नेपालका तयारी पोसाक व्यवसायी नेपाली ब्रान्ड विस्तार गर्न उत्साहित छन्। उनीहरू उत्पादन गुणस्तरीय भए विदेशी ब्रान्ड ठूलो परिमाणमा विस्थापित हुनेमा विश्वस्त देखिन्छन्।
यस्तै मध्येका एक हुन् 'केके' र 'ट्याग' ब्रान्डका सञ्चालक किशोर नेपाल।
झट्ट हेर्दा विदेशी जस्तो देखिने नेपाली लुगा विदेशीभन्दा उच्च गुणस्तरको हुने उनको दाबी छ।
'पहिला चाइनिज लुगा खोज्ने व्यापारी अहिले हाम्रै ब्रान्डको लुगा खोज्न आउँछन्,' उनले भने, 'नेपाली उत्पादन गुणस्तरमा निकै अगाडि छ, मूल्य पनि कम छ।'
उनका अनुसार बाहिर (विदेश) बाट आउने सामानभन्दा नेपाली सामान पाँच–दस प्रतिशतले सस्तो हुन्छ।
किशोरले न्युरोडमा लुगाको होलसेल पसल चलाएका छन्। दस वर्षअघिदेखि लुगा उत्पादन गर्दै आएका हुन्। तर आफ्नै ब्रान्ड बनाएर बेच्न थालेको एक वर्ष मात्रै भयो।
'पहिले त हामीले उत्पादन गरेको लुगा थाइल्यान्ड र चाइनाको भन्दै बिक्री हुन्थ्यो। अहिले आफ्नै ब्रान्ड भएको छ,' उनले भने।
किशोर 'केके' र 'ट्याग' गरी दुइटा ब्रान्डमा लुगा उत्पादन गर्छन्। केके बालबालिका लागि र ट्याग महिलाका लागि हो।
महिलाका लागि टिसर्ट, प्यान्ट, हाफ प्यान्ट, सर्ट, टप्स, ज्याकेट, हुडी, वानपिस लगायत मौसमअनुसारको लुगा पाइन्छ। बालबालिकाका लागि पनि टिसर्ट, पाइन्ट, ट्राउजर, जगर्स, भुवादार ज्याकेट, हुडी छ। दुई वर्षदेखि १५ वर्षसम्मका बालबालिकाका लागि लुगा पाइन्छ।
विराटनगरका स्थायी बासिन्दा किशोर कक्षा दसको अन्तिम परीक्षा (एसएलसी) दिएपछि नै व्यवसायमा लागेका हुन्। उनी २०४५ सालमा एसएलसी परीक्षा दिएर एउटा निजी स्कुलमा शिक्षक भए। बिहान बेलुका घरमै ट्युसन पनि पढाउँथे।
पढाउँदै गर्दा उनले घरमा प्रयोग हुने विद्युतीय सामानको व्यापार भएको देखे। धेरै जसो व्यापारीहरू त्यस्ता सामान भातरबाट ल्याएर बेच्थे।
शिक्षण पेसा छाडेर उनी पनि विद्युतीय सामानको व्यापारमा लागे। अरूले झैं भारतबाटै ल्याएर बेच्न थाले।
'त्यति बेला धेरै लगानी चाहिँदैन थियो। भारतबाट सामान ल्याएर काठमाडौंमा बेच्थेँ। काठमाडौंबाट लगेर विराटनगरमा बेच्थेँ,' उनले भने।
किशोरले व्यापारसँगै पढाइ पनि अघि बढाए। स्नातक तहसम्मको पढाइ सकेर २०५० सालमा काठमाडौं आए।
काठमाडौंमा पनि उनले उही काम गरे। व्यापार चलेकै थियो। त्यही बीच नेपाल प्रहरीले आवेदन खुलाएको उनले थाहा पाए। आवेदन भरे। २०५१ सालमा नेपाल प्रहरीका जागिरे भए।
प्रहरी सेवामा गए पनि उनले व्यापार छाडेनन्। आफ्नो नामको कम्पनी बन्द गरेर आमाका नाममा खोले। व्यवसायलाई निरन्तरता दिए।
'सरकारी कर्मचारीले व्यापार-व्यवसाय गर्न पाइँदैन,' उनले भने, 'आमाको नाममा कम्पनीले खोलेर कामलाई निरन्तरता दिएँ।'
