नेपथ्यमा लुकेको हिंसा


एकजना कथाकार कथाका पात्र खोज्दै हनुमानढोका परिसरमा सलबलाउदै हुन्छन्। संयोग नै हो कि, आहारा दैवले जुटाइदिएका हुन, एउटा पात्र हानुमानढोका कारागारबाट ठमठम आउँदै हुन्छ । भोकले काउकाउ गरेको आँतलिएर कथाकार घुटुक्क थुक निल्छन । र, पात्रको नगिचै पुग्छन्।

अनि सुरु हुन्छ आपसि संलाप । र, गर्भाधारण गर्छ– नेपथ्यमा लुकेको एउटा हिंसाको ‘कथा’ ले ।
***

माघको मास । प्रातःकालको समय । दश बजाउँन मिनेट सुईलाई पन्ध्रवटा गौडा काट्न भ्याइनभ्याइ छ । स्कूले केटाकेटी र जागिरे बाआमा घडीका सुई हेर्दै हस्याङफस्याङ गर्दै दौडेका छन । घमाइलो छ, परिसर । प्रेमिल छ वातावरण । केही वृद्धवृद्धाहरू र फुर्सदिला जोडीहरू पारिलो घामको मज्जालिँदै हनुमानढोका परिसरमा टहलिरहेका छन ।

परेवाका जोडीहरू व्यस्त देखिन्छन– भुर्रभुर्र उड्दै परिसरको क्यनभासमा अकृत्रिम रङ्ग पोत्न । उता पर्यटकहरू व्यग्र छन– डिएसएलआर क्यामराको क्यानभासमा कृत्रिम कला उतार्न । छेवैमा ठिङ्ग उभिएकी छिन, हनुमानढोका दरवार– अनुहारभरी भूकम्पले चिथोरेको घाउ नै घाउले बिरूप अनुहार लिएर । चिरिक्क घामले, खाटो नबसेको घाउ कति चर्किँम्दो हो, चरक्क । तर, कस्को फूर्सद, मलम लगाइदिने ?

बेस्याहारले दाह्रीजुँङा बढेको अनुहारमा, अलमल र बोझिलो चेहरा लिएर एउटा गहुँगोरो वर्णको युवक झ्यालखानाबाट फुत्त बाहिर निस्किन्छ– जिन्दगीबाट थकित पथिक जस्तो । र, मिसिन्छ यही बिसङ्गत हूलमूलमा ।
सशङ्कित आँखा चारैतिर डुलाउछ । हनुमानढोका दरवारको विक्षिप्त अनुहारमा गएर उसका आँखा एकछिन टक्क अडिन्छन । खै के सोचेर हो, आफ्नो अनुहारको खाटो बसेको घाउ सुमसुम्याउँछ र सुहाओस न टुहाओस सर्टको गोजीबाट कालो चस्मा झिकेर आँखामा टाङ्छ पनि ।

तर, सुन्दर देखिन होइन र‘छ । उसलाई पीर र‘छ– कतै जानपहिचानका मान्छेले देखेर चिन्छन कि भन्ने । त्रासको अलि अनौठो प्रकृति !

पथिकको नाम रहेछ– अमर । उमेर होला त्यस्तै २२–२५ को हाराहारी । र, पहिचान नै लुकाउँनु पर्नेगरीको त्रासको कारण रहेछ, उसले गरेको अपराध– बलात्कार । जेल सजाय तोकिएको रहेछ– १० बर्ष । तर, छुटेछ,– चारै बर्षमा । त्यो पनि शहीद दिवसको अवसरमा आममाफी पाएर । अतिशय अपच सच्चाइ !

अमरको यो मोक्षप्राप्तिको श्रेय जाँदोरहेछ सागरलाई । सागरले थाप्लोमा हात नराखिदिएको भए यो जेल–मोक्ष सम्भव नहुने रहेछ ।

एउटा प्रश्न आएर उभिन्छ । आखिर अमर बलात्कार गरेरपनि कसरी जिउँदो शहीद भए‘छ कुन्नि ?

ख्याउटे शरीर । लाम्चो अनुहार । बिरक्तलाग्दो भङ्गिमा । निधार नै छोपिनेगरी बढेको जुल्फी बेलाबेला पछाडि पन्छाउँछ । र, टौवा जस्तो शरीरलाई दोबरदाबर पारेर डबलीको एउटा पेटीमा टेकाउँछ ।

‘उतिबेला, लोकनै सडकमा निस्किएर ‘बलात्कारीलाई मृत्युदण्ड दे’ भनेको सुन्दा, ए गाठे ! मार्ने भ‘छन क्यार, जस्तो लागेको थियो । तर, पछि त सागर दाइनै पो नेता भ‘छन । स्यसबेला, बाँचे भनेर खुशी नै लाग्या हो ।’ दिक्दार लाग्दोगरी नाक खुम्च्याउँ छ र भन्छ, ‘तर, अहिले त पटक्कै बाँच्ने मन छैन ।’

