'प्रिय धन सर
तपाईं सार्वजनिक लेखा समितिमा रहँदाको भूमिकाको म प्रशंसक हुँ। त्यतिबेला तपाईं कलंकीमा बन्न लागेको आकाशेपुलको विरोधमा हुनुहुन्थ्यो। तर त्यो बनिछाड्यो। अहिले त्यहाँ चीनले फ्लाइओभर बनाउँदैछ।
मेरो पारिवारिक पृष्ठभूमि प्रजातान्त्रिक हो। म सहिद हरिप्रसाद गुरूङको नातेदार हुँ। उहाँकी श्रीमती मेरो फुपू हुनुहुन्थ्यो। उहाँ दिवंगत भइसक्नुभएको छ। म भने कुनै पार्टीमा संलग्न छैन। किनकी, मैले नेपालका सबै दलका गतिविधि नजिकबाट नियालेको छु र कुनै दलप्रति पनि सन्तुष्ट छैन।
अझ अगाडि बढेर भन्दा देशको मुख्य दल भएको नाताले दोषी कांग्रेस हो भन्ने मान्यता राख्छु। मलाई प्रस्ट पारिदिनुस् कि, किन अरू दलभन्दा कांग्रेस असल पार्टी हो?
जिज्ञासाका लागि क्षमा गर्नुस्।'
कास्कीको घले गाउँका युवा राम गुरूङ बेलायतबाट फर्केर नेपालमा केही गर्न चाहेका थिए। उनलाई देशको राजनीति ठिक ठाउँमा छ जस्तो लागेन। त्यति बेला दोस्रो संविधानसभामा पुगेका कांग्रेस नेता धनराज गुरूङ सार्वजनिक लेखा समितिका सदस्य थिए। आफ्नै पार्टीको सरकार छँदा समेत धनराजले भ्रष्टाचार र अनियमितताविरूद्ध उठाएको आवाज रामलाई मन परेको थियो। त्यही भएर उनले नेता धनराजलाई उक्त पत्र पठाएका थिए।
यसको जवाफमा धनराजले सातबुँदे पत्र फर्काएका थिए। धनराजले पठाएको जवाफ रामले बुधबार सेतोपाटीलाई उपलब्ध गराए। जति बेला उनै धनराज २ मतले कांग्रेसको केन्द्रीय उपसभापति निर्वाचित भएका थिए। धनराजले पठाएको जवाफ यस्तो छ।
'प्रिय मित्र रामजी
जय नेपाल,
पत्रका लागि धन्यवाद। सबभन्दा पहिले त विनम्रताका साथ अनुरोध गर्दछु कि वीर सहिद हरिप्रसाद गुरूङप्रति श्रद्धासुमनका लागि नै भए पनि यहाँले सहिद हरिप्रसादज्यूले देखाउनुभएको बाटो बिर्सनु भएन। अब रह्यो कांग्रेस अरू पार्टीभन्दा के फरक भन्ने सवालका सन्दर्भमा पनि यहाँले बुझ्नु भाछैन भन्ने मलाई लाग्दैन, तथापि यहाँले सवाल राखेपछि मैले दुई लाइन भए पनि लेख्नुपर्ने हुन्छ:
१. सहिद हरिप्रसादहरूले प्रजातन्त्रका लागि आहुति दिनुभयो, जुन कुराले मानव जातिलाई साँच्चिकै मानव बनाउँछ। यो मूल्य र मान्यता भएको पार्टी कांग्रेस नै हो।
२. वास्तविक रूपमा प्रेस स्वतन्त्रता, न्यायिक स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, मानवअधिकार प्रत्याभूत गराउन सक्ने जिम्मेवार पार्टी कांग्रेस नै हो।
३. देशमा आर्थिक समृद्वि ल्याउन सक्ने पार्टी कांग्रेस नै हो। हाम्रै आँखासामु तथ्यांकले बोल्छः नेकाले एकमना सरकार चलाउँदा २०४८ देखि २०५१, देशको आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुगेको थियो तर २०६५ देखि २०७० सम्मको आर्थिक वृद्धिदर घटेर ३.६ मा झरेको छ। यो अवधिमा कम्युनिस्ट सरकारहरू थिए।
४. राष्ट्रियताको सवालमा हामी एकदमै गम्भीर छौं। इतिहासदेखि वर्तमानसम्म राम्ररी नियाल्दा प्रमाणित हुन्छ नै।
५. समाजवादी अर्थ नीतिमार्फत् गरिबी हटाउने र सबैलाई धनी बनाउने लक्ष्य कांग्रेसको हो। २०१५ सालमा बिर्ता उन्मूलन, राजा-रजौटा उन्मूलन यसका ज्वलन्त उदाहरण हुन्।
६. त्यसरी नै सामाजिक क्रान्तिको सन्दर्भमा पनि अरू पार्टीको तुलनामा नेका एक पाइलो अगाडि नै देख्छु जसले धनमानसिंह परियारलाई पार्टीकै महामन्त्री बनाएको इतिहास छ।
७. कांग्रेस पिछडिएका क्षेत्र जातजातिहरूलाई यथार्थमा माथि उठाउन चाहन्छ, दलित आयोग र आदिवासी जनजाति आयोगको स्थापना यसका उदाहरण हुन् भने मधेसमा जन्मिएको एउटा यादवको छोरालाई राष्ट्रपति बनाएर कांग्रेसले यो पनि सन्देश दिएको छ कि कांग्रेसमा एउटा विशेष जातको मात्रै नेतृत्व हुँदैन।
सबै कुरा यहाँ लेख्न सम्भव भएन राम सर। अन्तमा तपाईं एउटा सहिद परिवारप्रति हार्दिक सम्मान टक्र्याउँछु, जय नेपाल!'
