एक करोड मानिसको स्मृति बोकेर चोकमा उभिएका थिए दुई वटा सालिक। मानव सभ्यताको एउटा कलङ्क चित्रित थियो त्यहाँ। लाखौँ लाख निर्दोष र निरीह मानिसका लाखौँ कारुणिक कथा हुँदा हुन ती ठडिएका सालिकसँग। सालिक अघि उभिएर प्रतिज्ञा गरेँ, उनीहरूको अँध्यारो इतिहासलाई आजको उज्यालो संसारमा आजका पुस्तालाई सेयर गरिछाड्छु।
‘दिस इज डेले जक्शन,’ भाषा अनुवादक महम्मदले मलाई नयाँ-नयाँ ठाउँको परिचय दिँदै थिए।
एपिसी गाडीको सिसाबाटै एक नजर लगाएँ। चोकमा केवल दुई वटा सालिक थिए। ती सालिकहरूबारे उति सारो ध्यान दिइनँ मैले। मेरा लागि हरेक कुरा नौलो थिए त्यो सहरमा। हरेक जिज्ञासाहरू एकै पटक राखेर साध्य पनि थिएनन्।
बरु डेले चोकबाट जाने बाटोहरू बारे जिज्ञासा राखेँ। बायाँको बाटो बोगोरो हुँदै अल्बर्ट लेक जान्छ भने दायाँको बाटो माराबो हुँदै दक्षिणी भेग जान्छ। उनले संक्षिप्तमा बताएका थिए।
अफ्रिकी द्वन्द्वग्रस्त मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगो स्थित बुनिया सहरमा शान्ति सैनिकको रूपमा भवानीदल गण शा. से. सत्ताइसौँ डफ्फा भर्खरै पुगेको थियो। नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ-नयाँ अनुभूतिहरू थपिँदै थिए। त्यहाँको सदाबहार उस्तै मौसम, चारैतिर हरियाली, ठुलठुला उपत्यकाहरू अनि टाढा टाढा देखिने दम्स्याइला होचा पहाडहरू हेर्दा लाग्थ्यो प्रकृतिको अनुपम सुन्दरता छ त्यहाँ। बुनिया सहर अवस्थित त्यो विशाल उपत्यकाको धेरैजसो भाग घाँसे मैदानले भरिएको छ। ती घाँसे मैदानहरू स्वर्गका टुक्रा जस्ता लाग्छन्।
बुनियाबाट डेले पानी पँधेरो जस्तै हुन थाल्यो। हरेक दिन पेट्रोलको रुटिन नै थियो। डेले, बोगोरो हुँदै अल्बर्ट ताल अनि तालभन्दा पारि युगान्डा जान त्यहाँ प्रशस्त पानीजहाजको व्यवस्था थियो। बोगोरो आफैमा एउटा सुन्दर पहाडी भूभाग हो। त्यही बोगोरोमा थियो हाम्रो कम्पनी अपरेटिङ बेस। जहाँबाट मौसम सफा हुँदा अल्बर्ट लेकको टाढा टाढासम्म पानीजहाज देख्न सकिन्छ। घाँसे मैदानले भरिएको दम्स्याइलो पहाडमा चरेका गाईका बथानहरू हेर्दा नेपालको भेडीगोठको झझल्को आउँछ।
तर कहाँ बाँकी छ र हामीसँग त्यति सुन्दर गाई चर्ने रमणीय स्थलहरू? जसले स्वर्गलाई चुनौती देओस्। मनमनै काठमाडौँलाई सम्झँदै कल्पना गर्थेँ, यस्तो भूमि नेपालमा भएको भए रातारात प्लटिङ भइसक्ने थियो। बढ्दो जनसङ्ख्याको चापले उसै गरी छपक्कै ढाक्ने थियो।
‘कति भाग्यमानी छन् कंगोलीहरू, उनीहरूसँग प्राकृतिक यो सुन्दर भूमि छ। सदाबहार यो मौसम छ। बाह्रै महिना पानी पर्छ, सधैँ हरियाली हुन्छ। त्यति मात्रै कहाँ हो र, प्राकृतिक स्रोतको हिसाबले अत्यन्तै धनी छ। विश्वकै रिजर्भ कोबल्ट ४५ प्रतिशत, कोल्टन ६४ प्रतिशत यहीँ छ। २५ प्रतिशत हिरा यहीँ छ भने विश्वको दशौँ स्थानमा रिजर्भ सुन यहीँ छ।’ एक दिन बुनियाबाट डेले चोक हुँदै बोगोरो जाँदा बाटोमा मैले महम्मदलाई भनेँ।
‘आई एम सो सरी। यु आर न्यु फर हिअर,’ एकाएक उनी गम्भीर देखिए।
