यस पटक रुसी-युक्रेनी कवियत्री इरिना सामारिनाद्वारा सन् २०१३ मा लिखित 'द्भा आब्सोल्युत्नो राजनिख चेलोभेका' शीर्षकको कवितामा आधारित यो एक जोडीको कथा लिएर आएको छु। कथाले भन्छ जीवन भनेको वास्तवमा विपरीतहरूको संघर्ष र संयोग नै हो। र, हामी सबैलाई थाहै छ जीवन एउटा सम्झौता पनि हो।
ओत लागेर एक जोडी
हेरिरहेको थियो झरी
छमछमी नाचिरहेको
बगैँचा नै नचाउने गरी
उसले भनी, 'झमझम वर्षा
हृदयको ओखती र मनको शान्ति हो'
उसले भन्यो, 'वर्षा भेल हो, हिलो हो,
र, भावना...भावना केवल भ्रान्ति हो'
एकैछिनमा रोकियो झरी
कालो वादल अन्तै भाग्यो
प्रकृतिको सुन्दर लीला
झलमल्ल घाम लाग्यो
उसले भनी, 'यो न्यानो, यो उज्यालो
ईश्वरको बरदान हो'
उसले भन्यो, 'भो भो जाऊँ उता छायामा,
सारै चर्को घाम भो'
पार्कमा धेरै भिड थियो
मान्छेहरू आउँथे जान्थे
तीव्र थियो जीवनको गति
प्रकट हुन्थे, झट्टै बिलाउँथे
उसले भन्यो, 'हतारिएर यसरी
कहाँ जानु, के पाउनु छ?'
उसले सोधी, 'के थाहा, तिनलाई
कति काम भ्याउनु छ?'
एउटा मानिस चौरमा
लडेको थियो लमतन्न
शंकालु मान्छे हेर्दै जान्थे
फत्फताउँदै मन्द मन्द
उसले भन्यो, 'पशुले जस्तो,
हरे कति सकेको पिउन'
उसले भनी, 'बिरामी पो भयो कि,
लौ न डाक्टर बोलाऊँ न !'
पार्कमा थिए थुप्रै जोडी
सुनिरहेका मुटुको धडकन
थिएन वास्ता दुनियाँको
भंग हुँदैथिए सबै बन्धन
उसले भन्यो, 'पछि गाह्रो हुन्छ,
भो, मायामा यसरी कोही नपरोस् '
उसले भनी, 'कति खुशी छन् ,
ईश्वरले तिनको जीवन प्रेमले भरोस् !'
हिँड्दाहिँड्दै रोकिई ऊ
हेर्दै पसलको झ्यालभित्र
कुन सौन्दर्यले मुग्ध गरायो
अनभिज्ञ थियो उसको मित्र
उसले भन्यो, 'वर्षौं नपुछे जस्ता,
छ्या कति फोहोर टेबुलहरू'
अवाक हुँदै उसले सोधी, 'के तिमीले देखेनौ, ती टेबुलमा सजाएका फूलहरू?'
र, घरमा...
खुशी र उत्साहले बोलाउँदै
उसले झ्यालतिर देखाई
'ऊ.......उता हेर त'
उसले भन्यो,
'धेरै भएछ नपुछेको,
धुलो जमेछ शिशामा'
उसले भनी, 'हत्तेरी, कस्तो मान्छे,
देखेनौ कति ठूलो चन्द्रमा !'
एउटाले आधा शताब्दी
यस्तै असन्तोषमा बितायो
अर्कोले माया गर्यो
सारा संसार, यो सृष्टि,
यो उज्यालो
दुई प्राणी
बिलकुलै पृथक रूचिका
धेरै वर्ष भयो
यसरी एउटै घरमा बसेका !!