भृकुटीमण्डप तामझामसाथ सिंगारियो। प्रदेशद्वारदेखि भित्रैसम्म भारतीय योगगुरू रामदेव र आचार्य बालकृष्णका तस्बिरयुक्त ब्यानर टाँगिए।
बिहान झिसमिसेमै मान्छेका हुल प्रदर्शनीमार्गतिर लाग्यो। प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चपदस्थ झन्डा हल्लाउँदै भृकुटीमण्डप पुगे। सर्वसाधारण कार्पेट ओछ्याइएको भुँइमा पलेटी मारेर बसे। प्रधानमन्त्रीसहितका उच्च पदस्थ मञ्चमा उभिए। अनि सुरू भयो अनुलोम विलोम। यो खबर आजको नागरिक दैनिकमा विष्णु पोखरेलले लेखेका छन्।
बुधबार देखिएको दृश्य हो यो। सन्दर्भ थियो अन्तर्राष्ट्रियो योग दिवस। संयुक्त राष्ट्रसंघको ६९ औं महिसभाले जुन २१लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा पारित गरेपछि हरेक वर्ष यस दिन राजधानीको खुला स्थानमा यस्तै दृश्य दोहोरिन्छ।
यसको तयारीका लागि केही साता अघिदेखि जुटेको हुन्छ नेपाल सरकार र शिक्षा मन्त्रालय।
अन्तर्राष्ट्रिय योग दिवस मनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्र संघमा प्रस्ताव गर्दा पहिलो समर्थन दिएका थिए तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाले। त्यसैले होला हरेक वर्षको योग दिवस नेपाललाई पनि उधुमै लाग्छ। राष्ट्रिय पर्व जसरी यसलाई मनाउँछ।