काठमाडौंको वसन्तुपरमा होली खेल्न पुगेकी २० वर्षीया वर्षालाई यो वर्षको होली खल्लो लाग्यो। उनी वसन्तपुरमा कन्सर्ट होला भन्ने सोचेर घरबाट निस्किएकी थिइन्। तर न त म्युजिक न त धेरै मान्छे, वर्षाका लागि होली खल्लो भयो।
'यसपटक साथीहरू पनि घरबाट निस्किएनन्', वर्षाले सेतोपाटीसँग भनिन्, 'कोरोनाभाइरसको डरले होला। सरकारले पनि जोगिनु भनेको छ।'
त्यसो त उनलाई पनि घरबाट निस्कन सहज भएन। परिवारलाई मनाएर मात्र उनी घरबाट बाहिर निस्कन पाइन्।
'मलाई सबभन्दा रमाइलो नै होली लाग्छ। अघिल्लो वर्ष भन्दा धेरै कम मान्छे छन्', वर्षाले भनिन्,'धेरै मान्छे हुन्थे रंग लगाइदिन पाइन्थ्यो। तर अहिले त कसलाई लाइदिऊँ भन्ने भयो।'
वर्षा जस्तै होली मनाउन राजधानीकै रानीबारीबाट वसन्तपुर पुगेकी १९ वर्षीया सुजाता थापालाई पनि साथीहरू घरबाट ननिस्किएका कारण होली रमाइलो भएन।
'कोरोनाका कारण रमाइलो नै भएको छैन', सुजाताले भनिन्, 'विदेशी रमाएका छन्। उनीहरूलाई डर देखिएन। हामीलाई भने डर लागेर घर बाहिर निस्केका छैनौं।'
वसन्तुपरमा होली खेल्न विदेशीहरू भने ठूलो संख्यामा भेला भएका थिए। सुजातासँगै आएकी सन्ध्यालाई पनि कोरोनाको त्रासले होली खल्लो भएको महशुस भयो।
'गत वर्ष यहाँ म्युजिक थियो', सन्ध्याले भनिन्, 'यसवर्ष ठीकै मात्र भयो।'
भ्लगर सिसन बाँनिया पनि डराइडराइ होलीको उल्लास खिच्न वसन्तुपर पुगेका थिए।
'घर बसिराखेको थिएँ। के रहेछ भनेर हेर्न निस्किएँ', सिसनले भने, 'पहिला यहाँ खुट्टा टेक्ने ठाउँ हुन्न थियो तर अहिले मान्छे छैनन्।'
सिसन नेपालीहरूले अन्य पर्व परिवारमा मात्र सीमित भएर मनाउने भएकाले होलीलाई विशेष मान्छन्। 'दसैं-तिहार हामी घरमा मनाउँछौं। देउसी पनि निश्चित ठाउँमा हुन्छ। होलीमा सबै मान्छे जम्मा हुन्छन्', सिसन भन्छन्, 'तर यसपटक फरक अनुभव भयो।'
नाकाबन्दी र भूकम्पपछिको चाडपर्व जस्तो कोरोनाको त्रासले होलीमा असर पारेको उनको ठम्याइ छ। 'म्युजिक छैन। इभेन्ट छैन। साइलेन्ट छ', सिसनले भने।
हेर्नुस् भिडिओ