म प्रतिक्रियाहीन भएँ। सरी त मैले भन्नु पर्ने थियो। सायद मेरो भनाइले कतै उनको भित्री मनमा छोएको हुनुपर्छ।
केही छिनमा उनी बोल्न खोज्दै थिए तर उनका आँखाबाट अकस्मात् आँसु बगेर ओठसम्म आए र उनको बोलीलाई बन्द गरिदिए।
त्यसै बेला सडक किनारामा बसेर हात हल्लाइरहेका बालबालिकाले ध्यान आकृष्ट गरे। उनीहरू हामीसँग केही खानेकुरा मागिरहेका थिए। कुपोषणले तिनका शरीर सुकेका थिए। झन्डै पाँच वर्षको देखिने बच्चाले दुई वर्षको बच्चा पिठ्युँमा बोकेर हामीसँग खानेकुराको याचना गरिरहेको थियो। पिठ्युँको बच्चा मुस्किलले रुँदै हामीतर्फ हात थापिरहेको थियो। हाम्रो नेपाली मन पग्लियो अनि गाडी रोकेर मैले खाजाको लागि बोकेको पाउरोटी झिकेर बाँडिदिएँ। तिनीहरूको खुसीको सीमा नै थिएन। मानौँ जीवनको सबैभन्दा ठुलो सफलता तिनले पाएका छन्।
‘तपाईंलाई थाहा छ, यहाँ जीवित जन्मिएका बच्चाहरू मध्ये पाँच वर्ष उमेर नपुग्दै हरेक दश जनामा एक जनाको भोक र रोगले मृत्यु हुन्छ। यहाँ ७० प्रतिशत मानिसहरू गरिबीको रेखामुनि छन्,’ गाडी अगाडि बढेपछि महम्मदले भने।
ती कुपोषणले ग्रस्त बालबालिकाहरू हेर्दा लाग्थ्यो, कठै! ती कसरी हुर्कन्छन् होला? बच्चैमा सुकेनास लागेका तिनीहरूका अनुहारले नै बताइरहेका थिए त्यहाँ डरलाग्दो बाल मृत्युदर छ। अब कंगोलीहरूलाई भाग्यमानी भएर पनि भाग्य लुटिएका जस्ता लाग्न थालेँ मलाई।
प्राकृतिक रूपमा धनी भएर पनि कंगोलीहरू कुपोषणको सिकार थिए। जहाँ पानी परिरहन्छ, बाह्रै मास फलफूल हुन्छ, उर्वर भूमि छ। पर्याप्त पानी र समथर जमिन छ। न जाडो न गर्मी, सदाबहार उस्तै मौसम छ। नेपालभन्दा क्षेत्रफलको हिसाबले पन्ध्र गुणा ठुलो राष्ट्र भए पनि जनसङ्ख्या भने तीन गुणा मात्र बढी छ तर उत्पादन छैन। बाटोभरि खानेकुराको आसमा हात हल्लाइरहेका बालबालिकाहरू हेर्दा बेलाबेला मानवता पोखिरह्यो।
कोटोनी काटेपछि फुसले बनेका हजारौँ स-साना छाप्राहरू बाक्लै देखा परे। मैले आश्चर्यपूर्वक महम्मदलाई सोधेँ।
‘दिस इज आइडिपी क्याम्प,’ मेरो अलमललाई बुझेर उनले विस्तृतमा व्याख्या गरे।
‘आन्तरिक द्वन्द्वले आफन्त, घर, परिवार, सम्पत्ति गुमाएका विस्थापितहरू हुन् यिनीहरू। यहाँ जातीय द्वन्द्वले विस्थापितहरूको सङ्ख्या साठी लाख नाघिसकेको छ। दैनिक हजारौँ मानिसहरू विस्थापित भइरहन्छन्। बुनियाबाट उत्तरतर्फ फताकीसम्म जानुभयो भने तपाईंले ठाउँ-ठाउँमा लाखौँ यस्ता झुप्राहरू देख्नुहुनेछ। जहाँ दैनिक उनीहरू रोग र भोकले मरिरहेका हुन्छन्।’
वर्षा, झरी खै तिनले कसरी खानेकुराका अभावमा त्यो हामीले केटाकेटीमा खेल्दा बनाउने जस्तो छाप्रोमा जीवन बिताउलान्? अफ्रिकाका मानिसहरू गरिब हुन्छन् भन्ने त सुनेको थिएँ तर आफ्नै आँखाले देखेपछि भने मानवता छताछुल्ल पोखियो।
बोगोरोबाट फर्कँदा डेले चोकमा महम्मदले मलाई सालिकतर्फ देखाउँदै भने, ‘ह्वाट डु यु अन्डरस्ट्यान्ड बाइ लुकिङ दिस स्ट्याचु?’
