जब हामीकहाँ वैध थियो ‘दम मारो दम…’

हिप्पीकालीन काठमाडौंको विषयवस्तुमा आधारित हिन्दी फिल्म 'हरे राम हरे कृष्ण' को गीतको एक दृश्य।


काठमाडौं सम्झना

यस वर्ष महाशिवरात्रिमा शिवका उपासकहरूले पशुपति परिसरमा शिवबुटी (गाँजा) सेवन गर्न पाएनन्। पशुपति गाँजा निषेधित क्षेत्र बनेछ।

सदियौंदेखि पशुपतिनाथ दर्शन गर्न आउने दिगम्बर बाबाजीहरूलाई सरकारले नै गाँजा बन्दोबस्त गरेर नेपाली आतिथ्य झल्काउने त्यो परम्परा अब टुट्यो। सन् १९७३ बाट नेपालले गाँजा, भाङ, चरेस आदि ओसारपसार, खेती, व्यापार र सेवनमा प्रतिबन्ध लगाएको छ। यसका लागि अमेरिका लागिपरेको थियो।

आज ४५ वर्षपछि अमेरिकाका २९ राज्यमा यो बुटीले वैधानिकता पाइसकेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार संसारमा सबभन्दा धेरै प्रतिव्यक्ति ‘मारियुएना’ खपत गर्ने देश अमेरिका नै हो। अमेरिकाको गाँजा अर्थतन्त्र ८ अर्ब डलरभन्दा बढी पुग्ने विभिन्न अध्ययनले देखाएका छन्।

अमेरिकी तथा युरोपेली मुलुकमा गाँजा फुकाउँदै र खुकुलो नीति लिने क्रम बढेको छ। यस्तो अवस्थामा हामीले भने पशुपतिको सानो क्षेत्रमा वर्षको एक दिन पनि बन्द गर्यौं। साधु, सन्त, योगी, बाबाजीको सानो समुदायलाई लक्षित छुट खोसियो। यो निर्णय ‘गँजडी निर्णय’ कै कोटीमा पर्ला भन्ने मलाई लागेको छ।

शिवरात्रिमा गाँजा खाने चलन आजको होइन। मेरो बाल्यकालका सबै शिवरात्रिमा पशुपति क्षेत्र गाँजामय हुन्थ्यो। त्यहाँ वरपरको राममन्दिर परिसरमा धूनी जगाएर गाँजाको सर्को तानिरहेका निर्वस्त्र बाबाजीहरू कौतुहलताका विषय हुन्थे। काठमाडौंका केही मान्छे उनीहरूसँग चिलिम साटासाट गरिरहेका देखिन्थे। यी मान्छेमा युवा पुस्ता हुन्थेनन्।

शिवरात्रिबाहेक गाँजा खाने मान्छे देख्न विभिन्न बहाल तथा मन्दिर परिसर पुग्नपर्थ्यो। त्यहाँ भजन गाउन जम्मा भएका केही भक्तालु आपसमा चिलिम साट्दै, सर्काउँदै गरेका देखिन्थे। त्यो समूहमा पनि युवा पुस्ता विरलै देखिन्थ्यो। अपवाद नहोला भन्न चाहिँ सकिन्न।

सन् १९६० दशकमा नेपालमा ‘हिप्पी’ पर्यटनको प्रभाव पर्यो। त्यसपछि भने गाँजा, चरेस, भाङ व्यापार ह्वात्तै बढ्यो। नसामा लठ्ठिने युवाहरूको संख्या उक्लिन थाल्यो।

काठमाडौंको झोँछे, बसन्तपुर तथा मरूहिटी विश्व मानचित्रमा ‘हिप्पी ट्रेल’ को कडीभित्र जकडिन थाल्यो। त्यहीबेला भारतका चर्चित कलाकार देव आनन्द र जीनत अमानको फिल्म ‘हरे राम हरे कृष्ण’ को ‘दम मारो दम’ र अरु गीतका साथै फिल्मका अधिकांश दृश्य काठमाडौंमा छायांकन भयो। त्यसमा पनि यहाँ छाएको हिप्पी समुदाय देखाइएको थियो। भजन गाउँदै गाँजाको सर्को तानिरहेका विदेशी युवाहरूको जमात देखाइएको थियो। त्यसपछि त झन् भारतीय युवाहरू समेत सोही फिल्मको ‘दम मारो दम’ गीत गाउँदै काठमाडौंलाई आफ्नो गन्तव्य स्थल बनाउन थाले। विश्वका विभिन्न युवा भेला हुने थलो झोँछे बन्यो।

