सानैदेखि खेलमा मेरो विशेष रुचि थियो। अहिलेसम्म पनि खेल भनेपछि म मरिहत्ते गर्छु। यसै त म क्रिकेट, भलिबल, टेनिसजस्ता धेरै खेल हेर्न मन पराउँछु, तथापि फुटबलको विशेष अनुरागी हुँ।
संयोग नै भन्नुपर्छ, मेरो घर पनि रंगशालाको नजिकै छ। रंगशाला हुने प्रतिस्पर्धाहरू छुटाउँदिनँ। त्यसमा पनि फुटबल म्याच त झनै छुट्दैन। बिरामी हुँदाबाहेक त्यहाँ हुने फुटबल म्याचहरू मैले सायदै छुटाएको छु।
टिभीमा आउने क्लबहरू बीचका प्रतिस्पर्धादेखि सबै राष्ट्रिय अन्तर्राष्ट्रिय खेल भ्याएसम्म हेर्ने गरेको छु। विश्वकप चलिहँदा कुनै म्याच छुटाएको छैन। त्यो बेला त सुत्यो कि सपनामा पनि फुटबल नै देख्ने गर्छु।
खेलप्रतिको मेरो अति अनुराग मेरी श्रीमतीलाई पटक्कै मन पर्दैन। आफ्नो चर्को असन्तुष्टि जाहेर गर्दै ऊ भन्छे– तिम्रो त टाउको पनि फुटबल जस्तै छ, त्यसैले होला, तिमी फुटबल भनेपछि ज्यानै छाड्छौ।
उसको यो भनाइसँग मेरो टाउकोको आकारको कुनै सम्बन्ध छैन। मेरो मात्र होइन, दुनियाँका हरेक मानिसको टाउको आखिरमा फुटबल जस्तै हुन्छ।
उसको भनाइको खास आशय भने यस्तो हो–जसरी फुटबलमा कोचीकोची हावा भरिएको हुन्छ, मेरो टाउकोमा पनि गिदी होइन, त्यस्तै टनाटन हावा भरिएको छ।
उसको यो आक्रोश पनि स्वाभाविक छ किनभने मेरो फुटबल अनुरागले उसको व्यक्तिगत जिन्दगी नराम्ररी प्रभावित छ। उसका कति रात हल्लैहल्लाका बीच कटेका छन्, कति आवश्यकता, इच्छा र अन्तरचाहनाहरू सहिद भएका छन्।
बाल न युवा, कुनै कालमा पनि म फुटबल खेलाडी बनिनँ। वास्तवमा फुटबलले मसँग कुनै साइनो राखेका छैन तर म आफूलाई फुटबलको रक्त सम्बन्धको मान्दछु। फुटबलसँग मेरो सम्बन्ध यस्तो छ कि म उसको एकतर्फी पागलप्रेमी हुँ।
सधैंझैं झिसमिसमै मर्निङ वाक निस्कन्छु। बाटामा कुनै चहलपहल देखिँदैन। कोही साथीभाइ, अरू हिँड्ने मानिस भेटिँदैनन्। अचम्म मान्छु र मनमनै आफैंलाई सोध्छु– होइन, आज के भएको छ? सधैं भिड हुने त्रिपुरेश्वर क्षेत्र कसरी सुनसान भएको हो?
त्रिपुरेश्वर चोकस्थित त्रिभुवनको सालिकसँगै उभिएर हेर्छु– टेकुको सहिद वृक्षसम्म, उता बाग दरबारसम्म अनि अर्कोतिर थापाथली चोकसम्म कहीँकतै चरोमुसो देखिँदैन। न ब्लु क्रस अस्पतालतिर कोही छ न त आँखा अस्पतालतिर नै।
मलाई आफैंप्रति शंका हुन्छ। बिहानको गेम हेर्ने हतारोमा कतै आधा रातमै त हिँडिनँ म? झ्वाट्ट नाडी घडी हेर्छु। बिहानको ६ बजेको हुन्छ। अनि आफैंलाई प्रश्न गर्छु– होइन, नखाई पनि भाङ लाग्छ कि कसो?
