नागसँग राजकुमारीको बिहे


एकादेशमा एक राजा, जसका तीन रानीहरु थिए। तर, उनका सन्तान भने थिएनन्। राजा धर्म–कर्म, पूजा–पाठ, दान–धर्ममा खुबै रुची राख्थे। प्रजाको सुखका लागि जे गर्न पनि तयार।

एकदिन उनले आफ्ना नगरवासीहरुलाई अन्न, लत्ताकपडा दान गर्ने मनसायका साथ समारोह राखे। समारोहमा टाढाटाढाबाट दान लिनेहरुको ओइरो लाग्यो। अन्न, वस्त्रलगायत चिज दान लेनदेनको कार्यक्रम सुरु भयो। तर, एक भिखारी भने लाइनमा थिएनन्।

भिखारी नै लाइनमा नदेखेपछि गाउँलेले भने, ‘तिमी पनि लाइनमा लाग, राजाले अन्न र लुगाफाटो दिँदैछन्।’
भिखारी भन्छन्, ‘म निःसन्तानको हातको दान लिन्न। बरु भोकै बस्छु।’

गाउँलेले भिखारीको कुरा राजालाई सुनाए। राजालाई भिखारीको कुरा निकै बिझायो। मन शान्त पार्ने हेतुले राजा आफ्नो कक्षमा गएर सुते। खाना–पानीसमेत लिएनन्।

दुई दिनदेखि राजाले केही नखाई सुतिराखेको रानीहरुले थाहा पाएपछि बुझ्न गए। राजा सुतिरहेका थिए। जेठी रानीले उठ्न अनुरोध गरिन्। तर, राजा उठ्न मानेनन्। रानीले सोधिन्, ‘के भयो महाराज?’

राजाले साँचो बताएनन्। भन्छन्, ‘राज्यका लागि एकदमै गम्भीर निर्णय लिनुपरेकाले एकान्तवासमा छु।’

रानीको उत्सुकता बढ्छ, ‘कस्तो निर्णय राजासा’ब?’

राजाको जवाफ यस्तो आउँछ, जुन रानीहरुले चिताएकै थिएनन्।

‘म केही दिनदेखि सोचिरहेको छु,’ राजाको जवाफ थियो, ‘यो राजकाज मन्त्रीहरुको जिम्मा लगाएर जंगल गएर तपस्या गरेर बसुँ।’

रानी स्तब्ध हुन्छिन्। राजाको जवाफ नसकिँदै रानी बोल्छिन्, ‘म पनि जान्छु सँगै।’ अघिसम्म चुपचाप सुनिरहेका माइली र कान्छी रानीले समेत आफूहरु पनि सँगै जाने बताउँछन्।

जेठी रानी कान्छी रानीतर्फ हेर्दै भन्छिन्, ‘तिमी यो अवस्थामा कसरी जंगलमा बस्न सक्छौ? भयो, तिमी जानुपर्दैन।’

‘यस्तो अवस्था? भन्नाले कस्तो अवस्था,’ अघिसम्म गम्भीर मुद्रामा सुतिरहेका राजा झसंग हुँदै जुरुक्क उठ्छन्।

‘कान्छी रानी गर्भवती छिन् महाराज, उनी जंगल जान सक्दिनन्,’ जेठी रानीले जवाफ दिन्छिन्।

भिखारीको कुरा सुनेपछि राजाको निद्रा हराएको थियो। खुसी गायब थियो। रानीको खबर सुन्नेबित्तिकै राजाको खुसी फर्किन्छ। त्यसपछि मात्र खानासमेत नखाई, एक्लै धुमधुम्ती बसिरहनुको कारण खोल्छन्, ‘मैले भिखारीको कुराले मात्र राज्य त्याग गर्ने निर्णय गरेको हुँ।’

राजकाजको कामबाट विदा लिएका राजा खुसीको खबरसँगै राजकाजमा फर्कन्छन्। उनी पहिलेभन्दा खुसी भएर काम गर्न थाल्छन्।

राजालाई खुसी पार्न रानीहरुले भने झुठो खबर सुनाएका थिए। जति राजालाई खुसी देख्थे, उनीहरुमा डर उति नै बढ्थ्यो।
दिन बित्यो। महिना बित्यो। नौ महिना बित्यो।