हाम्रो युवा पुस्तालाई गाँजाले गाँजेकै बेला सन् १९६५ र १९६६ मा कर्णाली पश्चिमका पहाडी भेगमा वनस्पति सर्वेक्षण गर्ने टोली खटिएको थियो। त्यसमा म पनि थिएँ।

रुकुम, रोल्पा, डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला लगायत जिल्लाका लेकबेसी चहार्दै थिएँ। बेलाबखत गाँजाका फाँट देखिन्थे, यतिकै फाल्तु झाडीजस्तै फैलिएका। न गोड्ने, न मल। न कूलो न पानी। तर त्यसबाट निस्कने चोपबाट एउटा आलुजत्रो डल्लो चरेस बटुल्न पायो भने सयौं रूपैयाँ आम्दानी हुने रहेछ। त्यसबेला मेरो दैनिक भत्ता दस रूपैयाँ थियो भने भ्रमण भत्ता प्रतिकोस चार रूपैयाँ।

एक जना हुलाकी भाइ आफ्नो बाटोमा पर्ने गाँजाघारीबाट हातमा चोप बटुल्दै, डल्ला पार्दै हिँड्दो रहेछ।

गाँजा बोटको फूल फुल्ने भागलाई हातले कस्सेर च्याप्प समात्यो भने त्यसको लस्सा हातमा टाँसिन्छ। त्यही लस्सालाई मयलजस्तै माडेर स–साना डल्ला बनाइने रहेछ। ती भाइले यस्तै चरेस गोली लिएर हामीलाई हिन्दी भाषामा ‘आप लेंगे (तपाईं लिनुहुन्छ?’ भनेर सोधे। मैले नलिने भनेँ।

यसैगरी दार्चुलाको सबभन्दा दुर्गम गाउँमा हामी बास बस्यौं। त्यहाँ भने गाँजा राम्रैगरी खेती भएको पाइयो। त्यहाँका मान्छे भाङका दाना पेलेर निकालिएको तेल भुटुन खाँदा रहेछन्। तिलको भन्दा मीठो अचार बन्दो रहेछ। त्यसमा नसालु अंश भने बाँकी नहुने रहेछ। त्यस्तै गाँजाको रेसाबाट बनेका ‘भांग्रा’ कपडा लगाउँदा रहेछन्।

काठमाडौंमा सनपाट (जूट) को बोरालाई भांग्रा भन्ने चलन थियो। गाँजाको रेसाबाट बनेको भांग्रा कपडा त रुकुम, रोल्पा, दार्चुलातिर मात्र देखिन्थे। हामीले काठमाडौंमा देख्ने जुटका पनि त्यस्तै देखिने भएकाले भांग्रा भनिएको रहेछ।

आजभोलि गाँजा रेसाबाट बनेका कपडा युरोप, अमेरिका, क्यानडा लगायत विभिन्न देसमा ‘फेसनएबल’ मानिन्छ।

गाँजा, भाङ र चरेस, यी तीनै नशालु पदार्थ एकै प्रजातिको वनस्पतिबाट बन्छ। यो वनस्पतिलाई वैज्ञानिक भाषामा ‘क्यानाबिज स्याटिभा’ भनिन्छ। यसको बिरूवा झन्डै मान्छे जत्तिकै अग्लो हुन्छ, पाँच वा छ फिट। यसको जीवनचक्र एक वर्षको हुन्छ। प्रत्येक वर्ष नयाँ बिरूवा उम्रिन्छ, हुर्कन्छ, फूल फुल्छ, बीउ लाग्छ र मर्छ।

यसको भाले र पोथी बोट अलग हुन्छ। पोथी बोटको टुप्पामा गाँजिएर फूल फुल्न थालेपछि त्यो भागका नयाँ पात र मुना लस्याइला च्याप–च्याप हुन थाल्छन्। त्यही च्याप–च्याप पदार्थ हातमा माडेर लस्सा जम्मा गरेपछि चरेस तयार हुन्छ।

चरेसको मात्रा कम उत्पादन हुने बिरूवाका मुन्टा काटेर गाँजा बनाइन्छ। चरेस र गाँजामा काम नलाग्ने पात र फूल भाङका रूपमा प्रयोग हुन्छ। यी तीनै काममा उपयोग नभएका बिरूवाको डाँठबाट भांग्रा बुन्ने रेसा निकालिन्छ। यसप्रकार कुनै पनि भाग खेर नजाने भएकाले ‘पैसा फल्ने’ वनस्पति मानिन्छ।

पश्चिमी पर्वतीय भागमा सामान्यतया २ हजारदेखि २७ सय मिटर उचाइमा मौलाउने गाँजाको बोट चरेसप्रधान हुन्छ। पूर्वी तराइ र मधेस खण्डमा मौलाउने बिरूवाबाट गाँजा उत्पादन हुन्छ। यी गुण–स्वाभाव भिन्नताले गाँजा दुई प्रजातिका वनस्पतिबाट पाइन्छ भन्ने मान्यता छ।

