पोखराको पर्यटकीय केन्द्र लेकसाइडका पर्यटन व्यवसायीले शान्ति सुरक्षाका लागि 'एरिया रक्षक टोली' गठन गरेका छन्।
पोखरा पर्यटन परिषदको अगुवाइमा पर्यटकीय क्षेत्रमा आक्रमण एवं अराजकता हुन नदिन रक्षक टोली गठन गरेको हो। टोलीले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरेर शान्ति सुव्यवस्था राख्न सघाउ पु¥याउने परिषदका अध्यक्ष तारानाथ पहारीले बताए।
मंगलबार प्रदर्शनकारीले लेकसाइडको बरपिपल रिसोर्ट, मन्त्र थकाली, होटल आडम, सरोबर रिसोट, बगैचा रिसोर्ट, होटल गुडविल र अंशुभर्माको भवन जलाउनका साथै तोडफोड गरेका थिए। पर्यटक बसिरहेका होटल तोडफोड र आगजनी गर्दा पर्यटन क्षेत्रमा नराकात्मक असर पुगेको भन्दै व्यवसायीले रक्षक टोली गठन गर्नुपरेको अध्यक्ष पहारीले बताए।
‘अराजक र उच्छृङ्खल भिडले लेकसाइडका पर्यटकीय संरचनामा पनि आक्रमण गरे, लुटपाट र आगजनी गरे,’ उनले भने, ‘त्यस्ता व्यक्ति र समुह आज पनि देखियो भने सुरक्षाकर्मीलाई खबर गर्ने र तिनीहरुको निरिक्षण गर्न हामीले रक्षक टोली गठन गरेका हौं।’
उनका अनुसार लेकसाइडमा विभिन्न व्यवसायिक संस्थाका अध्यक्ष र प्रतिनिधी राखेर यस्तो समिति गठन गरिएको हो। उनीहरुलाई आफ्नो टोलमा निरन्तर निरीक्षण गर्न पनि भनिएको पहारीले बताए।
मंगलबार प्रदर्शनकारीबाट भएका आक्रमणले पर्यटन क्षेत्रमा नकारात्मक असर परेको पनि बताए। पर्यटकीय सिजनको सुरुमै भएको यस्ता आक्रमणले पर्यटक फर्किन थालेको र बुकिङ पनि रद्द गर्न थालेको उनले बताए।