जाजरकोटका एक व्यक्तिले आइतबार स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन केन्द्रमा फोन गरे।
मन्त्रालयले उपलब्ध गराएको ११३३ नम्बरको फोनमा ती व्यक्तिले भारतबाट लुक्दै आएका ११८ जना व्यक्ति गाउँपालिकामा घुमिरहेको सूचना दिए। उनीहरू क्वारेन्टिनमा नबसेको र होहल्ला गरेको गुनासो गरे।
फोन गर्ने व्यक्तिले भारतबाट आएका व्यक्तिका कारण गाउँमा कोरोना फैलन सक्नेप्रति स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए।
तर कल सेन्टरमा खटिएका मन्त्रालयका कर्मचारीले समस्या समाधानका लागि पहल लिनुको साटो प्रहरी, प्रदेश सरकार अथवा गाउँपालिकामा फोन गर्न सुझाए।
स्वास्थ्य मन्त्रालयले केही दिनयता कोरोना भाइरससँग सम्बन्धित समस्या समाधानका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ। स्वास्थ्य मन्त्रालयको आपतकालीन कार्यसञ्चालन केन्द्रमा दैनिक ७ सयभन्दा धेरै फोन आउँछन्।
सरकारले कल सेन्टरमा दुई जना कर्मचारी पनि खटाएको छ। तर सेन्टरका कर्मचारीको काम गुनासो सुन्नेमा मात्र सीमित छ। न त उनीहरूसँग जनताबाट आएका समस्या समाधानका उपाय छन्। न त कसैलाई निर्देशन दिन सक्ने अख्तियारी।
'हाम्रो काम भनेको कोरोनाको लक्षण र त्यसबाट बच्ने उपाय सुझाउने मात्र हो', कल सेन्टरमा खटिएका धनराज मिश्रले सेतोपाटीसँग भने, 'हामीले दैनिक आएका फोनहरूमध्ये सबभन्दा धेरै सोधिएका विषयमा मन्त्रालयमा रिपोर्टिङ गर्छौं।'
सोमबार पनि कल सेन्टरमा कोरोनाको लक्षण र बच्ने उपायसँगै सबभन्दा धेरै स्वास्थ्यकै कर्मचारीहरूले फोन गरे। अधिकाशंले पिपिई नपाएको गुनासो गरे।
'हामीले चीनबाट पिपिई आएको समाचारबाट थाहा पाएका छौं, अब सरकारले व्यवस्था गर्छ होला भनेर जवाफ दिएका छौं', मिश्रले भने, 'स्वास्थ्य क्षेत्रकै कर्मचारीहरूले पनि कोरोनाको स्याम्पल कलेक्सन कहाँ हुन्छ भनेर फोन गर्नुहुन्छ।'
कल सेन्टरसँग कसैले कोरोनाका कारण बिरामी भएँ भनेर फोन गरे पनि खटाउन न त एम्बुलेन्स छ न त कुनै इमर्जेन्सी रेस्पोस्ट टोली। कल सेन्टरमा खटिएका कर्मचारीका अनुसार उनीहरूले नजिकैको अस्पताल जान वा एम्बुलेन्स उपलब्ध हुने नम्बरसम्म उपलब्ध गराउने गरेका छन्।
मन्त्रालयमा दैनिक उपभोग्य सामान अभाव भएकोबारे पनि फोन आउने गरेको छ।
ग्यास लिन जाँदा प्रहरीले कुटेको गुनासो पनि कल सेन्टरमा आउँछन्। कल सेन्टरमा सबभन्दा धेरै फोन बागमती प्रदेश र सुदूरपश्चिमबाट आइरहेको छ।
'लकडाउनले अलपत्र परियो, खान बस्न असुविधा छ भनेर मान्छेहरूले फोन गर्नुहुन्छ', कल सेन्टरमा खटिएका मिश्रले भने, 'हामी यो प्रशासन तर्फको गुनासो रहेछ। कोभिड-१९ बारे भएमात्र हामीलाई भन्नुहोस् भनेर जवाफ दिन्छौं।'
कल सेन्टरमा एक साधुले फोन गरेर मन्दिर बन्द गरिएको र पूजा प्रभावित भएकोसम्म गुनासो गरेको मिश्रले बताए।
'उहाँले लकडाउन लम्बिए र ईश्वरको पूजा हुन नसके पृथ्वीमा अनर्थ हुन्छ भन्नुभयो।'
कल सेन्टरले कतिपय गुनासो प्रहरीलाई राख्न भन्दै १०० नम्बर दिने गरेको छ। तर कल सेन्टरमा कतिपयले पुलिसले पिटेको पनि गुनासो गर्ने गरेका छन्।
'हामीबाट सम्बोधन हुने भनेको कोभिड-१९ हो विषयमा मात्र हो। हामी उहाँहरूलाई परामर्श मात्र दिन सक्छौं', मिश्रले भने, 'सल्लाह दिनेभन्दा धेरै केही गर्न सक्दैनौं।'
स्वास्थ्य मन्त्रालयले दैनिक कल सेन्टरमा आएका गुनासोको संख्या प्रेस ब्रिफिङमा सुनाउने गरेको छ। तर मन्त्रालयले कल सेन्टरमा आएका गुनासो अनुसार कारबाहीमा भने चासो देखाएको छैन।