ऋण लागोस्, तर दिन नलागोस्


घरमा होस् या भोज-भतेरमा, दीनानाथ दाहालले घीउ नहालेको भात नभै भागै नबस्ने। जसरी बंगालीहरु माछाको शौकिन हुन्छन् भनिन्छ, दीनानाथ घीउ-भातका त्यस्तै शौकिन थिए।

शाकाहारी थिए त्यसैले होला दुध, दही, घीउ, मही निकै चाख मानेर खान्थे। दीनानाथकी दुलही साबित्राले पनि श्रीमानको घीउप्रतिको रुची राम्ररी बुझेकी थिइन्। दीनानाथ भान्छामा खान बसेपछि दुध, दहीका अलावा साबित्राले एउटा दिउरेमा आधा ढेउवा जति घीउ तताउँथिन् र ‘झ्याँइय्य’ पारेर दीनानाथको थालमा खन्याउँथिन्। दीनानाथले थालै खाउँला जसरी सबै भात खाएर सक्थे।

उनको घीउ-भात प्रतिको यो चाहना सबै गाउँलेहरुलाई थाहा थियो। धेरै घीउ खाने भएकोले गाउँका ठीटाहरु उनलाई घीउबाजे भनेर जिस्काउँथे।

केटाकेटीहरुले घीउबाजे भनेर जिस्काएको कुरालाई दीनानाथले हाँसेर उडाइदिन्थे। तर ठूला मानिसहरुले घीउबाजे भनेको उनलाई त्यती मन पर्दैनथ्यो।

लाटो रिस थियो, केटाकेटीबाहेक कसैले जिस्क्याए भने हात उठाइहाल्थे। एकपटक संग्ले खोलापारी टाकुरीको केशवले घीउबाजे भन्यो भनेर दीनानाथले केशवलाई झण्डै मारेका।

हरीशरण पण्डितको मामाको छोरो थियो केशव। हरीशरण पण्डित दीनानाथका छिमेकी थिए। त्यो घटनापछि एकहप्तासम्म केशवले मुख सुन्नीएर गतिलो गरी बोल्न पनि सकेको थिएन। त्यस दिनदेखि दीनानाथ र केशवको बोलीचाली नै बन्द भएको थियो। उसले दीनानाथसँग यसको बदला लिने मौका पर्खेर बसेको थियो तर बलमा दीनानाथ भन्दा कमजोर भएकोले भौतिकरुपमा बदला लिने कुरा सोचेको थिएन। ‘बल भन्दा बुद्धि ठूलो’ भन्ने कुरा कक्षा पाँचको नेपाली किताबमा पढेको थियो।  त्यसैले बुद्धिको प्रयोग गरेर दीनानाथलाई दुःख दिने मौका पर्खेर बसेको थियो।

दीनानाथलाई हरिशरण पण्डितका छोराको बिहेको निम्तो थियो। संग्ले खोला पारी टाकुरीका शँकर भण्डारीले हरिशरणका छोरालाई छोरी दिएका थिए। रातिको बिहे थियो। दीनानाथलाई जन्ती जाने निम्तो थियो। शरीरमा त्यती सञ्चो त थिएन तर पनि हिँड्नै नसक्ने पनि थिएनन्। दीनानाथकी जाहान साबित्राले राति सपनामा देखेको कुरा सुनाउँदै त्यति टाढाको जन्ती नजान आग्रह गर्दै थिइन्।

‘हजुरलाई अहिले शरीरमा सञ्चो पनि छैन, अर्कोतिर साढेसाती चलीरहेको छ। दुई दिनदेखि मेरो दाहिने आँखो फरफराइरहेको छ, आज राति सपनामा घर अगाडिको सीमलको रुख ढलेको देखेँ, यो राम्रो संकेत होइन। बिन्ती छ, हजुर जन्ती नजानुस्,’ साबित्राले अनुरोध गर्दै भनिन्

‘शीतका सपना लाग्दैनन् लाटी, चिन्ता नलेउ; एक रातको कुरो त होनी! भोलि त बेलुकीको भात खाने गरी बेलैमा आइहाल्छु नी!’ दीनानाथले साबित्रालाई सम्झाउँदै भने।