पत्र र उत्तरमा सहिद हरिप्रसाद गुरूङको नाम दुवै जनाले जोडेका छन्। हरिप्रसाद बिपी कोइरालाको आह्वानमा चितवनमा भएको आन्दोलनमा सहिद बनेका थिए। नेपालमा पहिलोपटक निर्वाचन भएर जननिर्वाचित प्रधानमन्त्री बनेका बिपीलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ गरे। त्यसविरूद्ध देशव्यापी विद्रोह उठिरहेको थियो।
राजा महेन्द्रले ०१७ सालमा ‘कू’ गर्दै नेपाली कांग्रेसको प्रजातान्त्रिक सरकार अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लादेपछि त्यसको विरोधमा भरतपुरमा आन्दोलन चर्कियो। कांग्रेसका प्रमुख नेताहरू कोही जेल परे भने कोही भारततिर निर्वासित भए। नेताहरूको रिहाइ र राजाको ‘कू’ विरूद्ध भरतपुरमा विशाल प्रदर्शन भएको थियो। काठमाडौंबाट सेना पठाएर सरकारले अत्यधिक दमन गर्यो।
त्यही आन्दोलन क्रममा हरिप्रसादलाई २०१८ सालमा तत्कालीन सरकारले जिउँदै गाडेर हत्या गरेको थियो। उनै हरिप्रसादका नातेदार थिए, राम।
धनराजसँग पत्राचार हुँदाहुँदै भेटघाटसमेत हुन थालेपछि राम कांग्रेसको राजनीतिमा समाहित भए। अहिले उनी कांग्रेस माछापुच्छ्रे गाउँपालिका समितिका उपसभापति निर्वाचित भएका छन्।
केन्द्रीय उपसभापतिमा निर्वाचित धनराज पहिलो र दोस्रो संविधानसभामा समानुपातिक सभासद भए। दोस्रो संविधानसभामा सार्वजनिक लेखा समितिको सदस्य बने। भ्रष्टाचार र अनियमितताविरूद्ध निरन्तर आवाज उठाउने नेताका रूपमा परिचित धनराज अहिले कांग्रेस नेतृत्वको सरकारका पनि आलोचक हुन्।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले ‘मलाई शेरबहादुर मनपर्छ...’ भिडिओ अभियान चलाउँदा धनराजले नै कांग्रेस केन्द्रीय समिति बैठकमा उक्त अभियान देखेर आफू झस्किएको बताएका थिए।
केपी ओलीलाई 'बा' भन्नेहरूले बालुवाटारदेखि बार्दलीमा पुर्याए भन्दै धनराजले आलोचना गरेका थिए। त्यही बैठकमा देउवाले त्यो अभियान रोक्न निर्देशन दिएको बताएका थिए।
देउवा प्रधानमन्त्री भएपछि मुलुकमा भएका ठूला भ्रष्टाचार काण्ड छानबिन गरी दोषीलाई कारबाही गर्न धनराजले निरन्तर आवाज उठाइरहेका छन्। पार्टीको बैठकमा होस् वा प्रधानमन्त्री देउवालाई व्यक्तिगत रूपमा भेटेर पनि उक्त माग गरिरहेका छन्। आफूले यस्तो माग राख्दा कांग्रेस र कम्युनिस्टका नेताहरू झस्किएको उनको दाबी छ।
पञ्चायतविरूद्ध १४ वर्षकै उमेरमा २०३६ सालमा होमिएका धनराज त्यसपछि राजनीतिबाट अलग छैनन्। पोखराको पृथ्वीनारायण क्याम्पस पढ्दा उनी नेपाल विद्यार्थी संघको बुटवल महाधिवेशनमा पुगे। त्यही महाधिवेशनबाट नेविसंघको केन्द्रीय उपसभापति निर्वाचित भए।
नेविसंघले अर्को महाधिवेशन समयमै गर्न सकेन। तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले २०५३ मा नेविसंघको तदर्थ समिति बनाए। कोइरालाले समितिको सभापति उनै धनराजलाई बनाएर महाधिवेशन गर्न लगाए।
