एउटा राम्रो पूर्वाधार निर्माणले लगानीको वातावरण कति बलियो बनाउँछ र व्यवसायीहरू कति धेरै उत्साहित हुन्छन् भन्ने भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले देखाएको छ।
यो विमानस्थल शिलान्यास भएयता १० वर्ष अवधिमा भैरहवा, बुटवल र लुम्बिनी क्षेत्र तारे होटलहरूको 'हब' बनेको छ। चार वा पाँचतारे होटलहरू धमाधम खुलिरहेका छन्। पछिल्लो एक वर्षमै दुई अर्ब रूपैयाँभन्दा बढी लगानी भएका चार वा पाँचतारे होटल लगभग आधा दर्जन खुलिसके। पुराना होटलमा लगानी थपेर स्तरोन्नति गर्ने क्रम पनि बढ्दो छ।
सिद्धार्थ होटल संघका अध्यक्ष तथा भैरहवास्थित चारतारे होटल नान्सका सञ्चालक चन्द्रप्रकाश श्रेष्ठका अनुसार भैरहवा, बुटवल र लुम्बिनी आसपास क्षेत्रमा १४६ वटा ठूला होटल छन्।
'ती सबैमा ८० अर्ब रूपैयाँभन्दा बढी लगानी भएको छ,' उनले भने, 'होटल व्यवसायमा लगानी गर्नेहरूले विमानस्थल सञ्चालनमा आएपछि पर्यटक आगमन बढ्ने आशले अर्बौं रूपैयाँको जोखिम मोलेका हुन्।
यसरी जोखिम मोल्नेमा भैरहवाका चर्चित मिठाई व्यवसायी पवनकुमार हलुवाई पनि पर्छन्।
२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्दै भनेका थिए, 'तीन वर्षमा विमानस्थल निर्माण सम्पन्न भएपछि पर्यटकको ओइरो लाग्छ। उनीहरूका लागि स्तरीय होटलको खाँचो पर्छ। व्यवसायीहरू होटलमा लगानी गर्नुहोस्।'
यस्तो भाषण सुनेर भैरहवामा मिठाई पसल चलाइरहेका पवन उत्साहित भए।
बुबाको पालादेखि नै मिठाई व्यवसायबाट नाम र दाम दुवै कमाएका पवन खासमा विशेषज्ञ सेवासहितको अस्पताल खोल्न चाहन्थे। दुई बिघा दुई कट्ठा जमिन किनेर अस्पताल निर्माणको अनुमति पनि लिएका थिए। तर कोइरालाको भाषण सुनेपछि उनको मन फेरियो।
विमानस्थल चलेपछि दैनिक सयौं पर्यटक लुम्बिनी आउँछन् भन्ने सोचेर उनले अस्पतालको योजना थाती राखे र होटलको काम सुरू गरे।
पवनले दुई अर्ब रूपैयाँ लगानीमा निर्माण गरेको १४७ कोठाको पाँचतारे होटल 'पवन प्यालेस' सञ्चालनमा आइसकेको छ।
विमानस्थल शिलान्यासपछि पाँचतारे होटल खोल्ने लहरमा सबभन्दा बढी लगानी हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेजले गरेको थियो। यो कम्पनीले तिलोत्तमामा पाँच अर्ब रूपैयाँभन्दा बढी लगानी गरेर 'टाइगर प्यालेस' निर्माण गर्यो। तर कोरोनाको असर र सञ्चालकहरूको आपसी विवादले होटल घाटामा गएपछि हिमालयन टाइगर इन्भेस्टमेन्टले करिब दुई अर्बमा किनेको छ। अहिले सोल्टी होटल्स एन्ड रिसोर्टले व्यवस्थापन सम्हालेको छ।
गौतम बुद्ध विमानस्थलको आकर्षणले अन्य क्षेत्रका स्थापित व्यवसायी र केही अन्तर्राष्ट्रिय होटल सञ्जाललाई पनि छोएको छ।
भैरहवाको बुद्धचोकमा बन्दै गरेको एसियन इन्टरनेसनल रिजेन्सी होटल घिमिरे समूहको हो। एसियन फर्मास्युटिकल्स चलाउने यो समूहले यहाँको होटलमा पाँच अर्ब रूपैयाँभन्दा बढी लगानी गरेको छ। होटल सञ्चालनमा आउन केही महिना लाग्ने कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय ब्रान्डतर्फ विश्वका ३८ मुलुकमा १६० वटा होटल सञ्चालन गरेको लुभ्र होटल्स ग्रुपले 'गोल्डेन टुलिप' ब्रान्डको होटल खोल्दैछ। रूपन्देहीको ओमसतिया गाउँपालिकाको ठुटीपिपलमा निर्माणाधीन यो चारतारे होटल व्यवस्थापनका लागि लुभ्रले शानिभा इन बुटिक होटल एन्ड स्पासँग सम्झौता गरेको छ।
