एमालेको १० औं महाधिवेशनबाट नवनिर्वाचित भएका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा आन्तरिक तथा बाह्य हमला हुने गरेको बताएका छन्।
मंगलबार साँझ नवनियुक्त पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीमा बाह्य तथा आन्तरिक रूपमै हमला हुँदै आएको बताएका हुन्।
'हामीमाथि डरलाग्दो हमला भएको छ। आन्तरिक र बाह्य हमला भएको छ। दुबै हमलाबाट बच्न हामीले अझ बलियोसँग जनतालाई एकीकृत बनाएर थप सफलताका लागि अगाडि बढ्नेछौं,' उनले भने, 'सक्रियताका साथ, एकताका साथ बढ्न आग्रह गर्दछु।'
त्यस्तै, उनले नेताहरूलाई जनतासामु राम्रो ढंगले प्रस्तुत हुन आग्रह गरेका छन्। उनले नेताहरू अहंकारी नहुने र कुनै पनि अहंकारी हुनेहरू नेता नहुने बताएका छन्।
महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरूलाई उनले बधाई समेत दिएका छन्।
समापन भएलगत्तै पार्टीको केन्द्रीय कमिटीको बैठक समेत बस्ने भएको छ। बैठक सकिएको १५ मिनेटमै बैठक बस्ने उनले बताए।
'आज केही समयपछि केन्द्रीय किमिटीको बैठक बस्दैछ। १० औं राष्ट्रिय महाधिवेशनको समापन भएको १५ मिनेटभित्रै केन्द्रीय कमिटीको बेठक यही ठाउँमा बस्छौं। वा कतै हलमा बस्छौं।'