अर्को मनले भन्छ– मर्निङ वाक त भिड नहुँदा नै राम्रो। त्यसैले जे भएको छ ठिकै भएको छ। जो जहाँसुकै मरून्, मलाई केको टाउको दुखाइ?
यो मनोतर्कमा कुनै तुक नभएको मानेर त्यो विषय त्यतिकै छोडिदिन्छु। घोत्लिने चटारो लिन्नँ। छिटोछिटो घर फर्कन्छु र नास्ता लिएर फटाफट रंगशाला पुग्छु। त्यहाँ अपार भीड हुन्छ। जता हेर्यो उतै मान्छे नै मान्छे।
मनमनै भन्छु– भएजति सबै मान्छे बिहान उज्यालो नहुँदै यतै मुन्टिएछन्, अनि कहाँ भेटिनु बाटामा? म पो ढिलो भएछु खेल सुरू भइसकेछ।
खेल चलिरहँदा बीचमा बाहिर निस्कनुभन्दा सुरुमै उत्सर्जन व्यवस्थापन उचित ठानेर थपक्क बाथरूम छिर्छु।
लक्षित कर्म सकेर धारा नजिकै माथि भित्तामा झुन्डिएको ऐना अघि स्वविम्ब दर्शनार्थ उभिन पुगेको मात्र के हुन्छु, मेरो त होश हवास फुस्किन्छ। ऐनामा हेर्छु– आफ्नो त टाउको नै छैन। हत्तपत्त दुबै हात उठाएर टाउको छाम्न खोज्छु। त्यहाँ घाँटीमात्र हुन्छ, त्यस माथि पूरै खाली, मानौं त्यहीँबाट अनन्त आकाश सुरू भएको छ।
आफैंलाई प्रश्न गर्छु– कहाँ गयो मेरो टाउको? कसले लग्यो? आफ्नै टाउको कसैले लैजाँदा मैले कसरी चाल पाइनँ? के अब म मुर्कट्टा भएको हुँ?
मान्छे मरेर मुर्कट्टा हुन्छ भनेको त सुनेको थिएँ तर कोही मानिस जिउँदै मुर्कट्टा भएको सुनेको थिइनँ। जिउँदै पनि कोही मुर्कट्टा हुन्छ र!
आफूले आफैंलाई रामानन्द सागरको धारावाहिक रामायणमा वाणले टाउको उडाएपछि जिउमात्र हिँडेको कुम्भकर्णजस्तो सम्झन्छु।
मनमा थुप्रै प्रश्नहरू जन्मन्छन्– अब घर कसरी जाने? श्रीमतीलाई के मुख देखाउने? उसले कसरी चिन्ने? म बाबु हुँ भनेर छोराछोरीले कसरी चिन्ने? हे भगवान! यो के फसाद आइलाग्यो?
फेरि आफैं झल्याँस्स भएँ र सोचेँ– टाउको छैन भने म यो सब कसरी देखिरहेको छु?
