सामाजिक सञ्जालः लोकतन्त्रको मित्र कि वैरी?


उहिले सामाजिक सञ्जाल नहुँदा र अहिलेका चुनावमा के फरक छ?

उहिले मत माग्न घरघर जानुपथ्र्यो, टोलटोलमा भित्ताभर पम्प्लेटहरू टाँस्नुपर्थ्यो। पैसा तिरेर पत्रपत्रिका र रेडियो–टेलिभिजनमा भोट माग्नुपर्थ्यो, चर्को खर्च गरेर ठूल्ठूला आमसभाहरू गर्नुपर्थ्यो। गाउँघर र पाखाका साँगुरा बाटोहरूमा माइक लिएर मान्छेलाई आमसभाको निम्तो दिँदै र भोट माग्दै हिँड्नुपर्थ्यो।

अहिले पनि ती प्रचार माध्यमहरू प्रयोगमा त छन् तर तीभन्दा धेरै सस्तो (निःशुल्क), सुविधाजनक र प्रभावकारी माध्यम बनेको छ सामाजिक सञ्जाल।

भन्न मन लागेको कुरा लेख्यो, लेख्न जाँगर नभए बोलेको खिँचेर भिडियो हाल्यो, आफूसम्बन्धी सकारात्मक समाचार शेयर गर्यो, पोस्टर हाल्यो, समय तालिका हाल्यो। पेज र ग्रुपहरू बनाएर सयौं जनाले एकसाथ मिलेर प्रचारको काम गर्न मिल्ने व्यवस्था गर्यो। इन्टरनेट चलाउन लाग्ने न्यूनतम शुल्कबाहेक अरु कुनै खर्च छैन। घाम, पानी र जाडो खाँदै बाहिर जानेसमेत आवश्यकता छैन। मौसम अनुसार न्यानो वा शीतल कोठामा बस्यो, हजारौं, लाखौं मानिससम्म आफ्नो कुरा पुर्‍यायो, अब हामीकहाँ मात्रै नभई संसारभर चुनावी अभियानको अभिन्न हिस्सा बनिसकेको छ सामाजिक सञ्जाल।

त्यस्तै, आम मतदातालाई यस अगाडि आफ्नो कुरा अरुलाई सुनाउनु पर्‍यो वा आफ्नो पक्षको पार्टी वा नेतातिर अरुलाई तान्नुपर्‍यो भने चिया पसलमा वा भट्टीमा गएर गफ गर्नुपर्थ्यो। नेतासित चित्त नबुझे आमसभापछि पालो पर्खेर वा नेताको घरमै गएर गुनासो गर्नुपर्थ्यो।अझै नभए पत्रिकालाई पाठकपत्र लेखेर कहिले प्रकाशित होला भनेर हप्तौं कुर्नुपर्थ्यो।

अब त्यो अवस्था पनि रहेन। आफ्नो नेताको जयजयकार गर्न होस् वा विपक्षीको खेदो खन्न, नेतालाई सन्देश पठाउन होस् वा ऊसित चित्त नबुझेको कुरा पोख्न, सामाजिक सञ्जालले असम्भवलाई सम्भव तुल्याइदिएको छ। सामाजिक सञ्जालमा जति उग्र कुरा लेख्यो वा शेयर गर्‍यो, उति धेरै मानिससम्म त्यो पुग्छ। एउटा पाठक पत्र पठाएर त्यो छापिने बाटो हेरेर बस्ने दुई हप्ताको समयमा एक जनाले पोस्ट, लाइक र शेयर गरेर आफ्नो कुरा, सन्देश वा अडान हजारौं मानिससामू पुर्याउन सक्छ।

लोकतान्त्रिक अभ्यासको मुख्य आधार निर्वाचनलाई यसरी दोहोरै रूपमा बल पुर्याउने सामाजिक सञ्जालले के वास्तवमै लोकतन्त्रलाई मजबुत बनाउँदै छ त? अब यो प्रश्नको अब अलि फरक रुपमा उत्तर खोजौं।

