२१औं शताब्दीमा पनि सहरका पूजासामग्री बेच्ने पसलमा महिला बसेकी छन् भने ग्राहकहरू भड्किने गरेको पाइएको छ । कारण भने साधारण छ, रजस्वला हुँदा पनि उनीहरू पसलमा बसेर पूजासामग्री बेच्छन् कि भन्ने । यही गलत धारणाका कारण ग्राहकहरू पूजासामग्रीको पसलमा साहुजी देख्यो भने मात्रै सामान किन्ने गर्छन् नत्र अन्यत्रै मोडिन्छन् । यो खबर बलराम प्यासीले आजको राजधानी दैनिकमा लेखेका छन्।
सहरका किराना, तरकारी, फलफूल, मिठाई पसलदेखि पानी बिक्री गर्ने पसलमा प्रायः ग्राहकले साहुजी या साहुनी जो बसून् खासै चासो राख्दैनन्, भलै उनीहरू महिनाकै ३० दिन पसलमा बसून् । तर गाउँ/टोलका यस्ता पसलमा महिनाको तीसै दिन साहुनी पसलमा बसेको देखे भने मन अमिलो पार्छन् र केही निहुँ पारी त्यसै फर्किन्छन् ।
अझ पूजाको सामान बिक्री गर्ने सहरकै पसलमा पनि साहुनी बसेको देख्यो भने बूढापाका त हतपत पसलमै जाँदैनन् । कारण, महिनावारी भएकी साहुनी पसलमा बसेर सामान बेचिन् भने छोइन्छ । छोयो भने के हुन्छ, कसैलाई थाहा छैन । तर यही कुरा अस्पताल, मेडिकल या ब्युटिपार्लरमा लागू हुँदैन र कसैले यसबारे सोध्दै सोध्दैनन् । आजसम्म ड्युटी बसेको महिला डाक्टर या नर्सलाई यसबारे कसैले सोध्ने आँट गरेको छैन र महिनावारी भएको डाक्टर या नर्ससँग सेवा नलिई फर्केको आफूले आजसम्म नसुनेको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मिनु आचार्य बताउँछिन् ।
धर्मकर्ममा विश्वास गर्ने मीनभवनकी एक महिला अध्यापकसँग उनको नियमित व्रत र पूजाका सन्दर्भमा कुरा गर्दा उनले भनिन्, ‘म त पूजासामग्री बेच्ने पसलमा साहुनी बसेकी छन् भने त्यहाँबाट पूजाको सामान नै किन्दिनँ।’ ‘किन नि ?’ हाम्रो प्रश्नमा उनले भनिन्, ‘उनीहरू छुइ (महिनावारी) हुँदा पनि पसलमा बस्छिन् कि जस्तोलाग्छ, त्यसैले ।’
अध्यापकजस्तो मान्छेले यसो भन्न सुहाउँछ त भन्ने प्रश्नमा उनी भन्छिन्, ‘पूजाजस्तो कुरो, चोखोनितो गर्नुपर्छ भन्छन्, थाहा पाईपाई कसरी किन्नु ?’ उनी थप्छिन्, ‘जुन पसलमा साहुजी छन्, त्यहीँबाट पूजाको सामान किनेर ल्यायो, कुरै खतम।’
उनले भनेको कुरासँग मेल खाने गरी कोटेश्वर महादेव मन्दिरबाहिर पूजासामग्री बेच्ने साहुनीले भनिन्, ‘बूढाबूढीले मेरो पसलबाट पूजासामग्री नकिनी नाटीकुटी गर्दै पल्लो पसलबाट किन्छन् ।’ साहुजी बस्ने गरेको सँगैको अर्को पसल देखाउँदै उनले भनीन्, ‘किन हो, थाहा छैन ।’
ललितपुरको मंगलबजारमा पूजासामग्री बिक्री गर्दै आएका एक साहुजीले भने, ‘यहाँ भएका कुनै पनि पूजासामग्री पसलमा कहिल्यै महिला बस्दैनन् । उनीहरूको मासिक रजस्वलाका कारण पूजाको सामान बेच्ने पसलमा बस्नुहुँदैन भन्ने मान्यता छ ।’ त्यहाँ सहरदेखि ललितपुरको ग्रामीण भेगका ग्राहकसमेत पूजाको सामान र वैद्य ओखती किन्न आउँछन् ।
उता कोटेश्वर चोकको रिया वैद्य भण्डार (पूजासामग्री र आर्युवेद औषधि पसलमा भने प्रायजसो साहुनी बस्छिन् । ‘महिनाको २५ दिन मेरी श्रीमती राजश्री बस्छिन्, बाँकी पाँच दिन म या अरू कर्मचारी पालो मिलाएर पूजासामग्री बेच्छौं,’ साहुजी महेन्द्रराज वैद्यले भने । ‘पूजाको सामान बेच्ने ठाउँ भएकाले हामी पनि सचेत छौं,’ वैद्यको भनाइ थियो, ‘बूढाबूढी ग्राहक सामान किन्न आउँदा बढी चासो राख्छन् ।’
उनीहरू मात्रै होइन, पशुपति, गुहेश्वरी, बौद्धनाथ, स्वयम्भू, भद्रकाली, पाटनको तलेजु र कृष्ण मन्दिरदेखि मुलुकभरका जुनसुकै मन्दिर र गुम्बा परिसरमा पूजाको सामान बेच्ने महिला अनिवार्य रूपमा महिनामा एकपटक नछुने हुन्छिन् नै । यो शारीरिक र प्राकृतिक प्रक्रिया हो । शारीरिक स्वच्छता र सरसफाइका लागि अलग बस्नुपर्ने कारणलाई लिएर परापूर्वकालदेखि नै महिलाहरूले रजस्वला भएका बेला अनेक कठिनाइ अहिले पनि सहनुपरिरहेको छ । नेपालको संविधानमा छुवाछूतको अन्त्य भइसकेपछि पनि महिनामा पाँच दिन हरेक महिलाले त्यो पीडा भने भोग्नुपर्ने बाध्यता विद्यमान छ ।