महिला उद्यमीका कथा
तेह्र वर्षअघिको कुनै एक दिन संगीता पाण्डेले श्रीमानलाई मनको कुरा सुनाइन्।
श्रीमान तुलसीराम खास उत्साहित भएनन्।
झट्टै प्रतिक्रिया जनाए, 'अब यो उमेरमा पनि किन दुःख गर्छौ! अब त बस्ने, खाने, घुम्ने पो हो।'
त्यो बेला संगीता ४९ वर्षकी थिइन्, तुलसीराम ५५ का।
संगीताले श्रीमानलाई विस्तारमा बताइन् – घरमा कोही हुँदैन, मन भुलाउने बाटो हुन्छ। राम्रो भएन भने छाडौंला।
अर्घाखाँचीकी संगीताको बिहे १३ वर्षकै उमेरमा भएको थियो। तुलसीराम भारतको युनाइटेड बैंकमा जागिरे थिए। संगीता उतै गइन् र १९ वर्ष उनीहरू त्यहीँ बसे। तीन छोरा भारतमै जन्मे, हुर्के।
तुलसीराम सेवानिवृत्त भएपछि उनीहरू स्वदेश फर्के। बुटवलमा घर बनाएर बसे। छोराहरू उच्च शिक्षाका लागि काठमाडौं आए, घरमा दम्पती मात्र भए। छोराहरू भेट्न काठमाडौं आउजाउ गरिरहन्थे। पछि काठमाडौंमै बस्ने निधो गरे विशालनगरमा घर बनाए। पछि बुटवलको घर बेचेर बालुवाटारमा अर्को घर किनेर सरे।
काठमाडौंमा पनि छोराबुहारी आआफ्नो काममा बाहिरै भएपछि पाण्डे दम्पती मात्र घरमा थिए। त्यसैले संगीता केही नयाँ काम सुरू गर्न चाहन्थिन्।
उनले बुटवल बस्दा अचार बनाउने तालिम लिएकी थिइन्। भारतमा छँदा छरछिमेकका साथीहरूलाई पनि अचार बनाएर खुवाउँथिन्।
'भारतमा हामी साथीहरू खानाका परिकारबारे गफ गर्थ्यौं। एकअर्कालाई घरमा बोलाएर खुवाउँथ्यौं,' संगीताले भनिन्, 'साथीहरूलाई मैले बनाएको अचार खुब मनपर्थ्यो।'
उनले अचारकै व्यवसाय गर्ने सोचिन्।
सुरूमा हरियो खुर्सानी किनेर अचार र पेस्ट बनाइन्। छिमेकीलाई बाँडिन्, पाहुनालाई खुवाइन्। सबैले मनपराए।
'अचार मनपराए पनि कतिले यो उमेरमा के दुःख गरेको भन्दै उडाए,' संगीताले सुनाइन्।
उनले कसैको कुरामा ध्यान दिइनन्। बरू ६ बट्टा खुर्सानीको अचार बनाइन्। त्यसमा 'आमाको अचार' नाम टाँसेर नजिकै एउटा पसलमा बिक्रीका लागि राखिदिन आग्रह गरिन्।
'अचार बिक्री भइहाल्यो,' संगीताले व्यापारको सुरूआती दिन सम्झिँदै भनिन्, 'यसपछि भतिज कपिलको मद्दतमा अचार बजार पुर्याएँ।'
यो २०६९ भदौको कुरा हो।
बजारमा अचार पुर्याउन उति मुस्किल भएन, बिक्री पनि हुन्थ्यो। तर ब्रान्ड नामलाई लिएर कतिले मजाक बनाउँथे। आमाको अचार मात्र, बुबाको अचार छैन भन्दै उडाउँथे। त्यस्तो सुन्दा अचारले बजार नपाउने हो कि भन्ने चिन्ता संगीतालाई हुन्थ्यो।
तर उनले गुणस्तरमा ध्यान दिइन् र आफ्नो काममा लागिरहिन्।
यसरी डेढ वर्ष बितिसक्दा बजारमा आमाको अचार जम्न थालिसकेको थियो। एक दिन एक जना नेपालीले अमेरिका लैजान भनेर २५ कार्टन अचार अर्डर गरे। एक कार्टनमा १२ बट्टा अचार हुन्थ्यो।
त्यो अर्डरले संगीता उत्साहित भइन्, खुसीको सीमान रहेन।
