रूसी कवि कन्स्तान्तिन सिमोनोभ सन् १९४१ मा दोस्रो विश्वयुद्धमा रेड स्टार पत्रिकाको संवाददाताका रूपमा खटाइएका थिए।
उनले युद्ध मैदानबाट आफ्नी पत्नीलाई 'झ्दी मेन्या इ या भेर्नुस' अर्थात् 'पर्खिनू है मलाई, म फर्किनेछु' शीर्षकको कविता लेखेका थिए।
प्रतीक्षामा शक्ति हुन्छ।
आफ्नो प्रिय मान्छेले निरन्तर पर्खिरहेको छ भन्ने भावना मात्रले पनि मानिसलाई बाँच्न प्रेरित गरिरहेको हुन्छ भन्ने भावुक सन्देश बोकेको यो सुन्दर सोभियतकालीन कविता वर्तमान रूसमा पनि अत्यधिक लोकप्रिय छ।
यही रूसी कविताको भावानुवाद यहाँ प्रस्तुत छः
पर्खिनू है मलाई, म फर्किनेछु
पर्खिनू है मलाई, म फर्किनेछु
प्रिय, मलाई अवश्य पर्खिनू
एकोहोरो झरीले उदास बनाउला
तर प्रतीक्षाले तिमी नतर्सिनू ।
पर्खिनू चिसो हिमपातको याममा
गर्मीको रापमा पनि पर्खिनू
बिर्सेलान् विगतका पल अरूले
तर तिमीले कहिल्यै नबिर्सिनू।
पर्खिनू है प्रिय तिमी मलाई
टाढाबाट चिठी नआए पनि
प्रतीक्षाले अरू थाक्लान्, तर
पर्खिनू तिमी दिन गनीगनी।
म फर्किनेछु, पर्खिनू मलाई
ननिभाई विश्वासको दियो
नसुन्नू तिनलाई, जो भन्छन्
'अब त बिर्सिने बेला भयो।'
मेरी आमा र छोराले पनि
भलै म मरिसकेकै ठानून्
इष्टमित्र पनि दुःखी हुँदै
मलाई स्वर्गको कामना गरून्।
तीसँगै मेरो आत्माका लागि
प्रार्थना गर्न अघि नसर्नू
विश्वास गर म फर्किनेछु
प्रिय, तिमी मलाई पर्खिनू।
पर्खिनू है, म पक्कै फर्किनेछु
मृत्युका हरेक पललाई झुक्याउँदै
'अहो कस्तो भाग्य' भन्नेछन् अरूले,
जसले हरेस खाए पर्खंदा-पर्खंदै
पर्खाइले थाक्नेलाई के थाहा
कसरी युद्धको दावानलमा
बचायौ मलाई तिमीले प्रिय
अनन्त प्रतीक्षाको बलमा।
कसरी जीवितै फर्किएँ म
बुझ्नेछौं केवल तिमी र मैले
वास्तवमा, तपस्याझैं प्रतीक्षा गर्न
जानेन तिमी जति अरू कसैले !
यी पनि पढ्नुस्ः
साँच्चै, कहाँबाट सुरू हुन्छ मातृभूमि ?
एक जोडीको कथा
हाम्रो जीवन बाँकी छँदै
छोरी र बाबा