सातदोबाटो, खुमलटार हाइटस्थित प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुलमा अतिरिक्त क्रियाकलाप (इसिए) भनिने गतिविधिहरूलाई पाठ्यक्रम विषयकै रूपमा समावेश गरिएको छ। अर्थात कला, नेतृत्व कौशल, प्रविधि, खेलकुद जस्ता गतिविधि र सिकाइलाई अतिरिक्तको 'ट्याग' दिइएको छैन। यी कुराहरू पाठ्यक्रम अन्तर्गत नै पर्छन्।
प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड 'घोकन्ते विद्या' मा विश्वास राख्दैन। कक्षाकोठामा राखेर किताबमा लेखिएका कुरा मात्रै विद्यार्थीलाई सुनाउने सैद्धान्तिक पठनपाठन मात्र पनि गराउँदैन। विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक सिकाइको खाँचो हुन्छ भन्ने स्कुलको विश्वास छ।
२०६७ सालमा स्थापित यो स्कुलमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा पाइने शैक्षिक निर्देशक प्रविना थापा बताउँछिन्। उनका अनुसार प्रिमियर इन्टरनेसनल नेपालको पहिलो र एक मात्र आइबी कन्टिनम स्कुल हो।
विशिष्ट श्रेणीको स्कुल भनेको कस्तो हो? अन्तर्राष्ट्रिय स्तरको पढाइमा के समावेश हुन्छ? यो स्कुलमा पढाइसकेपछि अभिभावकहरूले छोराछोरीको कस्तो भविष्य देख्न सक्छन् लगायत विषयमा शैक्षिक निर्देशक प्रविना थापासँगको कुराकानीको सम्पादित अंशः
विशिष्ट श्रेणीको स्कुल भनेको कस्तो हो?
प्रिमियर इन्टरनेसनल आइबी वर्ल्ड स्कुल एक विशिष्ट श्रेणीको स्कुल हो। सरकारले स्कुलका विभिन्न पूर्वाधार लगायत पक्ष हेरेर 'ए','बी','सी','डी' गर्दै मूल्यांकन गरेको हुन्छ। विशिष्ट श्रेणी भनेको 'ए' भन्दा माथिको ग्रेडिङ हो।
हामीलाई ललितपुर महानगरपालिकाले शिक्षा नियमावली २०५९ को नियम १५४ को अनुसूची २१ अनुसार यहाँको शैक्षिक संरचना, पूर्वाधार र गुणस्तरसँगै स्कुलले सार्वजनिक शिक्षाको स्तर बढाउन गर्न सक्ने योगदान र क्षमता हेरेर विशिष्ट श्रेणीअन्तर्गत सञ्चालनको अनुमति दिएको हो।
अन्य स्कुलको दायित्व दस प्रतिशत हुँदा विशिष्ट श्रेणीको स्कुलको दायित्व करिब २० प्रतिशत हुन्छ। उक्त शुल्क बराबरको रकम हामी अन्य सरकारी एवं आधारभूत स्कुलहरूमा शिक्षणसम्बन्धी विभिन्न शीर्षकमा सहयोग गर्छौं।
आइबीको अर्थ के हो? यसको अन्तर्राष्ट्रिय पाठ्यक्रमसँग कस्तो सम्बन्ध छ?