प्रश्नको जवाफ खोज्न अब म फेरि मेरो शरीर अवलोकन गर्न थाल्छु। देख्छु– घाँटीमाथि पूरै गुम। टिलिक्क आँखा कुममा छन्, सेप्रा कान छातीमा टाँसिएका। अनि हाब्रे मुख पेटको बीचमा छ। हातखुट्टा सबै यथावत्।
लाग्छ– यो के अचम्म भा? कतै म बहुलाएको त होइन? आफैंलाई प्रश्न गर्छु तर मेरो सोचाइमा त कुनै पागलपन देखिँदैन।
घरमा ऐना हेर्दासम्म म ठिकै थिएँ। खै कसरी हो, भरखरै शौचालयमा सद्दे छिरेको मान्छे, म मिनेट भरमा मुर्कट्टा भएर निस्कन्छु। अत्तालिँदै रंगशालाको प्यारापिटतिर हेर्छु।
अब भने मेरो आश्चर्यले सीमा नाघ्छ– कस्तो अचम्म! त्यहाँ त कसैको पनि टाउको छैन। सबै मानिस टाउको बिनाका, याने मुर्कट्टा छन्। सबैजना मुर्कट्टा नै मुर्कट्टा भएपछि अब रंगशाला स्वतः मुर्कट्टाकै हुन्छ। अर्थात् अब त्यो मान्छेको रंगशाला रहँदैन।
मनमनै सोच्छु– यसै हो भने अब यो रंशालाको नाम नै बदलिनुपर्छ। कुर्सीमा बसीबसी रंशालाको माथि नाम भएपट्टि आँखा लगाउँछु। ठूला र आकर्षक अक्षरमा लेखिएको हुन्छ– मुर्कट्टे रङ्गशाला।
सबैलाई मुर्कट्टा देखेपछि आफू मुर्कट्टा भएको पीर केही मात्रामा कम हुन्छ। अब सामाजिक बदनामीको भयबाट बचेँ भन्नेमा म ढुक्क हुन्छु।
फेरि मनमनै सोच्छु– अब मानिसले नयाँ दिनचर्या अभ्यास गर्नुको विकल्प छैन। कसैको टाउको नभएपछि अब टाउकोबिनाको मानव पहिचानको अभ्यास मानिसले थाल्नेछ। अरूहरू जसरी र जे पहिचानले चिनिने छन् म पनि त्यसरी नै चिनिने छु।
सबै मुर्कट्टा भएपछि अब यो मेरो व्यक्तिगत समस्य रहँदैन। मनमा दुःख लागे पनि प्यारापिटको खाली सिटमा गएर थपक्क बस्छु र खेल मैदानतिर नजर लगाउँछु। जब मेरा नजर खेल मैदानमा पुग्छन् फेरि तीन छक्क पर्छु।
देख्छु– दर्शक सबै मुर्कट्टा भए पनि दुइटै टोलीका खेलाडी माथासहितका छन्। रेफ्रीको पनि माथा यथावत् छ। दुई टोलीमध्ये एउटा टोलीका खेलाडी काला, अग्ला, बलिया र ठूला आँखा भएका छन्। उनीहरूको जर्सीमा बाघको टाउकोको चित्र छ।
अर्को टोलीमा अग्ला गोरा, बलिया र केही चिम्सा आँखा भएका खेलाडी छन्। तिनको जर्सीमा ड्रागनको चित्र छ। रेफ्री खैरो कपाल, सेतो छाला भएको अग्लो छ।
माथा गुमेको दुःख बिर्सन अब म ध्यान दिएर खेल हेर्न थाल्छु। झन् सीमाहीन आश्चर्य हुन्छ। देख्छु– खेलाडीहरू भकुन्डोको ठाउँमा मानिसको टाउको लात्तीले हानिरहेका छन्।
