सगरमाथाको गेट-वे अर्थात् प्रवेश मार्ग भनेर चिनिने सोलुखुम्बुको लुक्लामा पाँच वर्षअघि एउटा थकाली रेस्टुरेन्ट खुलेको थियो।
रेस्टुरेन्ट चलाउँथे शर्पा समुदायका चार दिदीबहिनी — आङ छेची, विमला, अञ्जु र पासाङमाया।
शेर्पा दिदीबहिनीको थकाली रेस्टुरेन्ट पर्यटकको रोजाइमा थियो, लुक्लामा चम्किँदै थियो।
समयले उल्टो दिशा लियो। कोरोना महामारी फैलियो। देशभर लकडाउन भयो। त्यसको असर रेस्टुरेन्टमा पनि पर्यो।
'एक वर्ष निकै राम्रो चल्यो। अर्को वर्ष लकडाउन भइहाल्यो,' छेचीले भनिन्, 'पर्यटक आउन बन्द भएपछि होटल सुनसान भयो। हामी अलमलमा पर्यौं। अब के गर्ने भनेर अन्यौल भयो।'
दिदीबहिनीबीच छलफल भयो। निकै लामो विचार–विमर्शपछि रेस्टुरेन्ट बन्द गर्ने र अर्को व्यवसाय गर्ने निष्कर्षमा पुगे।
अनेक आइडियामा छलफल हुँदै जाँदा खुम्बु क्षेत्रमा बाह्रै महिना हुने चिसोमा न्यानो कपडाको व्यवसाय उपयुक्त हुनेमा चारै जना सहमत भए। शरीर न्यानो हुने बाक्लो लुगा सधैं लगाउनुपर्ने भएकाले खुम्बु क्षेत्रका बासिन्दा र त्यहाँ पुग्ने पर्यटकलाई लक्षित गरेर न्यानो लुगाको व्यवसाय गर्ने निधो गरे।
'काठमाडौंबाट लुगा किनेर लुक्ला लैजाने र बिक्री गर्ने योजना बनायौं,' छेचीले भनिन्, 'चारै जना काठमाडौं आयौं र डिजाइनहरू हेर्यौं।'
विभिन्न ब्रान्डका लुगा खोज्ने क्रममा उनीहरू काठमाडौंका धेरै वटा कारखाना र पसलमा पुगे। खुम्बु क्षेत्रका लागि न्यानो र चित्तबुझ्दो डिजाइन फेला पार्न सकेनन्।
काठमाडौंबाट कपडा लगेर लुक्लामा लुगा बनाउन लागत पनि बढी पर्ने भयो। लगानी बढेपछि लुगा महँगो हुने दखियो। त्यसैले उनीहरूले आफ्नै ब्रान्ड बनाएर व्यवसाय गर्ने सम्भावनाको खोजी गरे। काठमाडौंमा आफ्नै ब्रान्डको लुगा बनाउने निष्कर्षमा पुगे।
'विभिन्न डिजाइनका लुगा किन्ने र लुक्ला पुर्याएर बेच्ने योजनाले काठमाडौं आएका थियौं। यहाँ आएपछि ब्रान्ड बनाउनेतिर मोडियौं,' छेचीले भनिन्, 'काठमाडौंमा बनाउँदा लागत कम पर्ने भयो। लुगा महँगो हुने भएन।'
उनीहरूले आफ्नै डिजाइनमा लुगा बनाउन एउटा कारखानासँग सम्झौता गरे। काठमाडौंमा काम गर्ने भए पनि लुक्ला सम्झाउने गरी ब्रान्ड नाम 'लुक्ला आउटडोर' राखे। हाइकिङ (छोटो दुरीको पदयात्रा), ट्रेकिङ (लामो दुरीको पदयात्रा) र माउन्टेनियरिङ (पर्वतारोहण) का लागि लुगा बनाउने भए।
'पर्यटकीय गतिविधि नजिकबाट नियालेर हुर्केका भएर होला एड्भेन्चरमा लगाउने लुगा उत्पादन गर्न सके बजार पाइन्छ भन्ने सोच्यौं, छेचीले भनिन्, 'कोभिडको डर छँदै थियो। तैपनि जोखिम लिएर लगानी गर्यौं।'
चार दिदीबहिनीले जनही पाँच लाखका दरले २० लाख रूपैयाँ लगानी गरेर काम थाले।
सबभन्दा पहिला क्याप र टिसर्ट बनाए। सन् २०२० फेब्रुअरीमा यी दुई उत्पादन बजारमा पठाए। उत्पादनको आधा भाग लुक्ला र खुम्बु क्षेत्रका लागि पठाए। आधा काठमाडौंको बजारमा दिए।
प्रारम्भिक उत्पादन बजारले रूचायो। यसबाट उत्साहित दिदीबहिनीले मागअनुसार उत्पादन बढाए। लुगा र डिजाइनमा विविधता बढाउँदै गए। हाल लुक्ला आउटडोरले कम्तीमा ४० किसिमका लुगा उत्पादन गर्छ। एड्भेन्चरमा लगाउन सहज हुने थर्मल सेट, टिसर्ट, पाइन्ट, ट्र्याक सुट, ज्याकेट, क्याप, झोला लगायत अनेक उत्पादन छन्।