लोकतन्त्र र सामाजिक सञ्जालः क्याम्ब्रिज एनालिटिका काण्डले खोलेको ‘पान्डोराज बक्स’

सन् २०१३ मा युनिभर्सिटी अफ क्याम्ब्रिजका अनुसन्धाकर्ता अलेक्सान्द्र कोगानले फेसबुकभित्र एप्लिकेसनहरू बनाएर प्रयोगकर्ताहरूको फेसबुक अनुभवलाई अझ गहिरो बनाउने अरु हजारौं व्यक्तिहरूले झैं एप डेभलपर खाता बनाए। उनको एपले मानिसको व्यक्तित्वसम्बन्धी प्रश्नहरू राखिएको एउटा प्रश्नावली बनाएर फेसबुकमा शेयर गर्यो। त्यो ‘क्विज’मा दुई लाख सत्तरी हजार अमेरिकीहरूले स्वतःस्फूर्त रूपमा भाग लिए।

व्यक्तिले दिएका उत्तरको मिहिन मनोवैज्ञानिक विश्लेषण गरेर हरेकको यस्तो विस्तृत प्रोफाइल बनाइयो जसले व्यक्तिका बारेमा ऊ ‘आफैंभन्दा पनि बढी’ जान्दथ्यो। मनोवैज्ञानिकहरूले मानिसको चेतन मनले दिएका अभिव्यक्ति विश्लेषण गरेर अवचेतन मनलाई समेत विश्लेषण गर्ने तरिकाहरू विकसित गरिसकेकाले त्यो अनौठो पनि हैन। त्यसमाथि अकल्पनीय गति र मात्रामा डाटा संकलन र विश्लेषण गर्ने कम्प्युटरको क्षमता जोडेपछि त्यसले आम फेसबुक प्रयोगकर्ताको ऊ आफैंले चिनेको भन्दा पनि विस्तृत प्रोफाइल बनाउनु सम्भव कुरा भइसकेको छ।

यहाँसम्म कुरा ठिकै हो। यसै पनि मानिसहरूले फेसबुक र ट्विटरजस्ता सञ्जालमा आफ्नो रुचिका अनेक रूप आविष्कार गरिसकेका छन्। कसैले जानीजानी आफ्नो मनोविज्ञान बुझ्न अरुलाई अनुमति दिन्छ भने त्यो आपत्तिजनक पनि भएन।

तर, त्यो ‘क्विज’को सेटिङमा कतै लुकाएर यस्तो विकल्प राखिएको थियो जहाँबाट आफ्नो सञ्जालका साथीहरूको डाटा संकलन गर्नबाट एपलाई रोक्न सकिन्थ्यो। स्वभावतः प्रयोगकर्ताको ध्यान त्यता गएन किनकि एपको प्रयोजन नै मानिसहरूलाई त्यसरी झुक्याउनु थियो। अन्ततः कोगानले २,७०,००० मानिसका फेसबुक खाताहरूबाट छिरेर उनीहरूको सञ्जालका झण्डै पाँच करोड अमेरिकीहरूको डाटा ताने। ती पाँच करोडका लाइक, कमेण्ट, शेयर र पोस्ट विश्लेषण गरेर उनीहरू सबैका त्यस्तै गहन प्रोफाइलहरू बने।

ती बहुमुल्य प्रोफाइलहरू कोगानले क्याम्ब्रिज एनालिटिका नामक प्रोपागाण्डा कम्पनीलाई बेचे। सन् २०१५ मा बेलायती पत्रिका गार्जियनले गरेको रिपोर्टअनुसार पहिले क्याम्ब्रिजका मालिक रोबर्ट मर्सरको समर्थन रहेका रिपब्लिकन पार्टीका उम्मेदवार टेड क्रुजको चुनावी अभियानका लागि तिनको उपयोग भयो। प्राइमरीमा क्रुज हारेपछि रिपब्लिकन पार्टीका आधिकारिक उम्मेदवार डोनाल्ड ट्रम्पका पक्षमा तिनको उपयोग भयो।

कसरी त?

