मातृभूमि भनेको के हो? यही गहन प्रश्नका साथ भावानुवाद क्रममा यसपटक एउटा सोभियतकालीन रूसी गीत।
सन् १९६८ मा सोभियतको एउटा सिनेमामा प्रयोग गरिएको यो गीतले सोध्छ- 'स् छिबो नछिनाएत्स्या रोजिना’, अर्थात् कहाँबाट सुरू हुन्छ मातृभूमि?
मिखाइल मातुसोभ्सकीद्वारा लिखित यो गीत सोभियतकालमा मात्र होइन, वर्तमान रूसमा पनि उत्तिकै लोकप्रिय छ।
...
कहाँबाट सुरू हुन्छ मातृभूमि?
हुन्छ कि वर्णमालाको चित्रबाट
या असल र विश्वासिला
चोकका पुराना मित्रबाट?
कि सुरू हुन्छ मातृभूमि
आमाले गाएको गानबाट
या जस्तै कठिनाइमा पनि
नझुक्ने स्वाभिमानबाट?
कहाँबाट सुरू हुन्छ मातृभूमि?
सुरू हुन्छ कि मातृभूमि
चौतारीको दौंतरी भेटबाट?
या हुन्छ बतासमा झुल्दै हुर्किने
गाउँका वर-पिपलको बोटबाट?
कि सुरू हुन्छ मातृभूमि
मैनाको वासन्ती स्वरबाट
या सुदूरसम्म तन्किएको
गाउँको बाटो र घरबाट?
कहाँबाट सुरू हुन्छ मातृभूमि?
हुन्छ कि क्षितिजको ज्योतिबाट
या हुन्छ कन्तुरमा भेटिएको
बाबाको सिपाही टोपीबाट?
कि सुरू हुन्छ मातृभूमि
छुकछुक रेलको धूनबाट
या पहिलो बाचा मायाको
साँचेको तिम्रो मनबाट?
साँच्चै, कहाँबाट सुरू हुन्छ मातृभूमि?
यी पनि पढ्नुस्ः
एक जोडीको कथा
हाम्रो जीवन बाँकी छँदै
छोरी र बाबा