पहाडी गाँजालाई ‘क्यानाबिज इन्डिका’ र मधेस–तराईकोलाई ‘क्यानाबिज स्याटिभा’ को श्रेणीमा राख्न सकिन्छ। पहाडी गाँजा अलि होचो (तीन–चार फुट) र फूलहरू ज्यादै गाँजिएर फुल्ने हुन्छ। पातको भेट्नो पनि अलि छोटो र हाम्रा हातका औंला झैं फाटिएका हुन्छन्। तराइका बिरूवाका पत्र भन्दा चौडा हुन्छन्।

मधेसका बिरूवा पाँच फुटभन्दा अग्ला र सुरिला हुन्छन्। पात साँघुरा र लाम्चा हुन्छन्।

बिरूवाको आकृतिमा सामान्य भिन्नता देखिए पनि तिनबाट प्राप्त हुने रसायनिक औषधि तत्वको विभेद विशेष महत्वको हुन्छ।

आजभोलि युरोप, अमेरिका लगायत विभिन्न देशमा गाँजाको गुण, दोषबारे चर्चा चुलिदैं छ। हाम्रो परम्परागत औषधोपचार एवम् मनोरञ्जन कार्यमा गाँजा सेवन इतिहासले हामीलाई वैदिककालसम्म डोर्याउँछ। हाम्रा आयुर्वेद विज्ञानले यसको स्वाभाव निष्कर्ष यसरी वर्णन गरेको छ।

‘तितो, तीक्ष्ण र गरम छ। हल्का छ। पाचन छ। रूचि, भोक, निद्रा, मोह, मद र हर्ष बढाउँछ। ग्राही छ। कफ र वायू हटाउँछ। कसैले ‘गर्भपातक’ पनि भनेका छन्’- कोषनाथ देवकोटा, नेपाली निघन्टु, २०२५ (नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान)

वर्तमान विश्वको विकृत समाजलाई केही राहत दिने बुटीका रूपमा गाँजाले लोकप्रियता पाउने थालेको विषयलाई ‘हिप्पी संस्कृति’ ले प्रस्टाइसकेको छ। हाम्रो एसियाली सन्दर्भमा गाँजा गरिब समाजको सहज औषधि एवं मनोरञ्जनको सरल साधन बनिआएको छ। वर्तमान विश्वको सूचना प्रणाली ‘इन्टरनेट’ भित्र सरसरी छिरेर हेर्यौं भने गाँजा प्रयोगले निम्न समस्या समाधान गर्न सक्ने कुरा उजागर गर्छ।

१) किमोथेरापी औषधोपचारका कारण क्यान्सर रोगीलाई आउने वाकवाकी र वमनको समस्या शमन गर्न गाँजाका सारतत्वले मद्दत पुर्याउँछ।

२) अनिद्रा र चिन्ताग्रस्त व्यक्तिलाई गाँजा सेवनले फाइदा गर्छ।

३) सामाजिक परिस्थितिले निराश भएका मान्छेलाई वा चिन्तामा डुबेको मनस्थिति शान्त पार्न गाँजा लाभदायकसिद्ध भएको छ।

४) शारीरिक पीडा खप्नुपरेको दीर्घरोग समेतका पीडा पनि यसले कम गराउँछ।

५) एड्सका रोगीलाई पनि यसले बचाउन मद्दत गर्छ भन्ने मान्यता छ।

६) मानसिक विचलन, विशेषगरी ‘मल्टिपल स्केलेरोसिस’ तथा छारेरोगमा पनि यो उपयोगी मानिन्छ।

७) आँखासम्बन्धी ग्लाउकोमा रोग निको पार्न पनि गाँजा प्रयोग हुन्छ।

उपयुक्त चिकित्सकको निगरानीमा गाँजाबाट माथि उल्लिखित फाइदा लिन सकिने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन्। यस विषयमा थुप्रै लेखहरू पनि प्रकाशित भइसकेका छन्।

गाँजा हाम्रो प्राकृतिक सम्पदा हो। थोरै मिहिनेतमा धेरै आयआर्जन हुने नगदे बाली पनि हो। यस बुटीबारे अध्ययन अनुसन्धान र प्रचारप्रसार रोकिएको ४५ वर्ष भयो। कानुनी निषेधका कारण नेपाल, भारत, पाकिस्तानजस्ता देशले यसको विकासमा रोक लगाउनुपर्यो।

