सामाजिक संजाल सगूनले बाढी पीडितहरुका लागि १० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ।
विपतको घडीमा सहयोग गर्न तयार रहेको सगूनले तराईमा आएको बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
दुई वर्ष अघि नेपालमा गएको महाभूकम्पको समयमा सुन्तली धुर्मुस मार्फत सगूूनले भूकम्प पीडितहरुलाई सहयोग गरेको थियो। यस पटकको सगूनले घोषणा गरेको सहयोगको रकम दुई वटा संस्थाः एनआरएन एनसीसी, अमेरिका तथा धुर्मुस–सुन्तली फाउण्डेशन मार्फत उपलब्ध गराइने भएको छ।
एनआरएन एनसीसी अमेरिकाले यसै सहयोगका लागि गरेको राहत संकलन अभियानमा हातेमालो गर्ने र धुर्मुस –सुन्तली फाउण्डेसनले पीडितहरुको घर आगनमा पुगेर राहत वितरणको काम थालेकाले तत्कालै सोमार्फत राहत उपलब्ध गराइने सगूनले जनाएको छ।
सगूनले लगानीकर्ता, प्रयोगकर्ता, शुभचिन्तक लगायत विश्वभर रहेका सम्पूर्ण नेपालीहरुलाई विपतको समयमा आ–आफ्नो ठाउँबाट सहयोगी हातहरु बढाउन अनुरोध समेत गरेको छ।