क्याम्ब्रिज एनालिटिकाका प्रबन्ध निर्देशक मार्क टर्नबुलले एक बेलायती टेलिभिजनले हालै गोप्य रूपमा रेकर्ड गरेको भिडियोमा भनेका छन्ः तथ्यमा रहेर चुनाव लडेर कुनै काम छैन किनकि चुनाव भनेको भावनाको खेल हो। दुई आधारभुत मानवीय उत्कण्ठा भनेका आशा र डर हुन्। र तीमध्ये धेरै त शब्दमा व्यक्त हुँदैनन् र कति त अचेत तहमै हुन्छन्। जुनबेलासम्म कुनै त्रासद चिज देख्नुहुन्न, तपाईंलाई थाहै हुँदैन कि त्यसप्रति तपाईंको भावना डर थियो।

अर्थात्, कोगानले तयार पारेका ती ५ करोड प्रोफाइलले व्यक्तिका आशा र डरलाई पर्गेलेर तिनलाई ‘म्यानिपुलेट’ गर्दै तिनले कस्तो सामग्री सामाजिक सञ्जालबाट उपभोग गर्दा खास उम्मेदवारप्रति झुक्छन् भन्ने पत्ता लगाउन सघायो। उदाहरणः जो बेरोजगार श्वेत अमेरिकी छन्, तिनलाई मेक्सिकोसितको सीमानामा पर्खाल लगाएर आप्रवासीहरूको बाटो थुन्ने ट्रम्पको नारा अधिकतम उपयोगी हुन सक्थ्यो। पर्खालबारे ट्रम्पले बारम्बार गरेका प्रतिबद्धताहरू दिनमा कैयौं पटक ती मानिसको टाइमलाइनमा पठाइदिएपछि त्यसले तिनलाई ट्रम्पका भक्तमा बदल्न सक्थ्यो।

त्यस्तै, जो मानिस डेमोक्रेटहरूले गर्भपतनलगायतका विषयमा उदार धारणाहरूको समर्थन गर्थे तर व्यापार नीतिमा ट्रम्पले लिएको कट्टर संरक्षणवादी नीतिको समर्थन गर्थे, तिनीहरूका टाइमलाइनमा अमेरिकाको स्वार्थविपरीत भएको भनेर ट्रम्पले निन्दा गर्ने गरेका नाफ्टा र प्रस्तावित टीपीपी जस्ता व्यापार सन्धिबारे अधिकतम सामग्रीहरू बारम्बार पठाउन सकिने भयो।

त्यस्तै, जो अश्वेत अमेरिकीहरूले बुथमा गएको खण्डमा हिलारीलाई भोट खसाल्थे उनीहरूका टाइमलाइनमा वर्षभर लोकतन्त्रको खोक्रोपन, निर्वाचित नेताहरू सम्भ्रान्तहरूसित बिकेर मतदाताहरूमाथि उनीहरूले गरिरहेको गद्दारी, चुनावी प्रक्रियाको निरर्थकता, आदि विषयका ‘डार्क पोस्ट’हरू भराइदिएर उनीहरूलाई भोट हाल्नबाटै निरुत्साहित गरियो।

स्वभावतः अतिरञ्जित विचार सामग्रीहरू, अर्ध सत्यहरू र सरासर झूटमा आधारित सामग्रीहरू व्यक्तिलाई ‘ब्रेनवाश’ गर्न पुग्ने मात्रामा तिनका टाइम लाइनमा पठाइए।

फलस्वरुप, ट्रम्प र हिलारीमध्ये को निर्वाचित भयो? भने भविष्यमा कस्ता ठोस नीति लिएर आफ्नो दैनिक जीवनलाई कति सहज वा असहज बनाउन सक्छ भन्ने कुरा गौण भयो, तत्काल कसको टाइमलाइनमा कुन उम्मेदवारबारे (साँचो वा झूटो) सनसनीपूर्ण कुरा आउँछ र त्यो मतदाताहरूबीच कुन गतिमा फैलिन्छ? भन्ने कुरा निर्णायक महत्वको भयो।