‘हुन त लोकले धेरै कुराको अपेक्षा गरेका हुन, उबेला । तर, खै के गर्नु र ? न भान्छे बदल्न सके, न डाडुपन्यू खोस्न सके ? त्यसैले भान्छा बद्लिएन । तिनै पुराना बेथितिहरू पाकिरहे ।’ एकछिनको मौनता तोड्दै प्रशङ्गको बिटमार्छ ।

अमरको परिवारमा बुबा ‘ऋषिकेश’ र दिदी ‘लक्ष्मी’ मात्रै र‘छन । कर्म गोहीकै भएपनि आँसुचाहिँ मान्छे कै झार्छ र निख्रिएर पोखिन खोज्छ, ‘म जेल पर्दा बाबु बिरामी थिए । सँधैको ऐया–आथो । उपचार गरिदिए अलिबार बाँच्ने रहर थियो, बूढाको । मेरो आम्दानी नाइँ । पढ्नपनि सकिन । एसएलसिमा गुल्टेको गुल्ट््यै भैयो । तेरो दिमागमा त गोबर भरिएको छ, भनेर गाली गर्थे ।’ अमर सम्झिन्दै भन्छ, ‘म गोबरगणेश नै थिएँ । पछि त, कर्मपनि त्यस्तै गर्न पुगेँ ।’

बाबुको गाली नखाइकिन भात खा‘को दिन छ कि ? भनेर एकछिन घोरिन्छ । भेटाउँदैन । ‘गलगिज्ज गाली नख्वाइ, भात खानै नदिने । स्कूल जाउँन्जेल पढ्न नजानेर गाली गर्थे । ठूलो भएपछि आयआर्जन गर्न नसकेर ।’

‘डिग्रीको प्रमाणपत्रले आँसु र पसिना पुछ्दै खाडी मुलुकमा श्रम बेच्छन, हाम्रा कर्णधार युवाहरू । र, तीनै युवाको श्रम र सम्पदाको व्यापार गरेर रातारात धनी हुन्छन हाम्रा श्रमिक नेताहरू । म के गर्न सक्थेँ र ? न म नेता, न मसँग प्रमाणपत्रै थियो ? तर, मेरा बा ममाथि ठूलाठूला अपेक्षा गर्थे ।’ एकछिन भम्भीर हुन्छ र वाक्य टुङ्ग्याउँछ, ‘हुन त मेरा बा पनि मैजस्तो लद्दू र अनपढ अभिभावक त हुन । आखिर उनलेपनि के बुझेका थिए र ?’ फिसिक्क हाँस्छपनि ।

‘हाम्रोलागि तँ मरिस । यो घरमा पाइला नटेकेस । तँ जस्तो कपुत जन्मनु भन्दा त गर्भै तुहुनु नि । आमालाई जन्माउँनको सकस मात्रै ।’ बाबुले जेल रवाना हुँनेबेलामा बिदाका लागि खर्चिएका वाक्य र‘छन यी । दिदी लक्ष्मीचाहिँ प्रहरीठानाको कुनापसेर रुदै थिइ अरे । हिड्ने बेलामा देख्नै पाए न छ । सम्झिन्छ ।

अमर झ्यालखाना परेपछि सागर देउता बनेर अमरको घरमा टुप्लुक्किएको रहेछ । अमरले खनेर आएको आँसुको आहालबाट सागरले उसको बाबु र दिदीको उदार गरिदिएछ । र, अमरलाई बैतडी कारागारबाट हनुमानढोका कारागारमा सरुवापनि उसैले गराएको रहेछ । त्यसैले ऊ देउतै मान्दो र‘छ सागरलाई ।

दिदीलाईपनि सम्झिन्छ, ‘पढ्नमा निक्कै तेजिली थिइ लक्ष्मी । तर, जतिनै तेजिली भएपनि वर्तन बिनाको दियोको आयु लामो हुँदैन । मैले लक्ष्मीको भविष्यको दियोमा वर्तन थप्न सकिन । म जेल परेपछि सागर दाइले पढ्न सघाइदिनु भएछ । अहिले भूमेश्वर बजारकै स्कूलमा पढाउँछे अरे ।’

एक जोर परेवाका जोडी अमरको कुममा बसौंला जस्तो गर्छन । मानौं उनीहरूले अमरको तनलाई मान्छे भनेर पत्याएन । उसको टाउको हल्लिएपछि, छक्क परेर भुर्र उढ्छन ।

अमरसित माआको भने घुरमैलो–घुरमैलो याद मात्रै र‘छ । किनभने आमा बित्दा ऊ सानै थियो, अरे । सौतेनी मामिला, केटाकेटीले दुःख पाउँछन भनेर ऋषिकेशले अर्को बिहे गरेनछन । अमर दिदीकै काखपोल्टामा हुर्किएको र‘छ ।

