककुचुक पार्दा पनि केही भएन। खजमजिएको लुगामा इस्त्री घसेजस्तै नोट आफ्नै स्वरुपमा आयो।
राष्ट्र बैंकले पनि पोलिमर नोट सजिलै नच्यात्तिने, फोहोर नलाग्ने, धुन मिल्ने, रङ नउड्ने र टिकाउ भन्दै कागजको विकल्प बताएको थियो। नक्कली नोटको बिगबिगी कम हुने उसको दाबी थियो। छाप्ने जिम्मा पाएको नोट प्रिन्टिङ अस्ट्रेलियाले त्यही दाबी दोहोर्यायो। नेपालभन्दा अगाडि प्लास्टिक नोट प्रचलनमा ल्याएका अस्ट्रेलियादेखि सिंगापुरसम्मको अनुभव सुनायो।
दुई दिनअघि बैंकक घुम्दा मैले पहिलोपटक प्लास्टिक नोट देखेको थिएँ। ती हाम्रा कागजी नोटभन्दा सफा थिए। नेपाली नोट पनि त्यस्तै हुने अनुमानले मलाई खुसी लागेको थियो।
नोट छापाखाना घुम्ने कार्यक्रम सकिएपछि बेलुकी डिनरमा आयोजकहरूले दुइटा प्रस्ताव राखे।
‘तपाईंहरूसँग अब एकदिन छ,’ उनीहरूले भने, ‘यो एकदिन तपाई मेलबर्न घुम्ने हो भने हामी त्यही किसिमले व्यवस्था गर्छौं। सिड्नी जान चाहनुहुन्छ भने तपाईंहरूको फर्कने टिकट उतैबाट मिलाउँला।’
चार जनामध्ये महिला साथीको मेलबर्नमै चिनेका मान्छे रहेछन्। उनी त्यतै लाग्ने भइन्। बाँकी दुई जना सिड्नी जाने भए। उनीहरूले मलाई पनि कर गरे। म गइनँ।
मेरो मनमा अर्कै विचार फुर्यो। सोचेँ, काठमाडौंबाट उडेदेखि यिनीहरूकै पछि लागेको छु। एक्लै कतै घुमेको छैन। एक्लै कसैसँग बोलेको छैन। एक्लै कुनै रेस्टुरेन्टमा गएर खाएको छैन। सिड्नी गएँ भने फेरि उही ताल हो। यिनीहरूकै पछि लाग्नुबाहेक मेरो आफ्नो अनुभव केही हुन्न। म केही सिक्दिनँ। केही जान्दिनँ।
‘म मेलबर्नमै बस्छु,’ भनेँ, ‘यतैबाट काठमाडौं आउँछु।’
समूह छुट्टियो। दुई जना सिड्नी गए। दुई जना मेलबर्नमै।
फर्कंदा सिंगापुर, बैंकक हुँदै काठमाडौंसम्म एक्लै आउँदा बल्ल मलाई पहिलोचोटि विदेश यात्रा गरेजस्तो लाग्यो। त्यहाँ मेरो निम्ति अंग्रेजी बोल्दिने कोही थिएन। मलाई सिकाउने कोही थिएन। मैले सोध्ने कोही थिएन। म हिच्किचाउँदै, गल्ती गर्दै अघि बढेँ।
मेलबर्नबाट सिंगापुर आउँदा क्याथे प्यासिफिकको फस्ट क्लास टिकट रहेछ। दुईतले जहाजको माथिल्लो तलामा परेको थिएँ। फराकिलो काउचजस्तो सिटमा बसेर त्यसैमा जोडिएको स्क्रिनमा फिल्म हेर्दै उड्दा मन कम आत्तियो। मैले जिन्दगीमा ‘फस्ट क्लास’ श्रेणीमा यात्रा गरेको त्यही एकचोटि हो।
बरु खाना ल्याउने बेला निदाएछु। झक्झकाए होलान्, उठिनछु। मेरो खाना छुट्यो। भोकले चूर थिएँ। गएर माग्ने हिम्मत आएन। ‘अघि किन नखाएको त’ भनेर सोधे के जवाफ दिने भन्ने अलमलले चुपचाप बसिरहेँ।
काठमाडौंबाट उडेको आठौं दिनमा असोज ११ गते म फर्किएँ।
त्यसको तीन दिनपछि राष्ट्र बैंकले दस रुपैयाँ दरको प्लास्टिक नोट सार्वजनिक गर्यो। मैले मेलबर्न ‘डेटलाइन’ मा समाचार लेखेँ। कान्तिपुरमा एंकर छापियो। एक सातापछि कान्तिपुरकै कोसेलीमा आधा पृष्ठको फिचर पनि लेखेँ।