आइबी अर्थात् इन्टरनेसनल ब्याकलौरेट। हरेक देशको आ-आफ्नै पाठ्यक्रम हुन्छ। आइबीअन्तर्गत पठनपाठन हुने भन्नाले अन्तर्राष्ट्रिय पाठ्यक्रमको आधारमा विद्यार्थीलाई पढाइने हो। विद्यार्थी जुनसुकै देश वा पृष्ठभूमिको भए पनि यस प्रकारको पाठ्यक्रमले उसलाई 'ग्लोबल सिटिजन' बन्न सिकाउँछ। अर्थात् जहाँ गए पनि सिकाइमा कठिनाइ हुँदैन।
विद्यार्थीले कुनै पनि विषय पढ्दा त्यसलाई कसरी बुझ्ने र त्यो बुझाइलाई व्यवहारमा कसरी उतार्ने भन्ने आइबी पाठ्यक्रमले सिकाउँछ। यस प्रकारको शिक्षा नेपाली पाठ्यक्रममा कम छ। यहाँ विद्यार्थीको पढाइको मूल्यांकन परीक्षामा लेखिएको जवाफका आधारमा हुन्छ। उसको वैचारिक बुझाइको मूल्यांकन हुँदैन।
आइबीको पाठ्यक्रमले यी सम्पूर्ण कुरालाई ध्यानमा राख्छ। विद्यार्थीमा अनुसन्धान, सञ्चार, सहकार्य, सोच्न सक्ने क्षमता लगायत आधारभूत सीप विकासमा काम गर्छ। आइबी पाठ्यक्रमले पढ्नुसँगै बुझ्नु उत्तिकै जरूरी छ भन्ने सिद्धान्तमा विश्वास राख्छ। यिनै कारण आइबीलाई उत्कृष्ट पाठ्यक्रम मानिन्छ।
प्रिमियर इन्टरनेसनलमा यही तरिकामा मात्र पढाइ हुने हो?
यहाँ पढाइ हुने पाठ्यक्रमलाई तीन भागमा बाँडिएको छ। किन्डरगार्टेनदेखि पाँच कक्षासम्म पिवाइपी (प्राइमरी इयर प्रोग्राम) भनेर पढाइ हुन्छ। त्यसपछिको एमवाइपी (मिडल इयर प्रोग्राम) ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई पढाउने कार्यक्रम हो। यसपछि कक्षा ११ र १२ का लागि आइबिडिपी (डिप्लोमा प्रोग्राम) हुन्छ।
यी तीनै कार्यक्रम एउटै स्कुलबाट सञ्चालन भइरहेको छ भने त्यस्ता स्कुललाई आइबी कन्टिनम स्कुल भनिन्छ। प्रिमियर इन्टरनेसनल नेपालको एक मात्रै आइबी कन्टिनम स्कुल हो। यहाँ पढाइ हुने पाठ्यक्रमलाई 'रोयल पाठ्यक्रम' पनि भनिन्छ। विश्वभरका आइबी स्कुलमध्ये जम्मा १५ प्रतिशत आइबी कन्टिनम स्कुल छन्।
अन्तर्राष्ट्रियसँगै हामी विद्यार्थीलाई नेपाली पाठ्यक्रम पनि पढाउँछौं। नेपाल सरकारबाट लिइने एसइई परीक्षाको लागि विद्यार्थीलाई तयार पार्छौं।
नेपालमा थप आइबी कन्टिनम स्कुल सञ्चालनका लागि केले रोकिरहेको छ?
यसमा विभिन्न कारण छन्। सबैभन्दा पहिलो र प्रमुख भनेको आर्थिक। आइबी स्कुल सञ्चालनमा ठूलो मात्रामा लगानी आवश्यक पर्छ। आइबी कन्टिनम स्कुलको पूर्वाधारदेखि यहाँ पढाउने शिक्षकको स्तर तुलनात्मक रूपमा उत्कृष्ट हुन्छ।
शिक्षकहरूलाई समय-समयमा तालिम दिनुपर्छ। एउटा तालिमको प्रतिव्यक्ति सात सयदेखि १५ सय अमेरिकी डलर पर्छ। हरेक पाँचदेखि आठ वर्षमा पाठ्यक्रम परिमार्जन गर्नुपर्छ। पाठ्यक्रम परिवर्तन भएसँगै तालिमको व्यवस्था मिलाउनुपर्छ। शिक्षकसँगै स्कुलका अन्य कर्मचारीलाई पनि तालिम दिइन्छ।
अहिलेको आवश्यकता भनेको अन्तर्राष्ट्रिय स्तरको पढाइ हो। तर यस्तै विविध कारणले गर्दा नेपालमा आइबी कन्टिनम स्कुलहरू स्थापना नभएको होला।
पछिल्लो समय आइबी स्कुलको अवधारणामा शिक्षण संस्था र अभिभावकहरूको चासो बढेको देखिन्छ। यो विद्यार्थी (बालबालिका) का लागि सकारात्मक विषय हो।
प्रिमियर इन्टरनेसनल आइबी स्कुलले विद्यार्थीलाई कसरी मूल्यांकन गर्छ?