साइडमा एपिसी रोकेर नियालेर हेरेँ। फरक लिङ्गका दुवै सालिक एउटा एउटा हात टुटेका अपाङ्ग थिए। पुरुषको एक हातले तराजु उठाएको थियो भने महिलाको हातले शिरमाथि भएको घैला समातेको थियो। झट्ट मैले नेपालका सालिकहरू सम्झेँ। जहाँ सालिकका अंगहरू आन्दोलनकारीहरू द्वारा तोडिएका हुन्थे।
‘नेपालमा पनि यस्ता घटना भइरहन्छन्। सायद कुनै आन्दोलनकारीले यो सुन्दर सालिकलाई कुरूप बनाएको हुनुपर्छ,’ मैले भनेँ।
‘तपाईंले सोचे जस्तो सालिक कुरूप बनाएको होइन। बरु कसैले कुरूप बनाएको हाम्रा पुर्खाको रूप हो यो सालिक, आफ्नो मृत्युको प्रमाणको रूपमा दाहिना हात पठाएर बाँच्नेहरूको कथा हो यो सालिक, हाम्रा पुस्तौँ पुस्तालाई पढाउने, हाम्रा पुर्खाले बेल्जियम शासक लियोपोल्ड द्वितीयद्वारा तेइस वर्ष भोगेको बर्बर यातनाको प्रतिविम्ब हो यो सालिक, हामी कंगोलीको अँध्यारो युगको बिम्ब हो यो सालिक,’ बोल्दाबोल्दै उनी रोकिए। उनका आँखा आँसुले भरिएका थिए।
‘माइक वान, दिस इज अल्फा पापा। सेन्ड योर लोकेसन ओभर,’ सिग्नलको रेडियोमा मेसेज थियो।
‘कानुन चोक ओभर,’ मसँगै भएको अपरेटरले बोल्यो।
मैले एपिसी मुभ गर्ने अर्डर दिएँ। एपिसी आफ्नै गतिमा बुनिया सहरतर्फ हुइँकियो।
नेपाली नाम ‘कानुन चोक’ सुन्नासाथ डेले पुग्ने जो कोहीले सहजै सम्झन्थ्यो चोकको तराजु बोकेको सालिक। तर त्यस बेलासम्म कानुन चोकमा त्यो ठिङ्ग उभिएको सालिकले बोकेको तराजुको रहस्य भने रहस्यको गर्भमै थियो। मैले त्यो रहस्य बेस फिर्ता भइसकेपछि महम्मदलाई सोधेँ।
‘सन १८८५ को बर्लिन सम्मेलनबाट बेल्जियमका राजा लियोपोल्ड द्वितीयले कंगोलाई आफ्नो निजी उपनिवेश बनाए। उनले सबै गाउँलाई प्राकृतिक रबर संकलनको मासिक कोटा निर्धारण गरे। कोटा पूरा नगर्नेलाई मृत्युदण्डको सजाय थियो। मारिएको प्रमाणको रूपमा दाहिना हात काटेर टोकरीमा बुझाउनु पर्दथ्यो। त्यो तराजु त्यही क्रूर दण्ड सजायको संकेत हो,’ महम्मद अझ अघि बढ्न खोज्दै थिए, मैले नै उनलाई रोकेँ।
‘हरेक गाउँले त्यो कोटा पूरा गर्न सम्भव थियो त?’ आश्चर्यपूर्वक मैले सोधेँ।
‘बिलकुल सम्भव थिएन। र त उनको तेइस वर्षे शासनकालमा झन्डै एक करोड मानिसहरू बर्बरतापूर्वक नरसंहार गरिए। जुन गाउँले रबर संकलन गर्न इन्कार गर्दथ्यो, तिनीहरूका बच्चाहरू बर्बरतापूर्वक मारिन्थ्यो। गाउँलेलाई चोक नजिकै पालीमा मारेर झुन्ड्याइन्थ्यो अनि तिनका हात काटेर पठाइन्थ्यो। कतिपय स्थानीय सैनिक अधिकारीले चिटिङ गरेर जीवित मानिसका हात काटेर पठाई कोटा पूरा गर्न थाले। जसले गर्दा आफ्नो कोटा पूरा गर्न एउटा गाउँले अर्को गाउँमा आक्रमण गरी हात काटेर ल्याई कोटा पूरा गर्दथे,’ यस पटक भने महम्मद निकै सम्हालिएर बोलिरहेका थिए।
