पोखराबाट गोरखा भ्रमणमा पुगेका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को टोलीलाई गोरखाका महिलाले मन्त्रमुग्ध पारे।
गोरखा बजारमा उनीहरूलाई गन्धर्व बस्तीका महिलाले सारङ्गीको धुनसँगै नाचगान गरेर स्वागत गरे। गोरखा दरबार घुमेर फर्किदा गोर्खाली महिला नौमती बाजा संरक्षण समूहले पञ्चेबाजाले स्वागत सत्कार गरेका हुन्।
-1745908566.jpeg)
महिलाले देखाएको अग्रसरता देखेर ओटेफकी संस्थापक अध्यक्ष जमुना पराजुलीले भनिन्, ‘चुलाचौकामा मात्र सीमित महिला अब जुनसुकै क्षेत्रमा पनि प्रगति गर्न सक्ने भएका छन्।’
महिला पर्यटन व्यवसायीलाई स्वागत गर्दै गोरखा नगरपालिका ७ धारापानीकी दुर्गादेवी गान्धारीले सारङ्गीको धुन र मादलको तालमा एउटा गीत गाइन्। जुन गीत महिलामै समर्पित थियो। गीतको पहिलो लाइन यस्तो छ- भलपानी तर्काइदेउ, कत्तिको रै'छ माइतीको माया मोहनी फर्काइदेऊ।
सानो उमेरमा विवाह गर्दा भोग्नुपर्ने दु:ख समेटिएको गीत उनले सानै उमेरमा बुवाबाट सुनेकी थिइन्। जुन गीतमा महिलाले घरमा पाएको दु:ख माइतीमा बिसाउँदा गाउने गरेको उनले बताइन् ।
‘पहिला पहिला १२-१३ वर्षकै उमेरमा विवाह गरिदिन्थे। पढ्न पनि नपढाउने। विवाह गरेर गएको घरमा हेलाहोंचो हुन्थ्यो,’ उनले भनिन्, अनि घरमा बस्न नसक्ने अवस्था आउँदा माइती गएर गाउने गीत हो यो।’
दुर्गादेवीले उक्त गीत माइती गएर पोख्ने बेदना रहेको सुनाइन्।
यही गीतमा उनी १९ बर्षको छँदा काठमाडौंको राष्ट्रिय नाचघरमा नाचिन्। सारङ्गी रेट्दै उनका बुवा हुमबहादुर गन्धर्वले गीत गाएका थिए। उनका बुवा वितेको पनि ३० वर्ष नाघिसक्यो, गीत भने अहिलेसम्म भुलेकी छैनन्।
‘यही गीतमा म १९ वर्षको हुँदा काठमाडौंमा नाचेकी थिए, अहिले ६० बर्षको हुँदा पनि यो गीत भनिरहन्छु,’ उनले भनिन्, ‘मनमा बसिरहेको यो गीत आज गाउन पाएँ।’
दुर्गादेवीले माइती गाउँ पाल्पामा सुनेको गीत विवाह गरेर गोरखा आउँदा पनि सँगै लिएर आइन्। उनले गाएको गीत पछाडिका कथाले दर्शकको मन छोएको थियो।
गोरखाका गन्धर्व समुदायमा सारङ्गी बजाउने परम्परा लोप भइसकेको थियो। पर्यटन प्रवर्द्धनमा सारङ्गीका धुन जोडिन थालेपछि फेरि जुर्मुराउन थालेको छ। सारङ्गीको धुनमा पर्यटक पनि मन्त्रमुग्ध हुन पाएका छन्।
-1745908572.jpeg)
गोरखाको इतिहास, संस्कृति र प्रकृति जोडेर व्यवसायीले गरिरहेको पर्यटन प्रवर्द्धन अन्यत्रका लागि पनि अनुकरणीय हुने ओटेफकी अध्यक्ष उमा रेग्मी भण्डारीले बताइन्।
‘गोरखाका पर्यटन व्यवसायीले स्थानीय संस्कृति जगेर्ना हुने गरी जुन आतिथ्य सत्कार गर्नुभयो, त्यो हाम्रा लागि पनि प्रेरणादायी छ,’ उनले भनिन्, ‘स्थानीय संस्कृति, इतिहास र प्रकृति मिलाएर प्याकेज बनाउन सके गोरखाको पर्यटन व्यवसायले फड्को मार्ने देखिन्छ।’
गन्धर्व समुदायले मात्र होइन, गोरखा दरबार पुगेर फर्किदा स्थानीय गोरखाली महिला नौमती बाजा संरक्षण समूहले पञ्चेबाजा बजाएर गरेको स्वागत सत्कार पनि पर्यटकका लागि आकर्षण भएको भण्डारीले बताइन्।
