धौलागिरि हिमालको छायामा हुर्किएका प्रेमबहादुर कुँवर अवसर र रोजगारीका खोजीमा देशविदेश भौंतारिए। जहाँ गए पनि उनी अडिन सकेनन्।
अन्ततः आफ्नै आँगनबाट देखिने धौलागिरि वरिपरि पर्यटक लिएर घुम्न उनले रमाइलो मानेका छन्।
'हामीले यहाँको सम्भावना देखेनौं। ट्रेकिङ शेर्पाले मात्र गर्ने हो भनेर म बाहिर बाहिर भौंतारिएँ,' उनले भने, 'अहिले आफ्नै गाउँठाउँ बनाऊँ भनेर लागेको छु। पर्यटन भनेको पनि त सेवा नै हो।'
विगत २४ वर्षअघि पर्यटक गाइड बनेका कुँवरले अहिले पोखरामा कर्म ट्रेक्स एन्ड एड्भेन्चर विथ प्रपोज प्रालि चलाएका छन्।
ट्रेकिङ कम्पनीबाट पाएको फाइदा सामाजिक काममा खर्च गर्छन्। पर्यटन व्यवसाय थालेदेखि नै उनी धौलागिरि पछाडि परेको अनुभव गरिरहेका छन्।
'हाम्रो धौलागिरि छायामा पर्यो। सगरमाथा, अन्नपूर्ण र मनास्लु संरक्षण क्षेत्र भएर पनि त्यहाँ जाने पर्यटक धेरै भए,' उनले भने, 'धौलागिरि संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने कोही भएन।'
ट्रेकिङ व्यवसायी कुँवरका अनुसार धौलागिरि आसपास अहिले चार वटा पदमार्ग छन्। यी पदमार्गमा नेपाली भन्दा धेरै विदेशी गइरहेका छन्। अन्नपूर्ण र मनास्लुमा जस्तो सुविधा र प्रवर्द्धन गर्न सके धौलागिरिले काँचुली फेर्ने उनको विश्वास छ।
धौलागिरि पदमार्गमा सबभन्दा लामो रूट भनेको धौलागिरि फेरो हो। यो म्याग्दीबाट सुरू भएर मुस्ताङ निस्किन्छ। धौलागिरि सर्किट पूरा गर्न २३ दिन लाग्छ। यो सर्किट अरू भन्दा जोखिमपूर्ण भएको उनले बताए।

धौलागिरि बेस क्याम्प र धौलागिरि आइसफल ट्रेक पनि चल्तीमा छ। बेस क्याम्प पुगेर फर्किन १२ दिन लाग्छ भने आइसफल पुगेर फर्किन ८ दिन। अर्को गुरिल्ला पदमार्ग अन्तर्गत पर्छ जुन म्याग्दीको मुनाबाट सुरू हुन्छ। अनि धारापानी ताकम हुँदै म्याग्दीकै जलजला भएर बागलुङ हुँदै रूकुम जोडिन्छ।
अन्नपूर्ण, मनास्लु लगायत विभिन्न हिमाल वरिपरि पर्यटक लिएर घुमेका ठाउँ भन्दा धौलागिरि वरिपरिका पदमार्ग राम्रो लाग्छ कुँवरलाई। बेलाबखत पर्यटक लिएर पनि पुग्छन्। पर्यटक आफैले धौलागिरि जान चाहे मात्र यी पदमार्गमा लैजान्छन्। सरकारले संरक्षित क्षेत्र बनाएर प्रवर्द्धन गरेका पदमार्गमा जस्तो सजिलो धौलागिरिमा नभएको उनले बताए।
'धौलागिरिमा जति पनि पदमार्ग छन्, त्यहाँ बस्ने ठाउँ छैन। फोन, इन्टरनेट केही पनि छैन,' उनले भने, 'अहिले गइरहेकाहरूले सबै बन्दोबस्त लिएर क्याम्पिङ गएका हुन्। नेपाली पदयात्रीले त सायद धौलागिरिमा पदमार्ग छ भनेर थाहा पाएका पनि छैनन्।'
