नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेशका सबै जिल्लामा अधिवेशन सकिएको छ। सबैभन्दा पछि नेतृत्व चयन भएको सुर्खेत जिल्ला कार्य समितिको नतिजा पनि सोमबार आइसकेको छ।
नतिजा अनुसार सुर्खेत जिल्लाको कार्यसमितिमा संस्थापन समूह अर्थात सभापति शेरबहादुर देउवा पक्षको प्यानल नै विजयी भएको छ। सभापतिमा संस्थापन पक्षका खड्ग पोखरेल एकल उम्मेदवार परेपछि निर्विरोध भएका हुन्। त्यसभन्दा मुनिका पदहरूमा भने चुनाव भएको थियो।
१३ औं महाधिवेशनबाट चुनिएको जिल्लाको नेतृत्वमध्ये कर्णाली प्रदेशका हुम्ला बाहेक नौवटा जिल्लामा पौडेल समूह थियो।
अहिले त्यो नतिजा उल्टिएको छ।
१४ औं महाधिवेशनमा कर्णालीका ६ वटा जिल्लामा देउवा समूहले नेतृत्व पाएको छ। दुईवटामा पौडेल समूहले नेतृत्व जित्यो। दुईवटा जिल्लाका सभापतिहरू भने कुन पक्षमा भनेर खुलेका छैनन्।
अहिलेको अधिवेशनबाट हुम्लामा मोहनविक्रम सिंह, डोल्पामा दीपेन्द्र शाही, मुगुमा ऐनबहादुर शाही, जुम्लामा कर्णबहादुर शाही र सल्याना केशबहादुर विष्ट देउवा पक्षबाट सभापति बनेका छन् ।
कालीकोटमा अम्ब बहादुर शाही र दैलेखमा मणिराम रेग्मीले पौडेल समूहबाट सभापति जितेका छन्।
यीमध्ये कालीकोटमा सर्वसम्मत नेतृत्व चयन भएको थियो। तरूणदलका महामन्त्री भूपेन्द्रजंग शाहीको गृह जिल्ला कालीकोटमा वडादेखि जिल्ला तहसम्म सर्वसम्मत नेतृत्व चयन भएको हो।
हुम्लामा भने एकलौटी जिल्लाको नेतृत्व घोषणा भएको थियो। यो जिल्लामा पौडेल पक्षले समानान्तर कमिटी समेत बनाएको छ।
यस्तै सर्वसम्मत नेतृत्व यचन भएका जाजरकोटका सभापति वेदराज सिंह, रूकुम पश्चिमका सभापति प्रेमप्रकाश वली भने कुन समूहमा भनेर खुलेका छैनन्।
जाजरकोटका सभापति सिंह यसअघि पौडेल समूहमै थिए। अहिले भने संस्थापन पक्षको सहयोगमा उनी सभापति बनेका हुन्।
रूकुम पश्चिममा पनि देउवा समूहकै सहयोगमा वली सभापति बनेका छन्। उनी निकट स्रोतका अनुसार वलीले केन्द्रमा दुवै पक्षसँग छलफल गरेर मात्र कुन पक्षमा खुल्ने निर्णय गर्ने योजना बनाएका छन्।