कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा ६० जनाको समूह होमस्टे बस्न जाँदा गाउँलेले पञ्चेबाजासहित फूलमालाले स्वागत गर्छन्। स्थानीय सांस्कृतिक कार्यक्रम देखाउँछन्। रैथाने परिकारको स्वाद त एक्लाएक्लै गए पनि पाक्छ।
नवलपुरको पिप्रहर सामुदायिक होमस्टेमा १० जनाको समूहलाई चितवन राष्ट्रिय निकुञ्चभित्र १४ हजार र समुदायिक वन क्षेत्रमा घुम्न ७ हजारको प्याकेज छ। थारू समुदायको बाहुल्य पिप्रहरमा मगर, ठकुरी र गुरूङको पनि होमस्टे छ। प्याकेजमा स्थानीय थारू संस्कृति र मगर संस्कृति सामुदायिक भवनमा देखाइन्छ।
नेपालकै पहिलो होमस्टे स्याङ्जाको सिरूवारीमा १५ जनाको समूहलाई पञ्चेबाजा र फूलमालासहित स्वागत गरिन्छ। जनही १४ सय रुपैयाँ प्याकेजमा सिरुवारीको स्थानीय सांस्कृतिक कार्यक्रम, गाउँ पुग्ने बित्तिकै सामान्य खाजा, साँझको खाना, २ गिलास लोकल रक्सी, बास र विहानको नास्ता पनि समावेश छ।
-1748090162.jpg)
पोखरामा शुक्रबारदेखि आयोजना गरिएको ‘होमस्टे मार्ट’ मा गण्डकी प्रदेशका २७ वटा होमस्टे गाउँले आ–आफ्ना प्याकेज बेचिरहेका छन्। पर्यटक आकर्षण गर्न उनीहरूले फरक भूगोल, संस्कृति र स्थानीय उत्पादन प्याकेजमा समावेश गरेका छन्। केही होमस्टका सञ्चालकले गाउँमा उत्पादिन खाद्यान्न र हस्तकलाका सामग्री पनि स्टलमा राखेर व्यवसायीको मन जितिरहेका छन्।
थरीथरीका होमस्टे
लमजुङको पसगाउँ सामुदायिक होमस्टेको स्टलमा राखिएको स्थानीय उत्पादनमा दर्शकको घुइँचो छ। पसगाउँमा उत्पादन भएका मह, घ्यु, न्युरो, टिमुर, सिलटिमुर, आँगा चामल, कागुनो, राडीपाखी, अलैंची, भट्टमास लगायत राखिएका छन्। यसका अलवा लेकाली निउरो, च्याउको गुन्द्रुक र सिस्नोको धुलोमा पनि दर्शक अडिएका छन्।
गाउँमा परम्परादेखि उत्पादन हुँदै आएका खाद्यान्नदेखि भेडाको उनबाट राडीपाखी बुन्ने परम्परा पनि जीवित राखेको पसगाउँ सामुदायिक होमस्टेका सहसचिव भक्त गुरूङले बताए।
‘सुखदु:ख जे भए पनि पुर्खाले गर्दै आएका खेतीपाती, भेडाको ऊन र अल्लोबाट राडीपाखी बुन्ने परम्परा हामीले जोगाएका छौं,’ उनले भने, ‘गुरूङ गाउँको संस्कृति, उत्पादन र रहनसहन हेर्न पसगाउँ आउनुहोस्।’
पसगाउँको स्टलमा पोखरेली पर्यटन व्यवसायीले स्थानीय उत्पादन र राडीपाखी किनिरहेका छन्। २ दिने होमस्टे मार्टमा प्रदर्शन गर्न ल्याएको स्थनीय उत्पादनका सामग्री एकै दिनमा बिक्री हुने अवस्था आएपछि कतिपय सामग्री शनिबार मात्र बेच्ने निर्णय गरेका छन्।
पोखराबाट निजी सवारीमा २ घण्टा र सार्वजनिक बसमा ५ घण्टामा पसगाउँ पुग्न सकिन्छ। स्टलमा राखिएका सबै सामग्री गाउँमा प्रशस्त पाइने भन्दै गुरूङले पोखरेली व्यवसायीलाई पसगाउँ घुम्न निम्ता दिए।
