राष्ट्रिय जनता पार्टी (राजपा) ले दोस्रो चरणको चुनाव बिथोल्न मंगलबारदेखि मधेस बन्दसहितको आन्दोलन अघि बढाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले साँझ साढे पाँच बजे प्रमुख प्रतिपक्षी एमालेसहितको बैठक बोलाएका छन्।
बैठकमा कांग्रेस, एमाले, माअोवादी केन्द्र, राप्रपाका नेता तथा उपेन्द्र यादव र विजय गच्छदार पनि सहभागी हुने प्रधानमन्त्री निकट स्रोतले बतायो। 'पहिले कांग्रेस, एमाले र माअोवादी मात्र भेटेर कुरा गर्ने, त्यसपछि अरुलाई बोलाउने कि भन्ने सल्लाह हुँदैछ, टुंगो भइसकेको छैन,’ स्रोतले भन्यो।
मंगलबार बिहानै बसेको नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकमा पनि केही सदस्यले दुई र पाँच नम्बर प्रदेशमा चुनाव सार्नुपर्ने धारणा राखेका थिए।
स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेद्वार टुंगो लगाउन केही दिनदेखि कांग्रेस कार्य सम्पादन समितिको बैठक बसिरहेको छ। मंगलबार बैठक सुरु हुनेबित्तिकै कांग्रेस केन्द्रीय सदस्य तथा पर्सा पाँच नम्बर क्षेत्रका पूर्व सांसद रमेश रिजालले राजपाको अान्दोलनले मधेसमा तनाव उत्पन्न भएको भन्दै गोली चलाएर चुनाव गराउन नहुने धारणा राखे।
बैठकमा उपस्थित एक नेताका अनुसार रिजालले मधेसका दुई प्रदेशमा चुनाव सारेर दोस्रो चरणमा प्रदेश नम्बर एक र सातमा मात्र चुनाव गराउनुपर्ने बताए। ‘यी दुई प्रदेशको चुनाव केही दिनपछि सारेर राजपालाई सहमतिमा लिई गराउन सकिन्छ भने कांग्रेसले त्यसका लागि पहल गर्नुपर्छ,’ ती नेताले रिजाललाई उद्धृत गर्दै भने।
रिजालपछि बोलेका पूर्व गृहमन्त्री विमलेन्द्र निधिले पनि दुई नम्बर प्रदेशमा चुनाव केही दिन पछि सार्नुपर्ने धारणा राखेका थिए। उनले चुनाव सार्नुपर्ने विषयमा लामो व्याख्या गरेको ती नेताले बताए।
निधिले अाफू केही दिनअघि जनकपुर जाँदा उत्पन्न तनावबारे पनि समितिको बैठकमा जानकारी गराए। नेपाली कांग्रेसको कार्यक्रममा अाएर राजपाका जिल्लास्तरीय नेताहरुकै संलग्नतामा पार्टीको झण्डा जलाइएको उनले बताए।
'त्यहाँ कांग्रेसले धैर्य नअपनाएको भए अप्रिय घटना हुने थियो,’ निधिलाई उद्धृत गर्दै ती नेताले भने, ‘त्यसैले चुनाव केही दिन पर सारेर भए पनि राजपालाई समावेश गराउने वातावरण मिलाउन कांग्रेसले पहल गर्नुपर्छ।’
उक्त बैठकमा निधिले दुईवटा प्रदेशमा चुनाव सार्नुपर्ने अाफ्नो व्यक्तिगत धारणा मात्र नभएको पनि जनाएका थिए। उनले मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस नेताहरु फर्मुल्लाह मन्सुर, आनन्द ढुंगाना, पद्मनारायण चौधरीका साथै दुई नम्बर प्रदेशका आठै जिल्लाका कांग्रेस सभापतिहरुसँगको छलफलपछि अाफूले उक्त कुरा राखेको बताएका थिए।
निधिले अायोग बनाएर विधिसम्मत् ढंगले मधेसमा स्थानीय तहको संख्या बढाउन अदालतले नरोकेको भन्दै चाँडै त्यस्तो अयोग बनाउने, सात-दस दिनमा मधेसमा स्थानीय तहको संख्या बढाउने र त्यतिन्जेल दुई र पाँच नम्बर प्रदेशको चुनाव सार्नुपर्ने धारणा राखेका थिए।
निधिले बोली सक्नेबित्तिकै पार्टी सभापति देउवाले उक्त बैठक त्यसबारे छलफल गर्न बसेको हैन भन्दै टिकट बाँड्नेबारे छलफल गरौं भनेर विषय मोडेका थिए।
चुनावका विषयमा अाफूले साँझ प्रमुख प्रतिपक्षीसहितको बैठक बोलाएको र त्यसपछि मात्रै पार्टीमा सल्लाह गर्नेुपर्ने उनले बताए।
भीडन्तमा जानुभन्दा दुई र पाँच नम्बर प्रदेशको चुनाव केही दिन सार्ने कि भन्ने मनस्थितिमा प्रधानमन्त्री देउवा र माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुगेको एक माअोवादी नेताले सेतोपाटीलाई बताए।
दुई नेताले सोमबार भेटेर चुनाव सार्नेबारे परामर्श गरेका थिए। त्यही परामर्शका आधारमा मंगलबार बिहान दाहालले प्रतिपक्षी दलका नेता केपी अोलीलाई माइतीघरस्थित एक निजी निवासमा भेटे। दोस्रो चरणको चुनाव सम्पन्न गर्न मधेसमा कठिनाइ देखिएको छ, के गर्ने भनी दाहालले सोधेका थिए।
अोलीले चुनाव सार्ने सम्भावनाको ठाडै प्रतिवाद गरे। उनले 'चुनाव सार्ने र अहिले नै संविधान संशोधन गर्ने कुरा अाफूहरुसँग नगर्न' भने। ‘मिलेर देश सम्हाल्ने कि त्यत्तिकै जान दिने’ भन्दै अोली कड्किएका थिए।
'कुनै पनि बहानामा चुनाव सार्ने पक्षमा एमाले नरहेको धारणा पार्टी अध्यक्षले स्पष्टसँग राख्नुभयो,’ एमाले नेता अग्नि खरेलले बैठकबारे जानकारी दिँदै भने।
चुनावलाई लिएर प्रधानमन्त्री देउवा ‘फसाद' मा परेको उनी निकट एक नेताले बताए। 'चुनाव गरौं अाफू नजिकका नेताहरुकै विरोध छ, नगरौं पहिले पनि चुनाव गराउन नसकेर अक्षम भनेर राजाले फालेको इतिहास छ,’ उनले भने, 'दुवै चरणको चुनाव सकुञ्जेल पर्खिएको भए यो फसाद आइपर्दैन थियो।’