नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ।
पदाधिकारीमध्ये उपाध्यक्ष पदमा भएको मतगणना अनुसार अहिलेसम्म अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरमा अग्रता लिएकी छन्।
दोस्रोमा सुवास नेम्बाङ रहेको मतगणनामा संलग्न एक नेताले सेतोपाटीलाई बताए। केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उपाध्यक्षमा उम्मेद्वारी दिएका घनश्याम भुसालको मत परिणाम अहिलेसम्म राम्रो नभएको ती नेताले बताए।
अध्यक्षको मत परिणाम बाहिर आए पनि उपाध्यक्षसहित अन्य पदाधिकारीको मत सार्वजनिक भएको छैन।
निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले १७१४ मत ल्याउँदा भीम रावलले २१३ मत पाएका छन्।
चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।
मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।