प्रदेश १ का ११ जिल्लाको सभापतिको नतिजा आउँदासम्म संस्थापन पक्षभन्दा अगाडि रहेको संस्थापनइतर पक्ष सबै जिल्लाको नतिजा आउँदा प्रभाव क्षेत्रमै पछि परेको छ।
नेपाली कांग्रेसको आन्तरिक जीवनमा सबैभन्दा बढी प्रभाव राख्ने कोइराला परिवारको एकछत्र प्रभाव रहेको प्रदेश १ मा यसपटक संस्थापन पक्षले आफ्नो शक्तिशाली उपस्थिति जनाएको छ।
बुधबार मोरङ, धनकुटा र सोलुखुम्बुको चुनावी नतिजा सार्वजनिक भएसँगै नेपाली कांग्रेसको प्रदेश १ मा सबै जिल्ला अधिवेशनको नतिजा आएको छ। अन्तिम चुनावी नतिजा अनुसार प्रदेश १ का १४ जिल्लामध्ये ७ वटामा देउवा समूह विजयी बनेको भने ६ वटामा रामचन्द्र पौडेल–शेखर कोइराला पक्षका सभापति छानिएका छन्। झापामा सिटौला पक्षका सभापति छानिए।
मोरङमा नेता कृष्णप्रसाद सिटौलासँग गठबन्धन गर्दा पनि संस्थापन इतरका डिगबहादुर लिम्बुलाई हराउन नसकेर असफलता भोगेको संस्थापन पक्षले प्रदेश १ को धनकुटा र सोलुखुम्बुमा सफलता पायो।
धनकुटा सभापतिमा दिनेश राई र सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन्। यसले संस्थापन पक्षको प्रदेश १ मा शक्ति बढाएको भन्दै सो पक्षका नेताहरु उत्साही देखिएका छन् ।
‘१३ औं महाधिवेशनमा हामी धनकुटा र ओखलढुंगामा सिमित थियौं,’ प्रदेश १ का भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका उदयपुर सभापति हिमाल कार्कीले भने, ‘यसपटक हामीले जिल्लामा आधा संख्या जितेका छौं। त्यसैले प्रदेशमा हामी बलियो भएका छौं।’
प्रदेशका १४ जिल्लामध्ये संस्थापन पक्षबाट जिल्ला सभापति बन्नेमा गजेन्द्र तुम्याहाङ ताप्लेजुङ, रूपनारायण जबेगु पाँचथर, तेजेन्द्र खनाल ओखलढुङ्गा, डम्बर खड्का इलाम, हिमाल कार्की उदयपुर, नाम्गेल जाङ्बु शेर्पा सोलुखुम्बु र दिनेश राई धनकुटा छन्।
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइराला पक्षबाट जिल्ला सभापति निर्वाचित हुनेमा दीपक खड्का संखुवासभा, अर्जुनबहादुर तुम्बाहाम्फे तेह्रथुम, विष्णुकुमार राई खोटाङ, विनोद बान्तवा भोजपुर , केदार भण्डारी सुनसरी र डिगबहादुर लिम्बु मोरङ छन्।
त्यसैगरी झापामा कृष्णप्रसाद सिटौला निकट देउमान थेवे जिल्ला सभापतिमा निर्वाचित भएका छन्। केन्द्रमा सिटौला–देउवा गठजोड बनेका कारण झापा सभापतिलाई पनि देउवा पक्षमै गणना गरिने कांग्रेस नेताहरू बताउँछन्। यसले जिल्ला नेतृत्व हात पार्नमा कोइराला पौडेल समूहलाई देउवाले प्रदेश १ मा उछिनेका छन्।