तीन जना बेलायती महिलाहरूले एक वर्षअघि नेपालका दुर्गम हिमाली क्षेत्रमा पदयात्रा गर्ने योजना बनाएका थिए।
एमिली जेन कोट्स, मेरी रीप र क्याथरिन जेन विल्सनले पदयात्राका लागि भिडभाड कम भएका पदमार्ग खोजे। उनीहरू यस्तो पदमार्गको खोजीमा थिए, जहाँ होटलबाट होटलसम्म, चिया पसलबाट चिया पसलसम्मको यात्रा नहोस्।
दुर्गम र कठिन पदमार्ग खोजी गरिरहँदा उनीहरूले बेलायतमै धौलागिरि सर्किट पदयात्रा गरेर फर्किएका एक जना साथी भेटे। ती साथीले सर्किटको नक्सा, पदमार्गको अवस्था र पदयात्राको तालिका दिए।
अनि तीनै जनाले ध्यानपूर्वक अध्ययन गरे।
नेपालको कठिन पदमार्गमा पर्ने धौलागिरि सर्किटमा होटल र चिया पसल छैनन्। पाँच हजार मिटरभन्दा उच्च हिमाली भञ्ज्याङ, उपत्यका र ग्लेसियर पार गर्नुपर्ने यो पदमार्ग निकै चुनौतीपूर्ण छ। उनीहरूले बेलायतबाटै यो चुनौती स्वीकार गरे।
'हामीलाई चुनौती मनपर्छ। अन्नपूर्ण र सगरमाथा बेस क्याम्प क्षेत्र पदयात्राका लागि विश्वभर प्रसिद्ध छ तर धौलागिरि सर्किट धेरै कमले पूरा गर्छन्,' मेरीले भनिन्, 'हामीले सोच्यौं, यो फरक र रोमाञ्चक अनुभव हुनेछ।'
पदयात्रामा निस्कएको टोलीमध्ये मेरी र क्याथरिन 'विन्टर माउन्टेन लिडर' हुन्। उनीहरूले स्कटल्यान्डका हिमाली क्षेत्रमा करिब २५ वर्ष काम गरेका छन्। हिमाली मौसमको अनिश्चितताबारे उनीहरूलाई राम्रो ज्ञान र अनुभव थियो।
एमिलीले भारतको लद्दाख गएकी थिइन् भने मेरीले ७ हजार मिटरभन्दा अग्लो शिखर आरोहण गरिसकेकी थिइन्। उनीहरूका लागि हिमाल नयाँ नभए पनि धौलागिरिको वातावरण नयाँ थियो।
क्याथरिन सन् २०११ मा पहिलो पटक नेपाल आएकी थिइन्। त्यति बेला अन्नपूर्ण बेस क्याम्प पदयात्रा गरिन्। त्यसपछि खुम्बू क्षेत्रमा पर्ने बरूणत्से पदयात्रा गरेकी थिइन्।
मेरी र एमिली भने यसपालि पहिलो पटक नेपाल आएका हुन्।

धौलागिरि सर्किट पदयात्रा गर्न उनीहरू अक्टोबर १३ मा काठमाडौं ओर्लिए। ठमेलको सेक्रेड हिमालय ट्रेक्स एन्ड एक्सेपिडसन कम्पनीमार्फत उनीहरूले धौलागिरि क्याम्पिङ ट्रेक जान बेलायतबाटै बुक गरिसकेका थिए।
उनीहरूले यो पदयात्रा १६ दिनमा सक्ने योजना बनाए। तीन जना बेलायती महिला पदयात्रीका लागि नेपाली गाइड थिए दीर्घलाल लामा तामाङ।
उनको नेतृत्वमा पोर्टर (सामान बोक्ने), कुक लगायत गरी १२ जना नेपाली सहयोगी थिए। उनीहरूले १६ दिनलाई पुग्ने खाना, टेन्ट लगायत सामान बोके। अनि अक्टोबर १६ मा धौलागिरितर्फ हानिए।
पदयात्रा क्रममा उनीहरू मानवविहीन हिमाली क्षेत्र पुगे। हिमाल खुलेकाले मौसम बिग्रिएला भन्ने सोच नै आएन।
गाइड दीर्घका अनुसार, अक्टोबर २६ मा धौलागिरि बेस क्याम्प (४७५० मिटर) पुग्दा हल्का हिमपात भएको थियो। हिमालमा हिमपात पनि नौलो कुरा भएन। भोलिपल्ट, २७ अक्टोबरमा फेरि मौसम खुल्यो। घाम लाग्यो।
उनीहरू हिडन भ्याली (५१४० मिटर) तर्फ अघि बढे। साँझा त्यहीँ बस्ने निधो थियो। खाना पकाएर, खाएर टेन्टमा सुत्न लागेपछि हिउँ पर्न थाल्यो।
रातभर बाक्लो हिउँ परिरह्यो। सुरूमा उनीहरूले सामान्य नै मानेका थिए। जब हिउँ रोकिने छाँट देखिएन र टेन्ट नै पुरिएला जस्तो भयो, त्यसपछि उनीहरूको चिन्ता बढ्यो।
