घुमफिर रमाइलो यात्रा मात्र होइन, यसले व्यक्तिलाई मानसिक र शारीरिक रूपमा स्वस्थ राख्न पनि मद्दत गर्छ। सहरको कोलाहलबाट बाहिर निस्केर प्राकृतिक वातावरणमा रमाउँदै हिँड्नुको मजा बेग्लै हुन्छ।
साथीसंगीसँग रमाउँदै, गफिँदै हाइकिङ जानेहरूको जमात बढ्दो छ। यसरी हिँड्न मौसम र समय दुवैले साथ दिनुपर्छ।
दसैंको मौकामा धेरैलाई यी दुवै पक्षको साथ मिल्न सक्छ। काठमाडौंमा बस्नेका लागि बिदाको मौकामा हाइकिङ जान छोटो दुरीमा रहेका उपयुक्त केही गन्तव्य छन्।
यस्तै गन्तव्यको खोजीमा हुनुहुन्छ भने हामीले विभिन्न पर्यटन व्यवसायीहरूसँग कुरा गरेर सात ठाउँबारे छोटो जानकारी दिएका छौं।
बेथानचोक
धुलिखेलबाट २५ किलोमिटर र काठमाडौंबाट ५५ किलोमिटर टाढा काभ्रेको दक्षिणी भागमा रहेको बेथानचोक हाइकिङका लागि लोकप्रिय छ।
काठमाडौंबाट सिधा बसयात्रा वा काभ्रेको स्थानीय बसबाट ढुङखर्क पुगिन्छ। ढुङखर्कबाट बेथानचोक, नारायणथान पहाडको टुप्पोसम्म करिब पाँच घण्टाको यात्रा हुन्छ।
यो गन्तव्यमा एक दिनमै पुगेर काठमाडौं फर्किन सकिन्छ। सूर्योदय र सूर्यास्तका लागि पनि यो ठाउँ रमाइलो छ। यहाँ जाडोमा हिउँ पर्छ।
बल्थली
काभ्रेकै बल्थली पनि हाइकिङका लागि उपयुक्त गन्तव्यमा पर्छ। हाइकिङका क्रममा तामाङ, नेवार, बाहुन, क्षेत्री लगायत बस्ती भेटिन्छन्।
मौसमको अनुकूलताका आधारमा बल्थलीबाट लाङटाङ, गणेश, जुगल, फुर्बीघ्याचु, दोर्जेलाक्पा, गौरीशंकर, नुम्बुर, रोल्वालिंग, सगरमाथा लगायत हिमशृंखला देख्न सकिन्छ।
काठमाडौंबाट ३९ किलोमिटरको दूरीमा रहेको बल्थली पुग्न खोपासीबाट कच्ची सडक हुँदै जानुपर्छ। खोपासीबाट साढे तीन किलोमिटर दूरीमा रहेको बल्थली एक घन्टा पैदल यात्रामा पुगिन्छ।
चिसापानी
चिसापानी काठमाडौं उपत्यका नजिकैको पदमार्ग हो। हिमालय शृंखला हेर्न र प्रकृतिको आनन्द लिन छोटो पदयात्रामध्ये पर्छ चिसापानी। विशेष गरी शनिबारको फुर्सदमा काठमाडौं उपत्यकावासीको रोजाइमा पर्छ यो गन्तव्य।
यो पदयात्रा काठमाडौंको सुन्दरीजलबाट सुरू हुन्छ। काठमाडौंबाट सुन्दरीजल शिवपुरी राष्ट्रिय निकुञ्जतर्फ उकालो हिँड्नुपर्छ।
यो यात्रामा चराको चिरबिर आवाजले आनन्दित बनाउँछ। स्थानीय मानिसहरूको जीवनशैली, संस्कृति र परम्परा पनि अवलोकन गर्न पाइन्छ। चिसापानी हाइकिङको अवधि पदयात्रीको रोजाइमा भर पर्छ। सामान्यतया पाँच घण्टामा चिसापानी पुग्न सकिन्छ।
चिसापानी यात्रा दुई दिनमा गर्न सकिन्छ। पहिलो दिन काठमाडौंबाट चिसापानी र दोस्रो दिन चिसापानीबाट नगरकोट हुँदै काठमाडौं यात्रा रमाइलो हुन्छ। चिसापानीमा रात बस्न रिसोर्ट र होटलहरू छन्।
बिहानै सूर्योदय अवलोकन गर्नु यहाँको आकर्षण हो। सूर्योदय अवलोकनपछि चिसापानीबाट नगरकोटसम्मको यात्रा गर्न सकिन्छ। चिसापानी र नगरकोट दुवै लाङटाङ हिमालको चुचुरो हेर्ने उत्कृष्ट ठाउँ हुन्।
यहाँबाट गणेश, लाङटाङ, गौरीशंकर, दोर्जे लाक्पा, जुगल लगायतका हिमाल हेर्न सकिन्छ।
शिवपुरी
शिवपुरी चर्चित हाइकिङ रूट हो। काठमाडौं उपत्यकाबाट सात घण्टा हिँडेर शिवपुरी पुग्न सकिन्छ।
शिवपुरी पनि शनिबारे फुर्सदको हाइकिङ गन्तव्यका रूपमा प्रख्यात छ। अन्य सार्वजनिक बिदाको दिन यहाँ हाइकिङ जानेको भिड लाग्छ।
शिवपुरी डाँडा पुग्ने तीन वटा बाटा छन्। एउटा हो बुढानीलकण्ठबाट चेकपोस्ट र नागी मठ हुँदै, यो मार्ग धेरै चल्तीमा छ। यात्रामा बुढानीलकण्ठ मन्दिर र बौद्ध नागी गुम्बा पनि देखिन्छ।