जति दिन बित्थ्यो, रानीहरुमा डर पनि उति नै बढ्दै जान्थ्यो।

रानीहरुमध्ये जेठी सबैभन्दा बाठी थिइन्। रानीले राजालाई खबर पठाइन्, ‘कान्छी रानीबाट छोरा भयो।’ राजामा खुसीको सीमा रहेन। राजाले आफ्नो छोराको अनुहार हेर्नुपूर्व सबै प्रजालाई भोज दिए। त्यसपछि मात्र रानीको खोपीमा आए, छोराको अनुहार हेर्न।

जेठी रानीले कतिसम्म बठ्याइँ गरेकी थिइन् भने १२ वर्ष नहुन्जेल राजाले छोराको अनुहार हेर्न नमिल्ने कुरा पुरोहितले गरेको सुनाइन्। यदि हेरे, छोराको मृत्यु हुने पुरोहितले सुनाएको बताइन्। अघिसम्म खुसी देखिएका राजाको अनुहार एक्कासि चाउरिन्छ, दुःखले। तै पनि, आफूलाई सम्हाल्छन्। देख्न नपाए पनि छोरो भएकोमा खुसी हुन्छन्।

दिन बित्यो। महिना बित्यो। वर्ष बित्यो। १, २, ३ हुँदै १२ औं वर्ष पनि लाग्यो। राजा राजकाजको काममा छोरा हुनुअघि भन्दा छोरा भएपछि झन् तेज भएर लागेका थिए। १२ औं वर्ष लागेपछि उनी झन् झन् उत्साहित हुँदै थिए। उनमा छटपटी पनि उत्तिकै बढ्दै थियो, कहिले छोरा भेट्न पाइएला? उनी कल्पनामा रमाउँथे, कहिले छोरासँग खेल्न पाइएला भनेर।

१२ वर्ष पुरा भयो। राजा छोरा भेट्ने खुसीले रानी भेट्न गए।

छोरा त थिएनन् नै। विकल्प दुइटा थियो, कि सत्य बोल्ने कि अर्को झुट खडा गर्ने। सत्य बोल्नु त खतरनाक थियो नै। त्यसैले अर्को झुट खडा गर्नुबाहेक अर्को विकल्प देखिनन् रानीले।

रानीले पण्डित बोलाएर राजालाई भन्न लगाउँछिन्, ‘छोरालाई विवाह मण्डपमा मात्र हेर्न पाउने, त्यसअघि हेरे छोराको मृत्यु हुने।’

झुट बोलेको बदलामा पण्डितलाई रानीले सुनचाँदीको लोभ देखाएकी हुन्छिन्। पण्डित लोभमा फस्छन् र झुट बोल्छन्।
पण्डितको कुराले राजा फेरि निराश भए।

केही वर्षमा नजन्मिएका राजकुमारको बिहेको तयारी सुरु हुन्छ। राजाले अर्को देशको राजकुमारीसँग बिहे तय गर्छन्। जेठी रानीले दुई रानीलाई बिहेको तयारी गर्न लगाउँछिन् र आफू लोहारकहाँ गएर हावा पनि नछिर्ने महफा (डोली) बनाउन लगाउँछिन्। डोलीका लागि रानीले टन्नै सुनचाँदी दिने वचन दिन्छिन्।

लोहारले डोली बनाउँछ। सुनचाँदी पनि दिन्छिन्। रानीले आफैं डोली सजाउँछिन् र त्यसमा बिरालो राखेर जन्ती विदा गर्छिन्। राजा खुसी हुँदै बाजागाजाका साथ छोराको जन्ती लिएर निस्कन्छन्।

यता, रानीहरु भने राजाले सत्य पत्ता लगाए आफूहरुको ज्यान पनि जान सक्ने डर पालेर बस्छन्।

उता, जन्ती भने आधा बाटोमा पुगेपछि आराम गर्न डोली बिसाएर विशाल बरको रुखमुनि बस्छन्। हपहपी गर्मीले गलेका जन्ती शीतल पाएपछि निदाउँछन्। त्यही बरको बोटमा नागिनी र नागले जन्तीलाई नियालिरहेकी हुन्छन्।

नागिनले नागलाई भन्छिन्, ‘हेर्नुस् त दुनिया, यत्रो जन्ती सजाएर लगि रहेका छन्, उहाँ गएर डोलीबाट बिरालो निस्कियो भने राजाको कत्रो बेइज्जत हुन्छ?’