उनलाई परिवारका सदस्यहरूले पनि सहयोग गरे। यसरी बीस वर्षसम्म जागिर र व्यापार एकसाथ चलाए।
प्रहरी सहायक निरीक्षकबाट प्रवेश गरेका किशोरले केही तह बढुवा भएर अवकाश लिए। अनि भने पूर्ण रूपमा व्यापारी भए।
'अर्को बढुवा हुने समय आएको थियो तर जागिर छोडेर व्यापार रोजेँ। सरकारले तोकेको समय पुर्याएर जागिर छोडेको हुँ, केही पछुतो छैन,' उनले भने, 'पैसा हेरेर प्रहरी सेवामा गएको होइन, सेवाको भावनाले गएको थिएँ।'
जागिर छाडेपछि उनले थाइल्यान्ड र चीनबाट झोला आयात गरेर बेच्न थाले। काठमाडौंमै झोलाको होलसेल पसल चलाए। त्यो काम करिब पाँच वर्ष चल्यो।
यसपछि उनी आफ्नै कुनै उद्योग चलाउने सोचले अघि बढे।
'आफैं एउटा उद्योग खोल्नुपर्छ भन्ने हुटहुटी चल्न थाल्यो। बजार अध्ययन गर्दा ठूलो मात्रामा लुगाकपडा बाहिर (विदेश) बाट आयात हुने गरेको पाएँ,' किशोरले भने।
उनलाई नेपालमै गुणस्तरीय लुगा बनाएर बजार बढाउन सकिन्छ भन्ने लाग्यो।
सन् २००० मा अमेरिकाले कोटा खारेज गरेपछि नेपाली गार्मेन्ट उद्योग धराशायी बनेको थियो। त्यसअघि नेपाली गार्मेन्ट निर्यात विश्वको पाँचौं स्थानमा थियो। त्यो समय नेपालको गार्मेन्टमा भारतीयहरूको लगानी धेरै थियो। नेपाललाई दिएको सहुलियत भारतीयहरूले लिएको ठहर गरेर अमेरिकाले कोटा खारेज गरेपछि लगानीकर्ताहरू नेपालबाट उठे।
गार्मेन्टमा नेपालीहरूको लगानी पनि सशस्त्र द्वन्द्वका कारण कारण धरापमा परेको थियो। किशोरले चुनौतीको यही अवस्थामा केही राम्रो सम्भावना देखे।
करिब दस वर्षअघि काठमाडौंको बाफलमा आधा रोपनी जग्गा भाडामा लिएर दस वटा मेसिन राखे। लगत्तै 'प्लाटिनम प्रालि' नामक कम्पनी दर्ता गराए र लुगा उत्पादन सुरू गरे। प्रारम्भमा २० लाख रूपैयाँ लगानी भएको उनले बताए।
सुरूमा उनले सबै उमेरका महिला, पुरूष र बालबालिकालाई हुने लुगा उत्पादन गरे। कारखानामा कमदार थपिँदै १५ जना भए। डिजाइन र सिलाइमा नेपालीसँगै भारतीय र बंगलादेशी कर्मचारी राखे।
तयारी लुगा उत्पादन गर्न कपडा र अन्य सामान नेपालमै पाइन्थ्यो। नपाइएको सामान विदेशबाट ल्याउँथे।
'लुगामा डिजाइन फेरिइरहन्छ। ग्राहकहरू नयाँ डिजाइन खोज्छन्,' किशोर भन्छन्, 'तयारी लुगा उत्पादकको मुख्य चुनौती यही हो।'
उनी बजार घुमेर नयाँ डिजाइनको नमूना लिन्थे। सोही अनुसार डिजाइन गर्थे।
'हामी गुगलमा हेरेर ट्रेन्ड अनुसार लुगा उत्पादन गर्थ्यौं। अहिले त ग्राहक आफैं डिजाइन लिएर आउँछन्। निकै सहज भएको छ,' उनी भन्छन्।
किशोरलाई सामान बेच्न चिन्ता थिएन। चिनजानका होलसेल व्यापारी धेरै थिए। व्यापारीहरू उनले बनाएका लुगा विदेशी भनेर बेच्थे।