मुस्ताङको जोमसोमपारि ठिनी गाउँमा खोलिएको थकाली सामुदायिक होमस्टेले पनि गाउँमै उत्पादन भएको फापरको बिस्कुट, झिनिया लगायत प्रदर्शनमा राखेका छन्। मुस्ताङ घुम्न जानेहरू थकाली होमस्टेमा बास बस्दा स्थानीय रहनसहन, संस्कृति र परिकारको स्वाद चाख्न पाउने होमस्टे व्यवसायी लक्ष्मण थकालीले बताए।
‘मुस्ताङको संस्कृति बुझ्न होमस्टेमा बास बस्नुपर्छ,’ उनले भने, ‘थकाली समुदायको जीवनपद्धति र परिकार चाख्न पनि होमस्टे आउनुहोस्।’
जोमसोमबाट हिँडेर २० मिनेट र गाडीमा ५ मिनेटमा थकाली होमस्टे पुग्न सकिने उनले जानकारी दिए। ठिनीमा ५ घरबाट सुरू भएको थकाली होमस्टे अहिले १२ घरमा विस्तार भएका छन्। होमस्टेमा एकैदिन ७० जना पाहुना राख्न सकिने थकालीले बताए।
-1748090164.jpg)
गण्डकी प्रदेशको तराईंमा पर्ने नवलपुरको देवचुली नगरपालिका–१७ को पिप्रहर सामुदायिक होमस्टेले पनि मार्टमा सहभागिता जनाएका छन्। थारू बाहुल्य पिप्रहरमा मगर, ठकुरी र गुरूङको घरमा पनि होमस्टे सञ्चालन गरिएको सामुदायिक होमस्टेका अध्यक्ष चन्द्रमाया महतोले बताइन्।
‘पिप्रहरको १५ घर थारु, ३/३ घर मगर र ठकुरी अनि एउटा गुरूङको घरमा होमस्ट चलाएका छौं,’ उनले भनिन्, ‘हाम्रो गाउँ घुम्न आउने पर्यटकले थारू र मगर संस्कृति एकै ठाउँमा देख्न पाउनुहुन्छ।’
पिप्रहरमा भने तराईमा उत्पादन हुने स्थानीय उत्पादन खान पाइने उनले बताइन्।
हाँसको छोइला, लोकल कुखुरा र माछाका परिकार पर्यटकले मन पराएको उनको अनुभव छ।
पोखराको होमस्टे मार्टमा पहाड र हिमाली क्षेत्रका होमस्टे व्यवसायीसँग दु:खसुख साटासाट गर्न पाएकोमा उनले महतोले खुसी व्यक्त गरेकी छन्।
‘हामी जहाँ बसे पनि होमस्टे व्यवसायी छिमेकी हुन्, हाम्रो संस्कृति फरक भए पनि व्यवसाय उस्तै हो,’ उनले भनिन्,‘पोखरामा पिप्रहरको प्रचारप्रसार गर्न पायौं, पोखराका पर्यटकलाई पिप्रहरमा स्वागत छ भनेका छौं।’
नेपालमा पहिलो पटक होमस्टे व्यवसाय सुरूआत भएको स्याङ्जाको सिरूवारीबाट हो। सिरूवारीबाट सिकेर गण्डकीमा मात्र होइन, देशका विभिन्न ठाउँमा अहिले होमस्टे व्यवसाय फस्टाइरहेका छन्। सिरूवारी होमस्टेको स्टलबाट नारायण गुरूङ र उनका छोरी प्रिया गुरूङले सिरूवारीको प्याकेज मात्र होइन, सिरूवारी होमस्टेका आरोह–अवरोह पनि अरू व्यवसायीमाझ साझा गरेका छन्।
‘सिरूवारीका विषयमा त भन्नै परेन, यहाँ आउनुभएका धेरैजना सिरूवारी घुमिसक्यौं भनेका छन्,’ नारायणले भने, ‘सिरूवारीबाट अरू होमस्टेले अझै पनि अरू होमस्टेले सिकिरहेका छन्।’