अभूतपूर्व रूपमा धमिलिएको अमेरिकी चुनावमा सामाजिक सञ्जालबाट फैलिने दुष्प्रचार कति प्रभावकारी भयो? भन्ने एउटा उदाहरणः २०१६ अक्टोबर ३० मा एउटा ट्वीटबाट सुरू भएको हिलारी क्लिन्टन सम्बद्ध बाल ‘पोर्नोग्राफी रिङ’ सम्बन्धी झूटा समाचार केही दिनमा सामाजिक सञ्जालमा ‘भाइरल’ भयो। कतिसम्म भने त्यसको केही हप्तापछाडि नर्थ क्यारोलाइनाका एड्गार वेल्च नामक व्यक्ति क्लिन्टनले बन्धक बनाएर यौन शोषण गराएका भनिएका बच्चाहरूको उद्धार गर्न भनेर राइफल लिएर झूटा समाचारमा उल्लेखित वाशिंटनस्थित पिज्जा रेस्टुराँमा पुगे र आतंक सिर्जना गरे।

त्यो काण्ड झूटा प्रमाणित हुन धेरै समय लागेन तर जो ट्रम्पको पक्षमा ध्रुवीकृत भइसकेका थिए, उनीहरूले त्यसपछि पनि त्यो र त्यस्तै भ्रमहरू फैलाइरहे। क्याम्ब्रिज एनालिटिकाले ट्रम्पका लागि रचना गरिदिएको भनेर दाबी गरेका ‘क्रुक्ड हिलारी’लगायतका नारा सामाजिक सञ्जालभर गुञ्जिरहे र हिलारी वास्तवमै अपराधी भएको पत्याएर उनलाई हराउन सबै तिकडम अपनाउनेहरूको संख्या बढिरह्यो।

अन्तमा ट्रम्पले अपत्यारिलो जित हात पारे र हिलारीले जितिसकेको मानिएको चुनाव हारिन्।

दोषी प्रयोगकर्ता कि फेसबुक?

क्याम्ब्रिज एनालिटिका सम्बन्धी काण्ड हालै विस्फोट भएपछि फेसबुक कम्पनी तुफानमा हेलिएको जहाजजस्तै बनेको छ। अमेरिकी चुनावमा रुसी सरकारद्वारा प्रायोजित ‘ट्रोल’हरूले लाखौं नक्कली फेसबुक खाता अनि ट्वीटरमा स्वचालित खाता वा ‘बोट’हरू बनाएर अमेरिकीहरूबीचको मत भिन्नता गहिर्याउँदै ट्रम्पलाई जित्न सघाएको भनेर महिनौंदेखि सार्वजनिक भएका तथ्यहरूबीच भएको यो पछिल्लो काण्ड १४ वर्षे फेसबुकले झेलेको अहिलेसम्मकै ठूला काण्डहरूमध्ये एक मानिएको छ।

अवस्था कतिसम्म बिग्रेको छ भने ठूलो संख्यामा फेसबुकका प्रयोगकर्ताहरू नै अहिले ‘डिलिट फेसबुक’ अभियानमा छन् र हाल फेसबुककै स्वामित्वमा रहेको ह्वाट्सयापका एक संस्थापक ब्रायन एक्टन र टेस्ला कम्पनीका प्रमुख एलोन मस्कसमेत त्यो अभियानसित जोडिन पुगेका छन्।

तर, अलेक्सान्द्र कोगानजस्ता धोकेवाज शोधकर्ता र झूटा समाचारका पछाडि आँखा चिम्लेर लाग्ने प्रयोगकर्ता मुख्य दोषी हुँदाहुँदै अहिले दोष फेसबुकलाई किन दिइँदैछ त?