पहिलोचोटि प्लास्टिक नोट चल्तीमा आएको खबर अन्य सञ्चार माध्यमहरूले पनि पहिलो पृष्ठमै छापेका थिए। दस रुपैयाँ नोटका तस्बिरले पत्रिकाका पहिलो पृष्ठ गुलजार भए। सुकिलोमुकिलो नोटको युग सुरु भएको क्षणका रूपमा धेरैले व्याख्या गरेका थिए। त्यतिबेला सबैको आशा र विश्वास त्यस्तै थियो। अस्ट्रेलियाजस्तो देशमा छापेको र अन्य विकसित देशहरूले प्रयोगमा ल्याइसकेको प्लास्टिक नोटमा कैफियत देखिनसक्छ भन्ने त कमैले कल्पना गरे होलान्।
तर, भयो त्यस्तै।
नोट चल्तीमा आएको केही महिनामै कमजोरी देखिन थाले। रंग उड्न थाल्यो। मक्किन थाल्यो। थोत्रिन थाल्यो।
त्यससम्बन्धी थुप्रै समाचार आए। कति मैले नै लेखेँ। कति मेरा सहकर्मी साथीहरूले लेखे। मैले छापाखानामा छाप्दाछाप्दै हेरेको नोट थोत्रिन थालेपछि न्यूजरूममा साथीहरू जिस्क्याउँदै भन्थे, ‘तिम्रो नोट त काम नलाग्ने रहेछ नि।’
म के जवाफ दिउँ!
मैले छापेको पो हेरेको। गुणस्तर परख गर्न न म विज्ञ, न मेरो ल्याकत।
त्यसको नौ वर्षपछि सन् २०११ मा सिड्नी मर्निङ हेराल्डले नेपालसहित विभिन्न देशका नोट छपाइमा भएको अनियमितताबारे समाचार छाप्यो। म ‘कान्तिपुर’ छाडेर ‘नागरिक’ दैनिकमा थिएँ। अस्ट्रेलियाको अनुसन्धान ब्युरोले छानबिन गरेर त्यसको रिपोर्ट नेपाल पठाइएको खबर थियो। हामीले सिड्नी मर्निङ हेराल्डलाई उद्धृत गर्दै प्राथमिकतासाथ समाचार छाप्यौं।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि त्यसपछि छानबिन सुरु गरेको हो। यही पुस ५ गते विशेष अदालतमा दायर भएको मुद्दा त्यसैको निरन्तरता हो।
अख्तियारले आफ्नो आरोपपत्रमा पोलिमर नोट प्रकरणसँग सञ्चार माध्यमलाई पनि जोडेको छ। पत्रकारहरूलाई ‘छापिएका नोटका कमी–कमजोरी मिडियामा नल्याउन थाइल्यान्ड हुँदै अस्ट्रेलिया पठाइएको’ आरोपपत्रमा छ।
यही बुँदाले मलाई यो यात्रा वृत्तान्त लेख्ने हुटहुटी चल्यो।
प्रिय अख्तियार,
मैले कत्ति सम्झिन खोजेँ। दिमागमा पूरै जोड लगाएँ। त्यो यात्राको एक–एक दृश्य सिनेमाझैं सजीव भएर आए। तर, तत्कालीन गभर्नर तिलक रावलले मलाई आफ्नो गोप्य कोठामा लगेर ‘हामीले पोलिमर नोट छाप्दा अनियमितता गरेका छौं, यो नोट कमसल छ, कच्चा छ, कृपा गरेर यसलाई गोप्य राखिदिनू है, बरु तपाईंलाई थाइल्यान्ड र अस्ट्रेलिया घुमाउँला’ भनेको कसैगरी सम्झिन सकिनँ।
यति मात्र होइन, अस्ट्रेलिया जानुअघि र गएर आइसकेपछि पनि यो विषयमा रावललाई भेटेको छैन।
उता, इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाँडेले नोट छपाइको अनियमितता लुकाइदिन ललाइफकाइ गरेको मलाई यादै छैन।
सोच्दैछु, नोट प्रिन्टिङ अस्ट्रेलियाका अधिकारीले पनि मलाई गोप्य कोठामा लगेर ‘पत्रकार साथी, हामीबाट गल्ती भयो, हामीले अगाडिका पन्ध्रवटा देशमा जस्तो स्तरीय नोट नेपालमा छाप्न सकेनौं, अहिलेलाई माफ गरिदिनुहोला र समाचार नबनाइदिनुहोला’ भनेर कहिले भने होलान्?