शानिभाका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार केसीका अनुसार होटलको सुरूआत ५२ कोठाबाट हुनेछ। पूर्वाधार निर्माणमा ५० करोड रूपैयाँभन्दा बढी लगानी गरिएको उनले जानकारी दिए।
बुटवलमा निर्माणाधीन पाँचतारे होटल 'सफ्रोन सिके' ले पनि व्यवस्थापनका लागि 'ह्यात इन्टरनेसनल साउथ' सँग सम्झौता गरेको छ। पूर्व-पश्चिम राजमार्ग छेवैमा बन्दै गरेको यो होटलमा दुई अर्ब रूपैयाँ लगानी भएको अध्यक्ष चुन्नुप्रसाद शर्माले बताए। अहिले भौतिक संरचना निर्माण पूरा भई सञ्चालनको अन्तिम तयारीमा छ। यसमा १०७ वटा कोठा छन्।
होटल व्यवसायमा लगानी जति बढेको छ, अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षाअनुरूप चल्न नसक्दा व्यवसायीहरूको तनाव र निराशा उति नै बढ्दो छ।
विमानस्थलमा ठूला एयर बस, बोइङ लगायतका जहाज अवतरण गर्ने र ठूलो संख्यामा पर्यटक आउने आशा व्यवसायीहरूको थियो। सरकारले पनि १० वर्षदेखि यही सपना देखाउँदै आएको थियो। तर अझै पनि यो विमानस्थल राम्ररी चल्न सकेको छैन। सरकारले नै यसमा चासो नदेखाएको व्यवसायीहरूको गुनासो छ। यसले अर्बौं लगानी जोखिममा परेको उनीहरू बताउँछन्।
'जुन संख्यामा पर्यटक आइरहेका छन्, त्यतिले अहिलेको लगानी धान्न सक्दैन,' पवन प्यालेसका सञ्चालक पवनकुमार हलुवाईले भने, 'बरू होटलतिर नलागेर अस्पताल बनाएको भए अहिलेसम्म मेरो लगानी उठिसक्ने थियो। सरकारको विश्वासमा पर्दा होटलमा गरेको लगानी डुब्ने अवस्था आएको छ।'
सरकारले दैनिक ८-१० वटा अन्तर्राष्ट्रिय जहाजको अवतरण सुनिश्चित गर्ने हो भने रूपन्देहीका होटल सञ्चालनमा कुनै समस्या नआउने उनको भनाइ छ।
सोचेजस्तो पर्यटक नआएर चिन्तामा परेका पवन बैंकको बढ्दो ब्याजदरले थप समस्या ल्याएको बताउँछन्।
'बैंक ब्याजदर साढे ७ बाट साढे १५ प्रतिशत पुगेको छ। यस्तोमा पर्यटक आइदिएनन् भने कसरी होटल चलाउनू, अनि कसरी ऋण तिर्नू?' पवनले भने, 'कुनै समय सुधार होला भन्ने अपेक्षा त छ तर अहिले खुलेका धेरै होटललाई यो संकट थेग्न गाह्रो छ।'
अर्का व्यवसायी कुलचन्द्र पाण्डेले पनि यस्तै समस्या सुनाए।
बुटवलमा मध्यम स्तरका दुई होटल र टुर्स एन्ड ट्राभल्स चलाउँदै आएका उनले पनि विमानस्थल बनेपछि पर्यटन क्षेत्र फस्टाउने आसले ठूलो होटलमा लगानी गरेका थिए। साझेदारीमा बनेको चारतारे होटल एसियन नचल्दै आर्थिक संकट परेपछि कुलचन्द्र बाहिरिए। उनका अन्य साझेदार जसोतसो चलाउँदै छन्। उक्त होटलमा एक अर्ब रूपैयाँभन्दा बढी लगानी छ।
सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ पनि चीन, थाइल्यान्ड, म्यानमार, भुटान, जापान, श्रीलंका, भियतनाम लगायत बौद्ध धर्मावलम्बी बढी भएका मुलुकबाट भैरहवासम्म सिधा उडान हुन सके अहिलेका सबै होटल राम्ररी चल्ने बताउँछन्।