खेलाडीको लात्तीले यताबाट उता र उताबाट यता भएको टाउको हेर्दै प्यारापिटबाट एउटा मुर्कट्टो कराइरहेछ– नाइँ..., त्यो मेरो टाउको हो, मेरो टाउको मलाई देऊ।
खेल्दाखेल्दै कालो खेलाडीले लात हानेर त्यो टाउको खेल मैदान बाहिर फालिदिन्छ। एउटा कालो भुसतिघ्रे आउँछ र त्यो टाउको टिपेर रंगशालाबाट बाहिर भाग्न थाल्छ। अघि रुने मुर्कट्टो प्यारापिटबाट उठेर आफ्नो टाउको प्राप्तिका लागि त्यो कालो भुसतिघ्रेका पछिपछि दौडन्छ।
फेरि मैदानमा नयाँ टाउको आइपुग्छ। अर्को मुर्कट्टो दर्शक कक्षबाट त्यसरी नै मेरो टाउको मलाई देऊ भन्दै रुन थाल्छ। सेतो अग्लो खेलाडीले हानेर त्यो टाउको प्यारापिटको नजिकै पुर्याउँछ। अनि सेतै भुसतिघ्रे आएर त्यो टाउको टप्प टिप्छ र बोकेर रंगशाला बाहिर चम्पट ठोक्छ।
रुँदै गरेको मुर्कट्टो आफ्नो टाउको पाउन सेतो भुसतिघ्रेको पछिपछि दौडन्छ। एवं रितले एकएक गर्दै नयाँ टाउका पालैपालो मैदानमा आइपुग्छन्। खेलाडीको प्रहार खाएर मैदान बाहिर पुग्छन्। फेरि त्यसै गरी टिम अनुसारकै कुनै एउटा भुसतिघ्रेले त्यो टाउको टिप्छ र टाप ठोक्छ। टाउको दाबी गर्ने मुर्कट्टो उसैगरी उसको पछिपछि रुँदै दगुर्छ।
यसरी सयौं टाउका आउँछन्, जान्छन् र खेल चलिरहन्छ। केही बेरपछि देख्छु– मैदानमा मेरो टाउको पनि आइपुगेको छ। म सिटबाट उठेर मेरो टाउको मलाई देऊ भन्दै रोइकराइ गर्छु तर मलाई कसैले सुन्दैन, कसैले टेर्दैन।
अघिका टाउका जस्तै मेरो टाउको पनि एउटा खेलाडीको जोडदार प्रहारबाट मैदान बाहिर पुग्छ। म आफ्नो टाउको टिप्न दौडन्छु तर म नपुग्दै एउटा भुसतिघ्रे मेरो टाउको टिपेर रंगशालाबाट बाहिर बेजोडले भाग्छ। म उसको पछिपछि दौडन्छु।
थापाथली चोकको मोडमै म उसलाई भेट्न सफल हुन्छु र पछाडिबाट जोडले एक लात मार्छु। ऊ अगाडितिर घोप्टिएर सडकमा लड्छ। उसको हातबाट मेरो टाउको उछिट्टिन्छ र राष्ट्र बैंक अगाडिको सडकमा गुड्किन्छ। म आफ्नो टाउको टपक्क टिपेर माइतीघरतिर दौडन्छु।
त्यो भुसतिघ्रे फेरि मलाई लखेट्न आउँदैन बरू रंगशालातिरै फर्कन्छ, सायद अर्को टाउकोका लागि।
अघि बाहिरिएका मुर्कट्टाहरूको भिड खाद्य व्यापरको गोदाम अघि भेला भएको देखिन्छ। मुर्कट्टा बीचमा मलाई आफ्नो टाउकाको सुरक्षाको चिन्ता हुन्छ, आफ्नो टाउको थपक्क झोलामा हाल्छु र मुर्कट्टाकै रूपमा भिडमा मिसिन पुग्छु।
त्यो भिड त्यहाँ किन छ, मैले बुझेको हुँदिनँ। भिडको रहस्य बुझ्ने उद्देश्यले एउटा मुर्कट्टालाई सोध्छु– हामी यहाँ किन उभिएका छौं मित्र?