अहिले दिदीको यादले अलि बढ्तै सताएको छ, अमरलाई । तर, ऊ घर फर्किएर उनीहरूको छँदाखाँदाको खाटो बसेको जिन्दगीमा सियो बनेर घोच्न चाहँदैन । त्यसैले उसलाई यो आजाद जिन्दगीभन्दा मृत्यु नै प्यारो लागि रहेकोछ ।

सागर अमरको छिमेकी, उद्योगपति र मनोनित सभासदपनि रहेछ । ऊ मुक्तकण्ठले प्रशंसा गर्दै थप जानकारी दिन्छ, ‘सागर दाइ त देउतै हुन । सागर दाईले मेरोलागि मात्रै होइन, पूजा दिदीकोपनि ठूलो उदार गर्नुभो । मैले बलात्कार गरेको पूजा दिदीलाई सागर दाइले नै विवाह गर्नुभयो । त्यसैले म उहाँहरूको दाम्पत्य जीवनमा कहिल्यै बिसेक नहुने रोग बनेर बाँच्न चाहन्न ।’

अमरको तन्मयता बिथोल्दै मोटरसाएकलको हर्न बझ्छ । बसिरहेको ठाउँबाट बिस्तारो टाउको उठाएर हेर्छ । एउटा अग्लोअग्लो, खाइलाग्दो ज्यान भएको, छोटै दारी, छोटै कपाल पालेको, कालो चश्मा भिरेको, त्यस्तै ३०–३५ को लाग्ने एउटा मान्छे मोटरसाइकलको हर्न बजाउँदै हुन्छ ।

‘उहाँ नै हो सागर दाइ’ अमर चिनाउँछ– मानवको रूपमा उपस्थित उसको सागर–देउतालाई । अमरको खुशी देख्दा यस्तो लाग्छ, मानौ यमपुरीबाट स्वयम धर्मराज यम सागरको रूपमा उसलाई लिन आएका छन । अमर मुसुमुसु हाँस्दै जिउलाई सीधा पार्छ र पेटीबाट खुत्रुक्खुत्रुक् झर्छ । बिदाइको हात हल्लाउँदै अमर र सागर बिदा त हुन्छन । तर, उनीहरूको पदचापले केही अनुत्तरित पहेलीहरू छोडेर जान्छ । अथवा सामाजप्रतिको एउटा संवेद्य मजाक ।

आखिर किन आफ्नै श्रीमतीको बलात्कारीलाई सागर हत्तेहालेर मदत गरिरहेकोछ ? कताकता सागरको परोपकारभित्र कृत्रिम बिम्बहरू देखिन्छन । र, त्यही बिम्बको आभा पछ््याउँदै पछ््याउँदै कथाकार पुग्छन भूमेश्वर ।
***

राजनीति निक्कै फापेको व्यावसाय रहेछ सागरको । श्रमिकहरूको निर्यात व्यापार अथवा वैदेशिक रोजगार व्यावसाय निक्कै फस्टाएको रहेछ । भाग्यमा भएपछि अवसरपनि लडीबडी गर्दै आउँने । अन्ततः पेसाले नै सागरलाई गरिबहरूको नेता बनाएछ । न क्रान्ति न वर्गसंघर्ष, सजिलै ।

मान, सान, वैभव, ऐश्वर्य सबै थोकले परिपूर्ण र‘छ । उसको प्रभुत्वको अगाडि विद्यास्नातकहरूपनि गरुडको अगाडि परेको सर्प जस्तो लल्याकलुलुक हुँदार‘छन । त्यस्तो मान्छेले शीरमा हात राखिदिएपछि के चाहियोस, अमरलाई ।

पूजाका बाबु बद्रीनाथ स्थानीय उच्च माविका प्रधानाध्यापक रहेछन । जिल्लाले नै हेडसर भनेर चिँन्दो र‘छ । गोरा–गोरा, नमोटा नपातला, नहोचा नअग्ला, चुच्चिएर ठढिएको नाक र तालु हल्का खुइलिएको भएपनि व्यक्तित्व निक्कै आकर्षक र‘छ ।

छोरी बलात्कार भएपछि उनको मनमुटु छियाछिया भएर टुट््यो । के नटुटोस ? बूढेसकालमा एउटा बाबुको लागि त्यो भन्दा ठूलो बज्रपात के हुन्छ ? छोरीको भविष्य, सपना, इज्जत, मानमर्दन सबै शिशाजस्तो चकनाचूर भएर फुटेको देख्दा नटुट्ने बाबुआमा को होला यो संसारमा ?