नेविसंघको सभापति भएर महाधिवेशन सकेका धनराज फेरि तरूण दलको राजनीतिमा आबद्ध भए। २०५४ मा कोइरालाले नै धनराजलाई तरूण दलको केन्द्रीय महामन्त्री बनाएको उनीनिकट नेताहरू बताउँछन्। त्यही बेला लमजुङका सांसद डाक्टर रामचन्द्र अधिकारीको रातो पासपोर्ट बिक्री गरेको आरोप धनराजमाथि लाग्यो।
त्यति बेला गृहमन्त्री रहेका तनहुँका गोविन्दराज जोशीले धनराज र सांसद अधिकारीलाई नियन्त्रणमा लिएर कारबाही चलाए। छानबिन क्रममा उनीहरू दुवै जना निर्दोष ठहर भएपछि सफाइ पाए।
नेपाल विद्यार्थी संघ र तरूण दलको राजनीतिपश्चात धनराज जिल्लाको राजनीतिमा होमिए। स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर २ का धनराज कांग्रेस स्याङ्जाको जिल्ला सदस्य हुँदै अहिले केन्द्रीय उपसभापति निर्वाचित भएका छन्। त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेका उनले समसामयिक विषयमा पत्रपत्रिकामा लेख लेख्दै आएका छन्।
प्रजातान्त्रिक उद्देश्यका लागि युवालाई गोलबन्द गर्नुपर्ने उनको धारणा छ। पार्टीभित्रका होस् वा राज्य सञ्चालनका दौरानमा भएका विकृतिविरूद्ध आवाज उठाउन अघि सर्ने उनको स्वभावले युवा पुस्ताको मन जित्न सफल भएको उनी निकट युवाहरूको दाबी छ।
कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा ठूला-ठूला तुल, ब्यानर र भड्किलो प्रचार गरेको भन्दै उनले असन्तुष्टि जनाएका थिए। त्यतिबेला सेतोपाटीलाई प्रतिक्रिया दिँदै गुरूङले भनेका थिए ‘पैसा बगाएर चुनाव जितिदैन, जित्न पनि हुँदैन।’
गण्डकी अधिवेशनमा भएका तामझाम केन्द्रको अधिवेशनमा रोक्न उनले पहल गरेका थिए।
सभापतिमा पराजित उम्मेदवार शेखर कोइरालाको प्यानलबाट सभापतिमा झिनो मतले जितेका धनराज देशभर लोकप्रिय भएको मत परिणामले देखाएको छ।
समानुपातिकबाट दुईपटक संविधानसभा निर्वाचित भएका धनराज प्रत्यक्ष चुनाव लड्ने टिकट भने अहिलेसम्म पाएका छैनन्। २०७४ मा पार्टीले टिकट वितरण गर्दा धनराज असन्तुष्ट बनेका थिए। त्यति बेला उनले 'राजनीतिमा डनवाद र धनवाद हाबी भएको' भन्दै नेतृत्वको आलोचना गरेका थिए।
कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय उपसभापति बनेका धनराज अहिले आफैं टिकट वितरण गर्दा निर्णय गर्ने ठाउँमा पुगेका छन्। त्यस्तै, राज्य सञ्चालन र पार्टी सञ्चालनमा देखिएका विकृति र भ्रष्टाचारविरूद्ध तीखो टिप्पणी गर्ने धनराज अब राज्य र पार्टी सञ्चालनको पनि निर्णय गर्ने ठाउँमा छन्।
यसअघि उनले चलाएका असल शासन अभियान र विकृतिविरूद्ध गरेका तीखो टिप्पणीको वास्तविक परीक्षण गर्ने बेला आएको कांग्रेसकै नेताहरू बताउँछन्।
अहिलेसम्म राज्य सञ्चालनको तहमा एकपटक पनि नपुगेका धनराज अब चाहेका बेला मन्त्री बन्न र बनाउन सक्ने हैसियतमा पुगेका छन्।
स्याङ्जा कांग्रेसका एक नेताले भने, ‘हिजो डनवाद र धनवाद हुनुहुन्न भन्ने धनराज गुरूङ अब कसरी अघि बढ्छन्, परीक्षण गर्ने बेला आएको छ।’