स्थानीय तहको निर्वाचनमार्फत जतिबेला सिंहदरबारको अधिकार गाउँ/नगरमा सर्दै थियो, त्यतिबेला सिंहदरबार अगाडिका सडकबत्ती पनि धमाधम निभ्दै थिए तर निर्वाचन र अधिकारको हस्तान्तरणसँग भन्दा पनि व्यवस्थापनको समस्याका कारण सिंहदरबारको अगाडि भाग अँध्यारो हुँदै गइरहेको थियो। यो क्रम झण्डै तीन महिनादेखि नै चल्दै गरेको थियो। यो खबर भउचप्रसाद यादवले आजको गोरखापत्रमा लेखेका छन्।
यसबीचमा पहिलो चरणको निर्वाचनबाटै सिंहदरबारको केही अधिकार काठमाडौँ महानगरपालिकाको कार्यालय बागदरबार सरिसकेको छ। काठमाडौँ महानगरपालिकाको नतिजा आएको १५ दिन पुग्दा पनि ती बत्ती अझै बलेका छैनन्, बरु बल्दै गरेका पनि निभ्दै गएका छन्।
एसियाली विकास बैङ्क (एडीबी)को सडकबत्ती आयोजनाअन्तर्गत तीन वर्षअघि सो सडकखण्डमा जडान गरिएका ती बत्ती करिब चार महिनादेखि बल्न छाडेका हुन्।
साँझपख वा राति राजधानीको रत्नपार्क–भद्रकाली–सिंहदरबार हुँदै माइतीघर मण्डलासम्मको यात्रा गर्दा जो कोहीले सो सडकखण्डको दायाँबायाँ जडान गरिएका सौर्यबत्ती नबलेको पाउँछ। यो कुनै ठूलो प्राविधिक समस्याका कारण नभई सामान्य सफाइ र मर्मत नगरेका कारण भएको नेपाल विद्युत् प्राधिकरणका अधिकारीहरूको भनाइ छ। काठमाडौँ महानगरपालिका पनि यसमा जानकार रहेको जनाएको छ।
ती बत्ती कहिलेदेखि पुनः बल्नेछन् भन्ने जिज्ञासामा नेपाल विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा विभागका प्रमुख नूतनदेव भट्टराईले “बल्न छोडेका बत्ती पहिचान गरी छिट्टै नै मर्मत सम्भारको कामलाई अगाडि बढाइने तयारी भइरहेको” जानकारी दिए। सौर्यबत्तीको सफाइ तथा मर्मतका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सेवा विभागले सेवा प्रदायक कम्पनीसँग सम्झौता गरिसकेको जानकारी दिँदै उनले “केही दिनभित्रै सफाइ तथा मेन्टिनेन्सको काम सुरु हुने” बताए। प्यानल सफाइ तथा मर्मतका लागि प्राधिकरणले चारवटा ‘बकेट क्रेन’ खरिद गरिसकेको जानकारीसमेत उनले दिए।
नेपाल विद्युत् प्राधिकरण, क्षेत्रीय निर्देशनालय, काठमाडौँका निर्देशक दीर्घायुकुमार श्रेष्ठले लामो सयमसम्म सोलार प्यानलको सफाइ हुन नसक्दा बत्ती बल्न छोडेको हुनसक्ने अनुमान गरे। प्यानल सफा गर्न प्यानलसम्म पुग्नका लागि ‘बकेट क्रेन’को आवश्यकता पर्नेमा प्राधिकरणसँग त्यस्तो क्रेन नभएकाले प्यानलको सफाइ हुन नसकेको उनले बताए। “सोलारको प्यानलमा फोहोर बसेपछि प्यानलले सौर्य ऊर्जा लिन छोड्छ, जसकारण प्यानलको ब्याट्री चार्ज हुँदैन र बत्ती बल्न छोड्छ,” उनले भने।
काठमाडौँ महानगरपालिकालाई पनि राजधानीमा जडान गरिएका अधिकांश सडकबत्ती बल्न नसक्ने अवस्थामा रहेको थाहा भएको महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वर पौडेलले बताए।
सडकबत्तीको मर्मत सम्भार र सञ्चालनलगायतका सम्पूर्ण जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई नै दिने विषयमा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणबीच कार्यदल बनाएर काम भइरहेको छ। त्यसको प्रतिवेदन आएपछि मात्र महानगरपालिकाले सडकबत्तीमा हात हाल्ने महानगरपालिका र प्राधिकरणका अधिकारीहरूले बताउनुभयो। कार्यदलमा प्राधिकरण र महानगरपालिकाका दुई/दुई जना इन्जिनियर छन्।
कार्यकारी अधिकृत पौडेलले काठमाडौंको सडकमा रहेका सोलार बत्तीको मर्मत सम्भार र सञ्चालन, महानगरपालिकाले विद्युत् प्राधिकरणलाई तिर्न बाँकी बक्यौता, भूमिगत विद्युत् लाइनको निर्माणलगायतका विषयमा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारीबारे कार्यदलले प्रतिवेदन दिने जानकारी दिए।
राजधानीमा जडान गरिएका अधिकांश सडकबत्ती बल्न नसक्ने अवस्थामा रहेको महानगर जानकार रहेको बताउँदै उहाँले कार्यदलको प्रतिवेदनपछि ती विषयमा महानगरपालिकाले निर्णय लिने जानकारी दिए। उनले साउनपछि मात्र राजधानीका सडकबत्ती महानगरपालिकाका सम्पत्ति हुने बताउँदै त्यसको सबै प्रक्रिया पूरा गर्न बाँकी रहेको बताए।