सेतो दौरासुरूवाल र ग्रे कोटमा सजिएको त्यो खाइलाग्दो मुर्कट्टोले भन्छ– हामी सबैका टाउका यहीँ ल्याइएका छन्। यहाँ ब्रेन ट्रिटमेन्ट ल्याब (मस्तिष्क सुधार प्रयोगशाला) स्थापना गरिएको छ। त्यसैले यहाँ केही समय हाम्रो गिदीमा ट्रिटमेन्ट (सुधार) गरिन्छ। ट्रिटमेन्टपछि सबैले पालैपालो आफ्नो टाउको फिर्ता पाउँछन्। यहाँ हामी सबै ट्रिटमेन्टपछिको आफ्नो टाउकाको पर्खाइमा छौं।
दसैंताका खसी र च्यांग्रा बिक्रीमा राखिने खाद्य व्यापारको यस गोदाममा आज मानव टाउको राखिएको छ। मलाई टिठ लागेर आउँछ। त्यति बेलै भित्रबाट एकएक वटा टाउको निकालिन्छ र माइकबाट नाम बोलाएर ट्याग नम्बरअनुसार सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिन्छ।
मलाई कुरो बुझ्न बेर लाग्दैन। कसैले मेरो टाउको मेरो झोलामा छ भन्ने थाहा पायो भने खोसेर ट्रिटमेन्ट ल्याबमा लाने जोखिम देखेर म त्यहाँबाट माइतीघर मण्डल हुँदै लुसुक्क भद्रकालीतर्फ टाप कस्छु।
ट्रिटमेन्टपछि टाउको फिर्ता पाएकाहरूको भिड भद्रकालीमा जम्मा भएको हुन्छ, एउटा ठूलो आमसभामा जस्तै। कतै खुट्टा टेक्ने ठाउँ छैन। सुन्धाराबाट सिंहदरबार गेटसम्म मान्छेहरू खचाखच भरिएका छन्।
अब टाउको गुम्ने जोखिम नरहेको बुझेपछि झोलाबाट झिकेर म आफ्नो टाउको थपक्क लगाउँछु। टाउको मिलाउनासाथ शरीरका सबै अंग पूर्ववत् स्थानमा स्थापित हुन्छन्। समस्या सल्टिएकोमा म निकै खुसी हुन्छु।
म अब टाउको हराउनुअघिकै समीर शर्मा भएको छु। सन्तोषको सास फेर्दै म अपार भिडतर्फ हेर्छु। खचाखच भिडमा मेरा धेरै चिनारुहरू पनि देखिन्छन्। पहिले एकजना लोकप्रिय नेता भेट्छु र भन्छु– रमेश जी, नमस्ते! के छ हालखबर? होइन, के भएको हो यस्तो?
उनी भन्छन्– मेरो नाम तपाईंलाई थाहा रहेनछ। म त रामनाथन् शिवमूर्ति हुँ। तपाई अर्कै नाम भन्दै हुनुहुन्छ। मेरो नाम मैले जान्ने कि तपाईंले। हेर्दा त भलादमी नै देखिुनहुन्छ, खुस्किनु भा’को छ कि कसो?
पुरानो चिनजानको मान्छेले त्यसरी हियाएर भनेपछि म रिसले चूर हुन्छु। आलो रायोको पात खाँदा नाकबाट धुवाँ निस्केजस्तै हुन्छ। थप केही नभनी अर्को दिशातिर फर्किन्छु। मनमनै भन्छु– यिनी यस्ता थिएनन्, पद पाएर सन्कन थालेछन् क्यारे।
अलिक पर्तिर देख्छु– युवा नेता हिमाल हाँसिरहेका छन्। नजिकै गएर विस्तारै भन्छु–नमस्ते हिमालजी! हालखबर के छ? हन के भएको हो आज यस्तो? म त छक्क परीसके!
उनी भन्छन्– दिउसै सेन्तेरेम दिर्यौ कि को हो? मान्छे पनि चिन्न छाड्यौ? म त हुवाङ ली हुँ। कसलाई के भएको छ र? सबै ठिकै त छ नि!