यति भनेर दौरा सुरुवालमा ठाँटिएर दीनानाथ हरिशरणका छोराको बिहेको जन्ती जान भनी हिँडे। साबित्राले मन अमीलो बनाउँदै परसम्म उनलाई हेरीरहिन्।

टाकुरी गाउँ सात कोश टाढा थियो। एक बजे घरबाट पैदल हिँडेका जन्ती संग्ले खोला तर्दै रातिको छ बजे बिहे घर पुगे। माघ महिनाको बेला, झमक्क साँझ परिसकेको थियो। भतेर खाने ठाउँमा तीन वटा मैइन्टल बालेर उज्यालो बनाइएको थियो।

भत्केरुले पहिलै भात पकाएर राखेका थिए। जन्तीहरु भोकाएका थिए। जन्ती पर्सीने काम भएपछि सबैजना भतेर खान लामबद्ध भएर बसे। भान्छेले सालका पात गाँसेर बनाएका चिल्ला टपरीमा जेठोबुढो चामलको भात र जिम्मुले झानेको बाक्लो मासको दाल ल्याएर राखिदिए। सबैजना भोकले आत्तीइसकेका थिए कपाकप खान थाले।

दीनानाथले दाँया बायाँ हेर्न थाले। भत्केरुले कुरा बुझे। एक डाडू धीउ तताएर ल्याएर दीनानाथको भातमा राखिदिए। दीनानाथले भीरबाट निगालो झरेझैँ गरी सुत्त सुत्त गर्दै एकैछिनमा सबै भात सिद्ध्याए।

माघ महिनाको जाडो, घीउ लागेका चिल्ला हात। पानीले जति धोए पनि हातको चिल्लो नजाने। चुठ्ने बेलामा हातमा लागेको घीउको चिल्लोले गर्दा दीनानाथको दाहीने हातको साँइली औँलामा लगाएको एक तोलाको सुनको बेरुवा औँठी चिप्लेर कता खस्यो कता। अरूले भेट्टाएर लगिदिन्छन् भनेर कसैलाई नभनी निकै बेरसम्म एक्लै खोजे तर औँठी भेटिएन। एक त जाडोको बेला, उसमाथि रातिको समय, हात कठ्याँग्रिन थाले। साथमा लगेको लाइटको बेट्री नसकिँदा सम्म औँठी खोजे। औँठी भेटिएन।

बिहान उज्यालो हुनासाथ दुलहीको दाजु रमेशसँग एउटा कोदालो मागेर दीनानाथले औँठी हराएको ठाउँ खन्न थाले। औँठी भेटिएन। दीनानाथले एका बिहानै उठेर कोदाली खनेको कुरा रमेशलाई अनौठो लागिरहेको थियो। उसले दीनानाथसँग यसको कारण सोध्यो पनि तर दीनानाथले केही नभनी एकोहोरो पाराले औँठी खोजिरहे।

हिजो बिहान खसि काटेको ठाउँमा दीनानाथले कोदालो खनेको देखेर रमेशलाई केही शंका त लाग्यो तर उ केही नबोली घरतिर गयो।

बिहानी पख डोली दिने बेला भइसकेको थियो। एकछिनमा दुलहीलाई लिएर जन्ती ओरालो लागे। करिब दुई कोश हिडेपछि संग्ले खोलाको तिरमा पुगेर जन्ती बिसाए। दुलहीका बाबु पल्टनका लाहुरे थिए। जन्ती बाख्रो समेतको दोहोरी भतेर दिएका थिए।

खाना पकाउने तयारी शुरु भयो। कसैले ढुंगाका चम्का लगाएर चुल्हो बनाए, कसैले चामल केलाउन थाले, कसैले तरकारी काट्न थाले, कसैले चौतारीको छपनी सफा गरेर मसला पिस्न थाले। एकथरीले जन्ती बाख्रो काटेर सफा गर्न थाले। केहीबेरमै खाना तयार भयो। खाना खाने तयारी भइरहेकै थियो त्यतिकैमा उताबाट आठ दश जना पुलीसहरु जन्ती भएतिरै आए। पुलीसहरु जन्तीले भात खाने ठाउँमा आएर टक्क अडिए।