‘पर्यटकका लागि आतिथ्य सत्कार सबैभन्दा महत्वपूर्ण हुन्छ, जुन गोरखालीले देखाएका छन्,’ उनले भनिन्।
सारङ्गीका धुनसँगै पोखरा र गोरखाका पर्यटन व्यवसायीले एक अर्काका समस्या र समाधानका उपाय पनि आदान प्रदान गरे। गोरखामा अहिले ३० वटा पर्यटक स्तरका होटल रहेको र दैनिक १ हजार जनालाई सेवा दिन सक्ने अवस्था रहेको होटल संघ गोरखाका पूर्वअध्यक्ष निधिप्रसाद तिमिल्सिनाले बताए । उनका अनुसार गोरखाको होटल व्यवसायमा करिब ३ अर्ब लगानी छ।
ओटेफका पूर्वअध्यक्ष समेत रहेकी होटल संघ पोखराका सचिव पार्वती पाण्डेले पोखराका होटलमा मात्र करिब ५ खर्ब लगानी भएको बताइन्। पोखरामा पर्यटक स्तरका १२ सय होटलमा दैनिक करिब ४० हजार पर्यटकलाई सेवा दिन सक्ने अवस्था रहेको उनले बताइन् ।
पर्यटन व्यवसाय सजिलो काम नभएको भन्दै होटल संघ गोरखाका पूर्वअध्यक्ष तिमिल्सिनाले व्यवसाय धान्न मुस्किल अवस्था रहेको बताए।
गोरखा नगरपालिका र पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रूपमा मनाउने निर्णय गरेकाले यी दुई पालिकाबीच सहकार्य र अनुभव आदानप्रदान जोड्न सक्नुपर्ने उनको धारणा छ।
गोरखा नगरपालिकाले ‘जहाँ इतिहास जीवन्त छ’ नारा दिएर भ्रमण वर्ष मनाइरहेको छ। गोरखाका गौंडा गौंडामा इतिहास रहेको भन्दै उनीहरूले ऐतिहासिक विरासतलाई नै पर्यटन प्रवर्द्धनको मूल आधार बनाएका छन् ।
नगरपालिकाकी उपप्रमुख सपना पुनले भ्रमण वर्षका लागि गोरखामा विभिन्न कार्यक्रम लिएर आउने समूहलाई सहयोग गर्ने नीति लिएको बताइन् ।
‘हामीले संघीय कार्यक्रम लिएर आउने समूहलाई १ लाखसम्म र प्रदेश स्तरीय कार्यक्रम लिएर आउने समूहलाई ५० हजार रुपैयाँसम्म सहयोग गर्ने निर्णय गरेका छौं,’ उनले भनिन्, ‘पर्यटन वर्षका रूपमा गोरखा नगरपालिकाको इतिहास र संस्कृतिको प्रवर्द्धनमा पनि उत्तिकै लागिपरेका छौं।’
उपमेयर पुनले महिलाहरू पनि अवसर पाए अघि बढ्न सक्ने उदाहरण पोखराका महिला पर्यटन व्यवसायीले देखाएको भन्दै प्रशंसा गरिन्।
पुरूषले मात्र बजाइरहेको सारङ्गी गोरखामा महिलाले मात्र बजाउन थालेका छन्। पर्यटन व्यवसायीले पनि पर्यटकको माग अनुसार सारङ्गीको धुनसँगै गन्धर्व समुदायको संस्कृति पर्यटकमाझ पस्किन थालेका छन्।
पर्यटकले सानो समूहमा सारङ्गीको धुन मात्र सुन्ने माग राख्यो भने ५ जनाको समूह बोलाउने गरिएको छ। नाचगानसहित रमाइलो गर्ने ठूलो समूह पनि गान्धारी समुदायमा तयार अवस्थामा छ।
‘सानो समूह बोलाउँदा हामीले १० हजार दिन्छौं, ठूलो समूहलाई २० हजार रुपैयाँ,’ होटल संघका पूर्वअध्यक्ष तिमिल्सिनाले भने, ‘होटलमा आउने नेपाली होस् कि विदेशी, सबै खालका पर्यटकले सारङ्गी सुन्न मन पराएका छन् ।’
उनका अनुसार दुई तीन जनाको समूह मात्र आउने पर्यटकले पनि सारङ्गी, मादल र बाँसुरीको धुन सुनेर आनन्द लिने गरेका छन्। पर्यटनसँग जोड्न थालेपछि गन्धर्व समुदायको आयआर्जन हुने र पर्यटन व्यवसायमा पनि नयाँपन देखिएको उनले बताए।