त्यो टिमसँग स्याटलाइट फोन, जिपिएस थियो। उनीहरूले ट्रेकिङ कम्पनीलाई निरन्तर जानकारी गराए। कम्पनीले मुस्ताङस्थित जिल्ला प्रशासन कार्यालयलाई भन्यो। पदयात्रीलाई लेक लाग्ने समस्या देखिन थालेपछि हेलिकप्टरबाट उद्धार गर्ने कुरा चल्यो। मुस्ताङका सिडिओ विष्णुप्रसाद भुसालले हेलिकप्टर पठाए। तर हिउँ र हुस्सुका कारण हिडन भ्यालीमा हेलिकप्टर अवतरण हुन सकेन।
गाइड दीर्घले टोलीलाई पैदल अघि बढ्न फकाए। हिउँ परिरहेको थियो, बाटो पुरिएको थियो। तर यसअघि ६ पटक यो सर्किट पार गरेका गाइड र नेपाली सहयोगी भएकाले बाटो अनुमान गर्दै अघि बढे।
उनीहरूको पूर्वयोजना अक्टोबर २९ मा धम्पुस पास पार गरेर याकखर्कमा बास बस्ने योजना थियो। गाइड दीर्घले नै उक्त पास २८ तारिखमै गर्न सुझाए।
याकखर्कमा बास बस्ने ठाउँ हिउँले साढे ३ फिट ढाकिएको थियो। हिउँमाथि टेन्ट टाँगे, हिउँ तताएर खाए। रातभर निदाउन सकेनन्।
भोलिपल्ट गाइडले उपाय निकाले — सक्ने सामान मात्र बोक्ने, बाँकी त्यहीँ छाडेर हिँड्ने।
'हिउँ खाएर बाँच्ने कि अघि बढ्ने भनेर सोच्दा अघि बढ्नु नै उत्तम हुन्छ भन्यौं। मैले सक्ने सामान मात्र लैजाने, अरू छाड्ने प्रस्ताव गरेँ। सबैले मान्नुभयो,' दीर्घले भने, 'पर्यटकले त पैसाको झोलादेखि अत्यन्त महत्त्वपूर्ण सामान पनि छाडेका थिए। हामीले बोकेर ल्याइदियौं।'

बंगालको खाडीबाट विकसित मोन्था चक्रवातले झनै हिमपात बढायो। विदेशी पर्यटक बेहोस जस्तै भएका थिए। बाक्लो हिमपात र हिमआँधी सामना गर्न उनीरूले हिम्मत जुटाए। तर अघि बढ्दै जाँदा उनीहरूले बाटो बिराएछन्।
'हामी यहीँ बस्यौं भने हिउँमा डुब्छौं भनेर अघि बढ्दा सास नै जाला जस्तो हिमपात र आँधीहुरी चलेको थियो,' दीर्घले भने, 'हामीले बाटो बिराएछौं। पत्ता लगाउन सकेनौं।'
उनीहरु पदमार्गभन्दा करिब २०० मिटर तल गएछन्। भिरमा हिउँको बाटो। हिउँ नभएका बेला त्यो ठाउँ पुग्ने कल्पनासमेत गर्न नसकिने दीर्घ बताउँछन्।
सोही बाटोमा हिउँ पन्छाएर टेन्ट टाँगेर बसे। अलिअलि बाँकी रहेको खानेकुरा बाँडेर खाए।
भोलिपल्ट बिहान उनीहरूले फेरि हिँड्ने सुरसार गरे। हिउँ परिरहेको थियो, अगाडि १०/१५ मिटरसम्म मात्र देखिन्थ्यो।
बाटो ठम्याउन उनीहरूले स्याटलाइट फोन र जिपिएसमार्फत कम्पनीको कार्यालयमा सम्पर्क गरे। बुझ्दा उनीहरू पदमार्ग भन्दा तल गएको थाहा पाए।
उनी फर्किएर माथि आए, तेर्सो बाटो मोडिए। केहीबेर हिँडेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले पदयात्रीलाई बाटो देखाउन गाडेको खम्बा देखे।
त्यो क्षण उनीहरूका लागि रोमाञ्चक मात्र होइन, अब बाँचिन्छ भन्ने आशाको दियो पनि बन्यो।
'एक्यापले गाडेको खम्बा भेटिएपछि हामी घर पुगे जस्तै खुसी भयौं। सबैको आँखाभरि आँशु थियो,' उनले भने।
खम्बाले देखाएको बाटो अनुसार उनीहरू ओरालो झरे। केहीबेर झरेपछि मुस्ताङबाट नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त उद्धार टोली देखे। उनीहरूको उद्धार गर्न करिब ३ दिनअघि मुस्ताङ प्रशासनले सुरक्षा टोली पठाएको थियो।
धौलागिरि पदमार्गमा आनुअघि नेपाली र विदेशी पदयात्रीले मौसमबारे बुझेका थिए। मौसम सामान्य नै रहने पूर्वानुमान विपरीत व्यापक हिमपात भएको उनीहरूले बताए।