परिवारनै डिप्रेशनमा परेछ । वाक्य बसेछ । घरको चौकस काटेर निस्किन छोडेछन । न छोराछारी, न बाबु, न आमा ! स्कूलको सहयोगीलाई बोलाएर राजिनामा दिएछन । छँदाखाँदाको बद्रीनाथ सरको घर परित्यक्त भूतबङ्गला जस्तो भएछ ।
‘हेडसरले जीवनको सारा उर्जा हाम्रोलागि, हाम्रा छोराछोरीको लागि भनेर खर्चिनु भयो । बदलामा, हामीले उहाँको व्यक्तित्व एकै रातमा पुड्क्याइ दिऔं । अपराध ग¥यो एउटाले । सजाय दिऔं, बद्रीनाथ सरको परिवारलाई । कस्तो थिति बसाल्यौं ? कस्तो सोचलाई प्राथमिता दिऔं ? सरलाई खाने बाघले आफूलाइपनि खानसक्छ भनेर हामी किन सोच्दैनौं ।’ सागरले सजिलै जित्यो समाजको र बद्रीनाथ सरको विश्वास ।

सागर झुल्कियो भाग्यविधाता भएर । त्यो परिवारलाई डिपे्रशनबाट बाहिर ल्याउँन र समाजमा पुनस्र्थापित गर्न धेरै ठूलो मेहनत गरेको र‘छ । पूजासित विवाह गर्ने बाचा गरेछ । उनले इच्छाएको कलेजमा पढाउँने कबूल गरेछ । उसको सपना र जपना साकार गर्ने प्रण गरेछ ।

‘पूजाको नर्स बन्ने सानै दिखिको सपना । खेल्दाखेरिपनि पूजालाई नर्सभएर उपचार गरेकै रोल चाहिन्थ्यो । सादा कापीको सेतो टोपी बनाएर शीरमा लाउँथी ।’ सलको फेरले आँखा पुछ्दै लक्ष्मी भन्छे, ‘मेरै भाइले उनको निर्मल र बेदाग जीन्दगीमा कहिल्यै नपखालिने दाग लगाइदियो ।’

नभन्दै पूजा अहिले भूमेश्वरकै अस्पतालमा नर्स रहिछ । साथमा दुइवटा केटाकेटीपनि । बाहिरबाट हेर्दा ठीकै चलेको रहेछ पूजा र सागरको दाम्पत्य जीवन । भित्रको व्यथा के थाहा ?

सागरले निकै ठूलो गुण लगाएको मान्दा रहेछन स्थानीयवासी । हुनपनि बद्रीनाथ सरको लगभग छिन्नभिन्न र अस्तव्यस्त हुने अवस्थामा पुगेको परिवारलाई सहभावीको रूपमा उपस्थित भएर बँचाएको रहेछ सागरले ।

‘धेरै कम मान्छेले यस्तो त्याग गर्न सक्छन ।’ अन्तमा चित्त बुझाएका रहेछन स्थानीय वासीले, ‘मरोस, आफ्नै श्रीमतीको बलात्कारीलाई छोड्छ भने के गर्नु त ?’

***

अमर जेलबाट छुटेको तेश्रोदिन । एकाबिहानै पूजा लक्ष्मीलाई भेट्न आउँछे । सिम्रिक रङ्को सुतीको साडी बेरेकी, बेरेकी नै भन्नु प¥यो, त्यत्ति मजाले मिलेको हुँदैन । रातै चोलो यसो भिरेकी, भिरेकी नै भन्नु प¥यो, सबै टाँक लगाइएका हुँदैनन । कपालपनि नकोरिएकै भन्नु प¥यो, फुस्किन लागेको जुरो उफ्रीउफ्री नाच्दै हुन्छ थाप्लोमा । ठूलो निदार भएकी, गोरी, अग्ली, छरिती पूजा, हस्याङ्फस्याङ गर्दै, लक्ष्मीलाई फलाक्दै घरभित्र छिर्छे ।

पूजा र लक्ष्मी सहपाठीपनि रहेछन । दुबै पढ्नमा तेज । लक्ष्मी अलि होची र बाटुलो अनुहार भएकी । कालीकाली भएपनि हिस्सी परेकी रहिछ । तर, भाइको कुकर्मले लक्ष्मीको हिस्सी परेको अनुहारमा हाँसो नटुसाएको धेरै भएको र‘छ ।

‘पूजा ! सन्चै हो ? ब्यान–बिहानै आयौं त । आजभोली त आउनपनि छोड््यौ ? के कामले हो ? भित्रै आउन ।’ पछि सोध्न पाइँदैन कि झै गरेर, एकैपटक धेरै कुरा सोध्छे, लक्ष्मी ।

‘सन्चै हो । तँसित एउटा कुरा सोधौं भनेर, आएकी ।’ दायाँबायाँ हेर्दै पूजाले लक्ष्मीलाई कुनातिर तान्छे ।

‘के कुरा हो, पूजा ?’ लक्ष्मीले साउती मै सोध्छे ।

‘तैँले अमरलाई भेटिस ?’