‘यहाँ दीनानाथ भन्ने को हो?’ पुलिसले सोधेको पहिलो प्रश्न यही थियो।

सबैले एकार्काका मुखमा हेर्न थाले।

‘किन र?  के भो र ? दीनानाथ भन्ने म हुँ हजुर’ भन्दै दीनानाथ अगाडि आए।

‘उता मान्छे मारेर यहाँ भतेर गरेर बसेको छस्’, एउटा पुलिस कड्कियो।

‘हरे शिव! यो के भनेको होला, मैले कहाँ मान्छे मार्नु नी हजुर’ नीलो कालो हुँदै दीनानाथले भने।

केशवले सिकाएर टाकुरी गाउँकै एकजनाले हिजो भात खाने बेलामा दीनानाथलाई घीउबाजे भनेर जिस्काएको थियो। ‘यसलाई नमारी छाड्दिन’ भनेर दीनानाथले उसलाई केही परसम्म लखेटेका थिए तर भेट्टाउन नसकेर फर्किएका थिए।

जन्तीहरु सुतिसकेपछि अबेला राति बाजाको कुरालाई लिएर टाकुरी गाउँका केटाहरुबीच झगडा भएको रहेछ। बाजाको कुरालाई लिएर गाउँको बिहेमा अक्सर झगडा हुन्छ। गाउँमा यो समान्य कुरो हो। रक्सीको मातमा भएको झगडामा टाकुरी गाउँको एकजना केटाको मृत्यु भएको रहेछ।

मर्ने चाँही, दीनानाथलाई घीउबाजे भनेर जिस्काउने केटो नै परेछ। त्यसैको अनुसन्धान गर्दै पुलीस त्यहाँ आएको थियो। हिजो भातखाने बेलामा दीनानाथले त्यस केटोलाई लखेटेको कुरो कसैले पुलीसलाई सुनाएका रहेछन्। दुलहीको दाजु रमेशले पनि दीनानाथले बिहान बिहान कोदालीले माटो खनेको देखेको कुरा पुलीसलाई सुनाएको रहेछ।

‘कोदालीले खनेर रगत लुकाउने तैँ होइनस्?’ अर्को पुलीस कड्कियो।

जिन्दगीमा मान्छे त के एउटा परेवासमेत नकाटेको मानिसलाई एक्कासी मान्छे मारेको आरोप लाउँदा दीनानाथ अक्क न बक्क परे।

‘मैले त मेरो हराएको औँठी खोजेको थिएँ हजुर’, दीनानाथले रुन्चे स्वरमा भने।

‘तैँले खनेको ठाउँमा भेटिएको रगतको दाग चाँही के नी? हामीलाई मूर्ख बनाउँछस्?’ पुलिसले भन्यो।

‘म त्यस्तो ज्यान मार्ने मान्छे होइन हजुर’ दुई हात जोड्दै दीनानाथले दयाको याचना गरे।

‘हिजो तैँले त्यस मानिसलाई नमारी छाड्दिन भन्दै लखेटेको थिइनस्? ’ पुलीस कड्कियो।

‘हो हजुर यसले एक जना केटोलाई लखेटेको मैले पनि देखेको थिएँ’ मौकाको फाइदा उठाउँदै केशवले भन्यो।

दीनानाथले केशवलाई हेरे। उनको यो दीन अवस्था देखेर केशवका हाड हाँसीरहेका थिए।

‘मैले त्यसलाई छोएको पनि हैन हजुर’, रुँदै रुँदै दीनानाथले भने।

‘जे भन्नु छ पुलीस चौकीमा गएर भन्नू’, दीनानाथको हातमा हथकडी लाउँदै पुलीसले भन्यो।

दीनानाथले साबित्रालाई सम्झे। उनले घरबाट हिड्ने बेलामा सुनाएको सपना सम्झे। छेउको संग्ले खोलामा कलकल गर्दै सँग्लो पानी बगिरहेको थियो। दीनानाथको मन भने धमीलो भएको थियो। पुलीसहरुले दीनानाथलाई हथकडीमा बाँधेर उकालो लागे।

जन्ती बाख्रोको मासु पाकीसकेको थियो। नरमाइलो मानेर केही जन्तीले मासु खाएनन्। केहीले नरमाइलो मान्दै खाए। केशवले चाँही थपी थपी जन्ती बाख्रोको मासु खायो।

जन्ती मध्येको एकजना अग्रज ले भने, ‘मानिसलाई ऋण लागोस् तर दिन नलागोस्।’

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.