विश्वव्यापी माहामारीको रुप लिएको कोरोना भाइरस अर्थात् कोभिड-१९ को असर सबै क्षेत्रमा परिरहेको छ। सरकारले घोषणा गरेको लकडाउनपछि देशको गतिमा ब्रेक लागेको छ।
बारबारा एडम्स फाउण्डेशनले कोभिड-१९ पछिको अवस्थाबारे बिहीबार बहस गर्यो। बहसमा डाक्टर सन्दुक रुइत, डाक्टर अनुप सुवेदी, अर्थशास्त्री स्वर्णिम वाग्ले, मिस नेपाल २०१० सदिच्छा श्रेष्ठ, होटल एशोसिएशनकी अध्यक्ष सिर्जना राणाले भिडिओ कन्फरेन्स मार्फत् सहभागिता जनाए।
कन्फरेन्समा डा रुइतले ग्लोबलाइजेशनको बेफाइदाका रुपमा महामारी देखा परेको बताए। 'ग्लोबलाइजेशनको बेफाइदाका रुपमा एउटा संगठित अपराध र अर्को महामारी देखा परेको छ', रुइतले भने, 'लकडाउनको निर्णयले अफ्ठ्यारो परेको छ। तर अहिलको सानो दु:खले भोली ठूलो क्षति टर्छ र सुख मिल्छ भन्ने आशा छ।'
उनले कोरोनाले नेपाल जस्तो देशको जनस्वास्थ्यको कमजोर अवस्था देखाएको बताए।
'जनस्वास्थ्यको हाम्रो नेटवर्क कमजोर छ', रुइतले भने, 'स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनैपर्छ।'
अर्थशास्त्री स्वर्णिम वाग्लेले अर्थतन्त्रमा ठूलो क्षती पर्ने अवस्था उत्पन्न भएकाले सरकारले तत्काल प्याकेज घोषणा गर्नु उचित हुने बताए।
उनले उद्योग व्यवसायमा तत्काल बैंकका ब्याज र जरिवानामा सरकारले राहत दिनुपर्ने, कर तिर्ने व्यक्तिलाई केही महिनाका लागि सहुलित प्रदान गर्नुपर्ने सुझाव दिए। उनले विभिन्न संगठित क्षेत्रलाई रोजगारी कटौती नगर्न सुझाव सहित सहुलियतपूर्ण ऋण दिन सरकारलाई सुझाए। प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत् खर्च हुने रकम अहिले गैर संगठित क्षेत्रमा रहेका ज्यालादारी कामदारलाई दिएर काम लगाउनु उचित हुने उनको तर्क थियो। हेर्नुहोस् भूषण दाहालले गरेको भिडिओ कुराकानी