‘किन भेट्नु त्यसलाई ? भाइ हो, लुकेर भेटी होली जस्तो लागेको होला तँलाई ? तँलाई बलात्कार गर्नु र मलाई गर्नु एउटै होइन ?’ पूजाको प्रश्नप्रति अचम्म मान्दै लक्ष्मी आफ्नो सफाइ दिन्छे ।

‘तर, लक्ष्मी, मलाई अमरसित एकपटक भेट्नु छ ।’ उत्तरको पर्वाह नगरी पूजा प्रतिक्रिया दिन्छे ।

‘ह‘न के भन्छे यो ?’ पूजालाई दुबै हातले झकझक्याउँदै सोध्छे, लक्ष्मी ।

‘भाइलाई तुरुन्त फोन गर । त्यसलाई मारेर आत्महत्या बनाउँने प्रयास हुँदैछ । कसैलाई थाहा नदिइकन, पाटन आएर साँग्रिला होटलमा बस, भनेर फोनगर त ।’ पूजाले एकै सासमा भन्छे ।

पुजाको कुरा सुनेर लक्ष्मी झन तीन छक्क पर्दै सोध्छे, ‘कस्ले, किन ?’

‘त्यसको बारेमा पछि कुरा गरौंला । किन, कस्ले ? मलाईपनि यकिन छैन । तर, पक्का हो । अमरलाई फोन गरिहाल त ।’ पूजा ढिपी गर्छे ।

‘छोडी दे पूजा, मरोस । जिन्दगीभरी अलिअलि गर्दै मर्नु भन्दा एक्कैचोटी थोक मृत्यु मरोस । त्यो बाँच्यो भने तेरो खाटो नबसेको घाउ बल्झिरहन्छ । जिन्दगीभरि घोचिरहन्छ, दुखिरहन्छ । त्यसको बारेमा नानाभाँती कुरा सुनेर बाँच्नु भन्दा म एकैपटक सहन्छु । मर्न दे ।’ लक्ष्मी भित्तापट्टि फर्किएर आँसु पुच्छे ।

‘हेर, ऊ आत्महत्या गर्दैछैन । ऊ मारिदै छ । मार्नु अर्को अपराध हो । यो घटना हुन नदिनु, अमरको जीवन बचाउनुमात्र होइन । कसैलाई अपराध गर्नबाट रोक्नुपनि हो । फोन गर । मैले भनेको मान ।’ पूजा सम्झाउँने कोशिश गर्छे ।

पूजाको अमरप्रतिको दयादेखेर आश्चर्य लागेपनि, लक्ष्मीलाई चित्त बुझ्छ । र, डराइडराइ फोन गर्छे । त्यतिबेला सम्म मारिएको हुँदैन । फोन अमरले नै उठाउँछ । भयमुक्त सास फेर्छे, लक्ष्मी । र, सतर्कतापूर्वक कसैलाई थाहा नदिइकन बैतडी,

पाटनको साङ्ग्रिला होटलमा बोलाउँछे ।

त्यति जानकारी गराएर पूजा घर फर्किन्छे ।

मध्यान्नतिर, एक्कासि सागरको फोनको घन्टी बज्छ । सागर हिजो रातिमात्रै घर आइपुगेको हुन्छ, काठमाण्डौंबाट । अथवा अमरलाई कतै राखेर ऊ घरतिर हानिएको हुँदोरहेछ ।

‘मेरो अर्जेन्ट फोन आयो । म त फर्किनु पर्ने भयो ।’ पाकेको खाजापनि नखाइकिन सागर काठमाण्डौं हानिन्छ ।

उता लक्ष्मीको मनमा नानाभाँती सवालहरू उठ्छन, ‘आखिर कस्ले मार्न लाग्दैछ अमरलाई ? उसको बचाइले दखल गर्ने सागर र पूजाकै जीवनमा हो ।’ उनीहरूले यस्तो गर्छन भनेर कल्पना गर्नपनि डराउँछे लक्ष्मी ।

‘जारलाई काट्दा कानून लाग्दैन’ भन्ने आहान सम्झिन्छे । र, सोच्छे, ‘आफ्नी श्रीमतीको बलात्कारी जिउँदै हिँडेको कसरी सहओस, सागरले ? ऊपनि त लोग्नेमान्छे नै हो । त्योपनि पुरुष प्रधान समाजको लिगेसी बोकेको ।’

मस्तकलाई काल्पनिक संघर्षको मैलान बनाएर, रात काट्छन दुबै सखी । र, भोलिपल्ट अमरलाई भेट्न साङग्रिला होटल पुग्छन । अमर लक्ष्मीको गोडा ढोगिदिन्छ । लक्ष्मी प्रतिकृया शून्य हुन्छे । जति रिस उठेपनि भाइ हो– आफ्नै काखमा हुर्किएको । फेरि कसैले मार्ने प्रयास गर्दैछ भन्ने सुनेपछि घृणापनि मायामा बद्लिन्छ ।

