‘सुर्खेत बुलबुले ताल, माया मै सानो हुनाले छुट्यो माया जाल’
तीसको दशकमा प्रेमदेव गिरीको शब्दमा कमला श्रेष्ठले स्वर भरेकी रेडियो नेपालमा रेकर्ड भएको यो गीत कालान्तरमा सुर्खेतको पहिचान बन्यो।
यो एउटै गीतले सुर्खेतलाई एकै पटक देशभर चिनायो। मोबाइल, इन्टरनेट र सामाजिक सञ्जाल नहुँदा पनि रेडियोमार्फत् सुर्खेत बुलबुले तालको नाम जनजनका मनमनमा पुगेको थियो।
एउटा गीतमा कोरिएको सामान्य शब्द र त्यसमा मिसिएको लयमात्रै पनि सन्देश प्रवाहका लागि कति महत्वपूर्ण हुन्छ उदाहरण यो गीत बनेको थियो अहिले सुर्खेत पुग्ने जो कोहीको ‘बकेट लिस्ट’मा बुलबुले ताल सुरूको नम्बरमा हुन्छ।
करिब ५० वर्षअघि रेकर्ड भएको त्यो गीतपछि बुलबुले ताललाई लिएर कैयौँ गीत बने। विसं २०६२ मा चलचित्र बन्धकीको एउटा गीत यहीँ छायांकन गरियो। तर त्यसयताका वर्षमा संरक्षण नहुँदा अस्तित्व गुमाउने अवस्थामा पुगेको बुलबुले उद्यानले पछिल्लो समय तालमा मोटरबोट सञ्चालनमा भएपछि यसले पुनःजीवन पाएको छ।
विसं २०२९ सालमा राजा वीरेन्द्रको भ्रमणपछि बुलबुले तालको विशेष संरक्षण सुरू गरिएको थियो। सुर्खेतको प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने यो क्षेत्र मानिसका लागि प्रकृतिमा रमाउने गन्तव्यमात्रै नभइ चराचुरुंगीको बासस्थान पनि हो।
वीरेन्द्र नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी)का अनुसार बुलबुले तालमा मोटरबोट सुरू भएपछि यहाँको पर्यटकीय विकास मात्रै भएको छैन, यसले यहाँको आर्थिक गतिविधि पनि चलायमान बनाएको छ।
'बुलबुले ताल यहाँको पहिचान हो, सुर्खेत नआउनेहरूले पनि बुलबुले ताल सुनेका छन्, त्यसैले यहाँ आउने जो कोही पनि एकपटक बुलबुले ताल पुग्छन्,’ उनले भनिन्।
नगरप्रमुख ढकालका अनुसार विगतका वर्षमा बुलबुले ताल परिसरबाट मुस्किलले रु २५ लाख राजस्व संकलन गर्ने गरेकामा अहिले त्यो झण्डै एक करोडको हाराहारीमा पुगेको छ।
‘पहिलो बुलबुले ताल परिसरमा जानेहरूसँग टिकट बिक्रीबाट मात्रै राजस्व सङ्कलन हुन्थ्यो भने अहिले मोटरबोटबाट वार्षिक रु १३ लाख, फोटो खिच्नेहरूबाट बोलकबोल प्रक्रियामार्फत वार्षिक रु १२ लाख आम्दानी भइरहेको छ,’ उनले भनिन्, ‘त्यसबाहेक मोटरबोट सञ्चालनमा आएकै कारण त्यहाँ जानेहरू बढेका छन्, यसबाट कैयौँ युवाहरूका लागि रोजगारी पनि सृजना भएको छ।’