हिमालपारि मनाङमा मोटरबाटोले पदमार्ग सखाप पारिरहेका बेला खुलेको ओडार होमस्टेले पनि पर्यटक बोलाउन स्टल राखेका छन्। नासों गाउँपालिका–४ ओडार होमस्टेको स्टलमा व्यवसायी शर्मिला गुरूङ र रेजिना गुरूङले थोराङपास र तिलिचो ताल घुम्न जाने पर्यटकलाई लक्षित गरेर होमस्टे चलाएको बताएका छन्।
‘ओडार गाउँ मोटरबाटाबोट अलिकति माथि छ, जहाँ मनाङको प्रकृति र संस्कृति देखिन्छ,’ शर्मिलाले भनिन्, ‘हाम्रो गाउँमा लेकमा फुल्ने लालीगुराँस र अरू फूलहरू छन्। मनाङको स्थानीय उत्पादन मात्र पर्यटकलाई खुवाउँछौं।’
पदमार्ग वरिपरि रहेका गाउँहरूले स्वदेशी मात्र होइन, विदेशी पर्यटकलाई पनि उत्तिकै आकर्षित गरिरहेको छ। यसको एउटा नमूना हो, स्याङ्जाको पुतलीबजार–९ कोल्मामा रहेको सामुदायिक होमस्टे।
मिलेनियम पदमार्गमा जोडिएको कोल्मा गाउँमा होमस्टे सञ्चालनमा आएपछि पर्यटक पनि आउन थालेको होमस्टेकी कोषाध्यक्ष पूर्णिमा गुरूङले बताइन्। कोल्मामा अहिले १० घरमा होमस्टे सञ्चालनमा रहेको भन्दै उनले बढ्ने क्रममा रहेको बताइन्। कोल्मा पुग्नेहरू फेरि फर्केर आउने गरेको अनुभव उनले साझा गरिन्।
‘कोल्मा गाउँ मिलेनियम पदमार्गमा जोडिएकाले विदेशी पाहुना धेरै आउँछन्। तपाईंहरू हाम्रो गाउँ घुम्न जानुभयो भने फेरि फर्केर आउनुहुन्छ,’ उनले भनिन्।
कोल्मा गाउँबाट अन्नपूर्ण, धौलागिरी र मनास्लु हिमश्रृङ्खला प्रष्ट देखिन्छ। कोल्मा पुग्न पुतलीबजारबाट गाडीमा ३० मिनेट र हिँडेर २ घण्टा लाग्ने गुरूङले बताइन्।
लमजुङको ऐतिहासिक गाउँ सहर दरबारमाथि खुलेको काउलेपानी सामुदायिक होमस्टे लमजुङको घलेगाउँ जस्तै प्रख्यात छ। बाइसे चौबिसे राज्यकालको लमजुङ दरबार घुमेर बास बस्न पुगिने काउले पानीमा गुरूङ र मगर समुदायको संस्कृति देख्न पाइन्छ।
काउले पानी होमस्टेले पनि पाहुनालाई खुवाइने ढिडो र बोडीको तरकारी, मकै, भट्टमास, झिनिया, रायोको साग, कन्या च्याउको सुकुटी, सिस्नोको धुलो र कोदोको स्थानीय रक्सी स्टलमा प्रदर्शन गरेका छन्।
काउलेपानी सामुदायिक होमस्टेका अगुवा देव गुरूङले स्टल भ्रमण गर्नेहरूले काउलेपानी गाउँ आउने भन्दै ब्रोसर, फोन नम्बर, प्याकेजको मूल्य र आउजाउ गर्न बाटोका बारेमा जानकारी लिएको बताए।
‘हाम्रो स्टलमा राखिएका स्थानीय उत्पादनले पोखराका व्यवसायीको मन जितेको छ,’ उनले भने, ‘यहाँ जति मानिस हाम्रो स्टल आउनुभयो, उहाँहरू एकपटक काउलेपानी घुम्न आउँछौं भन्नुभएको छ।’
लमजुङको बेसीशहरबाट हिँडेर डेढ घण्टा र गाडीमा आधा घण्टामा पुग्न सकिने काउलेपानीबाट पदयात्रा गर्दै अर्को पर्यटकीय गाउँ पुरानकोट पुग्न सकिन्छ। गुरूङ बाहुल्य पुरानकोटमा पनि स्थानीय संस्कृति, प्रकृति र स्थानीय उत्पादन मात्र पाहुनालाई खुवाउने गरिएको पुरानकोट सामुदायिक होमस्टेकी कन्याकाशी गुरूङले बताइन्।
-1748090163.jpg)
