प्रेम अनि सम्बन्ध फरक कुरा रहेछ। सम्बन्ध जानेर, जोखेर, तौलेर फाइदा बेफाइदा अवगत गरी जोडिन्छ। प्रेम स्वतःस्फूर्त हुन्छ, चाहे वस्तु होस् वा व्यक्ति। सम्बन्धमा आशा, आकाङ्क्षा जेलिएको हुन्छ, उद्देश्य हुन्छ। उद्देश्य प्राप्तिपछि सम्बन्धको म्याद सकिन्छ। आफै चमक हराएर जान्छ।
उद्देश्यले गाँसिएका सम्बन्धहरूमा स्वार्थ लुकेको हुन्छ। रहिहाले पनि भित्र भित्र द्वन्द्व र अशान्ति जन्मिरहेको हुन्छ। प्रेम दुई आत्माको मिलन हो। आफै जन्मन्छ, कतिले देखाउँछन् त कतिले मेटाएको बहाना गर्छन्। कुनै व्यक्ति, वस्तु र चिजबिजसँग प्रेम हुनु कुनै एक स्वस्थ व्यक्तिको विशेषताभित्र पर्दछ। प्रेमले मात्र जिन्दगी त चल्दैन तर जीवनलाई गति दिनका लागि व्यक्तिले अनेकौँ सम्बन्धहरूको सिर्जना गर्दछ।
ब्याचलर इन नर्सिङ सकेर प्राइभेट हस्पिटलमा काम गर्न थालेकी थिएँ। ड्युटीको फिक्स समय थिएन, कहिले दिन त कहिले रात गर्नुपर्ने। वास्तवमै एउटा नर्सले बिरामीलाई गरेको सेवाको मूल्य कति हो त? यो बेडबाहिर रहेको कानुनविद्हरूले तय गर्न सक्ने विषय पनि त होइन। बेडमा जीवन मृत्युसँग जुधिरहेका निराशाले भरिएका शिथिल शरीरहरूले मात्र यसलाई मूल्य दिन सक्छन्। कसको कति मूल्य भन्ने कुरा समय अनि परिस्थितिले बताउँछ। आफू बेसहारा हुँदा पाएको सहारा, अशक्त हुँदा पाएको सेवाहरूको मूल्य पैसाले चुकाउन सकिँदैन। यो अमूल्य हुन्छ।
मेरो ड्युटी प्रायः बच्चा वार्डमा पर्ने गर्थ्यो। जहाँ साधारण पारिवारिक पृष्ठभूमिका बिरामी बच्चाहरू भर्ना गरेर राखिएका हुन्थे। बच्चाको साथमा रहेका आमाहरूको अनुहारको रङलाई पहिल्याउन खोज्थेँ। बच्चा वार्डको बेड नम्बर १८ मा एउटा बच्चालाई स्तनपान गराइरहेकी दिदीलाई देखेँ। अनुहार हेर्दा लाग्थ्यो तीन दशक काटेकी छिन्। समय रातको थियो तर उनको परिस्थिति बिना साथको थियो।
औषधि सकियो। क्लिनिकमा लिन जानुपर्ने, यताउति हेर्न थालिन्। बच्चा रोइरहेको थियो। ती दूधे बालकको आमाभित्रको गुम्साहट र अनुहारको विवशतालाई मैले धेरै बेर हेर्न सकिनँ। उनको हातमा भएको लिस्ट लिएर क्लिनिकमा गएँ। औषधि ल्याएर थमाएँ। उनको शरीरले लामो श्वास फेरिरहेको थियो। मन, मस्तिष्क, ध्यान, कर्म सबै त्यही बिरामी छोरामाथि थियो। जन्मजात रूपमा बनेको कति मिठो सम्बन्ध थियो आमा र छोराको। न त्यो सम्बन्धलाई कसैले नामेट गर्न सक्छ। न कसैले पुस्तकका गाता सरी फेर्न सक्छ। उनको नजिकै गएँ, प्रश्न सोधेँ।
'तपाईंको घरमा अरू कोही हुनुहुन्न? एक्लै आउनु भा’को?'
उनले टाउको हल्लाउँदै गह्रुङ्गो मनबाट असजिलो गरी उत्तर दिइन्, 'घरमा म एक्लै हो। श्रीमान् विदेशमा हुनुहुन्छ। बाबुलाई ठिक हुन्छ नि सिस्टर?'