'त्यो अर्डर आएका दिन त मैले संसारै जितेको महसुस गरेँ। भनेको म्यादभित्रै बनाएर दिएँ,' उनले भनिन्, 'मैले घरमा बनाएको अचार त्यसरी विदेश पनि पुग्ला भन्ने सोचेकै थिइनँ।'
दिन बित्दै जाँदा बेलायत, अस्ट्रेलिया, जापान र दक्षिण कोरियाबाट पनि माग आउन थाल्यो।
यसरी मन भुलाउन संगीताले सुरू गरेको 'आमाको अचार' को हाल ९० प्रतिशत बजार विदेशमै छ। कम्तीमा १५ देशमा पुगेको उनले बताइन्। विदेश बस्ने नेपालीहरू मुख्य उपभोक्ता हुन्। कतिपय विदेशीले पनि मनपराएका छन्।
आमाको अचार २५ परिकारमा पाइन्छ। डल्ले खुर्सानी, करेला, लसुन, कागती, मेथी, गुन्द्रुक, आँप, लप्सी, काउली, तामा, काँक्रो, मुला, टिमुर लगायतको अचार बन्छ। पेस्ट अचार पनि पाइन्छ।
संगीताका अनुसार यी सबै काम हातैबाट हुन्छ। बजारको मसला पनि हालिँदैन। मेसिनबाट बनाउँदा काम छिटो र अचार सस्तो हुन्थ्यो। तर मेसिनले बनाएपछि स्वाद अर्कै हुने उनी बताउँछिन्।
'हामीले बनाउने अचार औद्योगिक होइन, घरेलु हो,' उनले भनिन्।
आमाको अचारले चाँडै मसला पनि ल्याउने भएको छ। यसमा पनि आधुनिक मेसिन प्रयोग नगर्ने उनले बताइन्।
हाल अचार र पेस्टको भाउ १५० रूपैयाँदेखि ७५० रूपैयाँ छ। उपभोगको म्याद उत्पादन मितिले सामान्यतया दुई वर्षसम्म हुन्छ। यो अचार किराना पसलदेखि ठूला मार्ट र सुपरमार्केटमा पाइन्छ।
अचार बनाउन चाहिने तरकारी, फलफूल र अन्य कृषि उत्पादन धादिङ, मकवानपुर लगायत जिल्लाबाट आउँछ।
संगीताले भान्साकोठाबाट सुरू गरेको आमाको अचारको अहिले आफ्नै कारखाना छ।
सुरूमा घरनजिकै एक रोपनी जग्गा भाडा लिएर सानो कारखाना बनाएकी थिइन्। बजार माग बढ्दै गएपछि ठाउँ साँघुरो भयो।
अनि चार वर्षअघि चन्द्रागिरि नगरपालिका–८ मा दुई रोपनी जग्गा किनेर कारखाना बनाएकी छन्।
हाल उनीसँग ६० जना कर्मचारी नियमित रूपमा काम गर्छन्। आँप, लप्सी, तामा जस्ता मौसमी चिजको अचार बनाउने बेला तीन सय जनासम्मले काम गर्छन्।
अहिले पनि पाण्डे दम्पती हरेक दिन कारखाना पुग्छन्। काम सहज होस् भनेर कारखाना नजिकै एउटा फ्ल्याट भाडा लिएर बसेका छन्।
उनीहरूले मात्र काम नभ्याएपछि उनीहरूका दुई छोरा र एक जना बुहारी पनि यसमै सक्रिय छन्। दुबै छोरा विदेश बसेर फर्किएका हुन्। जेठा पीताम्बर उत्पादन-व्यवस्थापनको काम सम्हाल्छन्। कान्छा प्रकाश बजारीकरण हेर्छन्। रेसिपीको जिम्मा कान्छी बुहारी गोमालाई छ।
'रोजगारीको सिलसिलामा छोराहरू विदेशमा थिए। घरमा बुढाबुढी मात्रै थियौं। अचारले छोराबुहारीलाई घरमै ल्याएको छ,' संगीताले प्रसन्नता प्रकट गरिन्, 'बजार बुझेर आँट गर्ने हो भने नेपालमै राम्रा अवसर सिर्जना गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु। अहिले मलाई धेरैले चिन्नुहुन्छ। मलाई नचिन्नेले पनि आमाको अचार चिन्नुहुन्छ। मेरो खुसी नै यही हो।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।