उनीहरूले भनेकै भए पनि यति ठूलो सूचना मिडियामा नल्याउन मेरो इमानदारी कहाँ मरेको थियो होला, त्यतिबेला?
प्रिय अख्तियार,
यो आरोपपत्रको विज्ञप्ति पढेपछि मलाई आफ्नोभन्दा धेरै पिर तिम्रो लागेको छ।
यो मुलुकमा कुशासन चलेको धेरै भयो। त्यसैलाई ठिक पारेर सुशासन ल्याउन अख्तियार गठन भएको हो। भ्रष्टाचार छानबिन गर्न हामीले दक्षिण एसियामै सबभन्दा बलियो संस्था बनाएका हौं। तर, यो संस्थाले सोचेअनुसार काम गर्न सकेको छैन। यो कहिले राजाको त कहिले राजनीतिज्ञको वक्रदृष्टिमा परेको छ। केहीअघि लोकमानसिंह कार्की अख्तियार प्रमुख भएर आए। उनले यो संस्था कसरी चलाए जगजाहेर छ।
नयाँ नेतृत्व आएपछि अख्तियारले विगतको कमजोरी सच्याउँदै राम्ररी काम गर्नेछ र मुलुकलाई सुशासनतर्फ लैजानेछ भन्ने धेरैले आश गरेका छन्। मेरो पनि अझै त्यही आशा छ।
तर, पोलिमर नोट प्रकरणमा पत्रकारहरूको अस्ट्रेलिया भ्रमणलाई लिएर तिमीले जे भन्यौ, त्यसले तिम्रो काम गर्ने ल्याकत, तथ्यहरू जोडेर विश्लेषण गर्ने क्षमता र निष्कर्षमा पुग्ने तरिका देखेर म तिम्रो क्षमतामा आश्वस्त हुन सकिरहेको छैन।
प्रिय अख्तियार,
यति ठूलो निष्कर्षमा पुग्नुअघि तिमीले ‘कान्तिपुर’ जस्तो संस्थाको न्यूजरूमले कसरी काम गर्छ र पत्रकारहरूलाई कसरी विदेश भ्रमणमा खटाइन्छ भन्ने सामान्य विधि पनि ध्यान दिएनौं।
सोह्र वर्षअघि जसरी मलाई प्रधानसम्पादक युवराज घिमिरेले अस्ट्रेलिया पठाउनुभयो, कान्तिपुरजस्तो संस्थाको न्यूजरूमबाट पत्रकारहरू विदेश जाने सामान्यतया त्यसरी नै हो। म यसैगरी प्रधानसम्पादकले खटाएर भारत गएको छु, चीन गएको छु, अरू विभिन्न मुलुक गएको छु।
पोलिमर नोटको सन्दर्भमा मलाई अस्ट्रेलिया पठाउनुहुने युवराज घिमिरे नेपाली पत्रकारितामा इमान भएका अग्रणी पत्रकार हुनुहुन्छ। उहाँको इमानमा शंका गर्ने सायदै कोही होला।