म अब झन् तीन छक्क पर्छु। नजिकै मेरा छिमेकी, प्रसिद्ध महिला अधिकार कर्मीलाई देख्छु र ठूलो आशा लिंदै भन्छु– नमस्कार जलजला मेडम! आज के भएको छ यी मान्छेलाई? कोही पनि आफूलाई चिन्दैन। म जसलाई सोध्छु ऊ आफ्नो पहिलेको परिचय जान्दैन। कुनै अनौठो नयाँ नाम पो भन्छ।
सनक्क सन्केर उनी भन्छिन्न्– मलाई भन्नु भाको? म जलजला होइन। म त जेसिका अलेक्जेन्डर हुँ। खोइ कसले चिनेन आफूलाई? बरु तपाईं बहुलाउनु भएजस्तो छ।
यही रितले अझै केही चिनेका जानेका टाउकाहरूलाई सोध्दै र बुझ्दै जान्छु। अवस्था यस्तो पाउँछु कि उच्चपदस्थ राजनीतिज्ञ, मन्त्री, सांसद हुन् या कर्मचारी अथवा न्यायमूर्ति, प्राध्यापक, शिक्षक, खेलाडी, वरिष्ठ सुरक्षा वा सञ्चाकर्मी, सबैले आफ्नो पूर्व पहिचान भुलेका पाउँछु।
यतिकै निराशामा रुमल्लिइरहेको बेला एकजना कसैले मलाई पछाडिबाट समीरजी भनेर बोलाउँछ। फर्केर हेर्छु– मेरा छिमेकी पूर्णजी मलाई नै बोलाउँदै छन्। उनीसँगै सन्देश, राधिका, सोमनाथ, मनिता, डोल्मा, रामजीवन, पासाङ, सुन्दर, इस्माइल, छोटेलाल लगायत थुप्रै चिनारुहरू मतर्फ आइरहेछन्।
मेरो हर्षको सीमा रहँदैन। म तीमध्ये सबभन्दा अगाडि रहेका पूर्णलाई अँगालो हालेर आँसु खसाउँछु र एकैसासमा देखेका भोगेका सबै घट्ना बताउँछु।
उनी सान्त्वना दिँदै मलाई यसको खास रहस्य बताउँछन्– देशमा अहिले मानव मष्तिष्क संरचना परिमार्जन अभियानले जोड पक्डेको छ। त्यही योजनाअनुसार मनाएर, दबाब दिएर वा झुक्याएर मानिसलाई रंगशला लगिन्छ र त्यहीँ उसको टाउको छेदन गरी मस्तिष्क सुधार प्रयोगशालामा पठाइन्छ। कतिले त्यो कुरा मान्दैनन्। कति भाग्न सफल हुन्छन्। भाग्न नपाएका मध्ये कतिले रंगशालाबाट टाउको बाहिरिँदा टाउको लाने लठैतलाई लखेट्छन्।
उनी भन्दै जान्छन्– तीमध्ये जजसले थापाथली चोकसम्ममा आफ्नो टाउको खोस्न सक्छन् तिनको टाउको मस्तिष्क संरचना परिवर्तन हुनबाट जोगिन्छ। धेरैजसो जनसाधारण निःस्वार्थ, निडर, भिड्न र खट्न सक्ने भएकाले आफू दौडेर आफ्नो टाउको खोस्न सफल भएका छन् र आफ्नो मस्तिष्क संरचना बदलिनबाट जोगिएका छन्। तपाईं र हामी तिनैमध्ये परेका हौँ।
उनले थप रहस्य खुलाए– ठूलो राजनीतिक पहुँच भएका, उच्च ओहदा आगेटेका, राज्य प्रणालीको निर्णायक स्थानमा रहेका सुखसुविधाका भोगीहरू जोगिन चाहेनन् र कतिले चाहे पनि दौडेर टाउको खोस्न सकेनन्। आफ्नो तिनले आफ्नो मस्तिष्क ट्रिटमेन्ट हुनबाट आफूलाई जोगाउन सकेका छैनन्।
उनले प्रष्ट पारे– थापाथली सेन्टरबाट जजसले टाउको फिर्ता लिएर आएका छन् ती सबै ब्रेन ट्रिटमेन्ट भएर आएका हुन्। ब्रेन ट्रिटमेन्ट भएर आउनेहरूको स्वपहिचान गुमेको छ। आफूलाई नचिन्नेहरू जति छन् ती सबै ब्रेन ट्रिटमेन्टका उत्पादन हुन्। तिनको अनुहार पहिलेकै छ तर व्यक्तित्व विल्कुल फरक।
बल्ल म अघिका सबै घटनाको मेलोमेसो बुझ्छु। आफू ब्रेन ट्रिटमेन्टबाट जोगिएकोमा भगवानलाई लाखलाख धन्यवाद दिन्छु।
यतिकैमा पर भिडमा म आफ्नी श्रीमती रमिलालाई देख्छु। हतारिएर हुत्तिँदै उनको छेउ पुगेर भन्छु– रमिला, तिमी पनि यहाँ? म निस्कँदा तिमी घरमै थियौ, कतिखेर आयौ?
