रातो मत्स्यिेन्द्रनाथको जस्तै किम्बदन्ती भएका पशुपतिस्थित भुवनेश्वरी पीठका पाँचवटा अनौठा भोटोको प्रदर्शनी हुने भएको छ। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
मल्लकालीन राजा नरेन्द्रदेवका पालाका यी भोटो भलभल अष्टमीका दिन पशुपतिमा मनाइने त्रिशूल जात्राका अवसरमा प्रदर्शनी गरिनेछ। भलभल अष्टमी आगामी असार ३ गते परेको छ। नागार्जुनको भूतले बच्चा मारेर खाएपछि दसीका रूपमा भेटिएका यी भोटो भुवनेश्वरी पीठमा राखिएको थियो।
वर्षको एक दिन मत्स्येन्द्रनाथको भोटो देखाए जसरी त्रिशूल जात्राका दिन यहाँ यी भोटो देखाइन्छ। भुवनेश्वरी पीठका पुजारी रवि कर्माचार्यका अनुसार यी भोटो निकै आकर्षक र सबुत अवस्थामा छन्। भोटो देखाइएपछि पीठमा सुरक्षित राख्ने गरिन्छ।
अब बच्चा मार्यौ भने तिम्रा सन्तानको पनि यही हालत होला भनेर राक्षसलाई तर्साउन बालबालिकालाई त्रिशूलमा उने जसरी कहालीलाग्दो दृश्य प्रतीत हुने गरी यो जात्रा मनाइन्छ। राक्षसले मारेका बच्चाको स्मृति गर्दै जात्रामा भोटो देखाउने प्रचलन छ।
अमालकोट कचहरीका द्वारे पूर्ण डङ्गोलका अनुसार रङ्गीचङ्गी यी भोटो कतैकतै प्वाल परिसकेको छ। मत्स्येन्द्रनाथको भोटो जस्तै यी भोटो पनि खुम्चँदैनन्। जात्राका लागि बालबालिका उपलब्ध भइसकेको छ भने अमालले जात्राको पूर्वतयारी गरिरहेको छ।
त्यस दिन भोटोलाई पशुपति भुवनेश्वरी, जयवागेश्वरी र सिफलबाट अवलोकन गर्न सकिन्छ। स्थानीय बासिन्दा नरोत्तम वैद्यका अनुसार राजा नरेन्द्रदेवका पालाका भूमिआचाजु (कर्माचार्य)ले भोटो भुवनेश्वरी पीठमा ल्याएका थिए भन्ने अनुमान छ।