सन् २०१५ मा क्याम्ब्रिज एनालिटिकाले अवैध रूपमा फेसबुक प्रयोगकर्ताहरूको डाटा टेड क्रुजको फाइदाका लागि प्रयोग गरेको समाचार गार्जियन पत्रिकाले ‘ब्रेक’ गरेलगत्तै फेसबुकका प्रमुख मार्क जुकरबर्गको फेसबुक पोस्ट यस्तो थियोः

मलाई पढाइले धेरै कुरा बुझाएको छः विज्ञानदेखि धर्मसम्म, गरिबीदेखि समृद्धिसम्म, स्वास्थ्यदेखि ऊर्जा र सामाजिक न्यायसम्म, राजनीतिक दर्शनदेखि विदेश नीतिसम्म अनि इतिहासदेखि भविष्यमुखी आख्यानसम्म।

अर्थात्, काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ। पछिल्लो संकट आउनुअगाडि आफूविरुद्ध आउने सबै आरोप, आलोचना र निन्दालाई फेसबुकले अपवादबाहेक यसरी नै बेवास्ता गरेर पचाउँदै आएको थियो।

विश्लेषकहरू भन्छन्, मिडियामा त्यति गहन समाचार आउँदा फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई आफूसित भएको डाटा नष्ट गर्न आग्रह गर्नेबाहेक केही पनि गरेन, त्यस विषयमा एउटा अडिटसमेत भएन। उता क्याम्ब्रिज एनालिटिकाले अमेरिकामा ट्रम्पको जितको शेखी लडाउँदै भारतदेखि नाइजेरियासम्म ग्राहक राजनीतिक दल खोज्ने र तिनलाई मतदाताहरूको मानसिक प्रोफाइल बनाउन र उनीहरूलाई प्रभावित गर्न सघाइरह्यो।

लोकतन्त्रमाथिको खतरा

अमेरिकामा पछिल्लो चुनावमा मतदातालाई प्रभाव पार्न ‘फेक न्युज’ वा झूटा समाचारले जुन भुमिका खेल्यो, त्यो हेरेपछि अहिले संसारभरका राजनीतिक पार्टीहरू त्यो हतियार प्रयोग गर्न उद्धत हुँदै गएका छन्। र त्यो फैलाउने भरपर्दो माध्यम बनेका छन् सामाजिक सञ्जाल।

भारतका यो विषयका जानकारहरू के भन्छन्? भने जसरी पछिल्ला केही वर्षमा चुनाव प्रचारका लागि परम्परागत माध्यमहरूलाई सामाजिक सञ्जालले प्रमुख माध्यमका रूपमा जसरी विस्थापित गरेको छ, अबको पालो भनेको तथ्यमा आधारित कुनै पनि तर्क वा बहसलाई आफ्नो स्वार्थ अनुकूलको झूटा समाचार वा सामग्री (फोटोसप गरिएका तस्वीरहरू, ‘म्यानिपुलेट’ भएका नक्कली तर उच्चस्तरीय प्रविधिका कारण सक्कलीसित छुट्याउन गाह्रो हुने भिडियोहरू, आदि) ले विस्थापन गर्ने हो।

अर्थात्, अहिले पार्टीहरूका सूचना प्रविधि हेर्ने ‘आइटी सेल’हरू छन् भने अब तीभित्र ‘फेक न्यूज’ सिर्जना र प्रवाह गर्ने शक्तिशाली उपविभागहरू बन्ने छन् जसले वर्षौं पहिलेदेखि झूटा समाचारका वेबसाइट बनाउने, नानाथरिका सनसनीपूर्ण समाचार राखेर तिनलाई आधिकारिक मानिससम्म पुर्याउने, तिनमा खास गरी विपक्षीहरूको चरित्र हत्या गर्ने गरी रचनात्मक झूटा समाचार सामग्रीहरूको चाङ तयार पार्ने अनि तिनलाई सामाजिक सञ्जालका नक्कली र स्वचालित एकाउन्ट तथा ‘ट्रोल आर्मी’ भनिने अतिवादी समर्थक वा भक्तहरूको प्रयोग गरेर लाखौं, करोडौं मानिससम्म पुर्याउने काम गर्नेछन्।