काम गर्दै जाँदा उनले आफ्नो उत्पादनको होलसेल व्यवसाय पनि आफैं चलाउने विचार गरे। यसैअनुसार २०७४ सालमा न्युरोडमा होलसेल पसल सुरू गरे। कम्पनीको नाम परिवर्तन गरेर 'किरोज फेसन प्रालि' बनाए।
त्यतिन्जेलमा नेपाली ब्रान्डमा लुगा कपडा उत्पादन गर्ने लहर चलिसकेको थियो। किशोर पनि त्यही लहरमा मिसिए। तर आफ्नो ब्रान्ड चिनाउन र फैलाउन सजिलो थिएन।
२०७६ साल अन्तिममा कोरोना लकडाउन भयो। आयात–निर्यात बन्द भयो। विदेशबाट लुगा आएन।
यस्तो अवस्थाको फाइदा नेपाली गार्मेन्ट व्यवसायीलाई भयो।
'२०७७ को दसैंमा हामीले धेरै लुगा बेच्यौं। विदेशबाट नआएपछि हामीले मौका पायौं,' उनले भने।
नेपाली लुगाले बजार पाउन थालेपछि किशोरले एक वर्षअघि दुइटा ब्रान्ड दर्ता गराएका हुन्। हाल उनी यही केके र ट्याग ब्रान्डमा आफ्नै उत्पादनको लुगा बेच्दै छन्। चिनियाँ लुगा पनि बेच्छन्।
'हामीले आफ्नो उत्पादन मात्रै बेच्छु भनेर हुँदैन, बजारले खोजेको सामान दिनुपर्छ,' उनले प्रस्ट्याए।
आफ्नो ब्रान्ड बनाएको भने उनी निकै प्रशन्न छन्।
'आफ्नो ब्रान्ड नहुँदा जसले जे भनेर बेचे पनि हुन्थ्यो। अहिले आफ्नै ब्रान्ड फैलिँदै छ। ग्राहकहरू हाम्रो ब्रान्ड खोज्दै आउन थालेका छन्,' उनले भने।
नेपाली ब्रान्डको लुगामा मूल्यको समस्या छ। किशोरका अनुसार डिजाइन र गुणस्तरमा मानिसहरूले खोज्ने विदेशी लुगाभन्दा कम छैन। तर ग्राहक नेपाली लुगा सस्तो हुनुपर्ने हो भन्ने ठान्छन्। नेपाली भएर पनि यति महँगो किन भनेर सोध्छन्।
'उस्तै गुणस्तरको विदशी लुगाभन्दा सस्तो पर्छ तर ग्राहकहरू अझै सस्तो हुनुपर्ने ठान्छन्। उच्च गुणस्तरको कपडा प्रयोग गरेपछि मूल्य पनि त्यहीअनुसार हुन्छ,' उनले भने, 'नेपाली ब्रान्डको उत्पादन उच्च गुणस्तरको हुन्छ। विदेशी भनेर झुक्किनुको साटो नेपाली ब्रान्ड नै किन्नु राम्रो र किफायति हुन्छ।'
किशोर आफ्नो उत्पादन विदेश निर्यात पनि गर्छन्। यसका लागि व्यावसायिक कम्पनी दर्ता गराएका छन्। हाल अस्ट्रेलिया पठाइरहेका छन्। अमेरिकामा पनि नमूना पठाएका छन्।
उनका अनुसार विदेशीको तुलनामा नेपालीहरू लुगामा धेरै खर्च गर्छन्। बजारमा चलेको डिजाइन दिन सक्ने हो भने यहाँ गार्मेन्ट उद्योगको राम्रो सम्भावना छ।
किशोरको कारखानामा हाल कम्तीमा ५० वटा मेसिन छन्। एक सय जनाभन्दा बढीले काम गर्छन्। हालसम्म ६ करोड रूपैयाँ लगानी भएको उनले बताए।
चाँडै पुरूषहरूका लागि पनि लुगा बनाउने उनको तयारी छ।
सम्पादकीय नोटः तपाईंसँग पनि आफ्नो 'नेपाली ब्रान्ड' को कथा छ भने हामीलाई (setopati@gmail.com) सम्पर्क गर्नुहोस्, हामी तपाईंका कथा लेख्नेछौं।
(सेतोपाटीको नेपाली ब्रान्ड स्तम्भका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)