जमिन मुनिबाट बुलबुले गर्दै पानी आउने भएकाले यसको नाम बुलबुले ताल रहनगएको यहाँका जानकार बताउँछन्। मानिसहरू यही पानीमा नुहाउन र कपडा धुन थाले। पानी जम्मा हुँदै गएपछि नजिकै पोखरी बन्यो। मानिसहरू यही पोखरी हेर्न आउन थालेपछि भने फोहोर पनि बढ्दै गयो। संरक्षणको अभावमा पोखरीमा पानीभन्दा बढी फोहोर थुप्रियो। झारहरु पलाए भने पोखरीको अस्तित्व नै मेटिने अवस्थामा पुग्यो। सरकारी स्तरबाट पटक संरक्षणको प्रयास भए पनि यसले पुनःजीवन पाउन सकेन।
नगरप्रमुख ढकाल बुलबुले उद्यानलाई संरक्षण गर्दै यसको विकासमा काम गर्न लागिएको बताउँछिन्। अहिले नुहाउने र कपडा धुने ठाउँलाई अन्यत्रै सार्ने योजना बनाइएको छ भने नजिकै पिकनिक स्थल पनि बनाइनेछ।
संरक्षणको अभावमा अस्तित्व नै संकटमा परिसकेको अवस्थामा बोटेबोरा कम्पनीका सञ्चालक बीबी ढकालले यहाँ मोटरबोट सञ्चालन गर्ने योजना बनाएका थिए। त्यसअघि नारायणी नदी, नेपालगञ्ज लगायतका स्थानमा मोटरबोट सञ्चालन गरिसकेको अनुभवी ढकालले बुलबुले ताललाई संरक्षण गर्दै मोटरबोट सञ्चालनको योजना बनाएका थिए। उनले यसका लागि त्यहाँ जनप्रतिनिधि र सरोकारवालासँग कुराकानी गरे। उनीहरूबाट सकारात्मक जबाफ प्राप्त भएपछि मात्रै ढकालले ताल सफा गर्नतर्फ लागेका थिए।
‘सुरूमा डोजरको प्रयोग गरी सफा गर्ने प्रयास भयो, तर काम लागेन, कैयौँ पटक प्रयास गर्दा पनि पोखरी सफा गर्ने अवस्था बनेन,’ उनले सुरूआती दिन सम्झँदै भने, ‘केही सीप नलागेपछि म आफै पोखरीभित्र पसेर फोहोर बाहिर निकाल्न थालेँ, त्यसपछि पोखरी सफा गर्ने आइडिया फुर्यो।’
सञ्चालक ढकालका अनुसार लामो समय ‘डेड लेक’ का रूपमा रहेको यो ताल अहिले ‘भाइब्रेन्ट’ भएको छ।
‘ताल सफा गर्नका लागि एक हजार ८६० जना व्यक्तिको श्रम खर्च भएको छ, अहिले सरर मोटरबोट चलिरहेको ताल देखिए पनि त्यो बेला यस्तो हुन्छ भन्ने कल्पना नै थिएन, हामी सुरूआती समयमा अनिश्चिततामा लगानी गरिरहेका थियौँ,’ ढकालले भने।
बोटेबोरा कम्पनीले आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सञ्चालनमा ल्याएको हो। कम्पनीले बुलबुले तालमा मोटरबोट सञ्चालन गरेबापत वीरेन्द्रनगर नगरपालिकालाई वार्षिक रु १३ लाख बुझाउने सम्झौता गरेको छ। तालमा अहिले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनीले निर्माण गरेको ११ सिटे दुई वटा फिस्टेल ब्रान्डका मोटरबोटमार्फत सेवा दिइरहेको छ।
नगरपालिकाले बुलबुले तालमा मोटरबोट सञ्चालनका लागि बोलपत्र आह्वान गरेको थियो । जसमा ढकालको कम्पनी छनोट सूचीमा दोस्रो नम्बरमा थियो। पहिलो नम्बरको कम्पनीले आवश्यक कागजपत्र बुझाउन नसकेको र मोटरबोट सञ्चालनको अनुभव पनि नभएपछि बोटेबोराले अनुमति पाएको ढकालको भनाइ छ। रासस