‘हामीले हाम्रो इतिहास, संस्कृति र प्रकृति पर्यटनसँग जोड्न खोजेका छौं। आयआर्जन हुने भएपछि सारङ्गी सिक्न गन्धर्व समुदाय पनि अग्रसर बन्नुभएको छ,’ उनले भने।
पुरूषले मात्र बजाउने गरेको सारङ्गी धारापानीमा भने महिलाले मात्र बझाउँछन्। पुरुषहरू सारङ्गी सिक्न पनि उत्सुक छैनन्।
धारापनीमा सारङ्गी बजाउन जान्ने एक मात्र महिला ४१ वर्षीय भगवती गान्धारीले सारङ्गी बजाउने तालिम दिइरहेकी छिन्। तर उनले तालिममा पनि कोही पुरूष छैनन्। बुवाले सारङ्गीमा औंला डुलाउँदै बजाएको देखेर उनले पनि सिकेकी थिइन्।
‘बुवाले सारङ्गीमा औंला चलाएको देखेर मैले सिकेकी थिएँ, यहाँ अरू दिदीबहिनीले पनि सारङ्गी बजाउन जानुन् भनेर तालिम दिएकी छु। गाउँमा कसैले पनि सारङ्गी बजाउँदैनन्। लोप भइसकेको पेशा फेरी फर्काउन लागिपरेका छौं,’ उनले भनिन्।
सारङ्गी बजाउँदै हिँड्ने परम्परागत पेसाबाट गुजारा पनि नचल्ने र मानिसले पनि हेप्ने गरेकाले युवा पुस्ता सारङ्गी बजाउने पेशामा आकर्षित नभएको स्थानीय मनिराम गाइने स्मृति प्रतिष्ठानका अध्यक्ष मंगलप्रसाद गान्धारीले बताए।
‘सारङ्गी बजाउँदै गीत गाउँदै हिँड्दा मानिसहरूले हेलाहोचो व्यवहार देखाए। सम्मानित व्यवहार नहुँदा युवाले सारङ्गी बजाएनन्। हाम्रो गाउँबाट लोप भइसकेकाले कोही पनि युवा सारङ्गी बजाउँदैनन्,’ उनले भने।
गोरखामा पुनर्थापित भइरहेको सारङ्गीको धुन पर्यटक स्वाद मानेर सुन्छन्। कोही सँगसँगै गाउन खोज्छन् त कोही नाच्छन् पनि। पोखराबाट गएका महिला पर्यटन व्यवसायी र केही विदेशी पर्यटक सारङ्गी र मादलको धुनमा रन्किएको लोकगीतमा नाचे।
गोरखाको पर्यटन व्यवसायसँगै जुर्मुराइरहेको सारङ्गीले पनि उचित सम्मान पाउन सके युवा पुस्ता आकर्षित हुन सक्ने गन्धर्व अगुवाको आशा छ। मनिराम गाइने प्रतिष्ठानका अध्यक्ष मंगलप्रसाद गान्धारीले गन्धर्व जातीले विगतमा एक ठाउँका सूचना अर्को ठाउँमा सारङ्गी रेट्दै गीतमा भन्ने गरेको सुनाउँदै यो संस्कृति जोगाउन सरकारले पनि उत्तिकै ध्यान दिनुपर्ने बताए।
‘सारङ्गी हाम्रो मात्र होइन, नेपालको मौलिक संस्कृति हो नि!,’ उनले भने, ‘पर्यटक र मेला महोत्सवमा मात्र होइन, अरू बेला पनि यसको जगेर्ना गर्न सरकारले उचित सम्मान र सहयोग गर्नुपर्छ।’
पर्यटकलाई गन्धर्व गीत सुनाउन थालेकी दुर्गादेवी गान्धारी भने छोरा र नातिनी सारङ्गी बजाउन थालेकोमा गौरव गरेकी छिन्। उनका छोरा अमृतले काठमाडौंमा ‘म्युजिक थेरापी’ खोलेका छन्। नातिनी अनु सारङ्गी पारखी छिन्।
‘मेरो छोराको काठमाडौंमा म्युजिक थेरापी छ। सारङ्गी बजाउन नातिनीले पनि जानोस् भनेको थिएँ, मेरो सपना नातिनीले पूरा गरिदिएकी छिन्,’ उनले भनिन्।
गोरखा बजारमा सारङ्गीको धुन सुनेर पोखरेली महिला पर्यटन व्यवसायी ऐतिहासिक गोरखा दरबार परिसर भ्रमणमा निस्किए। जहाँ नेपाल राज्य निर्माणका इतिहास देखिन्थ्यो।