पहिलो पटक फागुमा भाङ् खाएर मात्दा, ताँत माझ्ने ब्रस र कोलगेट डान्सगरेको देखेर, मरी–मरी हाँसेको संम्झिन्छे । किनभने अहिले अमरलाई कहिले दशैंमा बलिदिन ठिक्कपारेको बोको जस्तो देख्छे– निरिह र लाचार । कहिले राक्षसजस्तो– दाह्रा र सिङ भएको । त, कहिले आफ्नै प्यारो भाइ जस्तो देख्छे ।

मनमनमा सोच्छे, ‘यसलाई नदेखेको भए यति धेरै माया लाग्ने थिएन कि ।’ तर, माया प्रकट गर्न भने सक्दिन लक्ष्मी । किनभने दिदीभाइको बीचमा उसले गरेको कुकर्मको पहाड उभिएको हुन्छ, ठिङ्ग ।

अमर पूजालाई दुइहात जोडेर नमस्कार गर्छ । तर, आँखा जुधाउँन सकिरहेको हुँदैन ।

पूजाले नै बोलाउँछे, ‘अमर, के तैले मलाई कलात्कार गरेको हो ?’

अमरले नावालक जस्तो तलमाथि टाउको हल्लाउँछ ।

‘किन मलाई त्यस्तो गरिस तैले ?’

‘मेरो दिमागले केही कामै गरेन । कहाँबाट मेरो दिमामा भूत सवार भयो ।’ दुइतीन चड्कन लगाएर, पटक–पटक सोधेपछि अमरको वाक्य फुट्छ ।

पूजा घुडाले सागरको शिश्नमा जोडले हान्छे । अमर ओछ््यानमा ढल्छ । ‘तैले मलाइँ बलात्कार गरेको हो भने ? आज म तेरो बलात्कार गर्छु ।’

‘तँ एकछिन चुप्प लागेर बाहिर बस्त ।’ पूजाले लक्ष्मीको हात समाएर ढोकाबाट बाहिर पठाउँदै भन्छे, ‘म आज यसलाई बलात्कार गर्छु । यसले मलाई बलात्कार गर्दा हुन्छ भने मैले किन नहुने ?’

लक्ष्मीलाई तानेर बाहिर पठाउँछे र ढोकाको चुकुल लगाउँछे । बाहिर बसेर लक्ष्मी सोच्न थाल्छे । लक्ष्मीको मनमा अर्को आशङ्काले घर गर्न थाल्छ, ‘कतै पूजाले अरु कसैले मार्ने योजना बनाएको छ भनेर, अमरलाई बोलाएर आफैले मार्ने नियत गरेकी त होइन ?’

लक्ष्मी आत्तिदै ढोका ढकढक्याउँन थाल्छे, ‘पूजा ढोका खोल । ढोका खोल पूजा ।’

एकछिन ढकढक्याएपछि पूजा ढोका खोल्छे । थकित पूजा असिनपसिन भएर लुगा मिलाउँदै सोफामा बसिरहेकी हुन्छे । उता, अमरपनि रुँदै आफ्ना कपढा मिलाउँदै हुन्छ ।

पूजाको यस्ता बेहुदा हर्कत देखेर लक्ष्मी डराउँछे कि कतै अमर जेल मुक्त भएको खबरले यो पागल त भइन फेरि ? ‘के भयो पूजा तँलाई ? के गरेकी यस्तो ?’ लक्ष्मी पूजाको टाउको सुम्सुम्यउँदै सोध्छे ।
तर, पुजा लक्ष्मीको प्रश्नतिर त्यति ध्यान दिन्न ।

‘बस यहाँ । अस्ति बेलुका सागर आएको थियो’ लक्ष्मीलाई तानेर सोफामा बसाउँदै पूजा एक्कासी बोल्न थाल्छे, जुनकुरा उसले पहिला भनेकी थिइन, ‘मैले एउटा अनपेक्षित फोनवार्ता सुनेको थिएँ । कसैलाई ऊ आत्माहत्या लाग्नेगरी मार्ने कुरा गर्दै थियो । मेलै अमरलाई सम्झिएँ ।

‘त्यसपछि म नेतथ्यबाट सागरको बर्ताव नियाँल्न थाले । आएर ओछ््यानमा सुत्यो– लगभग महिना दिनपछि भेटभएको एउटा मदोन्मत्त पति । तर, उसको पुंसत्व रातभरी जागेन । न त ऊ निदाउँनै सकेको थियो । तर, मेरो तिर्खाले होइन । ऊ बढ्तै तनावमा देखिन्थ्यो ।

