तुवाँलोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ। आइतबार दिउँसोदेखि तुवाँलोकै कारण नियमित उडान हुननसकेको विमानस्थलकी प्रवक्ता जशोदा रेग्मीले जानकारी दिइन्।
‘अस्ति ३ बजेदेखि उडान हुन सकेको छैन, हिजो एउटा पनि उडान भएन,’ उनले भनिन्, ‘भिजिबिलिटी नपुगेर पोखराबाट हुने सबै उडान रद्द भएका हुन्।’
रेग्मीका अनुसार पोखराबाट चीनको छेन्दुमा सिचुवान एयरलाइन्सले कमिर्सियल चार्टर्ड उडान पनि रद्द गरेको छ। मंगलबार छेन्दुबाट उक्त एयरलाइन्सको न्यारोबडी जहाज पोखरा अवतरण गर्ने तालिका थियो।
‘मौसम खराब भएकै कारण सिचुवान एयरलाइन्सले छेन्दुबाट पोखरा आउने उडान पनि रद्द गरेको छ,’ उनले भनिन्।
सिचुवान एयरलाइन्सले चैत ५ गतेदेखि चीनको छेन्दुबाट सातामा एउटा उडान पोख अन्तराष्ट्रिय विमानस्थलमा गर्न थालेको थियो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडान र अवतरण गर्न इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली जडान गरिएको छ। उक्त प्रणालीअन्तर्गत् उडान गर्न विमानस्थलबाट कम्तिमा ३ हजार ७०० मिटर टाढासम्म आखाले देखिने हुनुपर्ने रेग्मीले बताइन्।
आँखाले देखेर मात्र उडान गर्ने भिजुअल फ्लाइट रुल्स (भिएफआर)मार्फत उडान गर्न भने ५ हजार मिटर टाढासम्म आखाले देख्न सक्नुपर्ने उनले बताइन्।
‘हिजो २ हजार मिटर भन्दा बढी खुलेन, आज पनि अहिलेसम्म आकाश खुल्न सकेको छैन,’ उनले भनिन्, ‘मौसम खराब हुँदा विमानस्थल नै ठप्प हुन पुग्यो।’