हालै भारतमा, विशेष गरी योगगुरू बाबा रामदेव तथा आचार्य बालकृष्णले गाँजा वैध बनाउनुपर्छ भनेर आवाज उठाउँदैछन्। हरिद्वारको पतञ्जली अनुसन्धान केन्द्रमा कार्यरत दुई सयभन्दा बढी वैज्ञानिकले गाँजा लगायत विभिन्न हिमाली जडिबुटी अनुसन्धान गर्दै छन्। गाँजामा पाँच सयभन्दा बढी औषधियुक्त रसायन हुन्छ भन्ने तथ्य स्थापित छ। तीमध्ये विशेष नसालु पदार्थको रसायनिक नाम ‘टेट्रा–हाइड्रोक्यानाबाइनल’ (टिएचसी) छ भने अर्को भगिनी पदार्थ ‘क्यानाबिडोल’ (सिबिडी) नामले प्रख्यात छ। हाम्रो मन र मस्तिष्कमा प्रत्यक्ष प्रभाव पार्ने यी रसायन लगायत अन्य तत्वका बारेमा गहन अनुसन्धान हुनुपर्छ।

सामान्यतया हाम्रो पहाडी गाँजा (चरेस) मा टिएचसीको मात्रा धेरै र सिबिडीको मात्रा कम हुन्छ। औषधिउपचारका लागि सिबिडी धेरै भएको गाँजा उपयुक्त हुन्छ भन्ने मान्यता छ। यस हिसाबले यसका लागि तराई क्षेत्रमा उत्पादित गाँजा उपयोगी हुन्छ। तर, हाम्रो अनुसन्धान दायरामा यी कुरा कहिल्यै पर्न सकेनन्। कानुनी निषेधका कारण अध्ययन, अनुसन्धानको बाटो थुनिदिएर पश्चिमा राष्ट्रले आफ्नो एकाधिकार जमाउन सजिलो बनाइदियो, संयुक्त राष्ट्रसंघको सन् १९६१ को सन्धिले।

आजको विश्वमा गाँजा प्रयोगबारे पक्ष र विपक्षमा कुरा चल्दै छन्। यस सन्दर्भमा नेपालले आफ्नो छिमेकी राष्ट्रहरू विशेष गरेर भारत र पाकिस्तानसँग हातेमालो गरी अध्ययन, अनुसन्धान सिलसिला बढाउनु उचित हुन्छ। अध्ययन र अनुसन्धान कमीले नेपालमा कति प्रजातिका गाँजा पाइन्छन् भन्ने यकिन छैन।

तराई, मधेसतिरको अग्लो गाँजालाई ‘क्यानाबिज स्याटिभा’ र पहाडीलाई ‘क्यानाबिज इन्डिका’ भन्ने चलन छ। केही वनस्पतिशास्त्रीहरू पहाडी गाँजालाई इन्डिका प्रजातिको अर्कोथरी अर्थात् ‘भेराइटी कफिरिस्तानिका’ हो भन्ने मान्यता राख्छन्। औषधियुक्त यस्ता वनस्पतिको रासायनिक अनुसन्धान गरेर मात्र तिनको पहिचान यकिन हुन्छ। त्यसपछि मात्र त्यसमा विकास र विस्तार गरिनुपर्छ। परम्परागत ज्ञान र विवेककै आधारमा विकास एवं विस्तारका नयाँ गोरेटाहरू खोज्न भने छाड्न हुँदैन।

अन्त्यमा, गाँजा हामी नेपालीको मौलिक वानस्पतिक सम्पदा हो। यसको प्रतिबन्ध विषयमा नयाँ संवाद थालनी हुनुपर्छ। गाँजा, भाङ, चरेस यत्तिकै बिनाहोसियारी सेवन गर्ने वस्तु होइन। यसलाई औषधिका रूपमा प्रयोग गर्दा दक्ष चिकित्सकको रेखदेखमा बस्नुपर्छ। मनोरञ्जन निम्ति प्रयोग गर्दा विशेष अनुभवीको सल्लाहअनुरूप मात्र चल्नुपर्छ। नसालु पदार्थ भएकाले यसमा लत लाग्ने र दुर्व्यसनतिर उन्मुख हुने जोखिम हुन्छ।

वर्तमान विश्वको विशेष चिन्ताको विषय भनेको क्यान्सर, एड्स, अल्जाइमर्स तथा अरू मानसिक एवं शारीरिक पीडाका साथै थुप्रै रोगको शमन वा दमन गर्ने सम्भाव्यता बोकेको बुटी हुनाले यसको अनुसन्धानमा विशेष लगानी गर्नुपर्ने स्पष्ट छ। अध्ययन, अनुसन्धान तथा विकासका नयाँ ढोका खोल्न सबभन्दा पहिले कानुनी प्रतिबन्धमा पुनर्विचार हुन आवश्यक छ।

(लेखक वनस्पतिविद् हुन्)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.