‘मपनि कहाँ निदाउँन सक्नु? तर, रतिरागको तृष्णाले खहरिएर होइन । उसको छटपटी र तनावले मलाई केही इसारा गरिरहेको थियो । मलाई यस्तो लाग्दै थियो कि ऊ एकापट्टि फर्किएर जालझेलको तानमा अपराधको जालो बुन्दै थियो । म अर्कोपट्टि फर्किएर अपराधको जालो पर्दाफास गर्ने दाउ बुन्दै थिएँ ।

‘आजभन्दा चार बर्ष पहिला, ठुलोबाबाको छोरी दीपा दिदीको विवाहको त्यो रात, जुन रात मलाई बलात्कार गरियो, आफ्नै घरमा । मेरो दिमागमा चलचित्रको रिल घुमेजस्तो फनफनी घुम्नथाल्यो, सारा दृष्याहरू । मैले आफ्नै जीवनको दृश्याङकित रिल रिप्ले गर्दै पटकपटक हेरेँ । रातभरी हेरेँ । ओल्टाइ पल्टाइ, ओल्टाइ पल्टाइ धेरैपटक हेरेँ । प्रत्यक दृश्यभित्र लुकेका बूँद–बूँद केलाएर हेरेँ । मैले स्वगरातको रात र बलात्कृत भएको त्यो रातमा केही फरक पाइँन ।

‘त्यसबेला मेरो विक्षिप्त मनले सबै पुरुषको योनकृढा एउटै हुन्छ भनेर मान्यो ? अथवा त्यसबारेमा मैले केही सोच्दै सोचिन ? अहिले सम्झिदाखेरि त्यो बलात्कृत रात, स्वगरातको रात, र त्यसपछिका प्रत्यक रातको पुरुष गन्ध, छातीको लुछाई, टोेकाइ, जननेन्द्रियको आक्रमण र झम्टाइ सबै उस्तै लाग्छ, काटीकुटी उस्तै ।

‘उसको फोनवार्ताले मलाई यो सोच्न झकझक्यायो कि कतै म प्रत्येक रात बलात्किृत भैरहेको त छुइन? जब हिजो सगरलाई अमर भागेको समाचार कसैले सुनायो । ऊ पाकेको खाजा छोडेर राजधानी हानियो । त्यसबाट एउटा कुरा पक्का भयो कि उसले आत्महत्या बनाएर मार्न चाहेको मान्छे अमर नै थियो ।’

लक्ष्मी अलमल्ल परेर मूर्तिवत पूजाका कुरा सुन्दै हुन्छे । बिना प्रतिकृया । बिना हलचल । मानौ, ऊ जीवनको अद्भूत दिग्दर्शनमा लीन भएकी छे ।

पुजा भन्दै हुन्छे, ‘एउटा प्रश्न अझै अनुत्तरित थियो मेरो मनमा । आखिर सागर अमरलाई किन मार्न चाहन्छ ? यसकारण कि ऊ श्रीमतिको बलात्कारी हो ? अथवा यसकारण कि हिजो रातभरी मैले वल्टाइ पल्टाइ गरेर हेरेको चलचित्र नै अन्तिम सत्य हो ? जुन सत्य नेपथ्यबाट दर्शकदीर्घा सम्म आओस भन्ने सागर चाँहदैन । र, ऊ नेपथ्यमै दबाउँन चाहन्छ ।

‘बास, यही कारण थियो, मैले अमरलाई भेट्न चाहनुको । अमरनै त्यो पात्र थियो जस्ले मेरो प्रश्नको सही जवाफ दिन सक्थ्यो.. ।’ अमरलाई औल्याउदै लक्ष्मीलाई सोध्छे, ‘तँलाई लाग्छ, यो लिखुरेले त्यत्रो आँट ग¥यो होला ?’

लक्ष्मीलाई अँगालो आलेर डाको छोडेर रुदै भन्छे पूजा, ‘लक्ष्मी, मलाई सागरले चार बर्ष देखि बलात्कार गरिरह््यो । तेरो भाइ त खेतालामात्रै थियो– पासो थापेर बसेको शिकारीको गौडो सम्म मलाई खेध्दै खेध्दै ल्याइपु¥याउँनु ।

‘ह्वाँ ह्वाँ ह्वाँ ह्वाँ..। सागरले मलाई निस्फिक्री, मनमोजी बलात्कार गरिरह्यो, लक्ष्मी ।’ ह्वाँ ह्वाँ ह्वाँ ह्वाँ..बलात्कार गरिरह््यो ।’

***

‘किन त्यसो गरिस ? यस्तो नीच कर्ममा किन साथ दिइस, सागरलाई ?’ लक्ष्मी अमरलाई लात्तैलात्तीले भकुर्छे, जगल्ट््याउँछे, थुक्छे ।

अमर रुदै आफ्नो बयान दिन्छ, ‘सागरदाइ पूजा दिदीलाई अति मनपराउँनु हुन्थ्यो । र, दिदीसँगै विवाह गर्न चाहनुहुन्थ्यो । दिदीकै लागि सागरदाइ पूजा दिदीले कामगर्ने पार्टीमा लाग्नु भयो । तर, दिदी सागार दाइको कुरा सुन्नै नमान्ने ।

