पाँच दिनदेखि जारी दसौं महाधिवेशनको व्यस्ततालाई नेकपा एमालेका तीन शीर्ष नेताले थारू नाच हेरेर मैझारो गरेका छन्।
थारू नाच कार्यक्रममा अध्यक्ष केपी ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पत्नीसहित उपस्थित थिए।
मंगलबार निर्वाचन परिणाम सार्वजनिक भएपछि सपथग्रहण सकेर उनीहरूले बन्दसत्रस्थल होटल सेभेन स्टारमा आयोजित केन्द्रीय कमिटीको पहिलो बैठकमा भाग लिए। बैठक सकेर आ-आफ्नो होटल फर्केका यी नेतात्रय राति पार्क सफारी रिसोर्टमा थारू नाच हेर्न आएका हुन्। ओली महाधिवेशन अवधिभरि यही रिसोर्टमा बसेका थिए।
यो थारू नाच पार्क सफारी रिसोर्टले नै आयोजना गरेको हो। कार्यक्रमकै बीचमा नेतात्रयले कलाकारहरूसँग कुराकानी पनि गरेका थिए।
आदिवासी थारूहरूको सांस्कृतिक नृत्य र कला प्रदर्शनी सौराहाको एक मुख्य पर्यटन आकर्षण हो।
मंसिर १० गते नारायणगढस्थित नारायणी नदी किनारमा दसौं महाधिवेशनको उद्घाटन भएपछि सौराहामा बन्दसत्र सुरू भएको थियो। बाह्र गतेसम्मका लागि आयोजना गरिएको महाधिवेशन दुई दिन लम्बिएर मंगलबार सकिएको हो।