उनले मधुरो आवाजमा डराई डराई सोधेकी थिइन्।
परदेशिनुको पीडा श्रीमानलाई पनि हुँदो हो अनि घरका लालाबाला हेरेर आफ्नो जवानीलाई एक्लो बनाएर जीवन जिउनुको पीडा उनलाई पनि हुँदो हो।
अस्पतालमा बिरामीको चाप बढिरहेको थियो। उनको अनुहारको रङ धमिलिँदै गइरहेको थियो। अनुहारले समय अगाडि नै बुढ्यौलीलाई स्वागत गरेजस्तो लाग्थ्यो। मान्छेको सम्बन्धको त के कुरा, जब समय प्रतिकूल बन्छ तब आफ्नै शरीरसँग मन र मस्तिष्कले पनि दूरी बढाउँदो रहेछ।
मेरो ड्युटी सकिनै लागेको थियो। म साथीहरूसँग बिदाइ भएर घर जान गाडी चढेँ। मेरो फोनमा घण्टी बज्यो। फोन उठाएँ। अङ्कल बोल्नुभएको थियो, 'नानी, आज घरमा पाहुना आउनु भएको छ। घर आउँदा राम्रोसँग ऐना हेरेर आएस् है।'
मलाई निकै हाँसो उठ्यो।
'किन हेर्नुपर्यो अङ्कल ऐना? ऐनाले मेरो चित्र देखाउला तर चरित्र देखाउन सक्दैन,' म ठट्टा गर्दै थिएँ। फोन आमाको हातमा कति बेला सरेछ थाहै पाइनँ।
'नानी, आज तिम्रो हात माग्न आएका छन्। घर आउँदा देखिन लायक बनेर आएस् नि। अलि कुल घरानकी छोरीजस्तो बनेर।'
मैले कुरा बुझिहालेँ। अङ्कल ल्याब टेक्निसियन, आफ्नै हस्पिटलमा काम गर्ने डाक्टरसँग धेरै पहिला मेरो कुरा चलाउनु भएको थियो। तर उबेला मैले बिहे गर्न मानिनँ। फेरि त्यही प्रस्ताव आएको थियो। म घरमा पुग्दा लिभिङ रुममा पाहुनाहरू लस्करै हुनुहुन्थ्यो।
म मेरो कोठामा पसेँ। आमाले चिया ट्रेमा राखिदिनु भयो। तर मलाई चिया दिन जान मन लागेको थिएन। किनकि मनमा बिहे गरूँ जस्तो भावना जागेकै थिएन। जसोतसो चिया लगेँ।
आमाले सम्झाउन थाल्नु भयो, 'हेर नानी, कुल घरान राम्रो छ। केटो डाक्टर हो। ज्वाइँ डाक्टर पाउनु त हाम्रो पनि भाग्य हो। यस्तो चानस बार बार आइराख्दैन। दुई चार वर्षपछि त तेरो बिहे गर्ने उमेरले पनि नेटो काटिसक्छ। बिहे भन्ने कुरा बेलैमा गर्नुपर्छ। नाइँ नभनेस् है छोरी।'
मैले बुवाको आँखामा हेरेँ। उहाँको आँखाले पनि त्यही इसारा गरिरहेको थियो। पेसाले बुवा शिक्षक हो, निकै इमानदार अनि त्यही इमानदारिताले कमाएको एउटा सानो घर छ। सम्पत्तिको नाममा त्यही एउटा घर र सानो घडेरी छ। भाइ सानो छ। उसको पढाइ लेखाइको खर्च कसरी जुटाउने? बाटो खोज्नु थियो। मैले बिहे गर्दैमा जीवन सुखी हुन्छ भन्ने पनि त थिएन। मनमा कुरा खेल्दै थियो। अङ्कलको बोलीले म झसङ्ग भएँ।
'छोरी भाग्यमानी छ, हामीलाई डाक्टरको प्रस्ताव आउनु सानो कुरा होइन। नानी, तिमी नमान्ने त कुरै भएन। बरु सुन्नुस् त दाइ, दाइजो त राम्रै दिनुपर्छ। डाक्टर खानदानको इज्जत, मान, मर्यादा राख्नुपर्छ। त्यसैले त्यो एउटा घडेरी बेच्नुपर्छ दाइ।'
मलाई निकै दुःख लाग्यो। जुरुक्क उठेँ।
'अङ्कल, मलाई केटो मनै परेन। म बिहे गर्दिनँ।'
यदि के बोलेकी थिएँ, अङ्कलको प्रेसर बढ्न थाल्यो।
'हुन त हो, डाक्टर मात्र होइन सबै पेसाका मानिसको इज्जत हुन्छ। आफ्नो आत्मसम्मानको कुरा हुन्छ। तर धन, सम्पत्ति, मान मर्यादा त आफ्नो सत्कर्मले कमाउने हो अङ्कल। त्यो दाइजोको आशाले जोडिएको सम्बन्ध कति दिनसम्म टिक्ला, सोच्नु त? दाइजो थोत्रिएपछि सम्बन्ध पनि त थोत्रिन्छ। बाहिरबाट हेर्दा छोरीको घर सुन देख्नेले सोच्नुपर्छ कतै भित्र–भित्र घुन पो लागिरहेको छ कि! बिहे गर्दा माग राख्ने होइन, इच्छाले लिने र दिने हो। केटी हेर्न आउने अनि दाइजो डिमान्ड गर्ने, म यो सम्बन्धमा खुसी रहुँला भन्ने के ग्यारेन्टी छ र? छोरी बोझ होइन, हजुरको सोच नै आफ्नो लागि बोझ बनेको छ। यो आडम्बरको पर्दा हटाउनुस्। अङ्कल, डाक्टरलाई केटी अन्तै खोज्नुस्, म बिहे गर्दिनँ। पढेलेखेका धन सम्पत्तिको खोल ओढ्नेहरू नै अबुझ देखेकी छु मैले, आफ्नो भाग्यमा लेखेको कसैले मेटेर मेटिँदैन। मैले पनि आफ्नो हैसियतलाई उचाइ दिन प्रयत्न गर्नेछु।'
अङ्कल मेरो मुखमै नहेरी घरबाट निस्कनु भयो। आमाका आँखा रसाएका थिए। बाको शिर निहुरिएको थियो। बुवा आफै शिक्षक भएर पनि कति अबुझ जस्तो लाग्थ्यो मलाई। थाहा छैन म वैवाहिक सम्बन्धमा बाँधिन्छु या बाँधिन्नँ? तर मलाई मेरो कर्ममा विश्वास छ। मेरो कर्म, सत्कर्मसँग प्रेम छ।