मलाई भने उनको कुरामा उति सारो विश्वास लागिरहेको थिएन। मानौँ उनी गत राति देखेको सपना मलाई सुनाइरहेका छन्। मैले तुरुन्तै लियोपोल्ड द्वितीय बारे गुगल सर्च गरेँ। उनका बर्बरताका इतिहास बोकेका थुप्रै कथा र तस्बिरहरू देखा परे।
एउटा त्यस्तो तस्बिर थियो जसको क्याप्सन पढेपछि मन थामिएन। आफ्नो पाँच वर्षीय अबोध छोरीको काटिएको हात र खुट्टाको टुक्रा हेरेर झोक्राइरहेको थियो ऊ। उसकी छोरीसँगै श्रीमती पनि मारिएको कथा हेर्दा हेर्दै मोबाइलको डिस्प्लेमा आँसु खसे। महम्मदले थाहा नपाउन् भनेर साइडतिर फर्किएँ म।
‘साथी, हामी अफ्रिकन काला जातिलाई युरोपियन गोरा जातिले मानव सभ्यताबाट अलग जनावरलाई जस्तै गरेको व्यवहार धेरै पहिले होइन। मेरा हजुरबाले कति हाम्रा आफन्तहरू पहिलो विश्वयुद्ध अघिसम्म बेल्जियमको चिडियाखानामा प्रदर्शनीमा राखिएको कथा सुनाएको अझै ताजै छ,’ बलेको आगोमा अझ घ्यू थपे उनले। म केही बोल्न सकिनँ।
‘हामीलाई कसैले भाग्यमानी भन्यो भने हाम्रा पुर्खाले भोगेका नर्कका ती दिनहरू सम्झन्छु। आज आफ्नै इतिहास सम्झेर निकै भावनामा डुबेँ म। त्यसको लागि सरी भन्न चाहन्छु। हाम्रा आउने पिँढी भाग्यमानी होलान् तर पुर्खाले भोगेको त्यो दुर्भाग्य थियो। सन् १९०८ मा लियोपोल्डको बर्बर शासन त सकियो तर बेल्जियम उपनिवेशबाट मुक्त हुन कंगोले अरू आधा शताब्दी कुर्नु पर्यो।’
उनले संक्षिप्तमा उनीहरूको अँध्यारो युगको इतिहास बताइसकेका थिए। मैले नि ब्रिटिश साम्राज्यसँग बिना पानी लडेका हाम्रा वीर पुर्खालाई सम्झिएँ। गर्वले छाती ढक्क फुलेर आयो।
ब्रिटिश उपनिवेशबाट मुक्त भएका दक्षिण एसियाली राष्ट्रहरू विकासको सिँढीमा निकै माथि उक्लिसक्दा आन्तरिक द्वन्द्वले उठ्न नसकेको कंगो बारे थप जिज्ञासा बढ्यो मेरो।
‘उपनिवेशबाट मुक्त भए पनि आन्तरिक जातीय द्वन्द्वबाट मुक्त हुन सकेन कंगो। सन १९९४ मा छिमेकी देश रुवान्डामा जातीय नरसंहार हुँदा सय दिनमा बहुसंख्यक हुतुहरूद्वारा झन्डै पाँच लाख बढी अल्पसङ्ख्यक तुत्सीहरूको नरसंहार भयो। त्यो नरसंहारपछि भागेर शरण लिन कंगो छिरेका हेतु विद्रोहीहरूलाई कंगोली सरकारले सपोर्ट गर्यो। त्यसपछि त अझ कंगोमा जातीय युद्धले प्रश्रय पायो। त्यसयता पहिलो र दोस्रो कंगो वारमा पैँतिस लाख बढी मानिसले ज्यान गुमाउनु पर्यो।
अझ पनि यहाँ जातीय द्वन्द्व जारी नै छ। दुई सय बढी अफ्रिकन जातजाति यहाँ बसोबास गर्दछन्। सयौँ जातीय सशस्त्र समूहहरू सक्रिय छन् यहाँ।’
