रूसी कविताको नेपालीकरण गर्ने क्रममा यो दोस्रो भावानुवाद लिएर आएको छु।
यो रचना रुसका लोकप्रिय कवि एदुआर्द आसादोभद्वारा लिखित 'पाका म्वी झिवी' शीर्षकको कवितामा आधारित छ।
यो सुन्दर कविताले जिन्दगीको भागदौडमा छुटेका, उपेक्षित भएका वा यदाकदा अपमानित भएका मानवीय सम्बन्धहरूबारे हामीलाई सचेत गराउने प्रयास गरेको छ:
हाम्रो जीवन बाँकी छँदै
सकिन्छ प्रायश्चित गर्न
महशुस गर्न, याचना गर्न
विगतका गल्ती सुधार्न
नगर्न उपेक्षा प्रियजनलाई,
रुखो स्वभावले नतर्साउन
छुटेको पुरानो साथीलाई
सकिन्छ फेरि फर्काउन
हाम्रो जीवन बाँकी छँदै
फर्केर पछाडि हेर्न सकिन्छ
भट्किएर छुटेको बाटोलाई
टाढैबाट देख्न सकिन्छ
दु:स्वप्नबाट ब्युँझिएर
आफैंलाई भेट्न सकिन्छ
रसातलको डिलमै पुगेको
पैतालालाई रोक्न सकिन्छ
कसैको जीवन बाँकी छँदै
सकेनौं मनको दुराग्रह मेट्न
ती यतै कतै छेउछाउमा हुँदै
भ्याएनौं क्षमाको आग्रह गर्न
अनि..
जब कोही हिँडिदिन्छ टाढा
सुन्छौं ‘नफर्किने गरी गयो’
झस्किँदै अनि पुकारा गर्छौं
‘हरे…....यो सब के भयो’
देखिन्छ एल्बमका फोटोमा
थकित आँखा, न्यानो हेराई
जानेले त सायद बिर्सेर गए
हाम्रो उपेक्षा र अपमानलाई
कति कुरा कसरी भनिए
जुन नभनेको भए हुन्थ्यो
त्यस्तो भाषा, त्यस्तो भाखा
त्यसरी नबोलेको भए हुन्थ्यो
नगरेको फोन, नभेटेका पल
अभिनयजस्तो सम्बन्धको छल
निरर्थक छ अब पछुतो नदिएको मायाको
फोटोले बोल्दैन, त्यो त केवल छाया हो
तर....तर
सकिन्छ सबै सच्याउन
जीवन हाम्रो बाँकी छँदै
बाल्यकालका साथीभाइ
इष्टमित्र जीवित हुँदै
नत्र,
हाम्रो रुखो व्यवहारलाई
जानेले सायद माफ गर्छ
तर लज्जित भएर आफैंसँग
प्रतिक्षण मर्नुपर्छ
आफ्नै नजरबाट गिर्नुपर्छ
हाम्रो जीवन बाँकी छँदै
तर.. सकिन्छ सबै सच्याउन !!!
यो पनि :
छोरी र बाबा