अब मानौं, मलाई उहाँले खटाएकै होइन। म आफैंले चलाख भएर गभर्नर रावल र बैंकर पाँडेसँग साँठगाँठ गरेँ। उनीहरूको बद्मासी सुइँको पाएँ र अस्ट्रेलिया जान इमान बेचेँ। तर, तिमीले त्यतिबेलाको कान्तिपुर न्यूजरूममा कस्ता–कस्ता वरिष्ठ र सिद्धहस्त पत्रकारहरू काम गर्थे भन्ने हेरेका भए र उनीहरू मातहत म फुच्चे पत्रकारले यति ठूलो अनियमितता ढाकछोप गर्न सकुँला त भन्ने मात्र विश्लेषण गरेका भए तिमी यस्तो निष्कर्षमा कदापि पुग्ने थिएनौ।
तिमीले यति त सोच्नु र विश्लेषण गर्नुपर्थ्यो। चार हजारभन्दा धेरै पत्रकार क्रियाशील रहेको मुलुकमा चार जना पत्रकारलाई अस्ट्रेलिया घुमाएर पोलिमर नोटको अनियमितता र कमजोरी ढाकछोप हुन्थ्यो होला?
हुँदैनथ्यो। भएन पनि।
प्रिय अख्तियार,
तिमीले आफ्नो प्रेस विज्ञप्तिमा ‘छापिएका नोटको कमी–कमजोरी मिडियामा नल्याउन’ हामीलाई अस्ट्रेलिया लगिएको लेखेका छौ। हामीलाई नोट छापिएर चलनचल्तीमा आउनुअघि नै अस्ट्रेलिया लगिएको थियो। फर्केर आइसक्दा पनि नोट बजारमा आएकै थिएन। चल्तीमै नआएका नोटको कमी–कमजोरी कसरी थाहा पाउनु? थाहै नभएको खबर कसरी लेख्नु?
तिमीले तिथिमिति मात्र विचार गरिदिएको भए यस्तो निष्कर्षमा पुग्ने थिएनौ।
यहाँ अस्ट्रेलिया नलगिएका सञ्चार माध्यमले पनि पोलिमर नोट बजारमा आएको दिन समाचार र नयाँ नोटको फोटो छापेकै थिए। नोट थोत्रिएपछि अस्ट्रेलिया नलगिएका सञ्चार माध्यमले जति र जसरी कमी–कमजोरी उक्काए, मैले र म काम गर्ने संस्थाले पनि त्योभन्दा कम होइन, बढी नै लेख्यौं। तिमी निष्कर्षमा पुग्नुअघि यत्ति विश्लेषण गरिदिएको भए हुने नि।
तिमीले पक्कै अस्ट्रेलिया भ्रमण गर्ने पत्रकारहरूको सूची राष्ट्रबैंकमा देखेरै सबैलाई एकै घानमा राखेर आरोप लगायौ होला। तर, म काम गरेका संस्थाहरू कान्तिपुर र नागरिकले समाचार लुकायो कि लुकाएन भनेर तिमीले हेर्यौ कि हेरेनौ? सूचीमा नाम देख्दैमा सबै मिडियाकर्मीलाई अनियमितता लुकाउनै लागिएको हो भनेर कसरी निष्कर्षमा पुग्यौ?
