यस वर्ष निर्धारित समयमा मनसुन नेपाल प्रवेश गर्ने अनुमान गरिएको छ। सामान्यतया जुन १० बाट मनसुन सुरु भएको मानिन्छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार शर्माका अनुसार बङ्गालको खाडीबाट मनसुनी हावा पश्चिमी तथा उत्तरी क्षेत्रमा वहन सुरु गरिसकेको छ। उनले भने, ‘बङ्गालको खाडीबाट उठ्ने दक्षिण पूर्वी हावा वायुमण्डलको तल्लो सतहबाट उठ्न थालिसकेको छ। यो भुटानसम्म आइपुगेको अनुमान गरिएको छ। थप वातावरण अनुकूल हुने हो भने आउँदो दुईतीन दिनभित्रै नेपाल प्रवेश गर्ने सम्भावना छ। ’
भारतीय मौसम विभागका अनुसार बङ्गालको खाडीमा सिर्जना भएको मनसुनी वायु भुटानको आकाशमा पुग्न थालेको छ। अनुकूल वातावरण बन्दै गएमा आगामी २४ गते देखि ३६ घण्टाभित्र भारतीय भूमिमा मनसुनी वायुको प्रभाव देखिने विभागले अनुमान गरेको छ।
सोमबारको स्थिति हेर्दा बङ्गालको खाडीबाट मनसुनी न्यून चापीय रेखाहरू समुद्री सतहबाट काठमाडौंको उचाइसम्म उठिसकेको देखिएको छ। सोमबार नेपालका पूर्वदेखि पश्चिमका क्षेत्रमा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार भैरहवामा ६७ मिलिमिटर पानी परेको छ।
सिमरामा ४८ मिलिमिटर र ओखलढुङ्गामा ४० मिलिमिटर पानी परेको छ। तापक्रमको स्थिति हेर्दा सबैभन्दा बढी दिपायलमा ४० डिग्रिसेल्सियस र धनगढीमा ३९.९ डिग्री सेल्सियस छ।