‘एकदिन दाइले एउटा योजना सुनाउँनु भयो । जुन काम गरिदिएँ भने, बुबाको उपचार र दिदीको पढाइ खर्च बेहोर्ने हुनुभयो । म आफू केही गर्न सक्दिन थेँ । बुबाको रातो दिनको ऐया–आथो, र तपाइँको पढ्ने इच्छा मरेको देख्दा, अति पीडा हुन्थ्यो मलाई । सागर दाईको योजनामा सबैको भलो देखेँ मैले । र, त्यसै अनुसार दीपा दिदीको बिहेमा पूजा दिदीको लुगामा कसैले नदेख्नेगरी चिया गोप्ट््याइँ लिएँ । दिदी लुगा फेर्न घर आउँनु भयो । मपनि पछिपछि आएँ ।

‘घरका सबै परिवार बिहेमा हुनुहुन्थ्यो । नौमती बाजाको चर्को ध्वनी र दोहोरी गीत घन्किएको थियो । कसैले सुन्ने कुरै थिएन । दिदीले ढोका खोल्ने बित्तिकै मैले गम्छाले मुख छोपि दिएँ । दिदीले ‘अमर, के गरेको ?’ भन्नु भयो । मैले दिदीलाई चिन्ने मौका दिनु थियो । चिन्नु भयो । त्यतिखेर सम्म सागरदाई भित्र छिरिसक्नु भएको थियो । मैले उहाँलाई जिम्मा दिएँ र भागेँ ।

अमर दुवैदिदीको खुट्टा समाएर रुनथाल्छ, ‘दिदीहरू, मलाई माफ गर्नुस, म भन्दिन । र, माफ गर्ने दर्जाको अपराध मैले गरेको छैन । मेरो मृत्यु नै सबै समस्याको हल हो । मैले फैसला गरिसकेको छु, मर्ने ।

‘जे नहुनु थियो, भै गयो । अब यसलाई बल्झाएर आफ्नो बसेको घर नबिगार्नुस तपाइँहरू । मलाई एकछिनपनि बाँच्ने इच्छा छैन । म आजै मस्याङ्दीमा हाम फालेर मर्छु । तपाइँहरू यो घटनालाई एउटा नमीठो हातशा ठानेर भुलिदिनुस । यसैमा सबैको हीत छ ….।’

अमरको कुरा टुङ्गिन नपाइ पूजा बसेको ठाउँबाट जुरुक्क उठ्छे र गाला रन्किनेगरी थप्पड हान्छे, ‘हामी तिमीहरूका खेलौना हौ ? मदिरा हौैं ? मन लाग्यो खेल्यो, पियो । धीतम¥यो फ्याँक्यो ?

‘मान्छेको भौतिक शरीरलाई मारेर समाज बद्लिने होइन । मूल कुरो त मान्छेभित्रको सैतान मर्नुपर्छ । तँ सागरको त्यही सैतानलाई माफीदिने कुरा गर्दैछस । ता कि ऊ बियाडे भेडो भएर रजाइँ गरिरहोस ।

‘तँ अहिले मर्ने छैनस ।’ पूजा चोरी औलो सागरको नाकमा नचाउँदै भन्छे, ‘त्यस्ता जिउँदा अपराधीलाई साँडे छोडेर जाने छैनस, तँ । त्यस्ता अपराधी रहेसम्म आज तेरी दिदी भोली समाजका अरु धेरै दिदीहरू बलात्कृत भैरहनु पर्नेछ । आज मलाई खाने बाघले भोलि अरूलाई पनि खान्छ ।

‘सचेत नागरिकले पोइको मुख हेरेर, दाजुभाइको मुख हेरेर, इष्टमित्रको मुख हेरेर, पार्टी कार्यकर्ताको मुख हेरेर, चन्दादाताको मुख हेरेर, र आफ्नो स्वार्थको खातिर, सबै बेथिति र अपराधप्रति आँखा चिम्लिदिने हो भने, सामाज हिंसाबाट कहिल्यै मुक्त हुँदैन । त्यसैले अदालतमा बयान नदिउँनजेल, तँ यहाँबाट कहीँ जाने छैनस ।’ पूजा चेतावनी दिन्छे र, लक्ष्मीलाई लिएर हानिन्छे सवोच्च अदालततिर ।

‘म सबै कुरा अदालतमा भन्छु, दिदी । तर, दिदी मलाई मृत्युदण्ड नै मागिदिनुस न । ल दिदी ….म बाँच्न चाहन्न ।’ अमर यसरी ढिपी गर्छ मानौ, कानुन बनाउँने अधिकार सबै पूजाकै हातमा निर्भर छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.