पदयात्रीहरू मेरी, एमिली र क्याथरिनले स्याटलाइट फोनमार्फत् बेलायतमा पर्वतारोहण विशेषज्ञ टिमसँग नियमित सम्पर्क गरेका थिए। उनीहरूको स्थान र उचाइका आधारमा उताबाट मौसमबारे निरन्तर सूचना आइरहेको थियो।
'हामी एकदम दुर्गम ठाउँमा थियौं, त्यसैले मौसमबारे सही पूर्वानुमान पाउनु हाम्रा लागि धेरै महत्त्वपूर्ण थियो,' उनीहरूले भने, 'हामीले विश्वव्यापी होला भन्ठानेर नर्वेजियन मौसम पूर्वानुमान सेवा प्रयोग गरेका थियौं। त्यही अनुसार तयारी गरेका थियौं। तर पछि सबै सूचना गलत भए।'

मानवरहित हिमालमा फसेका बेला उनीहरूले परिवारलाई भने सम्पर्क गरेनन्। स्याटेलाइट फोनमा चार्ज टिकाउन विज्ञसँग मात्र सम्पर्क गर्थे।
'त्यो कठिन परिस्थितिमा नेपाली गाइड, पोर्टर र कुकले असाधारण सहयोग गरेकाले हामी सकुशल फर्किन पायौं,' क्याथरिनले भनिन्, 'धेरै पटक त अब हामी बाँच्दैनौं भन्ने भयो। तर फेरि बाँच्नै पर्छ भन्ने आत्मबल आउँथ्यो। एकले कमजोर महसुस गर्दा अर्काले सहयोग गर्यो।'
उनीहरूलाई बाटो बिराउँदाको क्षण सबभन्दा धेरै चिन्ता भएको थियो। टोलीका सबैको सहकार्यले बाँच्ने उपाय खोजे पनि बाटो बिराएपछि झन्डै आशा मरेको र परिवारलाई अब के सन्देश लेख्ने भनेर सोचेको उनले बताइन्।
'हाम्रा नेपाली साथीहरूले चिनेको बाटो देख्दा अब चाहिँ हामी बाँच्छौं भन्ने भयो,' क्याथरिनले भनिन्, 'त्योभन्दा खुसीको क्षण अर्को छैन।'
उनीहरूको उद्धारमा खटिएको सुरक्षाकर्मीको टोलीले खानेकुरा लगेको थियो। सबैले खाए। अनि जोमसोम झरे।
त्यति बेला मेरीलाई साथीहरूले भनेका थिए, 'बिरालोका नौ जीवन हुन्छन् रे, तिमीले ती सबै प्रयोग गरिसकेकी छौ। धेरै जोखिमसँग खेलेकी छौ। अब ध्यान देऊ।'
पदयात्रा सकेर फर्किएपछि उनीहरूले नयाँ जीवन पाएको अनुभव गरेका छन्। मृत्युनजिक पुगेर फर्किएको अनुभूति भएको छ। हिउँले खाएका ओठ र गाला अहिले पनि पटपट देखिन्छन्। तर उनीहरूको मुस्कान र हिमाल मोह घटेको छैन।
'अब हामी धौलागिरि सर्किट त फर्किँदैनौं। अहिलेलाई यही अनुभव काफी छ,' उनीहरूले भने, 'अर्को ट्रेक भने गर्न चाहन्छौं। धौलागिरिभन्दा सजिलो, कम उचाइका।'
उनीहरू तीन साताभन्दा बढी समय नेपाल बसेर नोभेम्बर ७ मा बेलायत फर्किँदैछन्। सँगै हिमालको सन्देश लिएर जाँदैछन्।

'हिमाललाई हल्का रूपमा लिनु हुँदैन। जलवायु परिवर्तनले सबथोक बदलिरहेको छ। मौसम छिनछिनमा बदलिन्छ। यस्तो ठाउँमा यात्रा गर्दा विशेष तयारी गर्नुपर्छ। जिम्मेवारी र एकताबिना हिमालमा ज्यान जोगाउन सम्भव छैन,' उनीहरू भन्छन्।
गाइड दीर्घ धौलागिरि जस्ता साहसिक पदमार्गमा जान चाहने पर्यटकका लागि सरकारले न्यूनतम जिम्मेवारी पनि पूरा नगरेको बताउँछन्। कम्तीमा ठाउँ ठाउँमा बाटो देखाउने र चिनाउने संकेत राखिदिनुपर्ने उनले बताए।
'विदेशीलाई परमिटका नाममा जनही ३ हजार रूपैयाँ लिने सरकारले यति सानो काम पनि गरेको छैन,' उनले भने, 'बाटो देखाउने संकेत भए हिउँले ढाकिएका बेला पनि हराइँदैन नि।'
१६ दिनमा सक्ने लक्ष्य राखिएको धौलागिरि पदयात्रा पूरा गर्न उनीहरूलाई १८ दिन लाग्यो। यो यात्रा दुःखदायी भए पनि धेरै नेपालीले रोजगारी पाउने दीर्घ बताउँछन्।
'पर्यटकले पनि होहल्ला बिना पदयात्राको वास्तविक अनुभूति बटुल्न सक्छन्,' उनले भने।