उनले मोबाइलबाट केही तस्बिर र भिडियो मेरो ह्वाट्सएपमा फर्वाड गर्दै भने ‘मेरो साथीले बेनीबाट पठाएको, हिजो राति बेनी सहरमा कोदेको समूहले हत्या गरेका सर्वसाधारणहरू।’
प्रत्येक भिडियोहरू हेर्ने प्रयास गरेँ। अधबैँसे उमेरका महिलाहरू नङ्गयाएर सामूहिक काटिएका बीभत्सभन्दा बीभत्स लाग्ने भिडियोहरू सबै हेर्न सकिने खालका थिएनन्। मनमनै सोचेँ, मानिस कतिसम्म क्रूर हुन सक्दा रहेछन्। लाग्यो यो क्रूरता पनि उनीहरूले लियोपोल्ड द्वितीयबाट नै सिकेका हुन्।
महम्मद आराम गर्न रुमतर्फ गइसकेका थिए। भर्खरै हेरेको बीभत्स हत्याको भिडियोले बेचैन थिएँ म। मानवता कुन चरीको नाम हो ती मानवरूपी दानवहरूलाई थाहा थिएन।
एफएआरडिसी (कंगोली सैनिक) ले गेटमा बाल्टिन ठटाएपछि ध्यान ऊतिर मोडियो मेरो। सधैँ झैँ बचेको भात लिन आएको थियो ऊ। गेटको पालेले भात सकिएको इशारा गर्यो तर उसले भोको पेट छाम्दै रित्तो हात फर्कन अस्वीकार गर्यो। मैले स्टोरबाट एक पोका पाउरोटी र एउटा जाम मगाइदिएँ। खुसीले उसले मलाई सलाम गर्यो र बाटो लाग्यो। जुन देशमा राष्ट्रको सैनिकको अवस्था त्यस्तो छ भने आम सर्वसाधारणको अवस्था कस्तो होला? कसरी तिनीहरू बाँचिरहेका होलान्? मनमा कुरा खेलिरह्यो।
‘सर, कानुन चोकभन्दा केही अघि हेमा र लेन्दो समूहबिच दोहोरो भिडन्त जारी भएकाले दुई वटा एपिसी गाडीसहित कानुन चोकसम्म जाने अर्डर छ,’ सिग्नल अपरेटरले खबर ल्यायो।
तुरुन्तै दुई वटा एपिसी गाडी र आवश्यक फौज लिएर म कानुन चोक हानिएँ। कानुन चोकमा साइड लगाएर गाडी रोकेपछि आँखा तिनै वर्षौँदेखि ठिङ्ग उभिएका सालिकमा परे। ती सालिकहरूले त्यस दिन आफू आफू लडेका कंगोलीहरूलाई नै गिज्याइरहेका थिए। त्यस बेलासम्म कुन समूहका कति हताहत भए रिपोर्ट आएकै थिएन। बरु बोगोरोस्थित कम्पनी अपरेटिङ बेसबाट मेसेज आएअनुसार विस्थापित भई शरण लिन आउनेहरूको सङ्ख्या त्यहाँ ह्वात्तै बढेको थियो। तत्काल खाना र छानाको बन्दोबस्त गर्न सकिने कुनै सम्भावना थिएन।
कानुन चोकमा उभिएर निरीह सालिक हेर्दै म सोचिरहेँ, युगौँदेखि खुसी लुटिएका कंगोलीहरूको मुहारमा कहिले खुसी फर्किएला? प्राकृतिक श्रोतले अत्यन्तै धनी कंगोलीहरू जातीय हिंसाको बाटो त्यागेर शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न अझै कति समय लगाउने हुन कुन्नि?
भिडन्त जारी नै थियो। कंगोली सैनिकको एउटा गाडी कानुन चोकबाट भिडन्त स्थलतर्फ हुइँकियो। सैनिकको गाडीले सडकमा उडाएको धुलोमा बिलायो सालिक। हरायो कानुन चोकको सुन्दरता। एपिसी गाडीको सिसाबाट सालिकलाई ठम्याउँदै आफ्नो मातृभूमि सम्झेर एक सुरमा गुनगुनाइरहेँ-
सयौँ थुङ्गा फूलका हामी एउटै माला नेपाली...।