मैले उसलाई कहिल्यै सोधिनँ, के तिमी मसँग प्रेम गर्छौ? मैले त बस् सोधेकी थिएँ, के तिमी मसँग बिहे गर्छौ?
तपाईंलाई लाग्ला कस्तो अचम्मकी केटी, प्रेमको कुरा नै नगरी बिहेको गरी। हो, म अचम्मकी नै छु। तपाईंलाई अद्भुतकी लागे झन् राम्रो तर मलाई थाहा छ, तपाईंलाई अचम्मकी नै लाग्छ।
मलाई थाहा छैन उसले मलाई त्यो प्रश्न पश्चात कुन नजरले हेर्यो। मैले कहिल्यै सोधिनँ पनि, सायद कहिल्यै सोध्दिनँ पनि। तपाईंलाई लाग्ला आज म बियोगको कथा भन्दैछु तर होइन, आज म अचम्मको कथा भन्दैछु। सुन्नोस् है त!
एकादेशमा मजस्तै एउटी केटी थिइ। उसलाई लाग्थ्यो ऊ अरुजस्ती छैन, मलाई जस्तै। तर उसको खासियत के थियो भने उस्लाई लाग्थ्यो ऊ एकदमै भिन्न छे, सबैभन्दा भिन्न। स्वर्गकी परीभन्दा पनि भिन्न। तर उसलाई लाग्थ्यो, ऊ त आफूभन्दा पनि भिन्न छे।
भीड उसको कहिल्यै भएन, एकान्तले उसलाई कहिल्यै छोडेन। एकान्तको मैफिलमा हुर्किएकी उसलाई लाग्थ्यो, एकान्त नै उसको साथी हो। विस्तारै उसलाई लाग्दै गयो उसको कथा र एकादेशका चित्रकार भ्यानगगको कथा उस्तै हुनेछ।
तपाईंलाई लाग्ला कस्तो अचम्मकी केटी, कस्तो अचम्मको सोचाइ! यसको पनि एउटा कारण छ, बिना कारण केही चिज लाग्छ र? उसलाई लाग्थ्यो ऊ अरुजस्तो सुन्दर छैन, भ्यानगगलाई जस्तै।
तपाईंलाई लाग्ला कस्तो अबोधगाम्य कुरा गरेकी, सुन्दरता त हृदयमा हुन्छ। कस्तो नचाहिने कुरा, वाहियात कुरा। हो, ऊ यस्तै थिइ, अलिअलि भ्यानगग जस्तै। कारण त सबै कुराको हुन्छ नि, किन उस्लाई यस्तो लाग्यो भन्छु है त।
ऊ १९, २०, २१ वर्षको भैसक्दा पनि सबैले भनिराखे- तिम्रो आँखा हाम्रो जस्तो छैन, तिम्रो कपाल, छाला, शरीर केही पनि उनीहरुको जस्तो छैन। यसको एउटा मतलब लगाउन सकिन्थ्यो, ऊ भीड जस्ती छैन। भन्नाले सुन्दर छैन। हुन त त्यो भ्रम थियो तर उसलाई लाग्थ्यो योभन्दा सत्य कुरा केही छैन।
उसलाई कहिलेकाहीँ लाग्थ्यो, किन उसलाई कसैले प्रेम गर्छु भन्दैन, प्रेमको नजरले हेर्दैन! तपाईंलाई लाग्ला आफैँलाई प्रेम नगर्नेलाई अरु कसैले कसरी गर्न सक्छ! त्यसैले भन्दैछु, यो अचम्मको कथा हो।
सुन्नेस् है त। विस्तारै उसमा अनौठो बदलाब आयो। उस्लाई लाग्दै गयो, ऊ पनि सुन्दर छे। ऊ ऐना हेर्न थाली, आफैलाई माया गर्न थाली। यसको कारण छ, भन्छु है त। किनकी उसलाई पनि कोही राम्रो लाग्न थालेको थियो। उस्लाई लाग्थ्यो, ऊ साह्रै सुन्दर छ। विस्तारै उनीहरु साथी भए। अनौठो कुरा के छ भने उस्लाई लाग्थ्यो ऊ उसको जनम जनमको साथी बन्नेछ।
तपाईंलाई लाग्न सक्छ कस्तो मूर्ख केटी, कोही राम्रो लाग्दैमा यति परसम्म सोचिहाल्ने। यसको पनि कारण छ, बिना कारण केही कुरा लाग्छ र? त्यो सुन्दर मान्छे जसलाई ऊ प्रेम गर्न थालेकी थिइ। उसको जीवनको त्यस्तो पहिलो पुरुष मित्र थियो जसलाई हेरेर लाग्थ्यो ऊ पनि प्रेमको लायक छ।
सम्झनुस् तपाईंको जीवनको पहिलो प्रेम सायद योभन्दा भिन्न तपाईंलाई पनि लागेको थिएन। भलै उसको जीवनमा यस्ता कुरा त्यति सजिलै भएनन्। यदि तपाईं कसैलाई प्रेम गर्नुहुन्छ भने प्रेमको गन्तब्य पनि खोज्नुहुन्छ होइन र?