'हामी दुबै सिजन (पर्यटनको मुख्य सिजन र अफ सिजन) का लागि लुगा उत्पादन गर्छौं,' छेचीले भनिन्, 'स्वदेशीसँगै विदेशी पर्यटकलाई लक्षित गरेका छौं।'
काठमाडौंमा सबै कामको व्यवस्थापन छेचीले सम्हालेकी छन्। विमला, पासाङ र अञ्जु लुक्लाको बजार सम्हाल्छन्।
कम्पनीले आफ्नो कारखाना चलाएको छैन, सम्झौतामै काम गर्दैछ। नमूना देखाएर त्यही अनुसारको लुगा उत्पादनका लागि अरू कारखानासँग सहकार्य गरेको छेची बताउँछिन्। मर्मतका लागि भने आफ्नै सानो कारखाना छ।
लुक्ला आउटडोरले काठमाडौंसहित धेरै ठाउँमा लगाउन मिल्ने लुगा बनाउन थालेको छ। २० प्रतिशत उत्पादन पर्वतारोहणमा र ८० प्रतिशत ट्रेकिङ लगायत अन्य क्षेत्रमा लक्षित छ। छेचीका अनुसार सबभन्दा धेरै रूचाइएको उत्पादन ज्याकेट हो।
ज्याकेटमा डाउन, फ्लीस, सिन्थेटिक इन्सुलेसन, थ्री लेयर, टु लेयर, वाटर प्रुफ, विन्ड प्रुफ, हाफ लगायत १५ थरी बन्छ। राइडरका लागि, हाइकिङ र ट्रेकिङका लागि ६ हजार मिटरको उचाइसम्म पुग्दा लगाउने ज्याकेट पनि पाइन्छ। ज्याकेटको मूल्य तीन हजारदेखि २४ हजार रूपैयाँसम्म पर्छ।
उनीहरू लुक्ला आउटडोरका उत्पादनलाई 'फेब्रिक बेस्ड क्याजुअल क्लोदिङ' मान्छन्। क्याजुअल वेयरका ज्याकेट, स्विटर, सर्ट र पाइन्ट पनि यहाँ पाइन्छ।
यी सबै उत्पादनको डिजाइन शेर्पा दिदीबहिनीकै हो।
'पर्यटकीय क्षेत्रकै बासिन्दा भएकाले र धेरै आफन्तहरू पर्वतीय पर्यटनमा रहेकाले आउटडोर एड्भेन्चरका लुगाबारे हामीलाई धेरथोर जानकारी छ,' उनले भनिन्।
लुक्ला आउटडोर ब्रान्डका लुगा काठमाडौंको ठमेलस्थित चाक्सीबारीमार्ग र लुक्लामा पाइन्छ। लुक्लामा बजार निकै राम्रो भएको उनी बताउँछिन्। कुल उत्पादनको ७० प्रतिशत काठमाडौं र ३० प्रतिशत लुक्लामा खपत हुन्छ। लुक्लाका मुख्य क्रेता पर्यटकहरू नै हुन्। पर्यटककै हाराहारीमा स्थानीयवासीले पनि किन्छन्।
अहिलेसम्म उनीहरूले अनलाइन व्यापार गरेका छैनन्। यसको तयारी भने हुँदै गरेको छेचीले बताइन्।
नेपालमा पर्यटनका मुख्य दुई सिजन चल्छन्। सामान्यतया ६ महिना चल्तीको सिजन मानिन्छ। बाँकी ६ महिना अफ सिजन। चल्तीको सिजनमा उनीहरूलाई भ्याइनभ्याइ हुन्छ।
'अफ सिजनमा चारै दिदीबहिनी भेटेर आउने सिजनका लागि ल्याउने डिजाइन र लुगाबारे छलफल गर्छौं। हरेक सिजनमा केही न केही नयाँ डिजाइन दिने प्रयास हुन्छ,' उनले भनिन्, 'छोटो समयमै लुक्ला आउटडोरका उत्पादनको माग बढेको छ।'
मागअनुसार उत्पादन बढाउन उनीहरूले वैद्यज अर्गनाइजेसन अफ इन्डस्ट्री एन्ड ट्रेडिङ हाउस (भोइथ) सँग सहकार्य गरेका छन्। भेन्चर क्यापिटलका रूपमा भोइथले लगानी बढाउने गरी सम्झौता भएको छ।
व्यापार बढ्दै र ब्रान्ड स्थापित हुँदै जाँदा शेर्पा दिदीबहिनी उत्साहित भएका छन्। भोइथसँगको सहकार्यले उत्साह थप बढाएको छ।
'लुगाको ब्रान्डमा लुक्ला आउटडोरको ख्याति बढाउन हामी तल्लीन छौं,' छेचीले भनिन्, 'चाँडै आफ्नै कारखाना खोल्ने योजना छ। मागअनुसार उत्पादन थप्दै विदेशी बजारसम्म पुग्ने लक्ष्य लिएका छौं।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)