मतिर विस्मित आँखा फर्काएर उनी भन्छिन्– कसलाई भनेको तपाईंले? तपाईं मान्छे चिन्नुहुन्न जस्तो छ। कि दिउसै भाङ खाएर आउनु भो? म त रियान्डी हुँ। रियान्डी थोम्प्सन।’
आफ्नै पत्नीले समेत नचिनेपछि मलाई ब्रेन ट्रिटमेन्टको घातक असर र भयावह परिणाम बोध हुन्छ। यी सबै सोचेर मलाई आफ्नो दिमाग भित्रै ज्वालामुखी विस्फोट होला जस्तो हुन थाल्छ। म हताश हुन्छु।
मलाई अर्को सन्देहले सताउँछ– पत्नीको हालत त देखिहालेँ। कतै यो अवस्था सन्तानसम्म त पुगेको छैन? कथंकदाचित त्यस्तो भएछ भने मेरा छोराछोरीले मलाई चिन्ने छैनन्। तिनले आफूलाई पनि चिन्ने छैनन्। मेरो देश र समाज चिन्ने छैनन्।
मलाई अथाह भयले सताउँछ र घर पुग्ने कडा हुट्हुटी जाग्छ। म विस्तारै अरूले सन्देह नगर्ने गरी भिडबाट बाहिरिन थाल्छु।
मनमनै सम्झन्छु– टाउको नभएका मुर्कट्टाहरूले अनुहारको पहिचानमात्र गुमाएका थिए। कम्तीमा तिनले आफूलाई त चिनिरहेकै थिए। तिनले आफ्नो हराएको टाउको समेत चिनेका थिए। अर्थात् दिल र दिमागले ती यथावत् थिए। ब्रेन ट्रिटमेन्ट भएका माथावाल मुकुट्र्टाले त आफ्नो नाम र पहिचान गुमाएका छन्। आफूलाई नै नचिन्ने भएका छन्। आफूलाई नचिन्नेले आफ्नो देश कसरी चिन्ला! आफ्नो इतिहास, संस्कृति र पहिचान कसरी चिन्ला!
यति बेलासम्म ब्रेन ट्रिटमेन्ट भएका टाउके मुर्कट्टाहरूको भिडले भद्रकाली, सुन्धारा र टुँडिखेल क्षेत्र सबै ढाकिसकेको हुन्छ। बेहोशहरूको त्यस भिडमा होश हुने पो बेहोश प्रतीत हुन्छन्।
म अलिअलि गर्दै सहिदगेटबाट नागास्थान हुँदै घरतिर भाग्छु र भिड सकिनासाथ जोडसँग दौडन्छु। दौडँदै आउँदा उपत्यका खानेपानी लिमिटेड अघिमात्र के पुगेको हुन्छु, त्रिपुरेश्वरबाट हानिएर आएको मोटरले मलाई ठक्कर दिन्छ, म रक्ताम्मे भएर बीच सडकमा लड्छु र ‘बचाउ बचाउ’ भन्दै जोडले कराउँछु।
यतिकैमा मेरो निन्द्रा भंग हुन्छ। म जोडले कराएको सुनेर हत्तपत्त रमिला आएर घच्घच्याए पछि म ब्युझिएको रहेछु।
‘रातभरि विश्वकप हे¥यो। अनि घाम टन्टलापुर हुञ्जेल सुत्यो। किन कराएको? केमा बचाउनु प¥यो? डरलाग्दो सपना देखेर सपनामै कराउने यो बूढाको बानी पनि कहिल्यै नजाने भो।’
रमिलाको कुरा सुनेर म छ्याङ्ग हुन्छु। ओ हो! यो सबै सपना पो रहेछ। म लाजले भुतुक्कै हुन्छु।
सारा शरीर पसिनाले निथ्रुक्क भिजेको हुन्छ। यसो टिभी खोल्छु। टिभी आफ्नै तालमा एक्लै समाचार भट्याइरहेको हुन्छ। म सुतीसुती स्क्रिनतिर ध्यान केन्द्रित गर्छु।
