कुन-कुन विषयमा कुरा गर्ने भनेपछि मात्रै उनी क्यामरामा बोल्न तयार भइन्। व्यक्तिगत जीवनका केही प्रश्न भने नगर्नु भनिन्।
यो सडकमा ट्याक्सी कुदाएर हिँड्दा धेरैले प्रश्न गर्छन् होला !
स्याङ्जाकी ईश्वरी थापाले काठमाडौंका सडकमा ट्याक्सी चलाएको आठ वर्षभन्दा बढी भयो। त्यसअघि खसी-कुखुराको मासु काट्ने-बेच्ने लगायत धेरै काम गरेकी रहिछन्। अचेल उनका हात ट्याक्सीको स्टेरिङमै अडिरहेका छन्।
'तपाईंले सुरू गर्दा त महिला ट्याक्सी चालक एकदमै कम थिए होलान् है?'
'कम होइन, कोही पनि थिएनन्। पहिलो महिला ट्याक्सी चालक हुँ म,' उनी गर्वसाथ दावी गर्छिन्।
ट्याक्सी चालकको बसको जस्तो न कुनै रूट हुन्छ, न कुनै स्थायी स्टेशन। ईश्वरी धेरैजसो गइरहने ठाउँ भने विमानस्थल हो। उनी सुरूदेखि नै त्यहीँ जान्थिन्।
त्यति बेला सबै ट्याक्सी चालक पुरुष मात्रै भएकाले उनलाई अरूले आँखा पनि तरेका थिए रे।
'सुरूमा त मसँग कोही बोल्थेनन्। यही चोकमा आउँदा पनि मलाई देखेर मुख फर्काउँथे,' उनले भनिन्, 'कसैले त यसले नाटक गरेकी हो पनि भनेका थिए। कसैले महिलाले गाडी चलाएपछि अब हामी नेपाल बसेर काम छैन भनेका थिए।'
परिस्थिति प्रतिकूल भए पनि उनले हरेश खाइनन्। आफूले रोजेको पेशामा एकचित्त भएर लागिरहिन्। विस्तारै उनको लगनशीलताले जित्यो। अहिले ईश्वरीलाई आफ्नो पेशामा जमिसकेकी छन्।
'अहिले त धेरै चालकले यो त हाम्रै दिदी हो भन्छन्,' उनी सुनाउँछिन्, 'पहिला त मलाई धेरै गाह्रो भयो नि।'
उसो त सुरूआती दिनमा ट्याक्सी चालकले मात्रै होइन, यात्रुले पनि उनलाई स्वीकार्न मानेका थिएनन्। अहिले पनि 'महिला पो रहेछ' भन्ने केही यात्रु भेटिन्छन्।
'यसो हेर्छन्, हैट ! दिदीको ट्याक्सी पो रहेछ भनेर जानेहरू हुन्छन्। फरक्क फर्किएपछि मैले 'कता जाने हो, आउनु न, किन भागेको' भन्छु। उनीहरू 'तपाईंलाई देखेर' भन्छन्। 'तपाईंलाई ठाउँमा पुर्याइहाल्छु, किन भाग्नुहुन्छ' भनेपछि हाँस्छन्। कोही आएर चढ्छन्,' उनी महिला चालक हुनुका चुनौती सुनाउँछिन्।
अझ कतिपय पुरुष यात्रुका भनाइ झनै दिक्क लाग्दा हुन्छन्- हामी त नामर्द रहेछौं, महिलाले ट्याक्सी लिएर हिँड्दा पनि हामीले केही गर्न सकिएन।
अरू कोही भने सडकमा ईश्वरीको ट्याक्सी देखे पनि पुरुष चालक नै कुर्छन्। धेर समयसम्म नपाएपछि बल्ल ईश्वरीको ट्याक्सीमा जान्छन्।
एकपटक यस्तै भएका बेलामा ईश्वरीले यात्रुलाई सोधिछन्, 'तपाईं किन अघिदेखि उभिनुभयो त सर?'