-1745908569.jpeg)
विक्रम संवत १६१६ मा लमजुङे राजा यशोब्रम्ह शाहका कान्छा छोरा द्रब्य शाह गोरखाको लिगलिगकोट दौडमा प्रथम भएर गोरखाका राजा बन्न पुगेका थिए। त्यसपछि निरन्तर उनका उत्तराधिकारीले गोरखा राज्यको शासन चलाए।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि सिङ्गो नेपालको राजा बनेका थिए। उनका उत्तराधिकारीले राज्य चलाउँदै जाने क्रममा ज्ञानेन्द्र शाहको पालामा आएर २०६५ जेठ १५ गते नेपालबाट राजतन्त्र अन्त्य भयो ।
जननिर्वाचित संविधान सभाले राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको थियो।
देश गणतन्त्रमा गए पनि गोरखामा बाइसे चौबिसे राज्यकालका ऐतिहासिक सम्पदा जिवित छन्।
-1745908567.jpeg)
गोरखा नगरपालिका ५ का वडाध्यक्ष विष्णु रानाका अनुसार हाल गोरखा दरबार भएको ठाउँभन्दा माथि उपल्लोकोटमा बज्रभैरवको मन्दिर छ। जहाँ पहिले राजदरबार नै रहेको उनले बताए। बज्र भैरव मन्दिर भएको ठाउँबाट वरीपरीका डाँडाकाडा र हिमाल प्रष्ट देख्न सकिने उनले बताए।
बज्र भैरबबाट केही तल चण्डी मन्दिर, त्यसपछि सितापाइला, हनुमान ढोका दरबार हुँदै गोरखा दरबार अवलोकन गर्न सकिन्छ। गोरखा दरबारको छेउमा गोरखनाथ गुफा रहेको छ। गोरखा दरबार जाने बाटोभरि विभिन्न मठ मन्दिर, चौतारीहरू सबैमा तत्कालीन बाइसे चौबिसे राजा र उनका सन्तान जोडिएका छन्।
गोरखा पार्कमा बाइसे चौबिसे राज्यका इतिहास, राजाहरूका इतिहास, तत्कालीन अवस्थाका बाजागाजा, भाडा, मूर्ति, हस्तलिखित दस्ताबेज लगायत राखिएको छ।
-1745908568.jpeg)
गोरखाको इतिहास, संस्कृति र प्रकृतिलाई जोडेर पर्यटन प्रवर्द्धन गर्न विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाइरहेको वडाध्यक्ष रानाले बताए।
‘नेपालको इतिहास बुझ्न गोरखा जानुपर्छ भन्ने कुरा सबैले थाहा पाउन जरूरी छ। गोरखाका इतिहास र ऐतिहासिक पुरातत्व जोगाएर पर्यटक तान्न हामीले डिपिआर बनाइरहेका छौं,’ उनले भने।
नेपाल देश कसरी बन्यो भनेर आन्तरिक र बाहय पर्यटक तान्न गोरखाले इतिहास, संस्कृति र प्रकृतिको प्रवर्द्धन गर्न सक्नुपर्ने पोखराका महिला पर्यटन व्यवसायीले जोड दिए। नेपाली एक पटक पुग्ने पर्ने ठाउँका रूपमा गोरखाले प्रवर्द्धन गर्न सक्ने भन्दै उनले नेपालका बारेमा चासो राख्ने विदेशीका लागि पनि आकर्षण हुने उनीहरूको भनाइ छ।
नेपाल पर्यटन बोर्ड गण्डकीको सहयोगमा पोखरामा ३ दिने डिजिटल मार्केटिङ, साइबर सुरक्षा र पर्यटन प्रवर्द्धन विषयक तालिम लिएर गोरखा पुगेका ओटेफका टोलीले पोखरा आउने पर्यटकमाझ पनि गोरखाको प्रवर्द्धन गर्ने बताएका छन्।
‘गोरखामा पदयात्राका लागि मनास्लु पदमार्ग छ। इतिहास, संस्कृति र प्रकृतिको भण्डार नै छ, यसको प्रवर्द्धन गर्न हाम्रो ठाउँबाट सहयोग गर्छौ,’ ओटेफकी अध्यक्ष भण्डारीले भनिन्, ‘नेपाल राज्य निर्माणका कथामात्र प्रवद्र्धन गर्न सकियो भने पनि गोरखाको पर्यटन चम्किन्छ।’
-1745908570.jpeg)