भैरहवामा खुलेका केही पाँचतारे होटल क्यासिनो सहितका पनि छन्।
उदाहरणका लागि, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले डेढ वर्षअघि क्यासिनो सहितको 'सिद्धार्थ भिलासा' खोलेको छ। दुई अर्ब ५० करोड रूपैयाँ लगानीको यो होटलमा ८५ कोठा छन्।
भैरहवाकै नयाँ सडकमा युवा व्यवसायी रामबहादुर कोइरीले खोलेको ९८ वटा कोठाको 'होटल मौर्या' मा पनि क्यासिनो छ। यसमा करिब साढे एक अर्ब रूपैयाँ लगानी भएको छ।
त्यस्तै, रूपन्देहीको मणिग्राममा रहेको पुरानो चारतारे होटल 'ड्रिमल्यान्ड गोल्ड रिसोर्ट' ले पनि क्यासिनो लगायतका सुविधा थप्दै लगेको छ।
क्यासिनो सहितका होटलमा मुख्य ग्राहक भारतीय पर्यटक हुन्। भारतीय सीमा बेलहियादेखि बुटवलसम्म ६ लेनको सडक बनेपछि भारतीय पर्यटक आउने क्रम बढेको छ। बेलहिया भन्सार कार्यालयका अनुसार पछिल्लो समय दैनिक एक हजारदेखि एक हजार पाँच सय भारतीय पर्यटक यो नाका हुँदै नेपाल आउँछन्। यीमध्ये कतिपय क्यासिनोमा रमाउन आउँछन् त कोही उपचारका लागि भैरहवा पुग्छन्।
यो क्षेत्रका अधिकांश तारे होटल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर सञ्चालन गरिएका लुम्बिनी होटल संघका अध्यक्ष तथा मायादेवी गेस्ट हाउसका सञ्चालक गोविन्द ज्ञवाली बताउँछन्।
'सरकारले विमानस्थल नियमित सञ्चालनमा ध्यान दिएन भने यी सबै होटल डुब्छन्,' उनले भने।
उनका अनुसार लुम्बिनीमा हालै करिब एक अर्ब रूपैयाँ लगानीमा 'लुम्बिनी पिस प्यालेस' सञ्चालनमा आएको छ। साढे एक अर्ब रूपैयाँभन्दा बढी लगानीमा 'बुद्धमाया' र यति नै लगानीको 'होटल कासाई' पनि सञ्चालनमा छन्। होटल होक्के, लुम्बिनी गार्डेन, न्यू क्रिस्टल, होटल जाम्बला, बुद्धमाया प्यालेस, ब्याम्बो रिसोर्ट पनि लुम्बिनीका ठूला लगानीका होटल हुन्।
विमानस्थलकै आकर्षणले केही युवा व्यवसायी पनि होटलतिर लागेका छन्।
पचास करोड रूपैयाँ लगानीमा भैरहवाको डन्डामा चारतारे 'होटल ल्यान्डमार्क' चलेको एक वर्ष भयो। युवा व्यवसायी आशा गुरूङले बनाएको यो होटल व्यवस्थापनको जिम्मेवारी सम्राट ग्रुपले लिएको छ। हाल ५० कोठा भएको होटल ल्यान्डमार्कमा थप ३० कोठा थप्ने योजना रहेको सम्राट ग्रुपका कार्यकारी अधिकृत सिएन पाण्डेले बताए।
त्यस्तै, व्यवस्थापनमा स्नातकोत्तर गरेर थाइल्यान्डबाट फर्केका २६ वर्षीय शान्तव थैव ४० करोड रूपैयाँ लगानी रहेको 'दि क्राउन इन होटल' को नेतृत्व सम्हाल्दै पर्यटन उद्योगमा प्रवेश गरेका छन्।
'नेपालमा केही हुँदैन, खत्तमै छ भन्नेहरूका लागि पर्यटन उद्योगमा नयाँ उदाहरण पेस गर्ने लक्ष्यसहित अघि बढेको छु,' उनले भने, 'यसलाई दीगो राख्न सरकारले विमानस्थल नियमित सञ्चालनमा जोड दिनुपर्छ।'
बुटवल, भैरहवा र लुम्बिनीतिर मात्र रहेका पर्यटन व्यवसायी पछिल्लो समय तिलोत्तमा नगर क्षेत्रमा पनि पसेका छन्। तिलोत्तमामा मात्रै एक दर्जन ठूला होटल खुलेका छन्।
***