'सर'ले जवाफ दिएछन्- तपाईंको ट्याक्सी चढ्न हामीलाई आफैंसँग लाज लाग्यो।
ईश्वरीलाई ट्राफिक प्रहरीको व्यवहारले पनि बेलाबेलामा चिन्तित बनाउँछ। ट्राफिक प्रहरीले दिने 'दुःख'को कहिल्यै सुनुवाई नभएको उनले बताइन्।
'ट्राफिकले त हामीलाई दिनसम्मको दुःख दिएको छ। सबै चिज उनीहरूकै हातमा छ। हवल्दारभन्दा माथिकाले अलि राम्रो व्यवहार गर्छन् होला, नत्र त उनीहरुले बोलेको तपाईं सुन्न पनि सक्नुहुन्न,' उनले भनिन्, 'आफ्ने घरमा श्रीमतीसँग जिस्कनेभन्दा पनि बढी हामीलाई भन्छन्। महिलाहरू दिदीबहिनी भन्ने त उनीहरूको मनमै आउँदैन होला। 'तपाईंको घरकी श्रीमती हो म'भनेपछि मात्रै उनीहरू चुप लाग्छन्।'
चित्त नबुझेको कुरामा पनि उनी धेरै सवालजवाफ गर्दिनन्, किनकी कोही बेलामा त्यही रिसले मनलाग्दी दस्तुर लिइदिन्छन्।
'ट्याक्सीले यात्रु बोकेर हिँडेकै भरमा के-के नै कमायो भन्छन् तर भोग्नेलाई कति गाह्रो छ। आफ्नो पीडा आफैंसँग,' ट्याक्सीलाई जसरी हुन्छ दुःख दिने ट्राफिक प्रहरीको नियतै हो कि भन्ने पनि उनलाई शंका लाग्छ।
यी त भए सार्वजनिक समस्या। काठमाडौंका असुविधामा महिला चालक हुनु अझै चुनौती छ।
उनी गुनासो गर्छिन्, 'गाडी चलाउँदा पिसाब लाग्यो भने शौचालय छैन। बाटो ध्वस्त छ। विशेषगरी महिनावारीको समयमा जिउ हल्लिएर गाडी चलाउनै नसकिने पनि भएको छ।'
फेरि शौचालय नजिकै पुगिहालियो भने पनि रोक्ने ठाँउ छैन।
ट्राफिक प्रहरीलाई सबै कुरा भन्दा पनि रोक्न नदिने बरू चिट थमाउने उनको भनाइ छ। यति मात्रै होइन, बग्गीखाना लगेर चुइँक्क समेत बोल्न नदिई जरिवाना पनि तिराउने गरेको पनि उनले बताइन्। यस विषयमा महिला ट्राफिक प्रहरीको व्यवहार पनि उस्तै रहेको ईश्वरीको अनुभव छ।
ईश्वरीले यात्रुबाट पनि कहिलेकाँही असुरक्षा भोगेकी छन्। कहिले स्वयम्भू त कहिले जोरपाटीमा उनको पैसा लुटिएको छ। हातपात नभएकोमा उनी आफूलाई भाग्यमानी ठान्छिन्।
'मसँग भएको मोबाइल, पैसा सबै लगे, 'उनले भनिन्, 'मैले मेरा बालबच्चा छन्, तिनको बिचल्ली हुन्छ भनेपछि लुटेराले केही गरेनन्।'
३७ वर्षीया ईश्वरीकी एक छोरी छन्। आफूले जन्माएकी छोरी मात्रै भए पनि बिभिन्न कारणले आमाबाबुबाट एक्लिएका अरू चार बच्चाहरूको अभिभावकत्व लिएकी थिइन्। तीमध्ये दुई जनालाई उनीहरूका अभिभावककहाँ पठाइसकेकी छन्। बाँकी दुई जनालाई खोटाङमा समाजसेवी मदन राईले स्थापना गरेको स्कुलमा होस्टल राखेकी छन्।
यसरी छोरी र अरू दुई बच्चा गरी तीन जनाको जिम्मेवारी उनको काँधमा छ। योसँगै उनले मासिक २१ हजार रुपैयाँ गाडीको किस्ता र घरभाडा तिर्नुपर्छ। कमाइ कम हुँदै गएकाले जीवन धान्न मुश्किल रहेको उनले बताइन्।
'मेरो परिवारै सानो, धेरै खर्च हुँदैन र त मलाई गाह्रो छ। अरू चालकलाई कति गाह्रो होला ! उनीहरूले बच्चाको स्कुल फी तिर्न नसकेको गुनासो गर्छन्, यसले मलाई चिन्तित बनाउँछ,' उनी भन्छिन्।
'राइड सेयरिङ' कम्पनी र निजी कारले यात्रु बोक्न थालेकाले ट्याक्सीहरूको कमाइ कम हुँदै गएको उनी बताउँछिन्।
'रातो नम्बर प्लेटका गाडीले ट्याक्सी नै छेकेर अनेक उपाय लगाएर यात्रु चढाउँछन्,' उनले भनिन्, 'टुटल र पठाओले गर्दा थप मर्कामा छौं। यसलाई अनुमति दिएर त सरकारले हामीलाई मारेको छ।'
ट्याक्सी चलाकहरूको पहिले राम्रै कमाइ भए पनि अचेल खस्किँदो रहेको उनको अनुभव छ। त्यसैले ट्याक्सी चालक नबन्न नयाँ पुस्तालाई सुझाव दिन्छिन्। उसो त उनी आफैं भरपर्दो विकल्पको खोजीमा छन्।
अन्त्यमा, हामीले उनलाई सोध्यौं, अब त महिलाहरूलाई सहज होला नि ट्याक्सी चालक बन्न?
उनले जवाफ दिइन्, 'श्रीमानको कमाइ नै खाएर बस्ने महिलाहरूले खासै आँट गर्न सक्दैनन्। यस्तो कामका लागि त केही न केही चोट पर्नैपर्छ।