नेपालको पाठ्यक्रमले लिखित रूपमा गरिएको परीक्षाका आधारमा विद्यार्थीको मूल्यांकन गर्छ। तर आइबीको पाठ्यक्रमले विद्यार्थीको सीपमा आधारित भएर मूल्यांकन गरिरहेको हुन्छ। किनभने हामी हरेक विद्यार्थीको अलगअलग क्षेत्र र सीप हुन्छ भन्नेमा विश्वास राख्छौं।
लिखित परीक्षाको आधारमा कुनै पनि विद्यार्थीको क्षमता मूल्यांकन गर्नु हुँदैन। यो मूल्याकंन आधारको एउटा कारक मात्रै हो।
विद्यार्थीलाई बाहिरी संसार बुझाउन विभिन्न क्षेत्रका व्यक्तित्वलाई स्कुलमा बोलाएर कार्यक्रम गराइन्छ। जसमा वक्ताहरूले भिन्नभिन्न विधामा आफ्नो प्रस्तुति र धारणा राख्छन्। त्यस्तै आवश्यकताअनुसार विद्यार्थीलाई फिल्ड भिजिट लगिन्छ। यस्ता गतिविधिले विद्यार्थीको बुझाइ क्षमता फराकिलो पार्न मद्दत गर्छ।
हामी विद्यार्थीको दैनिकी र उनीहरूको रूचिलाई प्राथमिकतामा राख्छौं। सोहीअनुरूप पाठ्यक्रम तयार पारिएको हुन्छ।
कति विद्यार्थीले यहीँको पढाइलाई निरन्तरता दिने गरेका छन्?
किन्डरगार्टेनमा भर्ना हुने विद्यार्थी आइबिडिपी कार्यक्रम सकेर मात्र बिदा हुन्छन्। एकपटक भर्ना भएपछि लगभग सबै विद्यार्थीले पढाइ सक्छन्। केही विद्यार्थी विदेशका स्कुलमा सरूवा भएर गए मात्रै हो। नभए लगभग सय प्रतिशतले नै निरन्तरता दिएका छन्।
हामी किन्डरगार्टेन, कक्षा १ र कक्षा ११ मा मात्रै भर्ना लिन्छौं। सीमित कोटामा विद्यार्थी पढाउँछौं। जस्तै कक्षा १ मा जम्मा ५० जना विद्यार्थी हुन्छन्। त्यो पनि दुइटा सेक्सनमा विभाजन गरिएको छ। माथिल्लो कक्षामा ६० जनासम्म राख्छौं। स्कुलमा करिब ७० जना शिक्षक छन्।
यो विद्यालयबाट विद्यार्थीहरूले थप के सुविधा पाउँछन्?
हामीले विद्यार्थीलाई राष्ट्रियसँगै अन्तर्राष्ट्रिय स्तरको 'एक्स्पोजर' को व्यवस्था मिलाएका छौं। उदाहरणका लागि खेलकुल क्षेत्रमा नेपालबाट प्रिमियर इन्टरनेसनल स्कुल आइएसएफ (अन्तर्राष्ट्रिय विद्यालय खेलकुद संघ) को एक मात्र पूर्ण सदस्य हो। यसले विद्यालयस्तरमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्छ।
हामी पूर्ण सदस्य भएकाले आफ्नै टोली बनाएर नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन सक्छौं। यसका लागि अन्य कुनै पनि संस्थानबाट अनुमति लिनुपर्दैन। यसरी हाम्रा विद्यार्थी समूह बनाएर गइरहेका पनि छन्। आगामी वर्ष हुने प्रतियोगितामा तीन-चार वटा समूहले सहभागिता जनाउँदैछन्।
यसैगरी अन्य क्षेत्रमा पनि विद्यार्थीहरूलाई जतिसक्दो धेरै एक्सपोजरको अवसर प्रदान गर्छौं। यसबाहेक हामी आफैं पनि विभिन्न प्रतियोगिता आयोजना गर्छौं। जसले विद्यार्थीहरूलाई सक्रिय बनाउन मद्दत गर्छ।
अभिभावक र शिक्षकबीच सम्पर्क र बैठक कत्तिको हुन्छ?