तिमी यस्तै गरी तथ्य केलाउन चुक्यौ र सबैलाई एकै घानमा राखेर निष्कर्षमा पुग्न थाल्यौ भने मुलुकमा सुशासन कायम गर्ने जिम्मेवारीबाट पनि चुक्ने छौ। सुशासन बलियो बनाउन अख्तियार बलियो बनाउनैपर्छ। यसको निम्ति तिमीले आफ्नो छानबिनको ल्याकत बढाउनैपर्छ।
तिम्रो यो कमजोरीले मेरो मनमा शंका जन्माएको छ। तिमी यो मुद्दामा जसरी निष्कर्षमा पुग्यौ, अरू मुद्दामा पनि यसैगरी निष्कर्षमा पुग्ने गरेका छौ भने तिमीले लगाउने आरोप यस्तै फितला हुन्छन् भनेर मान्नुपर्ने भयो।
प्रिय अख्तियार,
आज पनि यहाँ थुप्रै विकास आयोजनामा पत्रकारहरूलाई भ्रमण गराइन्छ। स्वदेश घुमाइन्छ। विदेश घुमाइन्छ। भोलि ती आयोजनामा भ्रष्टाचार भेटिए घुम्न गएका सबै पत्रकारलाई भागीदार बनाउने? त्यसो हो भने त पत्रकारहरूले कहीँ जानै भएन। गए पनि भ्रष्टाचार छ कि छैन पहिल्यै ‘दूधको दूध, पानीको पानी’ गर्नुपर्ने भयो। नछापिएको नोट कमसल छापिँदैछ भनेर थाहा पाउनुपर्ने भयो।
त्यति क्षमता त हामी नेपाली पत्रकारको पक्कै छैन, प्रिय अख्तियार।
अख्तियारको आरोपपत्रको पूर्ण विवरण मैले हेरेको छैन। तर, अनुसन्धान अधिकृतहरूलाई हवाला दिँदै प्रतिव्यक्ति दुई हजार डलर खर्च भएको समाचार आएको छ।
मलाई सम्झना भएसम्म अस्ट्रेलियामा अन्तिम दिन एक्लै घुम्न र फर्कन बाटोखर्च भनेर सय वा दुई सय डलर दिएजस्तो लाग्छ। के गर्नु! त्यतिबेला त्यो रकम यति ठूलो अनियमितता लुकाउनलाई दिएको घूस हो भन्ने मेरो दिमागमा पर्दै परेन। अन्तिम दिनको निम्ति भ्रमण खर्च दिएको भन्ठानेँ। मलाई जायजै लाग्यो।
जहाजको टिकट, होटलमा बस्ने खर्च राष्ट्र बैंकले नै गरेको थियो। अरू पैसा त्यसैमा खर्च भयो कि। मलाई थाहा छैन।
अख्तियारका कर्मचारी पनि विदेश भ्रमणमा जाँदा आयोजकले दिएको यस्तो खर्च लिन्छन् होला नि? कि लिँदैनन्? लिँदैनन् भने अबउप्रान्त त्यस्तो खर्च कसैले नलिने र विदेशमा हुनेजति सबै खर्च आफ्नै गोजीबाट बेहोर्ने नियम बनाउनुपर्यो। हुँदैन?
म नेपाली पत्रकारिता र आफ्नो बारेमा यत्ति भन्छु– मुलुकमा बेइमान पत्रकार पनि होलान्। तर, इमान राखेर काम गरेका धेरै अग्रज र मभन्दा पछिल्लो पिँढीका धेरै जवान पत्रकार छन्। मेरो इमान उनीहरूको भन्दा धेरै छ भन्ने धृष्टता म गर्दिनँ। तर, मेरो इमान यो मुलुकका अरू कुनै पत्रकारको भन्दा कम पनि छैन।
राजनीति, प्रशासन, पत्रकारिता लगायत सबै क्षेत्रमा राम्रा–नराम्रा दुवैखाले मान्छे छन्। त्यो छुट्टयाउने काम सजिलो होइन। तर, सुशासन कायम गर्ने आफ्नो जिम्मेवारी पालना गर्दा त्यो छुट्टयाउने संवैधानिक दायित्व तिम्रै हो। तिमीलाई संवैधानिक हैसियत र मुलुकको अरू कुनै कार्यालयभन्दा धेरै स्रोत-साधन दिएपछि कुनै पनि विषयमा आरोप लगाउनुअघि तिमीले क्षमता देखाउनैपर्छ, संवेदनशीलता विचार गर्नैपर्छ।
आउने दिनका लागि तिमीलाई मेरो मुरीमुरी शुभकामना!