पारिजात तिमी बाँची रहू अनिँदो पहाडसँगै


शरीर पक्षघातले कुँजिएको थियो त के भो?

स्वस्थ्य मथिंगलले साहित्यको

पाना रंगायौं पारिजत तिमीले

अनि बितायौ जीवनका

अनगिन्ति बसन्तहरू

लेखन यात्राकै असहज बाटाहरूमा

हो ….सिक्नु छ हामीले पनि

तिम्रा संघर्षका कथाबाट

यो यात्रामा घस्रिदै,लड्दै,उठ्दै

फेरि तिमीले झैं लेख्नु छ

‘परिभाषित आँखाहरू’ अनि ‘शिरिषको फूल’

र कोर्नु छ ‘अनिँदो पहाड’ जस्तै

अजर,अमर कृतिहरू

लाग्छ तिमी एक अविष्मरणीय युग हौं

तिम्रो अनुकरणमा हामीले पनि बिताउनु छ

यो असहज समयको पाटोहरू

तर…शंका लाग्छ,

तिम्रो जस्तो धैर्यता, समर्पण र

तीक्ष्ण मानसिकता हामीमा कहाँ छ र?

तिमी त एक उदाहरण थियौ र छौं

अनि रही रहनेछौ

साहित्यको फाँटमा

जो अशक्त शरीरको बोझ बोकेर पनि

शसक्त मन लिएर सँधैँ उडिरह्यौ

लेखन आकाशको निलो आकाशमा

भावनाको पंख फिँजाई।

हो…पारिजात मेरो हजार बर्णनमा पनि

तिमी अपुग हुन्छ्यौ,

मेरो लाखौँ परिभाषामा पनि

तिम्रो कथा अपरिभाषित हुन्छन्

त्यसैले…म लज्जित हुनसक्छु

तिम्रो जीवन कथालाई अधुरो लेखेर

म हाँसोको पात्र बन्न सक्छु

तिम्रो अनगिन्ति परिचयलाई

पूर्णबिराम लगाएर

त्यसैले…म मेरा आधाकल्चो भावनालाई

यहिँ बिट मारेर,

तिम्रो ‘अनिँदो पहाडसँगै’

आजीवन जागृत भएर बाँच्न चाहन्छु

तिमी बाँची रहु,

जुगौं जुग ‘मृत्युको अंगालोमा’

कविताका हरफहरू जस्तै

तिमी हाँसी रहू सँधैँ

हाम्रा श्रद्धान्जलीका गुच्छाहरुसँगै।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.