कास्कीको पर्यटकीय गाउँ सिक्लेसका होमस्टमा बास बस्न सिजनका बेला अग्रिम बुकिङ गर्नुपर्छ। विशेषगरी कात्तिक, मंसिर र पुस महिनामा सिक्लेसका होमस्टे मात्र होइन, होटल पनि भरिभराउ हुन्छ। अरू बेला पनि शुक्रबार र शनिबार पाहुनाको घुइँचो लाग्ने सिक्लेस सामुदायिक होमस्टेकी अध्यक्ष टाइमैया गुरूङले बताइन्।
‘सिक्लेसमा सिजनका बेला पहिले नै बुकिङ गरेर आउनुपर्छ, नत्र व्यवस्थापन गर्न समस्या पर्छ,’ उनले भनिन्, ‘अरूबेला पनि शुक्रबार र शनिबार पाहुनाको घुइँचो लाग्छ।’
सिक्लेसबाट कफुचे हिमताल र कोरी पदयात्रा जानेहरू पनि अत्यधिक आउने गरेको भन्दै उनले होमस्टे मार्टमा सहभागीहरूले अब होमस्टेमै बास बस्ने गरी आउने बाचा गरेको बताइन्।
‘यहाँ आउनुभएका धेरैजसो सिक्लेस आइसक्नुभएको रहेछ, तर उहाँहरू होटलमा बास बस्नुभएको रहेछ,’ उनले भनिन्, ‘अब होमस्टेमा बस्ने गरी सिक्लेस आउँछौं भन्नुभएको छ।’
पोखराबाट डेढ घण्टामा मोटरबाटोमार्फत् पुग्न सकिने सिक्लेस गाउँ कास्कीको सबभन्दा ठूलो गुरूङ गाउँ हो। सिक्लेसमा रहेको संग्रहालय, गुरूङ संस्कृति र प्रकृतिले पर्यटकको मन जितेको गुरूङले बताइन्।
उत्पादन बढाउन र गुणस्तरीय सेवा दिन सुझाव
होमस्टे मार्ट घुमेका पोखराका नर्थ नेपाल ट्राभल एण्ड ट्रेक्स कम्पनीका सञ्चालक मोहनराज भण्डारीले एकै ठाउँमा गण्डकीका गाउँहरूका बारेमा जानकारी पाएको बताए। पर्यटकलाई हिमाल र लालीगुराँस मात्र नभएर स्थानीय संस्कृति र उत्पादन पनि उत्तिकै महत्वपूर्ण भएको उनले बताए।
‘हाम्रो काम नै यस्तै गाउँहरूमा पर्यटक घुमाउने हो,’ उनले भने, ‘पर्यटकले हिमाल र लालीगुराँस मात्र भनेर पदयात्रा गरेका हुँदैनन्। यहाँका रहनसहन, संस्कृति र स्थानीय उत्पादनका विषयमा पनि सोधखोज गर्छन्।’
होमस्टे मार्टमा प्रदर्शनमा राखिएका स्थानीय उत्पादन खरिद गरेका उनले गाउँले जीवन र गाउँका उत्पादनबारे सहरमा हुर्किएका पुस्तालाई पनि जानकारी भएको बताए।
अर्का पर्यटन व्यवसायी रमेशराज अधिकारीले गण्डकीका विभिन्न गाउँका विभिन्न जातजाति र समुदायले चलाएका होमस्टेका बारेमा एकै थलोमा जानकारी पाएको बताए। हामस्टे मार्ट घुमेपछि उनले साथीहरूसँग सल्लाह गरेर घुम्न जाने योजना पनि बनाएका छन्।
‘मलाई हरियाली मन पर्छ, यतिबेला लेकका गाउँहरू हरियाली भएका छन्। पाटनमा फूल फुल्ने सिजन सुरू भयो,’ उनले भने, ‘राम्रो होमस्टे छनोट गर्न यो होमस्टे मार्टले सहयोग गरेको छ।’
पोखराका वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले होमस्टेमा जाने पाहुनाले स्थानीय उत्पादन चाख्न पाउनुपर्ने बताए।
गाउँबाट युवा पलायन रोक्न होमस्टेमार्फत् पर्यटन प्रवर्द्धन, गुणस्तरीय सेवा र कृषि उत्पादनमा सरकारले लगानी गर्नुपर्ने उनको जोड छ।
