नागरिक उड्डयनका महानिर्देशक हटाउन पर्यटन मन्त्री ‘असफल’


नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का महानिर्देशक संजिव गौतमलाई हटाउने योजनामा रहेका पर्यटन मन्त्री जितेन्द्रनरायण् देव असफल भएका छन्। मन्त्री देवको उक्त योजनामा निर्वाचन आयोगले ब्रेक लगाइदिएको छ।

निर्वाचन आयोगको सहमति बिना गौतमलाई सरुवा गरिएको र उक्त कार्य आचारसंहिता बिपरीत भएको भन्दै आयोगले आचारसंहिता उलंघनको आरोपमा मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण समेत सोधेको छ।
आज बसेको निर्वाचन आयोगको बैठकले मन्त्री देवले गौतमलाई मन्त्रालयमा हाजिर हुन पत्र काटिसकेपछिमात्र सहमतिको लागि आयोगलाई पत्र काटेको पाइएको र मन्त्रीको उक्त कार्य बद्नियतपुर्ण भएको आरोप समेत लगाएको छ।

मन्त्री देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजीव गौतमलाई गत ९ गते सरुवा गरेका थिए। उनले आचारसंहिता विपरित काम गरेको पुष्टि भएकाले उपस्थित भएरै स्पष्टिकरण दिन निर्देशन दिएको आयोगले जनाएको छ।

असोज ९ गते मन्त्रीस्तरीय निर्णयबाट गौतमलाई मन्त्रालयमा हाजिर भएर तोकिएको जिम्मेवारी निर्वाह गर्ने निर्देशनसहितको पत्र क्यानमा पठाएको थियो।  कर्यसम्पादन सम्झौता अनुरुपम काम नगरेको भन्दै गौतमलाई मन्त्रालयले त्यसअघि स्पष्टीकरण सोधेको थियो। गौतमले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्री देव गौतमलाई मन्त्रालयमा ल्याएर क्यानमा नयाँ महानिर्देशक नियुक्तीको तयारीमा थिए।

गौतमलाई प्राधिकरणको जिम्मेवारीबाट हटाएर मन्त्रालयले गठन गरेको कर्यदलको नेतृत्व गर्न निर्देशन दिइएको थियो । हवाई नीति २०६३ पुनरावलोकन, निजगढ विमानस्थलको कोरियन कम्पनी एलएमडब्लुले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन प्राप्त गर्न आवस्यक भुक्तानीको लागि सिफारिस गर्न र राष्ट्रिय गौरवका आयोजनाको कार्यप्रगतिको लागि कार्ययोजना बनाउने जिम्मेवारीसहित कार्यदलको जिम्मेवारी दिने मन्त्रालयले निर्णय गरेको थियो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.