अर्को रूट हो बुढानीलकण्ठबाट चेकपोस्ट हुँदै सिधै शिवपुरी पुग्ने, यो रूटमा उकालो सिँढी चढ्नुपर्छ। केही छोटो पनि छ।
तेस्रो रूट हो बुढानीलकण्ठबाट डाँडागाउँ, भञ्ज्याङ हुँदै शिवपुरी पुग्ने, यो रूट पहिले राजमार्गका रूपमा प्रयोग हुन्थ्यो। नयाँ राजमार्ग बनाएपछि यही बाटो हुँदै भञ्ज्याङसम्म पैदल यात्रा गर्न सकिने भएको हो। भञ्ज्याङबाट हिमाल देख्न सकिन्छ।
जंगलमा उकालो यात्रा गर्दै शिवपुरी डाँडामा पुगेपछि हिमशृंखलाहरू देखिन्छन्। चराचुरूंगी, पुतली, विभिन्न प्रजातिका वनस्पति हेर्न र जान्न पनि शिवपुरी हाइकिङ उपयुक्त मानिन्छ।
शिवपुरी हाइकिङमा विद्यालयहरूले आफ्ना विद्यार्थीलाई पनि लैजाने गरेका छन्। साथीसंगी, परिवारजन र आफन्तको साथमा पनि शिवपुरी हाइकिङ लोकप्रिय छ। शिवपुरीको चुचुरोबाट गणेश हिमाल, लाङटाङ, लिरूङ, गञ्जला चुचुरो, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल देख्न सकिन्छ।
मणिचुड
मणिचुड हाइकिङ युवापुस्ता माझ लोकप्रिय छ। यहाँको मुख्य आकर्षण मणिचुड दह हो। काठमाडौंबाट मणिचुड हाइकिङका दुई वटा रूट छन्। सार्वजनिक वा निजी सवारीमार्फत साँखुसम्म पुग्न सकिन्छ। त्यहाँबाट दुई किलोमिटर परको बज्रबाहिनी मन्दिर पुगेपछि सुरू हुन्छ पदयात्रा।
अर्को रूट चाबहिलबाट थली, इन्द्रायणी चोक हुँदै गागलफेदी पुगेर सुरू हुन्छ। गागलफेदी बजार हुँदै पैदलयात्राबाट मणिचुड पुग्न सकिन्छ। साँखु वा गागलफेदी जुन रूटबाट गए पनि हुन्छ।
हाल सहिदपार्कसम्मको सडक पिच भएको छ।
मणिचुडबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, स्वयम्भू डाँडा, मनोहरा नदीको बायाँतिर भक्तपुरको दृश्य र महामञ्जुश्री डाँडा देख्न सकिन्छ।
जमाचो
छोटो र रमाइलो पदयात्रा खोज्नेहरूका लागि नागार्जुन डाँडा हाइकिङ (जमाचो पिक हाइकिङ) उत्कृष्ट गन्तव्य बन्न सक्छ।
शिवपुरी राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने नागार्जुन वनभित्र अवस्थित जमाचो पिक (२,१२८ मिटर) काठमाडौं उपत्यकाको दोस्रो अग्लो डाँडा मानिन्छ।
बालाजुबाट यो हाइकिङ सुरू हुन्छ। जमाचो जान निकुञ्जमा प्रति व्यक्ति एक सय रूपैयाँको टिकट लिनुपर्छ।
जंगल हुँदै उकालो लाग्ने यो बाटो ढुंगाका सिँढीमा चढ्दै माथि जान सकिन्छ।
डाँडाको टुप्पोमा पुग्दा सानो गुम्बा अवलोकन गर्न सकिने र मौसम खुलेको दिनमा लाङटाङ हिमशृंखलाको मनमोहक दृश्य देखिन्छ।
चम्पादेवी
काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम डाँडामा अवस्थित चम्पादेवी हाइकिङ छोटो समयमै रमाइलो अनुभव लिन चाहनेहरूका लागि उपयुक्त गन्तव्य हो।
२,२८५ मिटर उचाइमा रहेको चम्पादेवी डाँडा काठमाडौं उपत्यकाको तेस्रो अग्लो डाँडा मानिन्छ। हिन्दु र बौद्ध धर्मावलम्बीहरूका लागि यो एक महत्त्वपूर्ण तीर्थस्थल समेत हो।
जंगल हुँदै गरिने यो पदयात्रा अप्ठ्यारो छैन। करिब दुई घण्टाको सहज उकालोपछि डाँडाको टुप्पोमा पुगिन्छ। यहाँबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्न सकिन्छ। मौसम खुलेको दिन लाङटाङ हिमशृंखला मात्र नभई मध्य र पश्चिम नेपालको हिमाली भागसमेत प्रस्टै देख्न सकिन्छ।
छोटो समयमा पूरा गर्न सकिने भएकाले चम्पादेवी हाइकिङ काठमाडौं वरपरको उत्कृष्ट एकदिने पदयात्रा मानिन्छ।
हाइकिङ जाँदा तयारी खानेकुराहरू र पर्याप्त पानी बोक्नुपर्छ। ह्याट वा क्याप, चस्मा र हिँड्न सजिलो हुने जुत्ता लगाउनुपर्छ। मौसम अनुसारको ज्याकेट बोक्न भुल्नु हुँदैन।