प्रधानमन्त्री शेरबहादुर देउवाले ५ नम्बर प्रदेशका तीन जिल्ला नवलपरासी, रूपन्देही र कपिलवस्तुको चुनाव पनि प्रदेश २ सँगै गर्नुपर्ने प्रस्ताव लिएर गएका राजपा नेतालाई ‘असम्भव’ भनेर फर्काएका छन् । माओवादी केन्द्रका नेता मातृका यादवलाई लिएर गएका राजपाका अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवलाई देउवाले ‘अब चुनाव सार्ने प्रस्ताव नगर्न’ आग्रह गरेको स्रोतले बतायो ।यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।
प्रधानमन्त्री देउवाले ‘राजपासँगको सहमतिमै प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति भएको’ उल्लेख गर्दै आन्दोलनको कार्यक्रम यथावत् राख्ने निर्णय राजपाले शुक्रबार गरेकामा असन्तुष्टि प्रकट गरेका थिए ।
तीनवटा प्रदेशका स्थानीय तहमा आइतबार मनोनयन हुँदैछ । चुनावको सक्रिय बहिष्कार गर्ने उद्घोष गरेको राजपाले यसअघि स्थानीय तह थप भएका ११ जिल्लाकै चुनाव असोज २ मा सार्न आग्रह गरेको थियो । चुनाव सम्पन्न भएपछि २ नम्बर प्रदेशबाहेक अन्य ठाउँमा स्थानीय तहको संख्या थप गर्न नमिल्ने भन्दै ११ जिल्लाको चुनाव असोज २ मा गर्नुपर्ने प्रस्ताव राजपा नेता यादवले गरेका थिए । तर देउवाले राजपा नेताहरूसँग भएको अनौपचारिक सहमतिअनुसारै २ नम्बर प्रदेशको चुनाव सारिएको बताउँदै अन्य ठाउँमा चुनाव नरोकिने बताए ।
प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले भने माओवादी केन्द्रका नेता मातृका यादवले समय लिएर भेट्न आएको बताए । ‘राजनीतिक भन्दा पनि व्यक्तिगत कुरा गर्न उहाँहरू आउनुभएको हो’, उनले भने, ‘बाहिर आएजस्तो चुनाव सार्ने प्रस्ताव लिएर आउनुभएको होइन ।’ राजपा नेता यादवले भने प्रधानमन्त्री देउवासँगको भेटघाटबारे केही बताउन चाहेनन् ।