मुख्य सामाचारहरू यस्ता हुन्छन्– एउटा छिमेकी देशले सीमा अतिक्रमण गरी नेपालको सरदहमा पर्ने ठूलो क्षेत्र आफूभित्र गाभ्ने प्रयत्न गरिरहेको छ। नेपालको सहमति बेगर नेपाली भूमिमा जबर्जस्ती मोटर बाटो निर्माण गरेको छ। कतिपय सीमास्तम्भहरू सारिएका छन्, कति नियतपूर्वक गायव गरिएका छन्। अर्कोतिर सीमा क्षेत्रमा चौँरी गोठ राख्ने नेपालीहरू बिनाकारण लुटिएका छन्, कुटिएका छन्। सीमा स्तम्भको कुनै खोजखबर छैन।
नेपालभित्रै नेपाली सुरक्षाकर्मीका लागि सुरक्षा चौकी निर्माण गर्न छिमेकी देशको सीमा सुरक्षा बलले रोक लगाएको छ। कुनै अनुमति नलिई छिमेकी देशको सैनिक पटकपटक सीमा मर्यादा उल्लंघन गर्दै नेपालको सीमाक्षेत्रभित्र प्रवेश गरेका छन्।
समाचार अझै सकिएको छैन। टिभी भन्दैछ– पूरै चुचुरो नेपालतिर परेको सगरमाथाको चुचरोमा आधा टाउको अर्कैतिर पार्ने अभिष्टले नयाँ किलाहरू गाड्न थालिएका छन्। नेपालको संविधानमा अनिवार्य समेटिनुपर्ने विषय भन्दै विदशीबाट लिखित नोट पठाइएको छ।
म मनमनै सोच्छु। यी सबै घटनाले के भनिरहेछन्? यी दृश्यहरूले भन्छन्– छिमेकी र ठूला भनिएका राष्ट्रहरूले मेरो सम्प्रभुताको अवहेलना गरेका छन्। आआफ्ना अभिष्ट सिध्दिका लागि मेरो देशलाई खेल मैदान बनाउने चेस्टा गरेका छन्।
म निकै आक्रोशित हुन्छु र मनमनै प्रश्न गर्छु– के देश स्वतन्त्र र सार्वभौम होइन? विदेशीको हेपाइ, अतिक्रमण र हस्तक्षेपको प्रतिकार गर्नु हाम्रो कर्तव्य होइन?
मेरो मनभित्र आक्रोशको ज्वालामुखी फुट्छ। त्यसबाट निस्केको लाभाले विद्रोहको चुली ठड्याउँछ। म एक एक गरेर सपनाका दृश्यहरू सम्झन थाल्छु।
सपनाका देखिएका मुर्कट्टा ब्युँझने बित्तिकै त्यसै हराउँछन्। अब तिनीहरूबाट कुनै किसिमको खतरा रहँदैन तर देशभित्र रहेका विपनामा पाइने मुर्कट्टाहरू नि?
यिनै मुर्कट्टाहरूबाट मेरो देशलाई सबभन्दा बढी खतरा छ। मेरो देशको निर्णायक हैसियतमा कहीँ यस्तै मुर्कट्टाहरूको राज त छैन? टाउको नहुने मुर्कट्टाभन्दा टाउको हुने मुर्कट्टाहरू डरलाग्दा हुँदा रहेछन्!
म मनमनै अठोट गर्छु– म एउटा आम नेपाली। नेपाल मेरो घर। नेपाल मेरो प्राण र आत्मा। नेपाल मेरो पहिचान। अब म मेरो मुलुकमा मुर्कट्टाहरूको रजाइँ चल्न दिने छैन, मेरो देश मुर्कट्टे रंगशाला होइन।