यो धेरै नै हुन्छ। कतिपय बेला अभिभावकलाई झर्को पनि लागेको हुन सक्छ। तर यो विद्यार्थीको शिक्षणको एक भाग हो। हामी अभिभावकहरूसँग विद्यार्थीको क्षमता लगायत विषयमा कुराकानी गर्छौं।
नेपालका अधिकांश अभिभावकले छोराछोरी कक्षा ८ पुग्नेबित्तिकै कुनै पनि अतिरिक्त क्रियाकलापमा सहभागी हुन नदिने चलन देखिन्छ। पढ्नुपर्छ मात्रै भन्ने सोच हुन्छ। यसो हुँदा विद्यार्थीलाई एक किसिमले तनाव हुन्छ। जुन शिक्षक र अभिभावकले बुझिरहेका हुँदैन। यी कुराहरू बुझ्न जरूरी छ। हामी यिनै विषयमा पनि अभिभावकहरूसँग छलफल गर्छौं।
हाम्रो विद्यार्थीमध्ये गैर-आवासीय नेपालीका छोराछोरी धेरै छन्। यो हाम्रा लागि गर्वको कुरा हो। विदेश पुगेका नेपालीहरूले यहाँको पढाइ राम्रो हुन्छ भनेरै छोराछोरीलाई भर्ना गराउनुभएको छ।
यहाँ कसले पढ्न पाउँछ?
हामीले कुनै पनि तरिकाले फलानो श्रेणीको विद्यार्थीले मात्रै भर्ना पाउँछ भनेर तोकेका छैनौं। नेपाली वा विदेशी जो-कोहीले आफ्नो छोराछोरीलाई यहाँ भर्ना गराउन सक्छन्। सीमित कोटा तोकिएकाले अझ थुप्रै अभिभावकहरू 'वेटिङ लिस्ट' मै हुनुहुन्छ। सामान्यभन्दा यहाँको भर्ना लगायत शुल्क केही महँगो भने छ। त्यसैले आफ्नो इच्छा र क्षमताअनुसार अभिभावकले बच्चालाई भर्ना गराउन सक्नुहुन्छ।
यहाँबाट पढेका विद्यार्थीहरू (भूतपूर्व) सँग विद्यालय सम्पर्कमा छ?
हामीले यो स्कुलमा कक्षा १ मा २८ जना विद्यार्थी भर्ना लिएर पठनपाठन सुरू गरेका थियौं। वार्षिक रूपमा कक्षा बढाउँदै पढाउन थाल्यौं। कक्षा १० सम्म सञ्चालन गर्नै दस वर्ष लाग्यो। त्यसैले भूतपूर्व विद्यार्थी धेरै छैनन्।
पहिलो ब्याचका विद्यार्थीहरू सम्भवतः स्नातक तहमा छन्। भूतपूर्व विद्यार्थी संगठन बनाएर ती विद्यार्थीहरूसँग सम्पर्क विस्तार गर्ने योजनामा छौं। अहिले पनि वार्षिक रूपमा 'होम कमिङ' भनेर कार्यक्रम भने गर्छौं। यो दिन भूतपूर्व विद्यार्थीहरू आउनुहुन्छ। यसलाई थप व्यवस्थित बनाउन प्रणाली निर्माण गर्ने तयारीमा छौं।
एड्भर्टोरियल