नाग भन्छन्, ‘यस्तै छ संसारको चलन, झुठै झुठ छ सबैतिर। तिमी नसोच धेरै।’

नागिनी भन्छिन्, ‘अरुको त थाहा छैन तर यी राजालाई हामीले केही न केही सहयोग गर्नुपर्छ।’

नाग भन्छन्, ‘के भन्न खोजेको तिमीले?’

नागिनी, ‘तपाईं एक रातका लागि यी राजाको छोरा बनेर डोलीमा चढेर जानुस्। बिहे सकेर फर्किनुहोला।’

नाग भन्छन्, ‘यो सही हुँदैन।’

‘एक रातको मात्र त कुरा हो नि,’ नागिनी फकाउँछिन्।

‘हेर, यो सांसारिकता तिमीलाई थाहा छैन, फेरि भोलि पछुताउनु नपरोस्,’ नाग भन्छन्।

नागिनी भन्छन्, ‘पछुताउनु पर्ने कुरा नै के छ र? एक रातमा केही हुँदैन। तपाईं जानुस्।’

नागिनीले कर गरेपछि नाग डोलीभित्र पस्छन् र १२ वर्षको केटो बनेर बस्छन्।

केही बेरमा जन्ती निद्राबाट ब्युँझन्छन्। र, डोली बोकेर हिँड्छन्। दुलहीको घर पुगेपछि जन्तीले दुलाहालाई छोपिएको कपडा निकाल्छन्। सुन्दर युवक देखिँदा राजा खुसी हुन्छन्, आफ्नो छोरा पहिलोपटक देख्न पाएकोमा।

बिहे सुरु हन्छ। रातभरमा बिहे सकिन्छ। राजाले दुलहीका बाबुसँग विदाई माग्छन् र जन्तीसँगै दुलही लिएर हिँड्छन्।
यता, रानीका दासहरुले राजाले छोराबुहारी लिएर नगरमा आइसकेको सूचना दिन्छन्। तर, रानीहरुलाई विश्वासै लाग्दैन। ‘छोरै नभई बुहारी कहाँबाट?’ उनीहरु मनमनै प्रश्न गर्छन्।

अब भने उनीहरुको मनमा डरले पनि उत्तिकै जरा गाड्छ, ‘यतिबेलासम्म त पक्कै राजाले थाहा पाए, अब सजाय भोगिने भयो।’

‘आ …’ जे पर्ला पर्ला। सत्य आखिर केही गरी पनि लुकाउन सकिने हैन क्यारे। दण्ड पाए पनि सत्य बोलिदिउँ,’ रानीहरु सल्ला गर्न थाल्छन्।

दरबारनजिकै बाजाको आवाज सुनेपछि जेठी रानी डराउँदै बाहिर निस्कन्छिन्, कारवाही भोग्न तयार भएर। तब उनी अचम्मित पर्छिन्, जब अगाडि दुलहीसँगै दुलाहालाई पनि देख्छिन्।

दुलाहा–दुलहीको आरती गरेर घर भित्र्याउँछिन्। खासमा ती युवक त राजाका छोरा थिएनन्, नाग थिए। तर, नयाँ कन्या पाएपछि यो कुरा बिर्सन्छन्, आफू नाग हुँ।

उनी राजाको घरमै बस्न थाल्छन्।

उता, नागिनी भने छटपटिन थाल्छिन्। दिन, महिना हुँदै ६ महिना बित्यो, नाग आएनन्। बाटो कुर्दा कुर्दा नआएपछि उनी दरबारमा आइपुग्छिन्। जेठी रानीलाई भेटेर भन्छिन्, ‘तपाईंकी बुहारीलाई भेटाइदिनुस् न।’

रानीले बुहारी भेटाइदिन्छिन्। भेट्नेबित्तिकै नागिनीले किन नाग घर फर्किएनन् भन्ने अन्दाज लगाइहाल्छिन्।

नागिनीले दुलहीलाई सोध्छिन्, ‘तिमीलाई आफ्नो श्रीमानको नाम थाहा छ?’