अर्थात्, हिजो आफूले गरेको राम्रो कामको बढाइचढाइ र विपक्षीका कमजोरी वा भ्रष्टाचारको प्रचारप्रसार हुन्थ्यो भने अब आफ्नो स्वार्थअनुसार सम्पूर्ण रूपमा काल्पनिक समाचार र सामग्रीहरू निर्माण गरेर मतदाताहरूसम्म पठाउने होड चल्नेछ। त्यसका लागि अहिले धमाधम पार्टीहरूले विज्ञ व्यक्ति र कम्पनीहरू जुटाइरहेका छन्। भारतमा सत्ताधारी बीजेपीलाई यस्तो रणनीतिको ‘पायोनियर’ मानिए पनि विहारको पछिल्लो चुनावमा ऊइतरका दलहरुले क्याम्ब्रिज एनालिटिकाको सहयोग लिएर चुनाव जितेको भनेर अहिले भारतमा विवाद चलिरहेको छ।

ब्रिटेनको च्यानल फोरले लुकाएर खिचेको भिडियोमा हालै क्याम्ब्रिज एनालिटिकाका सिइओ अलेक्जान्डर निक्स भन्छन्ः ट्रम्पलगायतका उम्मेदवारहरू खाली कठपुतली मात्रै हुन्, उनीहरूका तर्फबाट हुने डिजिटल मात्रै नभई टेलिभिजनको र बाँकी सबै प्रचार उनीहरूको कम्पनीले जम्मा गरेर विश्लेषण गरेको डाटामा आधारित हुन्छ।

सत्य नभइदिएको भए त्यस्तो अभिव्यक्ति अत्यन्तै हास्यास्पद हुन्थ्यो। तर अहिले अवस्था बिस्तारै निक्सले भनेको जस्तै बन्दै गएको छ। धेरैभन्दा धेरै उम्मेदवारहरू विपक्षीभन्दा पछि नपर्नकै लागि मात्र भए पनि फेक न्युजजस्ता तिकडमको अधिकतम उपयोग गर्न उद्धत  हुने र मानिसको जीवनमा वास्तवमै अर्थ राख्ने एजेण्डा र बहसहरू चुनावी कोलाहलमा कतै पनि नदेखिने अवस्था सिर्जना हुँदै आएको छ।

यो अवस्थामा यो वा त्यो उम्मेदवारले जित त हात पार्छ नै तर योग्यतमा मानिसहरू निर्वाचित हुने परिकल्पना गरिएको लोकतान्त्रिक व्यवस्थामाथि चाहिँ गम्भीर संकट मडारिइरहेको छ ।

अन्तमा, यसरी लोकतान्त्रिक व्यवस्थाका चुनावहरू सामाजिक सञ्जालका अध्यारा पाटाहरूसित जटिल रूपमा जेलिइसकेका छन् र क्याम्ब्रिज एनालिटिका काण्डका कारण यो विषय बहसमा आएको छ । तर यो प्रकरणले फेसबुकजस्ता सामाजिक सञ्जालको बिजनेस मोडलबारे चाहिं के भन्छ त?

यसबारे अमेरिकी कमेडियन स्टेफन कोल्बर्टले एउटा सटिक व्यंग्य कसेका छन्ः फेसबुक बन्दुक देखाएर लुटिएको बैंकजस्तो हैन, बरु त्यस्तो बैंकजस्तो हो जसले लुटेराहरुलाई खुलेआम तपाइँको पैसा दिन्छ किनकि उसको बिजनेश मोडल नै त्यही हो । तर तपाइँ अब त्यो बैंक छोड्न पनि सक्नुहुन्न किनकि तपाइँको पूरै परिवार त्यहाँ छ र त्यो मात्रै त्यस्तो ठाउँ हो जहाँ तपाइँ आफ्नो पुरानो हाइस्कुलको साथी मोटाउँदै गरेको सुचना पाउन सक्नुहुन्छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.