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले पनि धौलागिरि पदयात्रा जाने विदेशी पर्यटक आफै थाहा पाएर आउने गरेको बताए। पोखरा, लेकसाइडमा इथिकल ट्रेकिङ कम्पनी चलाएका आचार्यले वर्षमा दुई,चार वटा समूह मात्र धौलागिरि पदयात्रामा पठाउने गरेको बताए।
'हाम्रो कम्पनीबाट सबैभन्दा कम धौलागिरि पदयात्रा जाने पर्यटक आउँछन्। उनीहरू आफै धौलागिरि क्याम्पिङ जाने भनेर आउँछन्,' उनले भने, 'अरू पदमार्ग मोटरबाटोले नासिएका बेला धौलागिरि सबैभन्दा उत्तम विकल्प बन्न सक्छ।'
बागलुङका विभिन्न ठाउँमा फैलिएको धौलागिरि हिमशृंखला घुम्न जाँदा स्थानीय संस्कृति र प्रकृतिले पनि उत्तिकै साथ दिने ट्रेकिङ व्यवसायी कुँवर बताउँछन्। बागलुङको निसीखोला–२ का उनले त्यहाँ रहेका परम्परागत खानीहरू, स्थानीय संस्कृति र धौलागिरि आसपास उत्पादन हुने कृषि उपज पर्यटकलाई पस्कन सक्नुपर्ने बताए।
'धौलागिरिलाई अलिकति प्रवर्द्धन मात्र गर्न सके पर्यटकको चाप ह्वात्तै बढ्न सक्छ, किनभने अरू पदमार्गहरू मोटरबाटोले बिग्रिसके,' उनले भने, 'धौलागिरि आसपासका गाउँमा उत्पादन हुने अर्गानिक खाना र संस्कृतिले पनि पर्यटक लोभिनेछन्।'
लेकसाइडमा ब्रेभ हर्ट ट्रेकिङ कम्पनी चलाएका व्यवसायी विश्वहाङ राई पनि धौलागिरिमा बस्ने ठाउँ बन्दोबस्त गर्न र प्रवर्द्धन मात्र गर्न सके पनि पदयात्री आकर्षित हुने बताउँछन्।
'धौलागिरि पदमार्ग यति राम्रो छ कि पर्यटकले थाहा नै पाएका छैनन्,' उनले भने, 'हुरीबतास र पानीबाट जोगिन बस्ने ठाउँ र प्रवर्द्धन मात्र गर्न सके अन्नपूर्ण र मनास्लुमा जस्तै धौलागिरि वरिपरि पनि पर्यटकको लाम लाग्न सक्छ।'


विश्वको सातौं अग्लो धौलागिरि (८१६७ मिटर) गण्डकी प्रदेशमा रहेका हिमालमध्ये सबैभन्दा अग्लो छ। गण्डकीमा ८ हजार मिटर भन्दा अग्ला अरू दुइटा हिमाल अन्नपूर्ण र मनास्लु विगत लामो समयदेखि सरकारले संरक्षण क्षेत्र घोषणा गरेर पर्यटन प्रवर्द्धन, संरक्षण र विकासका कार्य अघि बढाएको छ।
पदमार्ग निर्माण र प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षण र विषादीरहित उत्पादन पनि यी दुइटा संरक्षित क्षेत्रले काम गरिरहेका छन्। पर्यटकबाट मात्र यी दुई हिमालले करोडौं रूपैयाँ आम्दानी गरिरहेका छन्।
धौलागिरि हिमाल वरिपरि कति पर्यटक गए भनेर रेकर्ड राख्ने संस्था समेत छैन। संरक्षण र पर्यटक प्रवर्द्धन गर्न धौलागिरिलाई पनि सरकारले ध्यान दिनुपर्ने पर्यटन विज्ञ समिर बराल बताउँछन्।
'अन्नपूर्ण, मनास्लु, सगरमाथा जस्ता अरू हिमालहरू संरक्षित क्षेत्र बनाएर अध्यन, अनुसन्धान, पर्यटन प्रवर्द्धन जस्ता गतिविधि भएका छन्। स्थानीय समुदायसँग मिलेर काम गरेका छन्,' उनी प्रश्न गर्छन्, 'धौलागिरिलाई मात्र किन सरकारले किन पछाडि पारेको हो?'