‘होमस्टेमा हस्पिटालिटी र कृषि उत्पादनको तालिम दिनुपर्ने देखिन्छ। गाउँ जाने पर्यटकले सहरबाट लगेको खाना खान रूचाउँदैन,’ उनले भने, ‘गुणस्तरीय सेवा र स्थानीय उत्पादन बढाउन सकियो भने होमस्टे पर्यटन दिगो हुन्छ र होमस्टेबाट भएको आम्दानी गाउँमै अडिन्छ।’
-1748090163.jpg)
गाउँमा होमस्टे व्यवसाय चलाइरहेका सामुदायिक होमस्टेका व्यवसायी र पोखराका पर्यटन व्यवसायीबीच सहकार्य गराउन होमस्टे मार्ट आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले बताए।
होमस्टे मार्टले पोखराको पर्यटन व्यवसायीलाई नयाँ गन्तव्य छनोट गर्न सहज हुने र गाउँका व्यवसायीलाई आफ्नो होमस्टेका बारेमा सहरका व्यवसायीलाई जानकारी गराउने अवसर मिलेको उनले बताए।
‘होमस्टेका व्यवसायी र पोखराका व्यवसायीबीच सहकार्य होस् भनेर होमस्टे मार्ट आयोजना गरेका हौं,’ उनले भने, ‘पोखरा आउने पर्यटकलाई गाउँ पठाउन सकियो भने पर्यटकको बसाइँ पनि लम्बिन सक्छ, अर्थतन्त्रलाई पनि फाइदा पुग्न सक्छ।’
होमस्टे मार्टको उद्घाटन गर्दै गण्डकीका पर्यटनमन्त्री मित्रलाल बस्यालले ग्रामिण पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारले लगानी गर्ने बताए। यसका लागि उपयुक्त योजना र सुझाव दिन पनि उनले व्यवसायीसँग आग्रह गरेका छन्।
‘हामी आगामी वर्षको बजेट बनाउँदैछौं, ग्रामीण पर्यटन प्रवर्द्धन गर्नु नै हाम्रो उद्देश्य छ,’ उनले भने, ‘बजेटमा कस्ता कार्यक्रम राख्ने तपाईंहरू पनि सुझाव दिनुहोस्।’
नेपाल पर्यटन बोर्ड गण्डकीको आयोजना एवं गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)को सह–आयोजनामा भएको होमस्टे मार्टमा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा पर्यटन परिषद र होमस्टे फेडेरेसन नेपालले सहकार्य गरेका छन्।
पोखरा आउने पर्यटकलाई गाउँ गाउँ पुर्याएर पर्यटकको बसाइँ लम्ब्याउन र ग्रामीण पर्यटनको प्रवर्द्धन गर्न होमस्टे मार्ट आयोजना गरिएको भिटोफ गण्डकीका अध्यक्ष शोभा सापकोटाले बताइन्।
‘गाउँ-गाउँमा पर्यटन प्रवर्द्धन गर्न सकियो भने सहर बजारमा पनि पर्यटकको चाप बढ्न सक्छ,’ उनले भनिन्, ‘पोखरा आउने पर्यटक गाउँसम्म पुग्न सके भने पर्यटकको पनि बसाइँ लम्बिन्छ, गाउँका मानिसले आयआर्जन गर्न सक्छन्।’
कार्यक्रममा डा. रामजी शर्माले गण्डकीका प्रदेशमा गाउँ पर्यटनका अवसर र चुनौती विषयक कार्यपत्र पेस गरेका थिए। होमस्टे मार्टमा ग्रामीण पर्यटनसँग जोडेर विभिन्न विषयमा अन्तर्क्रिया समेत आयोजना गरिएको छ।
-1748090162.jpg)
-1748090162.jpg)
-1748090162.jpg)
-1748090163.jpg)
-1748090162.jpg)