मिस नेपाल २०१९ अनुस्का श्रेष्ठले मिस वर्ल्डलाई खुला मैदान जस्तो अनुभव गरेको बताएकी छिन्।
बेलायतमा आयोजित मिस वर्ल्डको यात्रा सकेर नेपाल फर्केकी श्रेष्ठले सोमबार राजधानीमा आयोजित पत्रकार सम्मलेनमा आफूले प्रतिस्पर्धामा शतप्रतिशत प्रस्तुति दिएको बताइन्।
सञ्चारकर्मीसँग आफ्नो अनुभव साट्दै श्रेष्ठले भनिन्, 'हरेक दिनलाई आज एकदिन मात्र हो मैले प्रतिस्पर्धा गर्ने सोचेर प्रस्तुति दिएँ।'
उनले नेपालले मिस वर्ल्डमा किन प्रतिस्पर्धा गर्नुपर्ने रहेछ भनेर आफैंले सोचेको प्रश्नको जवाफ यो यात्राबाट पाएको बताइन्।
'हाम्रो देशमा जातीय विभेदको कुरा भइरहँदा यस्तो बेला सबैजना एकजुट भएर अगाडि बढ्ने रहेछौं। यस्तो हो भने वर्षमा एकचोटि हैन दुईचोटि जाँदा नै राम्रो,' उनले ठट्यौली शैलीमा भनिन्।
सामाजिक सञ्जालमा अघिल्लो संस्करणकी विजेता श्रृंखला खतिवडाको चर्चा आफ्नो भन्दा बढी भएको बताइन्।
'पहिले कति मान्छेले चिन्थे र अहिले कतिले चिन्छ भन्ने कुरा मात्र तुलना गरेँ,' उनले भनिन्, 'मेरोभन्दा श्रृंखला दिदीको चर्चा बढी भएको थियो भने पनि मलाई त्यसमा गुनासो छैन।'
उनले आफूले जति प्रभाव पार्न सकेको हो त्यसमै आफू खुसी रहेको बताइन्।
'त्यसमाथि पनि श्रृंखला दिदीले मेरो मिस वर्ल्डको यात्रामा सबभन्दा बढी साथ दिनुभयो। त्यसैले मलाई कसको बढी र कसको कम चासो भएन,' उनले भनिन्।
सबै तस्बिर : नारायण महर्जन/सेतोपाटी