दुलहीले अहिलेसम्म श्रीमानको नामै सोधेकी हुन्नन्।

‘तिमीले अहिलेसम्म श्रीमानको मुखको पान हेरेकी छौ त?’

दुलहीले यो पनि ख्याल गरेकी हुन्नन्।

‘त्यसोभए अब घर आउनेबित्तिकै हे,’ यति भनेर नागिनी त्यहाँबाट विदा हुन्छिन्।

नाग बेलुका दरबार आइपुगेपछि नागिनीले भनेअनुसार नै मुख हेर्छिन्। दुलहीले अहिलेसम्म यसरी सोधखोज नगरेकाले नागले नागिनी दरबार आएको चाल पाउँछन्।

तब सोध्छन्, ‘तिमीलाई किन चाहियो?’

दुलहीले जिद्दी गर्छिन्।

नागले अनेक बहाना बनाउँछन् र मुख नै देखाउँदैनन्। केही सिप नलागेपछि श्रीमतीलाई पोखरीको किनारमा लैजान्छन् र आफू पोखरीभित्र पस्छन्। र, आफ्नो नाम भन्छन्। बाहिर निस्केर सोध्छन्, ‘सुन्यौ त मेरो नाम?’

‘अहँ सुनिन,’ श्रीमती भन्छिन्।

नाग फेरि पानीभित्र पस्छन्। केहीबेरमा पानीबाट विशाल नाग निस्कन्छ। ती नाग वास्तवमा अघिका मान्छेरुपी नाग नै थिए। तर, दुलहीलाई यो कुरा थाहा हुँदैन।

उनी चिच्याउन थाल्छिन्। दरबारका सबै भेला हुन्छन्। जेठी रानीले भने थाहा पाउँछिन्।

सबैले दुलहीलाई त्यहाँबाट लैजान खोज्छन्, तर उनी मान्दिनन्। श्रीमान फिर्ता नआएसम्म आफू कतै नजाने जिद्दी गर्छिन्। नगरभरी चर्चा हुन्छ। एक वृद्धले या कुरा थाहा पाउँछन्।

उनले यस्तै अर्को पोखरी खन्ने, त्यसमा दुध र लावा राखेर नागलाई नियन्त्रणमा लिएर राजकुमारलाई फिर्ता ल्याउन सकिने सल्लाह दिन्छन्। वृद्धको सल्लाहअनुसार राजाले पाखरी खन्न लगाउँछन् र त्यसभरि दुध र लावा भरेर नागहरुलाई निमन्त्रणा दिन्छन्। पोखरीदेखि बिभिन्न ठाउँबाट हुरुरु नागहरु आउन थाल्छन् र दुध र लावाको पोखरीभित्र छिर्छन्।

टभरि दुध र लावा खाएका नागहरु प्रसन्न भई राजालाई सोध्छन्, ‘भन के चाहन्छौ?’

युवराज्ञीले आफ्नो श्रीमान पोखरीमा डुबेकाले फिर्ता गरिदिन आग्रह गर्छिन्। नागहरुले तुरुन्तै वर दिन्छन्। एकैछिनमा राजकुमार पोखरीबाट निस्कन्छन्। तर, ती त वास्तवमा नाग नै थिए। नागहरुको भीडमा नागिनी पनि थिइन्। राजकुमारको रुपमा आफ्नो श्रीमानलाई देखेपछि नागिनी विलाप गर्छिन्, ‘म के गरौं?’

‘मैले भनेकै थिएँ नि, पछि पछुतो हुनसक्छ भनेर।’

नागको त्यस्तो कुरा सुनेर नागिनीले तुरुन्तै आत्महत्या गर्छिन्। नाग भने पछि बिहे गरेकी श्रीमतीसँग दरबारमै बस्न थाल्छन्।
यो कथा मिथिला संस्कृतिमा साउन महिनाको मधुश्रावनी पूजाका बेला नागको पूजा गर्ने बेला सुनाउने गरिन्छ।

गर्मी महिनामा स्कुलबाट फर्किएपछि बाहिर खेल्न नजाउन् भनेर हजुरआमाले हामीलाई यस्ता कथा सुनाउने गर्नुहुन्थ्यो।

(मैथिली लोककथा)

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.