उसलाई पनि लाग्यो अब उस्ले पनि आफ्नो प्रेमको लजिकल कन्क्लुजन खोज्नु पर्छ, त्यो कन्क्लुजन बिहे थियो। ऊ अचम्मकी थिइ। उस्लाई लाग्थ्यो एकदिन उसको साथीले भन्नेछ- हामी एकअर्कालाई प्रेम गर्छौं, लौ हिड बिहे गरौं। उसको साथीले उसलाई त्यही लेभलको प्रेम गर्छ कि गर्दैन उसले कहिल्यै सोधिन। ऊ एकोहोरो थिइ, त्यसैले त अचम्मकी थिइ।
दिनहरु बित्दै गए, उसको साथीले उस्लाई त्यस्तो केही भनेन। उसले सोची प्रेम प्रेम नै हो, अब उस्ले नै बिहेको प्रस्ताव राख्नुपर्छ। एकदिन भएभरको हिम्मत जुटाएर त्यो सुन्दर साथीलाई सोधी- के तिमी मसँग बिहे गर्छौ?
उस्लाई लागेको थियो, उस्को साथीले सजिलै हुन्छ भन्नेछ। साथी अकमकायो। गम्भीर भयो र विस्तारै भन्यो, 'म तिम्लाई साथीभन्दा माथि सोच्न सक्दिनँ।'
त्यसपछि के-के भयो नभनौ है, तपाईंलाई पनि थाहा छ आशाहरु निराशामा बदल्दा कस्तो लाग्छ। तर ऊ अचम्मकी थिइ, साथीलाई धन्यवाद बाहेक केही भनिन। यसपछि के भयो, मलाई थाहा छैन।
यो कथा भन्नुमा मेरो केही व्यक्तिगत कारण छ। मैले पनि यसैगरी कसैलाई बिहेको प्रस्ताव गरेको थिएँ। उस्ले पनि यसैगरी साथीभन्दा पर सोच्न नसक्ने बताएको थियो। मैले पनि अन्त्यमा धन्यवाद भनेकी थिएँ।
हुन त यो सामान्य कथा हो अचम्मको भने पनि। यो कथा मजस्तै, ऊ जस्तै त्यस्ता अचम्मका केटीहरुको कथा हो जसलाई लाग्छ उनीहरु प्रेमको लायक छैनन्। प्रेमको सामान्यकृत अर्थ नलागोस्, मैले भन्न खोजेको प्रेम एउटा महिलाले पुरुष वा पुरुषले महिला प्रति गर्ने प्रेम हो।
यस्तो लाग्नुमा धैरै कारणहरु छन् तर कृपया मलाई तपाईं सुन्दर हुनुहुन्छ, पहिला आफूलाई प्रेम गर्न थाल्नुस् जस्ता प्रतिकृया नदिनुहोला।
धन्यवाद! यो परी होइन, अपरीहरुको कथा हो।