टान गण्डकीका अध्यक्ष आचार्यले धौलागिरि पदमार्गमा खोल्साखोल्सीमा सामान्य पुल पनि नभएको बताए। पुल, रेलिङ, हिउँपहिरो भएका ठाउँको पहिचान, बाटो देखाउने चिह्न लगायत साधारण पूर्वाधार पनि नहुँदा पर्यटकको मृत्यु हुने गरेको उनले बताए।
'पदयात्रामा जाने पर्यटक मात्र होइन, हिमाल आरोहण गर्न जाने आरोही पनि खोल्सामा चिप्लिएर मर्नुपर्ने अवस्था छ,' उनले भने, 'सरकारले सामान्य पूर्वाधार मात्र बनाइदिए पनि धौलागिरि पदमार्ग सुरक्षित बनाउन सकिन्छ।'
धौलागिरि हिमाल वरिपरि पदयात्रा गर्न मात्र होइन, आरोहणका लागि पनि पर्याप्त प्रवर्द्धन हुन सकेको छैन। धौलागिरि हिमाल आरोहण गर्न सर्वप्रथम अर्जेन्टिनाको आरोहण दलले सन् १९४५ मा सुरूआत गरेको थियो। उक्त टोलीका एक जना सदस्यको आरोहण क्रममा मृत्यु भयो। आरोहण दल धौलागिरि चुचुरा नटेकी फर्किएको थियो।
निरन्तर पाँच वटा टोली आरोहणमा असफल भएपछि सन् १९६० मे १३ मा स्विट्जरल्यान्डको आरोहण दलले पहिलो पटक धौलागिरि चुचुरा टेक्यो।
धौलागिरि आरोहणका पहिलो आरोहण दलमा स्विस पर्वतारोही कर्ट डिमवर्गर, पिटर डियनर, एन्स्ट फोरर, एल्विन सेल्वर्ट थिए भने नेपालीहरूमा निमा दोर्जे र नवाङ दोर्जे थिए। आरोहणको ६५ वर्षमा ६ सय ८० जना भन्दा बढीले धौलागिरि चुचुरो टेकिसकेका छन्। आरोहण क्रममा ९० जना भन्दा बढीले ज्यान गुमाइसकेको पर्यटन विज्ञ समिर बरालले बताए।
'धौलागिरि आरोहण निकै कठिन मानिन्छ। यो हिमाल विश्वका १४ वटै ८ हजार मिटर भन्दा अग्ला हिमाल चढ्न चाहने आरोहीले मात्र आरोहणमा चासो देखाएको देखिन्छ,' उनले भने, 'प्रवर्द्धन नभएकै कारण धौलागिरिमा आरोहीको आकर्षण देखिँदैन।'
नेपाल पर्वतारोहण संघ गण्डकीका अध्यक्ष विकास गुरूङले पोखराबाट पर्वतारोहणका कार्यक्रम चलाउन नसक्दा हिमाल पनि पछाडि परेको बताए।
गण्डकीमा रहेका ८ हजार मिटरभन्दा अग्ला ३ वटा हिमालसहित गण्डकीमा १३३ वटा चुचुरा अभिलेख गरिएका छन्। हिमालै हिमालको प्रदेश भएर पनि आरोहण र पदयात्राका लागि थप सम्भाव्यता खोज्न नसकिएको उनले बताए।
धौलागिरि आरोहण। तस्बिरः लाक्पा शेर्पा'पोखराबाट पर्वतारोहणका प्याकेज नै बेच्न सकिएको छैन। आरोहीहरू काठमाडौंका कम्पनीमार्फत मात्र आउँछन्,' उनले भने, 'पर्वतारोहण तालिम र आरोहणका प्याकेज बेच्न सके पोखराले हिमाल आरोहणमा पनि नेतृत्व लिन सक्छ।'
नेपाल पर्यटन बोर्ड गण्डकीका वरिष्ठ अधिकृत युवराज गुरूङले भौतिक पूर्वाधार निर्माण र आरोहण पर्यटन बोर्डको क्षेत्राधिकारमा नपर्ने बताए। धौलागिरि पदमार्गको प्रवर्द्धनमा पर्यटन बोर्डले सहयोग गर्ने भन्दै उनले पोखराका व्यवसायीलाई अग्रसरता लिन आग्रह गरे।
'पोखराले नेपालको पर्यटन क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेको छ। पूर्वाधार बनाउने र संरक्षित क्षेत्र घोषणा गर्ने काम हाम्रो क्षेत्राधिकारमा पर्दैन,' उनले भने, 'धौलागिरि पदमार्गको प्रवर्द्धनमा हामी सहयोग गर्छौं। तपाईंहरू अघि बढ्नुहोस्।'
गण्डकी प्रदेशका पर्यटन सचिव इन्द्रप्रसाद बस्यालले पदमार्गमा सञ्चार र इन्टरनेट सेवा पुर्याउन सहयोग गर्ने बताए। उनले आउँदो बजेटमा धौलागिरि पदमार्गमा पूर्वाधार बनाउने गरी योजना समावेश गर्ने पनि बताए। संरक्षित क्षेत्र वा अरू उपाय अपनाउन पनि निजी र सार्वजनिक क्षेत्रबाट प्रस्ताव पेस गर्न उनले आग्रह गरे।
'प्रदेशको बजेट बनाउने तयारीमा छौं, तपाइहरू पालिकासँग मिलेर प्रस्ताव लिएर आउनुहोस्,' उनले भने, 'के गर्न सकिन्छ, प्रदेश सरकारका तर्फबाट हामी सहयोग गर्न सक्छौं।'